साहित्यपोस्ट डट कम

निर्गमको जेन–जी निर्गम भएपछि …

निर्गमको जेन–जी निर्गम भएपछि …

“मान्छेको चेहरा उस्तैउस्तै हुन सक्ला तर जिन्दगी उस्तैउस्तै हुन सक्दैन रहेछ किनकि जिन्दगी अनौठो र अनिश्चिततामा निश्चितताको खोजी गर्न लाग्ने यात्रा रहेछ । जुन अनन्तदेखि अनन्ततिर गइरहन्छ … !”

शुरुमै मलाई यस अभिव्यक्तिले केहीबेर रोक्छ । कस्तो गहिरो अभिव्यक्ति ! आखिर हो नि त, जिन्दगी भनेको अनिश्चितामा गरिएको एउटा यात्रा न हो । जसको कुनै निश्चितता छैन । त्यसैले त जीवन बाँच्नुको पनि मज्जा छ ।

मैले प्रस्तुत अभिव्यक्ति साहित्यकार गोकर्ण मल्लकृत ‘निर्गम’ उपन्यासको आरम्भिक पृष्ठबाट उद्धरण गरेको हुँ । यसरी उद्धरण गर्नुको पनि एउटा कारण छ । कुरा के भने जीवन त कसैको पनि निश्चित छैन नै । एकैछिन पछि के हुन्छ भन्नेसम्म त थाहा हुँदैन भने सिङ्गो जीवन कसरी थाहा हुन सक्छ र ? एक निमेषपश्चातको जीवन पनि थाहा नहुने कति रहस्यमय कुरा छ ? त्यो एक निमेषमा जे पनि हुन सक्छ ! जस्तो घटना घट्न पनि सक्छ ! त्यो एक निमेष जीवनको अन्तिम क्षण पनि हुनसक्छ ! नहुन पनि सक्छ !

अकस्मात् मैले सोचेँ त्यस क्षण प्रलय हुन पनि सक्छ ! सारा सृष्टि क्षणभरमा ध्वस्त हुन सक्छ या त त्यस्तै अरू केही हुन सक्छ ! तर केही त अवश्य भइरहेको हुनेछ ।

यसरी अनन्त सम्भावना बोेकेको एक निमेष कति मूल्यवान् छ ! कति विचित्रको छ ! यति कुरा जान्दाजान्दै पनि बेलाबेलै नजाने जस्तो किन हुने गर्छ ? अहिले म त्यही नजानेको विमूढ अवस्थामा छु । यसरी विमूढ हुनुमा अनेक संयोगहरू सिलसिलाबद्ध भएर आएका छन् । त्यसै मध्येको एउटा हो ‘निर्गम’को अध्ययन । यसै क्रममा एउटा जटिल प्रश्न छ । हामी नेपालीहरू पुनः पुन: किन यस्ता कृति पढ्न विवश छौँ ?

समय कहिल्यै निश्चित हुन सक्दैन त अघि भनिसकियो । त्यसमा पनि केही भन्न बाँकी कुरा छ । त्यो के भने, समय अनिश्चित भए पनि त्यसमा एउटा सुन्दर भविष्य खोज्न त सकिन्छ नि ! जसमा अनन्त सम्भावना रहिरहन्छ । तर दुःखको कुरा, हामी नेपालीहरूका लागि किन नभएजस्तो हुन्छ ? त्यसैले त ‘निर्गम’हरू रचना भइरहन्छन् । ‘निर्गम’ रच्ने स्रष्टाहरू जन्मिरहन्छन् ।

केही समय अघि मात्रै डा. गोविन्दराज भट्टराईकृत ‘नयाँ मुगलान’ पढेर सकेको थिएँ । त्यसको प्रभाव बिर्सिन नभ्याउँदै फेरि त्यस्तै आशयको ‘निर्गम’ (उपन्यास) पढ्नु पर्दा एक किसिमको उदासीनताले छोप्न खोजेको छ । तब सोचेँ साहित्यकार गोकर्ण मल्लले प्रस्तुत कृति नलेखेको भए पनि हुने थियो । कम्तीमा उनको कृति पढेर यसरी म अहिले दुःखी हुनुपर्ने थिएन ।

त्यसो त पाठक उद्वेलित हुन्छ भनेर लेख्न छोड्नु पनि भएन ! अनि लेख्न नछोड्दा अचेल यस्तै कृतिहरू सिर्जिने गरेका छन् । हुन त अकारण यस्ता कृतिहरू त्यसै सिर्जिएका होइनन् । रहरले त्यसै कल्पनामा लेखिएका होइनन् । यथार्थताबाट भाग्न नसक्दा स्रष्टाहरू लाचार भएका छन् । त्यसैले यस्ता कृतिहरू लेख्न विवश छन् । यतिखेर नेपाली सर्जकको मनभित्र सम्हाल्नै नसक्ने गरी आँधी चलेको छ । थाम्नै नसक्ने गरी कोलाहल मच्चिएको छ । त्यस्तै मुलुकको पीडादायी स्वर चर्किएको छ । साहित्यकार मल्लले ‘निर्गम’ मार्फत् त्यस स्वरलाई बोल्ने प्रयास गरेका छन् ।

लेखिनु, नलेखिनु अलग कुरा हुन् । सप्पै व्यक्तिले लेख्नुपर्छ भन्ने छैन । परन्तु उसले नलेखे पनि ऊभित्र एउटा काव्यिक मन अर्थात् साहित्यिक मनले बास गरेको हुन्छ । भलै ऊभित्रको साहित्य कसैले नपढेको होस् । कहीँ प्रकाशित नभएको होस् । फरक त्यति मात्रै हो; यदि ऊभित्रको साहित्य लेखिन्थ्यो भने त्यसले कस्तो रूप लिन्थ्यो होला ! मानौँ आज सम्पूर्ण नेपालीले आफूभित्रको साहित्यलाई प्रकट गरेका हुन्थे भने कति धेरै ‘मुगलान’हरू, कति धेरै ‘निर्गम’हरू जन्मिने थिए । आज प्रत्येक नेपाली नलेखिएको मुगलानको भार बोकेर जीवनको मार्ग खोजिरहेका छन् । भड्किरहेका छन् ।

देश छोड्नेहरूको भीड नथामिएको देख्दा, भीड अझ बढेको देख्दा त्यही चिन्तामा लेखिएको छ ‘निर्गम’ । देशको प्रतिकूलतामा अधैर्य भएको लेखक मन अचेल निकै अशान्त छ । त्यही अशान्त मनको भाव आख्यानीकरण हुँदा त्यसले साहित्यिक रूप लिएको छ । प्रस्तुत कृतिमा देश छोडेर जानेको कथा छ । देशमा बस्छु भनेर अनेक प्रयास गर्दा पनि बस्ने अनुकूलता नहुँदा; विदेशिन बाध्य युवाहरूको कथा छ । मुगलानिन विवश नेपालीको कथा छ ।

कवि हृदयका स्रष्टा गोकर्ण मल्ल पछिल्लो समय, गद्य साहित्यमा सक्रिय भएर लागेका देखिन्छन् । पेशागत हिसाबले उनी अर्थशास्त्रका सेवानिवृत्त सहप्राध्यापक हुन् । अवकास जीवनमा कुन चेतनाले उनलाई यसरी साहित्यमा लाग्न प्रेरित गर्यो होला ? यस पहिले नै उनका दुई कृतिहरू ‘शुभारम्भका पाइलाहरू’ (२०७९ उपन्यास) र ‘सिउँडीको फूल’ (कविता सङ्ग्रह २०७९) पाठकमाझ आइसकेका छन् । त्यस्तै उनका प्रकाशोन्मुख कृति पनि यथाशीघ्र हामीमाझ आउँदैछन् जस्तो ‘मल्लिका मुक्तकसङ्ग्रह’, ‘स्वनिर्जीवीकृत कथासङ्ग्रह’, ‘Why not Exit ?’ (Novel)

लेखनका हिसाबले ‘निर्गम’को कथावस्तु नवीन नभए पनि यसले पाठकलाई केही सोच्न बाध्य पारेको छ । गोर्खा, चितवन, काठमाडौँ हुँदै अमेरिकाको भूमिलाई छोएर रचिएको उपन्यास एउटा उदासीन मोडमा अन्त्य भएको छ । डरलाग्दो निष्कर्षमा कथा टुङ्गिएको छ ।

आजकल नेपाली समाजमा एउटा विडम्बनायुक्त संस्कार; तीव्र रूपले निर्माण भइरहेको छ । नेपालीहरू त्यस संस्कारको निर्माणमा तदारुकताको साथ लागेका छन् । हो यहीँनेर एकदम निराशाले छुने गर्छ । जवान भएपछि, ‘प्लस टु’को पढाइ सकेपछि देश छोड्नुपर्छ भन्ने मानसिकता तयार हुँदै गर्दा; भोलि देशको सम्भावित भविष्य कस्तो रहला ? ‘निर्गम’मा यही थिम छ र अरू पनि केही थिम छ । विशेषतः आफ्नै देशमा केही गर्छु, यहीँ भविष्य खोज्छु, जीवन बनाउँछु भनेर धावा धपेडी गर्दा पनि केही हुन नसकेपछि, देशबाट पलायन हुनु परेको मार्मिकता यसले देखाएको छ । प्रतिकूल राज्यव्यवस्थाकै कारण त्यस किसिमको मार्मिकता घटेको छ ।

गाउँको स्कूलमा ‘प्लस टु’ गरेको आख्यानको प्रमुख पात्र शिवनाथ शर्मा यतिखेर बडो अन्योलमा परेको छ । उसका समवयी साथीहरू कति वैदेशिक रोजगारमा गइसकेका छन्, कति अध्ययनको लागि अष्ट्रेलिया, अमेरिका पुगिसकेका छन् । ऊचाहिँ अनिर्णयको स्थितिमा छ । राजनैतिक तथा सामाजिक कुनै दृष्टिकोणले पनि देशमा बस्ने अनुकूलता छैन । युवा पुस्ताले यहीँ बसेर केही उद्यम गर्ने अनन्त इच्छा राखे पनि उसले सोचेजस्तो परिवेश छैन । अनि कसरी बस्न सक्छ आजको युवा आफ्नो मुलुकमा ! तब उसको आशा, विश्वास र भरोसा क्षीण हुँदै जान्छ । तर पनि शिवनाथले आफूलाई धीर गर्दैछ ।

जेनतेन उसले आफूलाई थाम्दैछ देशमा । आफ्नो विवशता न उसले बाबु आमालाई भन्न सकेको छ, न घरखेत बेचेर या ऋण गरेर विदेश जान्छु भन्न सकेको छ । वैदेशिक रोजगारमा होमिने आँट गर्न सकेको छ । यस्तै अनिश्चयमा एक दिन ऊ काठमाडौँ जान्छ, जागिर खोज्छ । बिहानको पढाइ हुने कलेजमा भर्ना हुन्छ । क्लासमा प्रतिदिन साथीहरूको अनुपस्थिति बाक्लिँदै गएको छ । कलेज रित्तिँदै गएको छ । तब उसको मन कलेजमा अडिन छोड्छ । शहरमा पनि उसको मन थामिन छोड्छ । गाउँमा झन् छोड्छ । अनि त उसलाई जताततैबाट निराशाको कालो बादलले छोप्न लाग्छ ।

यस्तैमा एउटा संयोग घट्छ । अमेरिकी नागरिक रुथ कार्टर उसको जीवनमा गडफादर (धर्म पिता) का रूपमा उदय हुन्छन् । तब अमेरिका जाने उसलाई एउटा अवसर जुट्छ । यससँगै घटनाले अर्को मोड लिन्छ । उपन्यासमा घटनाक्रमहरू अलिक छिटो छिटो फड्किएको लाग्छ । घटनाले निश्चित अवधि लिनु अगावै कथावस्तुले गति लिन हतार गरेको लाग्छ । कहीँ कतै प्रसङ्ग अचानक आएको हो कि जस्तो पनि हुन्छ । यस्तो अवस्थामा आख्यानको विश्वसनीयता घट्ने सम्भावना रहन्छ ।

दुई वर्षको पढाइ पूरा गरेर शिवनाथ स्वदेश फिरिसकेको छ । उसको उद्देश्य, आफ्नो मातृभूमिमा केही गर्छु भन्ने छ ।

अहिले जगतबारे छिनछिनमा अद्यावधिक हुन सकिने समय निकै सुगम छ । यस्तो बेला शिवनाथले आफू आउँदै गरेको खबर नदिनु अस्वाभाविक घटना लाग्छ । यसरी अचानक घर आएको देख्दा; उसले आफू आउँदै गरेको खबर छोड्नु पर्ने थियो जस्तो लाग्छ । तब बाबु आमा उसको प्रतीक्षामा रहेको दृश्य कति रमाइलो हुने थियो । परदेशबाट आउँदै गरेको छोराको पर्खाइमा बस्न कति आनन्दकर हुने थियो । त्यसले यथार्थको भ्रम पनि दिने थियो ।

उपन्यासकार मल्लले कृतिमा विदेशिने युवा मनोविज्ञानलाई मात्र इङ्गित गर्न खोजेका छैनन् । देशको सामाजिक, आर्थिक, राजनैतिक अवस्थालाई पनि देखाउने प्रयत्न गरेका छन् । सम्भवतः देशको विषम परिस्थितिले मानवपुँजी बहिर्गमन भएको देखाउने कोशिश गरेका छन् । त्यस्तै, अहिले विश्वमा बढ्दै गएको ग्लोबल वार्मिङ तथा वातावरण असन्तुलको क्षति पनि उनले देखाएका छन् । त्यसले निम्त्याएको विपत्ति उनका पात्रले समेत भोग्नु परेको छ ।

शिवनाथको जीवन उसले सोचेजस्तो सहज हुन सक्दैन । उसले हिँडेको मार्ग उबडखाबडले भरिएको, अतिशय कठिन छ । अमेरिकाबाट फर्किएर उसले निश्चित गन्तव्य लिन सकेको छैन । ऊ बडो बिथोलिएको छ । घरमा बाबु आमाको चिन्ता छ, छोराले घरजम गरोस् भन्ने चाहना छ । ऊसँगै पढेकी गाउँकी एउटी चेलीसँग उसको बिहेको कुरा चलेको छ । परन्तु ऊ स्वीकार्दैन । उसको मनमा सतिभा अर्थात् अमेरिकी केटी छे । जसप्रति उसको ठूलो भरोसा छ । ऊ आमाको कुरा सुन्ने इच्छा नै राख्दैन । आमाको पीर ऊ बुझ्दै बुझ्दैन, “… उताको साथी छ त भन्थ्यो भन्नलाई । भए पनि धर्म संस्कार केही मिल्दैन होला भन्ने चिन्ता लाग्छ । उतैको विवाह गरेर उतै बस्ने हो कि भन्ने चिन्ता लाग्छ । कान्छो उतै बसे हामी के गर्ने भन्ने पीर लाग्छ (पृ–९२) ।”

हेर्नू त आज आएर ग्लोबल युगकी आमाको चिन्ता कति दुरूह भएको छ ! अचेल मानिस कुनै भूगोल, भाषा, धर्म, संस्कृति तथा राष्ट्रियताले नबाँधिने गरी स्वतन्त्र भएको छ । वैश्विकताले उसलाई त्यसरी निर्बन्ध बनाएको छ । ग्लोबलताले ऊ सीमाहीन भएको छ । विश्वबजारले मानिसको सोच, विचार र जीवन पद्धतिलाई समान गरिदिएको छ । के नेपाली के अष्ट्रेलियन ? यसरी भेदहरू मेटिँदै गएका छन् । त्यसैको परिणाम हाम्रो साहित्यमा विश्वको प्रभाव देखिन थालेको छ । त्यस्तै वैदेशिक पृष्ठभूमि र पात्रहरू मिसिन थालेका छन् । मिश्रित संस्कृति तथा सहअस्तित्वको वातावरण निर्माण हुँदै गएका छन् । अन्तर्राष्ट्रिय नागरिकसँग सम्बन्धहरू जोडिन थालेका छन् । त्यसका केही दृष्टान्त ‘निर्गम’मा भेटिन्छ ।

सुदूर गाउँको शिवनाथ अमेरिकी जीवन शैलीमा अभ्यस्त हुँदै गएको छ । ऊ त्यहीँकी गोरी केटीलाई प्रेम गर्छ । उसकी सतिभा (प्रेमिका) प्रेमीको देशमा आएकी छ । यसरी विकट गाउँको एउटा परिवारमा विदेशी पाहुनाको आगमन हुनु, यही हो ग्लोबलताको उदाहरण । अचेल सम्बन्धहरू कति अप्ठ्यारा हुँदै गएका छन् । परिबन्धका कारण यस अघि सतिभाले स्यामुल्सनसँग कोर्ट म्यारिज गरेकी थिई । ऊ बिरामी पर्दा स्यामुल्सनले ठूलो मद्दत गरेको थियो । हो यहीँनेर लेखकले रङ्ग भेदको प्रसङ्गलाई देखाउन खोजेका छन् । उपन्यासमा विश्लेषण गर्ने यस्ता ससाना कुराहरू आइरहन्छन् । ससाना घटना र परिघटनाहरू घटिरहन्छन् ।

यतिखेर नेपालीको सामाजिक मनोवैज्ञानिक स्थिति एकदम दुरूह हुँदै गएको छ । छोराछोरी जति सप्पै विदेश जाने लक्ष्य राख्ने भए । यस्तो लक्ष्यसँगै उनीहरूको राष्ट्रियता अस्पष्ट हुँदै गएको छ । विदेशको आकर्षणले उनीहरू रातदिन तानिएका छन् ।

अमेरिकाजस्तो देशमा पढेर आएको शिवनाथ; अहिले यसै ढाक्रे बस्नु परेको छ । तैपनि बाबु आमालाई आफूप्रति विश्वस्त हुन अनुरोध गर्छ । आफ्नो बारेमा चिन्ता नलिन आग्रह गर्छ । आफू नेपालमै बस्ने, यतै जागिर गर्ने, नेपाली केटी बिहे गर्ने कुरा पनि गर्छ । बाबु आमालाई निश्चिन्त पार्न यसो भन्छ । तर भनेजस्तो सरल कहाँ छ र परिस्थिति ?

गाउँपालिकादेखि नगरपालिका तथा निर्माणकम्पनीहरूमा जागिरको खोजी गर्दै ऊ कति धाउँछ ! निवेदन दिन्छ, लोकसेवाको परीक्षा पनि दिन्छ । तर केही हुन सक्दैन । उसको योग्यताको कदर हुन सक्दैन । देश मनपरीतन्त्रको दलदलमा डुबिसकेको छ । तब कहाँ शिवनाथजस्ता स्वच्छ छवि भएका युवाहरूले देशमा रोजगारी पाउन सक्छन् ? उसले जागिर पाउन त गुलाम गर्न सिक्नुपर्छ, राजनैतिक पार्टीको झण्डा बोक्न जान्नुपर्छ । पार्टीको भजन गर्न थाल्नुपर्छ, त्यति नभए घुस खुवाउन सक्नुपर्छ । बल्ल ऊ योग्य ठहरिनेछ ।

उसको शैक्षिक योग्यताको देशमा कुनै मूल्य छैन । त्यस योग्यताले कुनै काम दिँदैन । ऊ यसरी अनुपयुक्त ठहरिन्छ अझ भनौँ उसलाई अयोग्य ठहर्याइन्छ । देशमा यतिखेर ऊ असफल युवा भएको छ । जागिरको खोजीमा प्रयासहरू निष्फल भएपछि; उसले उद्यम गर्ने सोच लिन्छ । परन्तु निकास पाउँदैन । किनकि नेपालमा राजनैतिक प्रभावविहीन अवस्था कहीँ छैन । अवसरका हरेक क्षेत्र राजनैतिक दलको भर्ती केन्द्र बनेका छन् । जहाँ नेता कार्यकर्ताको भनसुन बेगर कुनै प्रक्रिया चल्दैन । जहाँ योग्य तथा दक्ष जनशक्तिको प्रवेश हुन पाउँदैन ।

यस देशमा शिवनाथले आफ्नो चरित्र मात्रै बाँचेको छैन । युवाहरूको प्रतिनिधि जीवन पनि उसले बाँच्नु परेको छ । अझै पनि उसको भविष्य कता मोडिन्छ थाहा छैन । यस्तैमा एक दिन अमेरिकादेखि सतिभा आउँछे नेपाली युवाको प्रेम खोज्दै । उसमा पनि नेपाली रगतको केही अंश बाँकी नै छ । आमातिरकी आफ्नी हजुरआमा नेपाली मूलकी भएको ऊ बताउँछे । भनेपछि नेपाली जाति तीन चार पुस्ता उतै बिताएको कुरा देखाउँछ ‘निर्गम’ले । परन्तु त्यो समय आउन अझै बाँकी छ । अमेरिकामा नेपाली जातिले यति लामो डायास्पोरिक जीवन बाँचेको, देखाएको छ उपन्यासले ।

सतिभा पुनः अमेरिका फर्किन्छे । उसको अनुपस्थितिमा शिवनाथ बडो निरीह अनुभूति गर्छ । उसलाई दुर्बलताको आभास हुन्छ । तब लाग्छ उसलाई यति भावुक तथा दुर्बल पात्र नबनाएको भए हुने थियो । आजको यस वैश्विक युगमा दुर्बल मन लिएर कहाँ बाँच्न सकिन्छ ? जसले भिड्न सक्छ, अस्तित्वमा उही रहन सक्छ । यस्तो कठोर प्रतिस्पर्धी युगमा निरीह भएर जगतसामु कसरी अस्तित्ववान् हुन सकिन्छ ?

यतिखेर त्यस परिवारमा सतिभा नै खुशीको स्रोत भएकी छ । शिवनाथलाई निराश हुनबाट उसले नै बचाइराखेकी छ । उसलाई थाहा छ नेपालमा जीवन निर्वाहको लागि कुनै अनुकूलता छैन । राज्यव्यवस्था युवा जनशक्तिको महत्त्व बुझ्न चाहँदैन । उल्टै नवजवान युवाको जोसलाई हतोत्साहित गर्न लागि पर्छ । असफल जीवन बाँच्न प्रतिकूलता निर्माण गर्छ । अयोग्य साबित गर्न अनेक खेल रच्ने गर्छ ।

आफ्नै देशमा रही सपना देख्न अनेक चेष्टा गरेको शिवनाथको जीवन पढ्दा असह्य हुन्छ । उसको चरित्रमा म आफ्नै जीवन देख्छु । सम्पूर्ण युवा युवतीको जीवन देख्छु । एकपछि अर्को गरी शिवनाथका विफल प्रयासहरू बडो धिक्कार लाग्छ । तब क्रोधको ज्वाला उठ्छ । नालायक व्यवस्था विरुद्ध विद्रोही भाव उठ्छ । त्यसै बखत मैले हजुरआमालाई सम्झिएँ । उहाँलाई सम्झिनुको पनि कारण छ । उहाँ भन्ने गर्नुहुन्थ्यो—

एकदिन त वनमा अचम्म सुनियो

बाँदरले गाई दुयो

वनमा लगी ढोली पोखिदियो

त्यो ल्याई खाने को हो ?

प्रस्तुत लोक भाका उहाँ कुन आशयले भन्ने गर्नुहुन्थ्यो कुन्नि मलाई थाहा छैन । परन्तु वर्तमान शासकको अवस्था बुझ्नलाई भने उक्त भाका एकदमै सान्दर्भिक लाग्छ । बाँदरले गाई दुहुनु कति हास्यास्पद कुरा छ । योभन्दा पनि हास्यास्पद त के छ भने उसले दूधको मूल्य नबुझेर वनमै ढोली पोखिदिनु झन् कति उदेकलाग्दो कुरा छ । तानाशाही शासक (वर्ग) ले ठीक यही गरिरहेका छन् । यही दृष्टान्तमा बाँचिरहेका छन् । यी शासकहरू शासक हुन लायक छैनन् र पनि शासक भइरहेका छन् । निर्मम तरिकाले देश दोहिरहेका छन् । जनता दोहिरहेका छन् । आम नागरिकको बलिदानीले देशमा जसोतसो गणतन्त्र त आयो नै ! परन्तु शासकले त्यसको पहिचान गर्न नसकी; बाँदरले जसरी तहसनहस पारेको छ । युवा शक्तिलाई त्यसै गरी निकम्मा बनाएको छ । मुलुकमा बस्न लायक परिवेश हुनै दिइएको छैन । आशा विहीनताले एकदमै छोपेको छ ।

यता गैर जिम्मेवारपूर्ण सरकार प्रतिकूलता सिर्जना गरी; सम्पूर्ण वातावरण निराश पारी, आफ्ना नागरिकलाई यातना भोगाउँदैछ ! असफल जीवन बाँच्न बाध्य पार्दैछ, उद्दण्ड सरकार ! आजभोलि सरकार झन् भन्दा झन् कुरूप हुँदै गएको छ । झन् उग्र हुँदै गएको छ । झन् अमानवीय हुँदै गएको छ । त्यही रीतमा उच्छृङ्खल हुँदै गएको छ । हुँदाहुँदा पशुत्वको चरित्रमा पुगेको छ । यस्तो बेला मौन हुनु नै जाति छ नत्र खतरा हुन सक्छ । ऊ सारा नेपालीहरूको भविष्यमाथि अमानवीय शासन गर्दैछ । जनताको भविष्य हत्या गरी किचिमिची पार्दैछ । यस्तैमा ‘निर्गम’को एउटा पात्र बोल्छ, “न्यायमूर्ति ढल्यो । धर्म मासियो । दया, माया, इमानदारी, सर्वकल्याणवादी, सज्जन, नैतिक, स्वाभिमानी भलोवादी मानिसहरूलाई जिउन साह्रै गाह्रो बनायो … (पृ–१४७) ।” अन्ततः जीवन बाँच्ने कुनै विकल्प नदेखेपछि शिवनाथ पुनः अमेरिका भासिन्छ । त्यसो त अरू धेरै पात्रहरू ऊभन्दा पहिले नै भासिइसकेका छन् । यसरी भासिनु नै जीवनको अन्तिम छनोट भएको छ । थाहा छैन यसै गरी भासिँदै जाने सिलसिलाले भोलि कस्तो रूप लिने हो ?

आजको युवाको कस्तो द्वन्द्वात्मक स्थिति छ । न ऊ आफ्नो देशमा स्थिर हुन सकेको छ न पराई भूमिमा ढुक्कले रहन सकेको छ । अमेरिका जस्तो देशमा पुगेर पनि शिवनाथ फर्किएर आउँछ परन्तु यता थामिन नसकेर पुनः बहिर्गमन हुन्छ । नेपालीको यो कस्तो विवशता हो ?

लेखकले अन्त्यमा युवाहरू त्यसरी निर्गम हुनुलाई कति मार्मिक विचारद्वारा टुङ्ग्याएका छन् । दार्शनिक मोडमा टुङ्ग्याएका छन् । उपन्यासमा शुरुदेखि उत्कर्षसम्म युवाहरू देशको विसङ्गत परिस्थितिले विदेसिएका छन् भने । अन्त्यमा चाहिँ उनले मानिस यायावरीय वृत्ति भएको चरित्र हुँदा स्थिर रहन सक्दैन भन्ने आशय बोलेका छन् । मानिस गतिशील भइरहन्छ भन्ने अभिप्राय व्यक्त गरेका छन् । यदि देशमा सुव्यवस्था तथा सुनिश्चित भविष्य हुन्थ्यो भने पनि निर्गमको प्रक्रिया त चलिनै रहने थियो । उनले यही भनेका छन् ।

अझ अन्त्यमा स्रष्टा मल्लले निर्गमलाई अर्कै दृष्टिले बुझेका छन् । अझ गहिरो अर्थमा बुझेका छन् । जीवन र मृत्युको अस्तित्वमा लगेर निर्गमलाई थिग्र्याएका छन्, “मान्छेको व्यक्तिगत कुरा गर्ने हो भने हामी यस लोकमा सधैँ यहीँ स्थायीरूपले रहन पाउँछौँ र ? यहाँबाट अवश्य नै निर्गमित हुनैपर्छ । यो प्राकृतिक नियम हो जुन निरन्तर चल्छ, चलिरहन्छ (पृ–१७०) ।”

पहिले पहिलेको मुगलानमा केवल युवा पुस्ता त्यसरी बहिर्गमन हुन्थे । बूढा भएका बा आमाहरू सन्तानको प्रतीक्षामा पिँढी कुरेर बस्थे । तर आजभोलिको मुगलानमा बा आमा पनि बहिर्गमन भएका छन् । थातथलो छाडेर परदेश गएका छन् । छोरा छोरीको बोलावटमा उतै खनिएका छन् । ‘निर्गम’ले यो कुरा देखाएको छ । यसरी वर्तमान परिस्थितिप्रति कृति दृष्टिगत छ ।

यसो हुँदै जाने हो भने देश कहाँ बाँकी रहन्छ ? देशमा को बसिदिन्छ ? के अब देश भन्नु ढुङ्गा माटाको अस्तित्व स्वीकार्नु मात्रै हो ? उसो भए नक्सामा टाँगिएको अस्तित्वलाई नै देश भन्नु पर्ने अवस्था आएको हो ?

लेखकले ‘निर्गम’मा समय सान्दर्भिक विषयवस्तु छनोट गरेका छन् । यसले युवा पुस्तालाई बढी उद्वेलित पारेको छ । उद्वेलित पार्ने यस्तो विषयवस्तुसँगै कला पक्ष पनि अझ सशक्त भइदिएको भए कृति अरू बढी प्रभावकारी हुने थियो । लामा लामा वाक्य गठनले पठनमा केही बाधा पुर्याएको महसुस हुन्छ । कथानकले छिटो गति लिँदा त्यसले पार्नु पर्ने जति प्रभाव अलिक पार्न सकेको लाग्दैन । घटनालाई विश्वसनीय पार्ने कला त्यस्तै केही अपुग भएको लाग्छ । यस्ता विषयहरू निरन्तरको साधनाले परिष्कृत हुँदै जाने कुरा हुन् । प्रथमतः लेख्नु ठूलो कुरा हो । अरू बाँकी कुरा हुँदै जानेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.