जापानको ताकासाकी शहरमा त्यो बिहान अरू बिहानभन्दा फरक थियो, अघिल्लो दिन म निक्कोबाट झरेर यहीं बसेको थिएँ । झ्यालबाहिर हल्का कुहिरो फैलिएको थियो, तर मेरो मनभित्र भने असाध्यै स्पष्टता र उत्साह थियो । आज म केवल एक शहरबाट अर्को शहरतर्फ गइरहेको थिइनँ,आज म अनुभूतिको यात्रामा निस्कँदै थिएँ । ताकासाकीबाट सिन्कान्सेन चढेर नागोया पुग्नु, त्यहाँ भतिजाको घरमा परिवारसँग बिताउने समय, अनि क्योतोसम्मको यात्रा, यी सबै केवल योजनामा सीमित कुरा थिएनन्; यी मेरा स्मृतिहरू बन्ने प्रक्रियामा थिए ।
ताकासाकी जापानको नक्सामा कुनै चकाचौंध गर्ने महानगर होइन, तर यसको मौनतामा एउटा सौन्दर्य छ । बिहानै सडकहरू सफा थिए, मानिसहरू आआफ्नो गन्तव्यतर्फ शान्त ढङ्गले हिंडिरहेका थिए । यहाँ हर्नको आवाज सुनिँदैन, हतारको कोलाहल छैन । मानिसहरू समयसँग लड्दैनन्,समयसँग मिलेर बाँचिरहेका देखिन्छन् । म होटलबाट बाहिर निस्कँदा हल्का चिसो हावाले गाला छोयो । हातमा सानो झोला, मनमा धेरै भाव,जापानले मलाई फेरि केही सिकाउँदै थियो: यात्रा केवल दूरी नाप्ने कुरा होइन, आत्मालाई छुन दिने अवसर हो ।
ताकासाकी स्टेसन जापानी जीवनशैलीको प्रतिविम्ब जस्तै लाग्छ,स्वच्छ, व्यवस्थित र शान्त ।
कसैको अनुहारमा अनावश्यक हतार थिएन, तर कोही पनि ढिलो भएको देखिँदैनथ्यो । म टिकट काउन्टर नजिक पुगेँ । भाषा फरक थियो, तर व्यवहारले कुनै दूरी महसूस गराएन । मलाई टोकियोमा अर्को ट्रेन फेर्नेगरी टिकट मिल्यो, मतलव डाइरक्ट ट्रेन थिएन । जापानीहरूको नम्रता शब्दभन्दा अगाडि आउँछ । सिन्कान्सेन,यो शब्द सुन्नासाथ मेरो मनमा वेगको कल्पना आउँथ्यो । तर स्टेसनमा उभिँदा मैले महसूस गरेँ, यो वेग केवल गतिको होइन, व्यवस्थाको हो ।
प्लेटफर्ममा रेल आउनु भन्दा केही मिनेट अगाडि नै सबै यात्रु लाइनमा उभिएका थिए । कुनै धकेलाधकेल थिएन, कुनै आवाज थिएन । मलाई लाग्यो,यदि अनुशासनलाई मूर्त रूप दिनुपरे जापान पर्याप्त उदाहरण हो । टाढाबाट सिन्कान्सेन देखिन थाल्यो । सेतो शरीर, निलो धार, चिल्लो आकृति,मानौं भविष्य वर्तमानमा प्रवेश गर्दैछ । रेल रोकियो । ढोका ठीक त्यही ठाउँमा खुल्यो जहाँ चिन्ह लगाइएको थियो । म भित्र छिरेँ ।
सिन्कान्सेनभित्र : मौन वेग
सिटमा बसेपछि पहिलो अनुभूति भयो, शान्ति । रेलभित्र मोबाइलको आवाज छैन, चर्को कुराकानी छैन । मानिसहरू किताब पढिरहेका छन्, कोही झ्यालतिर हेरेर विचारमा डुबेका छन् । रेल चल्न थाल्यो, मेरो सिट झ्यालतिर थियो । धक्का छैन, आवाज छैन,तर बाहिरको दृश्यले वेग बताइरहेको थियो । घरहरू, खेतहरू, साना शहरहरू आँखा झिम्क्याउँदा हराइरहेका थिए । म झ्यालबाहिर हेर्दै थिएँ । जापानको ग्रामीण सौन्दर्य,साना घरहरू, सफा खेत, मिलेको संरचना । यहाँ प्रकृति र मानिसबीच द्वन्द्व होइन, सहअस्तित्व छ ।
यात्रा गर्दा मानिस बाहिर मात्र होइन, भित्र पनि हिँड्छ । म आफैंसँग कुरा गरिरहेको थिएँ, जीवनका यात्रा, परिवारका सम्बन्ध, देशको भिन्नता । नेपालमा यात्रा भनेको प्रायः धुलो, हर्न र प्रतीक्षा हो । यहाँ यात्रा भनेको अनुभवलाई सम्मान गर्ने प्रक्रिया जस्तो लाग्यो । म सोच्दै थिएँ, यदि हामीले पनि यात्रालाई यसरी बाँच्न सके, शायद जीवनको धेरै तनाव आफैं कम हुन्थ्यो ।
रेल नागोयातर्फ दौडिरहँदा मेरो मन भने भतिजाको अनुहारतर्फ गइरहेको थियो । टोयोता कम्पनीमा काम गर्ने भतिजो, उसले आफूलाई उता ‘कोनिचिवा’ भनेर चिनाउँदो रहेछ; उसको संघर्ष, उसको सफलता, अनि परदेशमा पनि परिवारको न्यानोपन । म कल्पना गर्दै थिएँ, स्टेसनमा उसको स्वागत, बुहारीको मुस्कान, नानीहरूका उत्सुक आँखा । परदेशमा रगतको सम्बन्ध कति मूल्यवान हुन्छ भन्ने कुरा मैले धेरै पटक अनुभव गरेको छु । सिन्कान्सेनले मलाई एउटा पाठ सिकायो, दूरी समयले होइन, अनुभूतिले नापिन्छ । ताकासाकीबाट नागोया पुग्न केही घण्टा मात्र लाग्ने थियो, तर ती घण्टाहरूले मलाई जापान बुझ्न, आफू बुझ्न र सम्बन्धको मूल्य सम्झाउन थालेका थिए । रेल निरन्तर अगाडि बढिरहेको थियो । मेरो यात्रा पनि ।
नागोया : परदेशको आत्मीयता
सिन्कान्सेनले वेग कम गर्दै नागोया स्टेसनमा प्रवेश गर्दा मेरो मनमा एउटा अनौठो मिश्रित भाव थियो, यात्राको थकान होइन, भेटको उत्सुकता । ठूलो शहरको स्टेसन, चहलपहल, आवाजहरू । तर ती आवाजहरू पनि जापानी शिष्टताभित्रै सीमित थिए । रेलको ढोका खुल्यो । म बाहिर निस्कँदै गर्दा एउटै अनुहार खोजिरहेको थिएँ, भतिजाको । भीडको बीचमा उभिएको ऊ मलाई देख्नेबित्तिकै मुस्कुरायो । त्यो मुस्कानमा केवल खुशी थिएन, त्यहाँ गर्व थियो, सम्मान थियो र परदेशमा आफ्ना मान्छे भेट्दा आउने आत्मीयता थियो । “काका,” उसले नेपालीमै भन्यो । त्यो एक शब्दले सारा दूरी मेटायो । हामीले हात मिलाएनौं, उसले नेपाली मूल्यमै दण्डवत् गर्न तम्सियो, मैले उसको शीरमा हात राख्दै घोप्टो परिरहेको शीर माथि तानें । जापानी समाजमा सीमित शारीरिक सम्पर्क भए पनि, हाम्रो नेपाली भावले कुनै संकोच मानेन । त्यही क्षण मैले महसूस गरेँ, संस्कृति फरक हुन सक्छ, भावना होइन ।
स्टेसनबाट बाहिर निस्कँदा नागोया शहरको विशालता देखिन थाल्यो । अग्ला भवनहरू, सफा सडक, स्पष्ट संकेतहरू । तर यो टोकियोको जस्तो उन्मत्त व्यस्तता होइन, नागोया व्यवस्थित छ, सन्तुलित छ । भतिजाले आफ्नो कामको कुरा गर्दै थियो, टोयोता कम्पनीको अनुशासन, समयपालन, जिम्मेवारी । उसको स्वरमा थकान थिएन, गर्व थियो । “यहाँ काम कठिन छ, तर न्यायपूर्ण छ,” उसले भन्यो । म मौन भएर सुन्दै थिएँ । परदेशमा श्रमको मूल्य बुझ्नु आफैंमा ठूलो उपलब्धि हो । टोयोता केवल कार उत्पादन गर्ने कम्पनी मात्र होइन,यो एउटा कार्य–संस्कृति हो । भतिजाले मलाई त्यहाँको प्रणाली, टिमवर्क र निरन्तर सुधार (Kaizen) को कुरा गर्यो । म सोच्दै थिएँ, हामी किन पछि पर्छौँ ? शायद प्रविधिको कमीले होइन, अनुशासन र दृष्टिकोणको कमीले । भतिजाको आँखामा मैले आत्मविश्वास देखेँ । यो आत्मविश्वास केवल तलबले दिएको थिएन, यो सम्मानले दिएको थियो । नागोयाका सडकहरू चिल्ला थिए । गाडी भित्र शान्त संगीत बजिरहेको थियो । भतिजो ड्राइभ गर्दै थियो, म छेवैंको सिटमा । गाडी घरतर्फ बढ्दै गर्दा उसले भन्यो, “काका, घरमा सबै जना तपाईंलाई कुरिरहेका छन् ।” त्यो वाक्यले मेरो मन छोयो ।
घरको ढोका खुल्यो । बुहारी निरु मुस्कुराउँदै अगाडि आइन् । उनको मुस्कानमा जापानी विनम्रता र नेपाली आत्मीयता मिसिएको थियो । “स्वागत छ काका,” उनले भनिन् । त्यो स्वागत औपचारिक थिएन, त्यो मनको थियो । नानीहरू अलिक लजाउँदै, अलिक उत्सुक भएर हेर्दै थिए । ती निर्दोष आँखाहरूमा म कुनै देश देख्दिनँ, म केवल भविष्य देख्छु । घर सानो थियो, तर व्यवस्थित । प्रत्येक वस्तुको स्थान थियो । भुइँमा जुत्ता राख्ने ठाउँदेखि भान्सासम्म, सबै कुरा सोचेर बनाइएको । बुहारीले चिया ल्याइन् । त्यो चियामा केवल स्वाद थिएन, त्यहाँ माया मिसिएको थियो । परदेशमा आफन्तको घर भनेको निक्कै ठूलो आश्रय हुन्छ, यहाँ म पाहुना होइन, परिवारको सदस्य थिएँ । साँझ परेपछि हामी सबै बसेर कुरा गर्यौँ । नानीहरूको पढाइ, जापानी विद्यालय, भाषा सिकाइ । उनीहरूको भविष्यको सपना । म सुन्दै थिएँ र सोच्दै थिएँ, यी नानीहरू दुई संस्कृतिको संगम हुन् । नेपाली जरा, जापानी परिवेश । यो मिश्रण चुनौती पनि हो, अवसर पनि । कोठामा सुत्न जाँदा म धेरै बेर निदाउन सकिनँ । मनभित्र धेरै विचारहरू घुमिरहेका थिए । परदेश, परिवार, श्रम, सम्मान । जापानले मलाई फेरि सम्झायो, जहाँ माया छ, त्यहीँ घर हुन्छ ।
===
नागोयाबाट क्योतो
भोलिपल्ट बिहान म सामान्यभन्दा चाँडै ब्युँझिएँ । झ्यालबाट बाहिर हेर्दा नागोयाको आकाश हल्का नीलो देखिन थालेको थियो । आजको यात्रा विशेष थियो, नागोयाबाट क्योतो, र त्यो पनि भतिजाले चलाएको गाडीको अगाडिको सिटमा बसेर । यो कुनै साधारण बस या रेलको यात्रा होइन । यो थियो, परिवारसँगै, बाटोसँग संवाद गर्दै, देशलाई नजिकबाट महसूस गर्ने अवसर । बुहारीले बिहानको लागि हल्का तर सन्तुलित नास्ता तयार पारेकी थिइन् । नानीहरू अझै निद्रामा थिए तर, हाम्रो हलचलले चारु (माइली नातिनी) उठिन र हामीसँगै जान्छु भनिन् । घर शान्त थियो,तर त्यो शान्तिमा अपनत्व मिसिएको थियो । भतिजाले गाडी तयार गरिसकेको थियो । उसको हतारमा पनि अनुशासन थियो र मुस्कानमा आत्मविश्वास । “काका, अगाडि बस्नुहोस्,” उसले भन्यो, चारु पछाडि बसिहालिन् । अगाडिको सिट, मुसाफिर र चालकबीचको त्यो सानो दूरी, जहाँ संवाद पनि खुला हुन्छ, दृश्य पनि । गाडी बिस्तारै सडकमा निस्कियो । नागोयाका सडकहरू बिहानै पनि व्यवस्थित थिए । ट्राफिक बत्ती, लेन, गति, सबै कुरा मान्छेले होइन, नियमले चलाइरहेको जस्तो । म सिटमा बसेर सडक हेर्दै थिएँ । यहाँ सडक केवल सवारी साधनको लागि होइन, यो संस्कृतिको दर्पण हो । कुनै चालक हतारिएको देखिँदैन, कुनै पैदल यात्री डराएको छैन । हामी कहिले कुरा गर्थ्यौँ, कहिले मौन रहन्थ्यौँ । तर त्यो मौन असहज थिएन । त्यो मौनले दृश्यलाई बोल्न दिइरहेको थियो । भतिजाले कहिलेकाहीँ कामका अनुभव सुनाउँथ्यो, टोयोतामा सिकेको धैर्य, समूहमा काम गर्ने कला । म सुनिरहेको थिएँ र सोचिरहेको थिएँ, यी सिकाइहरू केवल कार बनाउने होइन, मान्छे बनाउने अभ्यास हुन् ।
नागोया पछाडि पर्दै गयो । अग्ला भवनहरू साना हुँदै गए । हरियाली बढ्दै गयो । साना पहाडहरू, जंगल, सफा खोल्साहरू । जापानले देखाउँदै थियो,आधुनिकता र प्रकृतिको सहअस्तित्व । नेपालका पहाड सम्झिएँ । फरक भूगोल, फरक इतिहास । तर प्रकृतिप्रतिको प्रेम उस्तै हुनुपर्छ भन्ने चाहना ।
राजमार्गको सौन्दर्य
राजमार्ग फराकिलो थियो, तर खालीजस्तो । गाडी स्थिर गतिमा अघि बढिरहेको थियो । कुनै हर्न छैन । कुनै चिच्याहट छैन । म अगाडिको सिसाबाट देखिने दृश्यमा हराइरहेको थिएँ । आकाश, सडक र भविष्य, तीनै कुरा एउटै रेखामा देखिन्थे । त्यो दृश्यले मलाई जीवन सम्झायो, यदि दिशा स्पष्ट भयो भने, गति आफैं सन्तुलित हुन्छ । बाटोमा एउटा विश्रामस्थलमा रोकियौँ । सफा शौचालय, सानो पसल, हरियाली । यहाँ पनि अनुशासन । यहाँ पनि शान्ति । कफी हातमा लिएर बाहिर उभिँदा मैले सोचें, यात्रा भनेको गन्तव्यमा पुग्नु मात्र होइन, बीच–बीचका यस्ता क्षणहरू संकलन गर्नु पनि हो । गाडी फेरि अघि बढ्यो । क्योतो नजिकिँदै गर्दा वातावरणमा केही परिवर्तन महसूस भयो । यहाँ आधुनिकता अलि झुकेको छ, इतिहास अलि उठेको छ । भतिजाले क्योतोका मन्दिर, संस्कृति र नियमहरूको कुरा गर्यो । यहाँ नयाँ भवन पनि पुरानो शैलीसँग मेल खाने गरी बनाइन्छ । म उत्साहित थिएँ । म क्योतो केवल हेर्न होइन, महसूस गर्न चाहन्थेँ । टाढाबाट क्योतोका पहाड देखिन थाले । त्यस दृश्यले मन शान्त बनायो । मलाई लाग्यो, केही शहरहरू चिच्याएर बोल्छन्, क्योतो भने फुसफुसाएर कथा सुनाउँछ । गाडी क्योतोको सीमाभित्र प्रवेश गर्यो । मेरो यात्रा अर्को चरणमा प्रवेश गर्दै थियो ।
क्योतोमा प्रवेश गरेपछि मैले सबैभन्दा पहिले हावाको स्वाद फरक महसूस गरेँ । यो केवल कल्पना थिएन । यो शहरमा हावा पनि इतिहास बोकेर बग्छ जस्तो लाग्यो । नागोयाबाट आएको गाडी शहरभित्र छिर्दै गर्दा वरिपरि देखिने दृश्यहरू क्रमशः बदलिँदै गए । यहाँ अग्ला भवनहरू कम थिए, तर प्रत्येक संरचनामा एउटा मर्यादा थियो, जस्तो कि आधुनिकता पनि यहाँ निहुरिएर हिँड्छ । सडकहरू साँघुरा थिए, तर अस्तव्यस्त थिएनन् । यहाँ सडक केवल गाडी चलाउने ठाउँ होइन, यो समयलाई बिस्तारै बग्न दिने माध्यम हो । काठका पुराना घरहरू, साना पसलहरू, ढोकाबाहिर राखिएका फूलका गमला । सबै कुरा सानो, तर अर्थपूर्ण । म गाडीको सिटबाट ती दृश्यहरू मनभरि भर्दै थिएँ । क्यामेरा झिक्न मन लागेन । केही दृश्यहरू तस्बिरमा होइन, मनमै सुरक्षित गर्नुपर्छ । भतिजाले गाडी चलाउँदै भन्यो, “काका, क्योतोमा समय अलि ढिलो हिँड्छ ।” मैले मुस्कुराएँ । साँचै, यहाँ घडीले होइन, स्मृतिले समय नापिरहेको जस्तो लाग्थ्यो । यो शहर जापानको पुरानो राजधानी थियो । यहाँका मन्दिरहरू केवल धार्मिक स्थल होइनन्, यी राष्ट्रको आत्मा हुन् ।
गाडी पार्किङतर्फ मोडियो । बाहिर निस्कँदा वातावरण अझै शान्त लाग्यो । मानिसहरू थिए, तर कोलाहल थिएन । सबै जना आफ्नै गति र भावनामा डुबेका देखिन्थे । स्वर्णमन्दिर, किंकाकु-जी, यो नाम मैले धेरै पटक सुनेको थिएँ, तर सुन्नु र सामना गर्नु फरक कुरा रहेछ ।
स्वर्ण दरबार (किंकाकु-जी): मेरो अनुभूति
क्योतो पुगेपछि मनभित्र एउटा अद्भुत मौनता बस्छ । आधुनिकताको चहलपहलबाट केही पर, इतिहास आफैं बोलिरहेको जस्तो लाग्छ । त्यही मौनताभित्र सुनौलो चमकले सजिएको किंकाकु-जी, हामीले प्रायः ‘क्योतोको स्वर्ण दरबार’ भनेर चिनेको स्थल, मेरो यात्राको केन्द्र बन्यो । दरबारतर्फ बढ्दै जाँदा पाइनका रुखहरू, सन्तुलित पोखरी र काठको पुलले मनलाई क्रमशः शान्त बनाउँदै लगे । स्वर्ण पातले आच्छादित भवन पहिलो झल्कोमै आँखामा पर्छ, तर त्यसको प्रभाव आँखाभन्दा पनि मनमा गहिरो बस्छ ।
ऐतिहासिक पृष्ठभूमि: शोगुनदेखि जेनसम्म
किंकाकु-जीको कथा १४औँ शताब्दीको उत्तरार्धतिर पुग्छ । आशिकागा शोगुन वंशका तेस्रो शोगुन आशिकागा योशिमित्सुले यस स्थललाई आफ्नो विश्रामस्थलका रूपमा विकास गरे । शोगुनको शक्ति, कलाप्रेम र जेन दर्शनप्रतिको आकर्षण यहाँ एकै ठाउँमा भेटिन्छ । योशिमित्सुका दिनमा क्योतो केवल राजनीतिक केन्द्र मात्र थिएन, यो सांस्कृतिक प्रयोगशाला पनि थियो । चीनसँगको कूटनीतिक/सांस्कृतिक सम्बन्ध, जेन बौद्ध दर्शनको प्रसार र दरबारी कलाको उत्कर्ष, यी सबै धाराहरू किन्काकु-जीमा मिसिन्छन् । योशिमित्सुको निधनपछि दरबारलाई जेन मन्दिरका रूपमा रूपान्तरण गरियो । यसरी शक्ति र वैराग्य, विलास र संयम दुवैको संगम बनेर किन्काकु-जी उभियो ।
किंकाकु-जीको मुख्य भवन तीन तलाको छ र प्रत्येक तलाले फरक शैली र दर्शन बोकेको छ भनेर मलाई भतिजाले बुझायो, तर हामीलाई भित्र प्रवेशको अनुमति थिएन । पहिलो तलामा शिन्डेन शैली देखिन्छ, जसले हियान कालीन दरबारी जीवनको झल्को दिन्छ । काठको प्राकृतिक बनावट, खुला स्थान र पोखरीसँगको सम्बन्ध; मानव र प्रकृतिको सहअस्तित्वलाई संकेत गर्छ । दोस्रो तलामा बुक्के (योद्धा वर्ग) शैली प्रकट हुन्छ । यहाँ अनुशासन, संरचना र सन्तुलन बलियो छ । जेन ध्यानका प्रतीकहरू देखिन्छन्, जसले मनलाई केन्द्रित बनाउँछ । तेस्रो तला पूर्ण रूपमा स्वर्ण पातले आच्छादित छ । यहाँ जेन बौद्ध दर्शनको शिखर झल्किन्छ, यो संसारको क्षणभंगुरता र बोधिको खोज हो । सुनको चमक विलासको प्रतीक मात्र होइन; यो क्षणिकताको सम्झना पनि हो । छानामा राखिएको फिनिक्स (होओ) मूर्तिले पुनर्जन्म, शान्ति र शुभताको संकेत गर्छ । उसलाई पनि गाइडले बताएको रे !
आगो, पुनर्निर्माण र निरन्तरता
इतिहास सधैं सहज हुँदैन । १९५० मा भएको आगलागीले किन्काकु-जी पूर्ण रूपमा ध्वस्त भयो । यो घटना जापानी सांस्कृतिक स्मृतिमा गहिरो घाउ बनेर रह्यो । तर यहीँबाट पुनर्जन्मको कथा सुरु हुन्छ । १९५५ मा पुनर्निर्माण गर्दा ऐतिहासिक नक्सा, सामग्री र प्रविधिको ध्यान राखियो । १९८७ मा पुनः स्वर्ण पातले सजाइयो, अझ दिगो प्रविधिसहित । यसरी विनाशपछि पनि निरन्तरता सम्भव छ भन्ने सन्देश किन्काकु-जीले दिएको छ ।
पोखरीमा परावर्तित सुन
दरबारअगाडि उभिँदा समय रोकिएको जस्तो लाग्यो । क्योको-ची (पोखरी)मा परावर्तित स्वर्ण दरबारले दुईवटा संसार देखायो; एक वास्तविक, अर्को प्रतिबिम्ब । हावाको हल्का स्पर्शले पानीमा तरंग आउँदा प्रतिबिम्ब टुक्रिन्थ्यो, अनि फेरि जुट्थ्यो । त्यही क्षण मैले बुझें, जीवन पनि यस्तै हो । स्थिर देखिने सुन पनि पानीमा क्षणमै बदलिन्छ । यही परिवर्तनशीलतामा सौन्दर्य छ । पर्यटकहरूको भीडबीच पनि मभित्र शान्ति थियो । क्यामेराको क्लिकभन्दा पर, मनभित्र एउटा मौन संवाद चलिरहेको थियो- इतिहाससँग, आफ्नै यात्रासँग ।
बगैंचा र मार्ग: ध्यानको यात्रा
किंकाकु-जीको बगैंचा केवल सजावट होइन, यो ध्यानको मार्ग हो । घुमाउरो बाटो, योजनाबद्ध दृश्य र क्रमिक खुलापनले आगन्तुकलाई सोच्न बाध्य बनाउँछ । प्रत्येक मोडमा दृश्य बदलिन्छ, तर समग्र सन्तुलन रहिरहन्छ । यो मार्गमा हिँड्दा मैले आफ्नै जीवनयात्राको तुलना गरेँ; सीधा रेखा होइन, मोडहरू, उतारचढाव, तर अन्ततः अर्थपूर्ण गन्तव्य ।
वर्तमान मूल्य : सांस्कृतिक, आध्यात्मिक
आज किन्काकु-जी केवल ऐतिहासिक स्मारक होइन; यो जापानी पहिचानको प्रतीक हो । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत यस स्थलले संस्कृति, पर्यटन र शिक्षा; तीनै क्षेत्रमा योगदान पुर्याउँछ । आध्यात्मिक रूपमा, जेन दर्शनको जीवित पाठशाला बनेको छ । आगन्तुकहरू यहाँ केवल हेर्न होइन, अनुभव गर्न आउँछन् ।
पर्यटन अर्थतन्त्रमा किन्काकु-जी
आजको किन्काकु-जी जापानको सबैभन्दा बढी भ्रमण गरिने सांस्कृतिक सम्पदामध्ये एक हो । क्योतो आउने आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको ठूलो हिस्सा यहाँ पुग्छ । प्रवेश शुल्क, गाइड सेवा, स्मृतिवस्तु, वरपरका रेस्टुरेन्ट र यातायात सेवाबाट सिर्जित आर्थिक गतिविधिले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँछ । किंकाकु-जी स्वयं धार्मिक संस्था भएकाले प्रत्यक्ष नाफामुखी व्यवसाय होइन, तर यसले उत्पन्न गर्ने पर्यटन चक्रले हजारौँ मानिसको जीविकासँग सम्बन्ध गाँसेको छ । होटल, र्योकान (परम्परागत जापानी सराय), ट्याक्सी चालक, हस्तकला विक्रेता; सबैको आयको कुनै न कुनै अंश स्वर्ण दरबारसँग जोडिएको छ ।
यहाँ एउटा संवेदनशील प्रश्न उठ्छ- के पवित्र स्थललाई पर्यटनले ‘व्यापारिक’ बनाउँदै लगेको हो ? यो द्वन्द्व जापानले सचेत रूपमा सम्बोधन गरेको देखिन्छ । किन्काकु-जीमा सीमित क्षेत्र मात्र खुला छन्; मुख्य भवनभित्र प्रवेश निषेध छ । यसले श्रद्धा र संरक्षणलाई प्राथमिकता दिन्छ, जबकि बाहिरी अनुभवबाटै आर्थिक मूल्य सिर्जना हुन्छ । मेरो दृष्टिमा यो सन्तुलन प्रशंसनीय छ । पर्यटक भएर म फोटो खिच्न चाहन्थें, तर त्यहीँ राखिएका संकेतहरूले मलाई संयमित बनायो, यहाँ सबै कुरा उपभोगका लागि मात्र होइन, सम्मानका लागि हो । किंकाकु-जीको व्यवस्थापनमा जापानी अनुशासन स्पष्ट देखिन्छ । प्रवेशद्वारदेखि बाहिर निस्कँदासम्मको मार्ग एकतर्फी छ, जसले भीड व्यवस्थापन सहज बनाउँछ । संकेतचिन्हहरू सरल तर प्रभावकारी छन् । स्वयंसेवक र कर्मचारीहरू शान्त, विनम्र तर सतर्क देखिन्छन् । विशेष चाडपर्व वा पर्यटन सिजनमा पनि अव्यवस्था कम महसूस हुन्छ । यो व्यवस्थापन केवल नियमको कठोरता होइन; आगन्तुकलाई स्वाभाविक रूपमा अनुशासित बनाउने वातावरणको परिणाम हो । प्रवेश शुल्क र दानबाट आएको आम्दानीको ठूलो हिस्सा संरक्षण, मर्मत र अनुसन्धानमा पुनःनिवेश गरिन्छ । स्वर्ण पाताको नियमित निरीक्षण, काठ संरचनाको हेरचाह र बगैंचाको सन्तुलन- यी सबै निरन्तर खर्च माग्ने काम हुन् । यस सन्दर्भमा किन्काकु-जी केवल हेर्ने वस्तु होइन; यो निरन्तर ‘बाँचिरहेको’ संरचना हो । आर्थिक व्यवस्थापन यसको जीवनरेखा बनेको छ ।
विश्वव्यापी छवि र ‘ब्रान्ड क्योतो’
किंकाकु-जी क्योतोको ‘ब्रान्ड एम्बेसडर’ जस्तै बनेको छ । पोस्टकार्ड, वृत्तचित्र, पाठ्यपुस्तक; सबै ठाउँमा यसको छवि प्रयोग हुन्छ । मैले त्यहाँबाट लिएर आएको स्वर्णमन्दिरको प्रतीकले नै त हो यो लेखनमा आकर्षित गरेको पनि ! यसले क्योतो मात्र होइन, सम्पूर्ण जापानको सांस्कृतिक छविलाई बलियो बनाउँछ । म त्यहाँ उभिँदा महसूस गर्थें, म केवल एउटा मन्दिर हेरिरहेको छैन, म एउटा राष्ट्रले आफ्नो इतिहासलाई कसरी वर्तमानसँग जोडेको छ भन्ने उदाहरण हेर्दैछु ।
किंकाकु-जी आज केवल ऐतिहासिक स्मारक वा धार्मिक स्थल मात्र होइन; यो क्योतोको पर्यटन अर्थतन्त्रको एक प्रमुख आधारस्तम्भ हो । तर यसको विशेषता यहीँ छ कि यसले आर्थिक योगदान, पवित्रताको संरक्षण र अनुशासित व्यवस्थापन; यी तीनै पक्षलाई एउटै लयमा बाँध्न सकेको छ । क्योतो भ्रमण गर्ने अधिकांश पर्यटकको प्राथमिक सूचीमा किन्काकु-जी पर्छ । दैनिक हजारौँ आन्तरिक तथा अन्तर्राष्ट्रिय आगन्तुकले यहाँ प्रवेश शुल्क तिर्छन्, जसले मन्दिर व्यवस्थापनलाई प्रत्यक्ष आर्थिक आधार दिन्छ । तर यसको वास्तविक प्रभाव मन्दिरको गेटभन्दा बाहिर फैलिएको छ । होटल, र्योकान, क्याफे, रेस्टुरेन्ट, ट्याक्सी, बस सेवा, पर्यटक गाइड र स्मृति–वस्तु पसल; यी सबैको कारोबार कुनै न कुनै रूपमा स्वर्ण दरबारसँग गाँसिएको छ । यसरी किन्काकु-जी स्थानीय रोजगार सिर्जना र सेवा अर्थतन्त्रको विस्तारमा महत्वपूर्ण भूमिका खेल्छ । मेरो त्यस यात्रामा, मन्दिरतर्फ जाने बसभित्रै विभिन्न देशका पर्यटकहरूको उत्साह देख्दा यो स्थान कति विश्वव्यापी आकर्षणको केन्द्र बनेको रहेछ भन्ने अनुभूति भयो ।
नेपालसन्दर्भ
नेपाल मन्दिरहरूको देश हो । पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भू, लुम्बिनी, जनकपुर, पाथीभरा, मनकामना; यी नाम उच्चारण गर्दा श्रद्धा जाग्छ, आत्मा निहुरिन्छ । अझ यसो भनौं मन्दिरबिनाको नेपालमा कुनै ठावैं छैन, यहाँ पर्यटक आउने भनेकै मन्दिरहरू हेर्न हो । काठमाडौं उपत्यका त संसारभर मन्दिरले नै जानिन्छ । मन्दिर नभएको भए न मनकामना हुन्थ्यो न चन्द्रागिरी । प्राकृतिक दृश्यावलोकन त धेरै पछि आएको कन्सेप्ट हो, ढोरपाटनको उत्त्तरगंगा बराहको मन्दिरउपरको आश्था पहिलो हो । ‘यिनै मन्दिरहरू व्यवस्थित गर्न पाए’ जापान यात्रामा मैले महसूस गरेको एउटा गहिरो सत्य यही थियो । शास्त्रले भन्छ- “अतिथि देवो भवः” । यदि भक्त देवता समान हो भने, उसको आधारभूत सहजताको उपेक्षा कसरी धर्म हुन सक्छ? नेपालका मन्दिरहरू केवल पूजा गर्ने स्थान होइनन्, ती सभ्यताका पाठशाला हुन् । यदि हामी मन्दिरलाई शुद्ध र व्यवस्थित देख्न चाहन्छौँ भने, हामी धर्मलाई जीवनसँग जोड्न चाहन्छौँ भने, मानव आवश्यकतालाई धर्मबाट अलग राख्न सकिँदैन । जापानले मलाई क्योतोको मन्दिरमार्फत एउटा प्रश्न सोध्यो; “तिमी मानिसलाई कति सम्मान गर्छौ ?” नेपालका मन्दिरहरूले अब त्यो प्रश्नको उत्तर दिनुपर्ने बेला आएको छ ।
===
निष्कर्ष
किंकाकु-जीले देखाएको मोडलले सिकाउँछ; सांस्कृतिक सम्पदा न त पूर्ण रूपमा संग्रहालय बन्नुपर्छ, न त खुला बजार । सन्तुलित पर्यटन सम्भव छ, जहाँ अर्थतन्त्र चल्छ, पवित्रता जोगिन्छ र आगन्तुकले अर्थपूर्ण अनुभव पाउँछ । मेरो लागि, यो अध्ययन स्वर्ण दरबारको बाहिरी चमकभन्दा परको पाठ बन्यो; व्यवस्थापन पनि एउटा कला रहेछ । पहिलो पटक मन्दिर देख्दा म केही क्षण बोल्न सकिनँ । सुनौलो संरचना, पानीको ऐनाजस्तो ताल र वरिपरि हरियाली । त्यो दृश्य आँखाले भन्दा पहिले मनले देख्यो । सुन, यहाँ धनीपनको प्रतीक होइन । यहाँ सुन शुद्धताको प्रतीक हो । मन्दिर तालमा परेको प्रतिबिम्बसँगै मेरो मन पनि केही बेर स्थिर भयो ।
स्वर्णमन्दिर वरिपरि मानिसहरू थिए, तर आवाज कम थियो । सबै जना स्वतः मौनमा थिए । मलाई लाग्यो, यो मौन कसैले थोपरेको होइन, यो ठाउँले आफैं मागेको हो । मन्दिर हेर्दै गर्दा मनभित्र अनेक प्रश्नहरू उठे, जीवन, अस्थायित्व, सौन्दर्य । किंकाकु-जी धेरै पटक जलेको रहेछ, तर फेरिफेरि बनाइएको । त्यो कुरा सुन्दा म झस्किएँ । जापानी दर्शनमा सबै कुरा नश्वर छ भन्ने मान्यता छ । स्वर्णमन्दिर त्यसैको प्रतीक हो । सुनले ढाकिएको संरचना पनि एकदिन नष्ट हुनसक्छ । तर त्यसलाई पुनःनिर्माण गर्ने इच्छाशक्ति मानव आत्माको विजय हो । म सोच्दै थिएँ, हामी कति कुरा गुमाउँछौँ, तर कति कुरा फेरि उठाउन सक्छौँ? तालको पानी स्थिर थियो । मन्दिरको छायाँ त्यसमा स्पष्ट देखिन्थ्यो । त्यो प्रतिबिम्ब हेर्दैगर्दा म आफ्नै जीवनको प्रतिबिम्ब खोज्दै थिएँ । के म पनि समयको तालमा आफ्नो छायाँ छोड्दै हिँडिरहेको छु? मन्दिरअगाडि उभिँदा मैले कुनै औपचारिक प्रार्थना गरिनँ । तर मनभित्र एउटा मौन कामना जन्मियो, जीवन सरल होस्, मन स्थिर होस र यात्राले अझै धेरै सिकाओस् । भतिजो नजिकै उभिएको थियो, चारु मसितै टाँसिएकी । कोनिचिवाको अनुहारमा पनि गम्भीरता थियो । त्यो क्षण हामी काका–भतिजा होइन, दुई यात्रु थियौँ ।
स्वर्णमन्दिरबाट फर्कंदा मन अलि भारी, तर शान्त थियो । क्योतोले मलाई केही दिएको थियो, सिकाइ, मौन र आत्मचिन्तन । गाडीभित्र बस्दा मैले अन्तिम पटक पछाडि फर्केर हेरेँ । स्वर्णमन्दिर टाढिँदै थियो, तर अनुभूति भने मनभित्र गहिरिँदै थियो । स्वर्णमन्दिरबाट फर्किँदा क्योतोको साँझ बिस्तारै झरिरहेको थियो । सूर्य अस्ताउँदै थियो, तर अँध्यारो फैलिएको थिएन । यहाँ साँझ पनि हतारिँदैन, दिन र रात एकअर्कासँग बिदा साटेझैँ लाग्थ्यो । गाडी सडकमा अघि बढिरहेको थियो । साँघुरा गल्लीहरूमा बत्तीहरू बल्न थालेका थिए । ती बत्तीहरू तेज थिएनन्, तर न्याना थिए । क्योतोको साँझ कुनै उत्सव जस्तो होइन । यो एउटा ध्यानजस्तो लाग्छ । पैदल हिँड्ने मानिसहरू, साइकल चलाउँदै गरेका विद्यार्थीहरू, सानो पसल बन्द गर्दै गरेका वृद्धहरू । सबै आफ्नै लयमा थिए । म गाडीको झ्यालतिर हेर्दै सोच्दै थिएँ, कति कम चाहिन्छ मान्छेलाई शान्त हुन ।
यो यात्रा मलाई केवल जापान देखाउनका लागि थिएन । यसले मलाई अनुशासनको सौन्दर्य, मौनको शक्ति, सम्बन्धको मूल्य सिकायो । सिन्कान्सेनले सिकायो, वेग र शान्ति सँगै हुन सक्छन् । क्योतोले सिकायो, सबै कुरा अस्थायी भए पनि अर्थ शाश्वत हुन सक्छ । म सोच्दै थिएँ, घर भनेको ठाउँ होइन, भावना हो । जहाँ माया छ, जहाँ सम्मान छ, जहाँ मौन पनि न्यानो छ, त्यहीँ घर हुन्छ । परदेशमा त्यो घर भतिजाको सानो अपार्टमेन्ट थियो । यो यात्रा सकिँदै थियो, तर यसको प्रभाव अझै धेरै समय रहने थियो । म जान्थेँ, नेपाल फर्किएपछि पनि क्योतोको मौन मनभित्र गुञ्जिरहनेछ । स्वर्णमन्दिरको प्रतिबिम्ब कहिलेकाहीँ आँखा चिम्लँदा देखिनेछ । यात्रा सधैँ फोटोका लागि हुँदैन, तैपनि २-४ क्लिक त गरिएकै छ । केही यात्रा मनको संरचना बदल्न गरिन्छ । यो यात्रा पनि त्यस्तै थियो । मैले जापान देखेँ, तर त्यस क्रममा आफूलाई अझ नजिकबाट चिनें । यो संस्मरण ताकासाकीबाट सुरु भएर क्योतोमा पुगे पनि यसको गन्तव्य मनभित्रै थियो । यदि कहिल्यै फेरि मौन खोज्नुपर्यो भने, मलाई क्योतो सम्झना आउनेछ ।

