२०६२/६३ पछि नेपालले सूचना प्रविधिमा क्रान्ति गर्यो । टेलिभिजन, मोबाइल, कम्प्युटर जस्ता डिजिटल सामग्रीमा हामी जस्ता भुइँमान्छेको पहुँच पुग्यो । अहिले जस्तो इन्टरनेट भने सहज भइसकेको थिएन तर प्रविधितिर पाइला द्रुत गतिमा अगाडि बढिरहेको थियो । हामी काठमाडौँ पढ्न बसेका थियौँ । इन्डियन आइडलमा भर्खर निधन भएका प्रशान्त तामाङ र विश्वभर लोकप्रिय भइरहेको पहिलो संस्करणको ट्वान्टी ट्वान्टी विश्वकप हेर्न रङ्गिन टेलिभिजन किनेका थियौँ । ती कार्यक्रम त कुनै सिजनमा मात्र आउने हुन् । टिभी भएपछि हेरिरहन मन लाग्ने । म धार्मिक व्यक्ति थिइनँ । यसको आशय अधार्मिक पनि होइन । हामी धेरै मुभि, खेल र भारतीय समाचार च्यानल हेर्थ्यौं । आजतक होस् वा एबिपी न्युज च्यानलहरूमा हुने प्रत्यक्ष बहस, मलाई असाध्यै मन पर्थ्यो । आस्था, संस्कार जस्ता धार्मिक च्यानलहरू पनि रिमोट घुमाउँदै गर्दा आइरहन्थे । कुनै एक दिन अवधूत भेषमा भएका, तिख्खर बोली, क्रान्तिकारी जस्ता लाग्ने कुनै एक साधुको प्रवचनले मेरो ध्यान खिच्यो । मैले करिब एक घण्टा उनको प्रवचन सुनेँ । विचारमा क्रान्तिकारी लागिरह्यो । उनका बारेमा जान्ने चाहना बढेर गयो । मैले ओसोका अनुयायीहरूको प्रवचन पनि त्यहीँ सुनेको हो । यी दुवैको गहिरो छाप मेरो मनमा अहिलेसम्म परिरहेको छ ।
म निश्चित मूल्य मान्यतामा आधारित धार्मिक समुदायमा हुर्केको भएर त्यसको प्रभाव मेरो जीवनमा परेको छ । मेरै सम्प्रदाय विशेषमा केही विमतिहरू भए पनि यस विषयमा म खुलेर केही भन्न सक्दिनँ । म धार्मिक अतिवादमा विश्वास गर्दिनँ । मलाई कतै ओसो मन पर्छ, कतै श्री श्री रविशङ्कर, कतै सद्गुरुका विचार ठिक लाग्छ । एक सम्प्रदायमा आश्रित नभई तत्त्वको विवेचना गर्ने महात्मा साधु, सन्तको विचारले स्वाभाविक आकर्षित गर्छ । मलाई आस्था अथवा संस्कार कुन च्यानल हो, अहिले याद छैन । ती अवधूत रूपका साधुको प्रवचनले तान्यो । मैले त्यसलाई हेर्न थालेँ, सुन्न थालेँ । उनको बोलीमा जादु थियो । सरल ढङ्गले गम्भीर कुरा राख्थे । धेरै सैद्धान्तिक र शास्त्रीय कुरा कम भए पनि गुत्थी कुरा भन्थेँ । अहिले जस्तो इन्टरनेट सर्व व्यापक भइसकेको थिएन । विकासकै चरणमा थियो शायद । मैले उनको नाम तरुण सागर रहेको थाहा पाएँ । उनी दिगम्बर जैन सन्न्यासी रहेछन् । दिगम्बरको अर्थ नग्न भेष हुनु हो । टेलिभिजनमा उनी पूर्ण नग्न देखिँदैनथे । उनका पछाडि हर हमेसा हतियारधारी सुरक्षाकर्मी देखिन्थे । त्यस समयमा र अहिले पनि साधु, सन्त, महन्त, वितरागीहरू अगाडि पछाडि सुरक्षाकर्मी लगाउँछन् । जीवन क्षणिक छ । मृत्यु शाश्वत सत्य हो । सबै कार्य ईश्वरको इच्छामा निर्भर हुन्छ भनेर निरन्तर प्रवचन गर्नेहरूले के उद्देश्य र प्रयोजनका त्यति धेरै लाबा लस्कर । कसैको केही नबिगार्ने सन्तहरूलाई डर के को जस्तो लाग्छ । यदि संसारलाई देखाउन नै हो भने मञ्चमा बसेर माया, प्रपञ्च आदि विषयमा प्रवचन गरिरहनुको अर्थ के ? अब हाम्रा धार्मिक समुदायमा प्रश्न गर्दा नास्तिक भन्ने आरोप लागिरहन्छ । संशय, जिज्ञासा आदिको समुचित उत्तर अपेक्षा हुन्छ । कसैले कसैको आध्यात्मिक भाव नाप्न वा मापन गर्न सक्दैन । वास्तवमै आफूले स्वीकार गरेको परम तत्त्व त्यति कमजोर हुँदैन पनि, कसैले केही आरोप लगाउँदैमा त्यस्तै भइहाल्ने । अध्यात्म स्वभाव हो । अरुलाई नियाल्ने भाव हो । प्राणीप्रतिको समभाव हो ।
श्रीमद्भगवद्गीतामा भनिएको छ:
विद्याविनयसम्पन्ने बाह्मणे गवि हस्तिनी ।
शुनि चैव श्वपाके च पण्डिता: समदर्शिन: ।।
पण्डित समदर्शी हुन्छन्, मानवमा मात्र सीमित नभई सम्पूर्ण प्राणीमा । तर यस सत्यलाई हामी भुलिरहेका छौँ । मलाई भूतकालप्रति चिन्ता नगर्ने र भविष्यका बारेमा नसोच्ने फकिर टाइपका भिक्षु, साधु सन्न्यासी र सन्त धेरै मनपर्छ । उनीहरू प्राय: सबैमा समभाव राख्छन् । उनीहरूको दृष्टि जात, धर्म, सम्प्रदायभन्दा माथि उठिसकेको हुन्छ । उनीहरू सबैमा करुणाको दृष्टि राख्छन् । तिनीहरूको सामिप्यताले पनि एक प्रकारको सकारात्मक ऊर्जा प्राप्त हुन्छ । वैदिक, बौद्ध र जैन धर्ममा भिक्षु, साधु, सन्त आदिको व्यवस्था छ । धर्म फरक होला । उपासना पद्धति फरक हुन सक्छ तर परम तत्त्व सबैको एउटै होला । गन्तव्य एक मार्ग अनेक हुन सक्छन् । हामी सहिष्णु र उदारसमाजका हिमायती र पक्षपाती थियौँ तर अचेल हाम्रा लागि धर्म, जात, सम्प्रदाय संवेदनशील बन्दै छन् । ती माथिका न्यायोचित प्रश्नकर्ता भयमा बाँच्न विवश छन् । हामीले निर्माण गर्न खोजेको राष्ट्रमा सबैले अपनत्व महसुस गरून् भन्ने हो । आफ्नो धर्म,संस्कृति निर्बाध र स्वतन्त्र रूपमा मनाउन पाइयोस् । आफ्नो धर्म मान्ने अरूको सम्मान गर्ने आदत बसायौँ भने शायद कुनै प्रकारको विग्रह होला तर अचेल नेपाली समाज विभाजित बन्दै गइरहेको छ । यो हाम्रा लागि गम्भीर विषय बन्न सक्नुपर्छ । यस बारेमा समाजले समयमै चिन्तन गर्नुपर्दछ ।
मेरा लेखाइमा धेरै समस्या छ । आफूले बुझ्छु । शायद अरूले झन् मजाले अनुभव गर्छन् । यसै साहित्यपोस्टमा चार्वाक दर्शन विषयका लेखमा चार्वाकहरू पुरुषार्थ चतुष्टयमा काम र अर्थलाई प्रदान मान्छन् हुनुपर्नेमा मोक्ष भएको छ । संशोधन आवश्यक थियो, गर्छु भन्ने पनि लागिरहेको थियो तर त्यस्तै पठाएछु । यो स्वभाव हो । म मानसिक रुपमा यस्तो लेख्छु भनेर तयार गर्छु तर लेख्न शुरु गरेपछि अर्कैतिर बहकिन्छु । यस्तो मेरो परीक्षाको उत्तर लेख्दा पनि हुन्छ । त्यसको उत्तर फरक हुन्छ भन्ने थाहा हुन्छ । कतिपय अवस्थामा त्यसको तयारी पनि हुन्छ तर लेख्न थाल्दा म आफ्नै दृष्टि हालिदिन्छु । किन लेखाइमा बहकिन्छु ? योजनाबद्ध लेखाइ कस्तो हुन्छ ? स्थापित लेखक कसरी सफल भए ? जान्न मन छ । म यहाँ जैन दर्शनका बारेमा लेख्न चाहन्थेँ । झण्डै झण्डै बहकिन पुगेँ । म कसरी जैन दर्शनप्रति आकर्षित भएँ भनेर लेख्न चाहन्थेँ । त्यसको आधारभूमि नै कता कता पुग्यो । जैन दर्शनप्रतिको झुकाव ममा तरुण सागरको प्रवचनबाट आएको हो । जैन धर्म हुनुका साथै दर्शन पनि हो । दर्शन र धर्ममा तात्त्विक अन्तर भए पनि कतिपय अवस्थामा यी दुईले एक अर्कालाई प्रभावित बनाइरहेका हुन्छन् । चार्वाकबाहेक अन्य पूर्वीय दर्शनलाई धर्मले प्रभावित बनाइरहेको पाइन्छ ।
जैन जिनबाट बनेको हो । यसको व्युत्पत्ति यस्तो देखिन्छ: जिन देवता अस्य अर्थात् जिन छन् देवता छन् जसकाबाट जैन शब्द निर्माण हुन्छ । यसको अर्थ इन्द्रियलाई जित्ने भन्ने हुन्छ । हामी मानव इन्द्रियका वशमा हुन्छौँ । आफ्ना इन्द्रियहरूलाई नियन्त्रण गर्न सक्दैनौँ । हामी जति पनि असल र खराब कर्म गर्छौँ, ती सबै इन्द्रियकै वशमा परेर गरिरहेका हुन्छौँ । त्यसैले यस दर्शनले इन्द्रियलाई नियन्त्रणको कुरा गरिरहेको हो ।
दर्शन शास्त्रमा ज्ञान मीमांसा, तत्त्व मीमांसा र आचार मीमांसाभित्र रहेर विश्लेषण गर्ने गरिन्छ । जैनहरूको केन्द्रीय सिद्धान्तमा अनेकान्तवाद र स्याद्वाद पर्दछ । यहाँ अलिकति उल्लेख गर्ने विषय जैनहरू पनि दिगम्बर र श्वेताम्बर गरी दुई प्रकारका हुन्छन् । यसको पनि आफ्नै कथा भनौँ वा इतिहास छ । जैन साहित्य प्राकृत भाषामा धेरै उपलब्ध छन् । बौद्ध साहित्य जसरी पालि भाषामा छ, त्यसैगरी जैन साहित्य प्राकृतमा अन्तर्निहित छ । यसको आशय संस्कृत भाषामा छैन भन्ने कदापि होइन । बौद्ध साहित्य जैनका तुलनामा अधिक संस्कृतमा पाइन्छ । इसापूर्व छैटौँ शताब्दी दार्शनिकहरूको समय थियो । त्यही समयमा महान् दार्शनिकहरू प्रादुर्भाव भएको पाइन्छ । जैन धर्ममदर्शनका संस्थापक आचार्यहरूलाई तीर्थङ्कर भनिन्छ । यसभित्र २४ तीर्थङ्करहरूको चर्चा परिचर्चा छ । यसका संस्थापक महावीर हुन् । यिनको जन्म इसापूर्व ५४० मा वैशालीको कुण्डग्राममा भएको थियो । श्रीमद्भागवत महापुराणको पञ्चम स्कन्धमा ऋषभदेवको चर्चा छ । उनी चक्रवर्ती सम्राट भरतका पिता मानिन्छन् । भारत वर्षमा तीन प्रसिद्ध भरत छन् । कुनचाहिँ भरतबाट भारत वर्ष रहन गएको हो यस बारेमा लेख्ने काम अन्वेषकहरूको हो । यहाँ चर्चा गरिएको भरतलाई जन्मान्तरमा जड भरत पनि भनिएको पाइन्छ । यससम्बन्धी कथा लामो छ । तसर्थ यहाँ उल्लेख गर्दा प्रसङ्ग इतर हुन्छ । म धेरै ठाउँ प्रसङ्गभन्दा बाहिर जान्छु । समास शैली प्रयोग गर्न नसक्नु र बहकाइमा लाग्नु मेरो लेखाइको विशेषता बनिरहेको छ । म यसलाई सुधार्ने प्रयासमा छु । प्रयास गरेर पनि सफल भइएन भने दोष लाग्दैन भन्छन्` यत्ने कृति यदि नसिद्ध्यति कोSत्र दोष: जड भरतका पिता ऋषभदेवलाई पनि यस धर्मका संस्थापक भनिन्छ तर यो आधिकारिक विचार पक्कै होइन ।
यस धर्म दर्शनमा अणुव्रतको चर्चा छ । हिन्दु संस्कृतिको परिशीलन पुस्तकका लेखक मदनमणि दीक्षितले अणुव्रतका बारेमा सूक्ष्म व्याख्या गरेका थिए । अणुव्रत सन् १९४९ तिर थपिएको विचार मानिन्छ । अणुव्रतका संस्थापक आचार्य तुलसी हुन् । उनले तेरापन्थ अन्तर्गत यसको विकास गरेको मानिन्छ । समाजमा नैतिकता, सादगी, अहिंसा आदि बढाउन यसको विकास गरेका हुन् । यो जैन गृहस्थहरूका लागि आएको आचार हो । आज विश्वमा करिब ५० लाखको हाराहारीमा यस धर्मका अनुयायी छन् र यिनीहरूको प्रमुख पेसा नै व्यापारव्यवसाय हो । आर्थिक उन्नतिमा यस वर्गको विशेष देन रहेको पाइन्छ । हिंसाबाट मुक्तिका लागि नै यिनीहरू व्यवसायमा संलग्न भएका हुन सक्छन् । अणुव्रत पनि पाँच किसिमको रहेको पाइन्छ ।
समग्र बौद्ध साहित्य अपभ्रंशकालीन भाषा पालिमा अधिक पाइन्छ भने जैन साहित्य प्राकृत भाषामा पाइन्छ । यसको मतलब संस्कृत भाषामा छैन भन्ने कदापि होइन । तर महावीर र बुद्धले आफ्ना विचार त्यस समयको ग्राम्य भाषामा दिएकाले यस्तो परिस्थिति बनेको हुनसक्छ । बौद्ध साहित्य पालि र संस्कृतमा सङ्ख्यात्मक रूपमा बराबरको रहे पनि जैन साहित्य प्राकृत भाषामा अधिक भेटिन्छ । धर्म र दर्शन एक आपसमा समन्वित भइरहेका हुन्छन् । एक अर्काका परिपूरक भएर आइरहेका हुन्छन् । यति भन्दै गर्दा यो सबै दार्शनिक विचारधारामा समानरूपले लागु नहुन सक्छ । यद्यपि पौरस्त्य दर्शनहरूमध्ये चार्वाकलाई छोड्ने हो भने धर्म र सम्प्रदाय एक आपसमा परिपूरक बनेकै देखिन्छ ।
जैन पनि धर्म, दर्शन दुवै हो । यी एक अर्काबाट प्रभावित बनेका छन् । जैन इसापूर्वमा छैटौँ शताब्दीतिर भइरहेको ब्राह्मणवाद, यज्ञयागादिमा हुने हिंसाविरुद्ध देखा परेको वैचारिक क्रान्ति हो । वेदमा हिंसाको गुन्जायस नहुनुपर्ने हो । वैदिक सनातन धर्ममा गोमेघ, नरमेघ, अश्वमेघजस्ता यज्ञको चर्चा पाइन्छ । ती यज्ञ कलियुगका लागि निषिद्ध पनि वैदिक धर्मका शास्त्रहरूमा उल्लेख गरिएको भेटिन्छ । यहाँ ब्राह्मणवाद एक वर्ग विशेषलाई सङ्केत गर्न प्रयोग गरिएको होइन । जन्मजात ब्राह्मण कहलाउने र शास्त्रको उचित ज्ञान नभए पनि कर्मकाण्डलाई प्रधानता दिँदै त्यसभित्र अन्तर्निहित तत्त्वका बारेमा नजान्ने परम्परित पण्डितहरूलाई सङ्केत गरिएको हो । वेद स्वयम् मा हिंस्यात् सर्वभूतानि अर्थात् कुनै पनि प्राणीको हिंसा नगर भन्छ । अझ देवीलाई अबोध पशुको बलि कसरी स्वीकार्य हुन्छ ! जुन दुर्गा शप्तशती पढ्दै अबोध पशुको बलि दिन्छौँ, त्यही शप्तशतीमा या देवि सर्वभूतेषु मातृरुपेण संस्थिता भनेको छ । अर्थात् हे देवी तिमी सबै प्राणीहरूका माता हौ भनेको पाइन्छ । यद्यपि वैदिक र बौद्ध धर्ममा पनि तान्त्रिक, वामाचार जस्ता उपासना पद्धति छन् । सात्त्विक, राजर्षि र तामसिक उपासना पद्धति देखिन्छ । कर्मकाण्ड र यज्ञयागादिलाई प्रधान मान्ने दर्शनहरू पनि आफ्नो वैचारिकी उपस्थिति जनाइरहेका छन् । समग्रमा विविधता देख्न पाइन्छ । अन्ध धार्मिकता, कर्मकाण्डको बाहुल्य आदिबाट वाक्कदिक्क भएर क्षत्रिय समाजबाट जैन धर्मदर्शनको शुरुवात भएको पाइन्छ । बौद्ध र जैनको प्रारम्भ समान ढङ्गबाट उही उही समयबाट भएको देखिन्छ ।
धर्म जहिले पनि नीति र आचार प्रधान हुने गर्दछ । यसको अपवाद जैन पनि होइन । सम्यक् दर्शन, सम्यक् ज्ञान र सम्यक् चरित्रबाट मात्र आत्माको गति सुध्रिन्छ । यसलाई त्रिरत्न पनि मानिन्छ । बौद्धहरू धर्म, सङ्घ र बुद्धलाई रत्नत्रय मान्दछन् । यसैगरी नैतिक धरातल दह्रो बनाउन जैनहरू अहिंसा, सत्य, अस्तेय ( चोरी, ठग जस्ता कार्य नगर्नु ), अपरिग्रह(अनावश्यक सम्पत्ति सञ्चय नगर्नु) र ब्रह्मचर्य (इन्द्रियहरूको वशीभूत नहुनु) पाँच पक्षमा जोड दिन्छन् । गहिरो रूपमा हेर्ने हो भने यी पाँच कुरा सम्पूर्ण मानवले पालन गर्न लायक छ । यी विचार शब्दान्तर भएर पूर्वीय धरातलमा विकास भएका सबै धर्ममा आउँछन् । शायद संसारका जुनसुकै धर्मले माथिका कुरा खराब हुन् र मनन गर्न योग्य छैन भन्दैनन् होला ।
जैन विचार धारालाई नास्तिक भन्ने गरिए पनि ईश्वर निन्दक भएर बनेको नास्तिक होइन । यसले वेदवाक्य स्वत: प्रमाण मान्ने अस्वीकार गरेर बनेको नास्तिक हो । यसले किन पनि वेदलाई प्रमाण मानेन भने वेदलाई आधार बनाएर गरिने कर्मकाण्ड आदिको विरोधमा शुरुवात भएको धर्मदर्शन त्यसैको पक्षपाती कदापि बन्न सक्दैन थियो र बनेन पनि । यसका अनुसार ब्रह्माण्डका सबै पदार्थ शाश्वत छन् । समय क्रममा तिनमा स्वाभाविक परिवर्तनहरू देखा पर्दछन् । ब्रह्माण्ड ब्रह्माण्डीय नियम अनुसार नै चलिरहन्छ । त्यसको निर्माता र सञ्चालक छैन । ऊ आफ्नै नियमद्वारा सञ्चालित छ । आस्तिक दर्शनहरूको जस्तो यसको सञ्चालकका रूपमा ईश्वरको परिकल्पना गरिएको छैन । जैनहरू ईश्वरलाई सम्पूर्ण ब्रह्माण्डको सञ्चालक नमानी एक प्राणीका रूपमा मान्दछन् । साथै प्रत्येक जीव असल कर्मद्वारा त्यो स्थान प्राप्त गर्ने कुरामा पनि विश्वास राख्छन् । जीव आफ्नो कर्म नष्ट भएपछि ईश्वरका रूपमा पुग्ने बताउँछन् । यहाँ प्रश्न उठ्न सक्छ ? अन्य आस्तिक दर्शन जस्तै यिनीहरूले पनि ईश्वरको परिकल्पना गरेका रहेछन् भन्ने तर यिनीहरूको ईश्वर या ब्रह्मतत्त्व र अन्यको ब्रह्मतत्त्वमा अन्तर रहेको पाइन्छ । आस्तिकहरूको ईश्वर सर्वशक्तिमान र सर्वव्यापक र जगतको नियन्ता हुन्छ तर यिनीहरूको ईश्वर तत्त्व त्यस्तो हुँदैन ।
जैनहरूको अर्को महत्त्वपूर्ण मौलिक खोज अनेकान्तवाद हो । कुनै एक वस्तुलाई बुझ्ने तरिका अनेक दृष्टिबाट हुने गर्दछ । एउटै तरिकाबाट कुनै वस्तु अथवा पदार्थ बुझ्न सकिँदैन । सत्य सापेक्ष हुन्छ । भौतिक रूपमा देख्न नसक्ने केही व्यक्तिले हात्तीको फरक फरक अङ्ग छोए भने उनीहरूको बुझाइ बेग्लै हुन्छ । वस्तुको स्वरूप निक्कै गहिराइले पूर्ण हुन्छ । त्यसलाई एकै वाक्यमा बुझ्न कठिन हुन्छ । सत्यबोध त्यति सजिलो पनि हुँदैन । अन+एक+अन्त+वाद मिलेर अनेकान्तवाद शब्द बनेको हुन्छ । यसको शुरुवात महावीरबाट भएको मानिन्छ । एउटै वस्तुलाई बुझ्ने अनेक मान्यता, सिद्धान्तहरू हुन्छन् । ती आफैमा सत्य हुन्छन् । केवल एक दृष्टिबाट मात्र नियाल्न कठिन हुने गर्दछ । संसारका प्रत्येक पदार्थ बन्ने र नष्ट आफ्नै गतिमा भइरहेकै हुन्छ । बन्नु, बिग्रिनु र फेरि बन्नु अनेकान्तवाद हो । कुनै एक चिजलाई कहिले सत्य मान्छौँ र फेरि असत्य पनि मान्छौँ । सत्य र असत्य बिचको खोज नै अनेकान्तवाद हो । अनेकान्तवाद र स्याद्वादबिच गहिरो र अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । अब यसपश्चात् स्याद्वादका बारेमा केही उल्लेख गर्ने जमर्को गर्दैछु । मेरै लेखाइ जैन दर्शनको सर्वाधिक विचार प्रकट गर्ने खालको पक्कै छैन । यहाँ मेरा आफ्ना निजी धारणा र विचारहरू पनि ठाउँ ठाउँमा आएका छन् ।
अनेकान्तवाद जस्तै स्याद्वाद पनि यिनीहरूको मौलिक र केन्द्रीय सिद्धान्त हो । यसको शुरुवात पनि महावीरबाट नै भएको मानिन्छ । यसको आशय हाम्रो ज्ञान सीमित र सापेक्ष छ । केही सूचनाका आधारमा हामी ज्ञानी देखिन्छौँ । हामीमा भएको सीमितता बुझी सर्वज्ञानी बन्ने भाव त्याग्नुपर्दछ । स्याद्वादको तात्पर्य कुनै पनि वस्तुलाई नियाल्ने अनेक सम्भावनाको खोज हो । वस्तु विश्लेषण गर्ने यो नयाँ आयाम र विधि हो । सत्य पहिल्याउने सात प्रकारका दृष्टि छन् । यसलाई जैन दर्शनमा सप्तभङ्गीनय भनिन्छ । स्यात् अस्ति, स्यात् नास्ति, स्यात् अस्ति च नास्ति च, स्यात् अवक्तव्यम्, स्यात् अस्ति च अवक्तव्यम्, स्यात् नास्ति च अवक्तव्यम्, स्यात् अस्ति च नास्ति च अवक्तव्यम् । यसलाई नै जैनहरू सप्तभङ्गी नय भन्छन् । यो सत्यको खोजी गर्ने नवीन मार्ग हो ।
अनेकान्तवाद भिन्न तर विपरीत विशेषताको ज्ञान हो भने स्याद्वाद कुनै वस्तु अथवा घटनाको सापेक्ष ज्ञान हो । यीबिच वैषम्य र समानता दुवै हुन्छ । यी दुवै सिद्धान्त जैनहरूको महत्त्वपूर्ण केन्द्रीय सिद्धान्त मानिन्छ । यी दुई सिद्धान्तका कारणले नै जैन दर्शन अरू दर्शनभन्दा पृथक् बनेर आफ्नो उपस्थिति देखाउन सफल भएको हो । प्रत्येक दर्शनमा केही न केही फरकपन हुनुपर्दछ । फरकपन र फरक चिन्तन नभएसम्म त्यसलाई मौलिक दर्शन मान्न सकिँदैन ।
जैनहरू श्वेताम्बर र दिगम्बरका रूपमा विभाजित छन् । मगधमा अकाल परेपछि भद्रबाहुको समूह दक्षिण भारततिर लाग्यो । १२ वर्षसम्म उही पुरानै मान्यतामा दक्षिण भारतको बसाइपछि मगघ फर्किए । त्यतिन्जेलसम्ममा मगधमा रहेकाहरूले समय अनुकूल आफूमा परिवर्तन ल्याइसकेका थिए । यसैले विभाजित भई मगधमा रहेकाहरू श्वेताम्बर र दक्षिण भारततिर लागेकाहरू दिगम्बर भए । यिनीहरूको दार्शनिक मान्यतामा विशेष अन्तर नपाइए पनि आचार, विचारमा अन्तर पाइन्छ । दिगम्बर साधु पूर्णत: नग्न हुन्छन् । साध्वीहरू नसिलाएको कपडा लगाउँदछन् । पाँच प्रकारका व्रतको पालना गर्दछन् । यसका संस्थापक भद्रबाहुलाई मानिन्छ । यसमा आबद्ध महिलाहरू मुक्त हुन सक्दैनन् भन्ने मान्यता रहिआएको पाइन्छ । यस सम्प्रदायका पनि अनेक भेद छन् । श्वेताम्बरहरू सेतो वस्त्र धारण गर्दछन् । गृहस्थाश्रममा पनि बस्ने भएकाले ब्रह्मचर्यबाहेकका चार व्रतको पालना गर्दछन् । स्थूलभद्र यसका संस्थापक मानिन्छन् । यस सम्प्रदायमा आबद्ध महिलाहरूको मुक्ति सम्भव छ भन्ने मान्यता रहेको छ । यसका मुख्य तीन उपसम्प्रदाय रहेका छन् ।
जैन विचारधाराभित्र आगम साहित्य, गैर आगम साहित्य, वास्तुकला आदि पर्दछन् । जैन धर्म, दर्शन, आचार, विचार, वास्तुकला, साहित्य आदिले समृद्ध देखिन्छ । यसैले यो एक समृद्ध विचारधारा हो । बौद्धहरूको पनि विभाजन भएको थियो । बुद्धवाणी सङ्ग्रहमा मतैक्यता नहुँदा अनेक मत र सम्प्रदायमा विभाजित भएको पाइन्छ । जैनहरूमा पनि समयक्रममा विभाजन आयो । कुनै पनि विचारधारा समान रूपले अगाडि बढिरहन सक्दैन । समयक्रममा संशोधन र परिवर्तन भइरहन्छ । त्यसको स्वरूप र प्रकृति आफैँ निर्माण हुन्छ जस्तो लाग्दछ । संसार नै गतिशीलताको पर्याय हो । गतिशील समाजमा अनेक विचारधारा आउँछन् र परिवर्तन हुन्छन् । हामीलाई उपयुक्त विचारधारा छनोटको सुविधा छँदैछ । समाज अनेक विचारधाराबाट बन्ने हो । विचारको विविधता आफैँमा सुन्दर पक्ष पनि हो । हामी नेपाली बहुलतामा विश्वास गर्छौँ । बहुलतामा रमाउन सक्नु नै हाम्रो विशेषता हो । जैन विचारधाराले समाजको अभ्युदयका लागि पक्कै पनि ठोस योगदान दिएकै छ । यो आफ्नै योगदानले आजसम्म जीवन्त रहेको पाइन्छ ।

