साहित्यपोस्ट डट कम

निरौलाकृत कथा–सङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण, परिचर्चा सम्पन्न

निरौलाकृत कथा–सङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण, परिचर्चा सम्पन्न

भर्जीनिया । लेखक बिमला ढुङ्गाना निरौलाको पहिलो कथा–सङ्ग्रह ‘प्रेमाश्रु’ को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङ्गटन डी.सी. च्याप्टरको आयोजनामा हेमार्केट–गेन्सभिल लाइब्रेरी, भर्जीनियामा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी र लेखक निरौलासहित विशिष्ट अतिथिहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे । कार्यक्रममा गीतकार पुष्पा खनालले लेखक निरौलाको व्यक्तित्व र लेखनयात्राबारे परिचय गराउनुभएकाे थियाे । पत्रकार तथा समीक्षक जयदेव गौतम र तीर्थराज पाण्डेयले कथा–सङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएकाे थियाे ।

समीक्षकहरूले निरौलाका कथाहरूमा समसामयिक सामाजिक विषय, संस्कार, विकृति र मानवीय संवेदनाहरू सरल तर गहिरो ढंगले प्रस्तुत गरिएको उल्लेख गर्नुभयाे । समीक्षक गौतमले उहाँका कथामा नेपाल र अमेरिकाको मिश्रित जीवनानुभव झल्किने तथा केही कथामा ओ. हेनरी शैलीको नाटकीय अन्त्य देखिने धारणा राख्नुभयाे ।

कार्यक्रममा प्रमुख अतिथि सुवेदी, लेखक निरौला, अनेसासका विभिन्न पदाधिकारी तथा साहित्यप्रेमीहरूले मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रममा अनेसासका विभिन्न च्याप्टरका पदाधिकारी, सामुदायिक संस्थाका प्रतिनिधि तथा साहित्य अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव जगन्नाथ पौडेलले गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य सचिव गोमा न्यौपानेले व्यक्त गर्नुभएकाे थियाे ।

बाल–साहित्य सर्जकका रूपमा परिचित निरौलाका यसअघि १२ कृति प्रकाशित भइसकेका छन् । ‘प्रेमाश्रु’ उहाँको १३औँ कृति हो, जसमा २९ कथा समावेश छन् । मिलाप पब्लिकेशन्स, काठमाडौंले प्रकाशित गरेको उक्त कृतिको मूल्य ४५० रुपैयाँ रहेको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.