चियाको पहिलो घुट्कोलाई उसले एकैछिन जिब्रोको क्षेत्रभित्र रहन दियो । चियाको तातोपन मुखको भित्ता–कापाहरूमा पुग्यो । हरियो चियापत्ती, हिमाली जडिबुटी मिसाइएको जानकारी दिएको छ पोलिथिनको पोकामा टल्केका किरमिरे अक्षरहरूले । स्वाद झन्डै तीतो । गुलियो मिसाउँदैन ऊ यस्ता जडिबुटी जोडिएका चियामा ।
दुवै हातले प्रेमिकालाई बेरेको भानमा कसैले उपहार दिएको पटियाला मगलाई हलुकासँग ओठतिर लग्यो । चियाको दोस्रो मात्रा निकै सुस्तरी तान्यो । दुवै नासिकाबाट तातो बाफ, बाफमा बगेको वन्यताको गन्धभित्र जाओस् भन्नका लागि ओठ नडाम्ने गरी मगलाई नजिकै केही बेर राख्यो । धमिलो पानीझैँ लाग्ने तातो चियामा आँखा गाड्यो, अनि फेरि अर्को घुट्को तान्यो । तातोपना बिस्तारै ओठ, जिब्रो हुँदै घाँटीमा पुगेपछि घुटुक्क पार्यो । तल बग्दै गरेको चिया र चिया झर्दा माथि सरेका घाँटीका अङ्गहरू बीचको संवाद कानमा पर्यो । पेटले तातो थाहा पायो । पेटको आफ्नै चेतना हुन्छ । त्यो तातोपन बाहिरको चिसो जत्तिकै वास्तविक र कडा थियो । उसको शरीर तरङ्गित भयो ।
सचेतपूर्ण निलेको एक–दुई घुट्को फिका चियामा यति सन्तुष्टि !
चिया खाने यस सचेत शैलीलाई बौद्ध भिक्षु थित न्हात हान चिया ध्यान भन्छन् । उसले भने यसलाई सचेत चियापान भनी अभ्यास गरेको छ । यस्तो चियापानमा ऊ केवल चिया सुरप सुरुप मात्र पार्दैन । चियालाई पूर्णतः भोग गर्दछ । गिलासको चियालाई राम्ररी हेर्छ (गहिरिएर हेर्दा हरेक चिज सुन्दर देखिन्छ; कुरुप र अर्थहीन देखिने सम्भावना पनि उत्तिकै हुन्छ); दुवै हत्केलाले गिलास समाउँछ; नाकले चियाको गन्ध सुँघ्छ; जिब्रोले स्वाद । जिब्रो तातिन्छ; कान र घाँटी हुँदै तलतिर बगेको चियाको आवाज सुन्छ । घाँटीहुँदै पेटसम्मको तातोपनले शरीर तरङ्गित हुन्छ । ऊ चियाको हरेक मात्रालाई सर्वइन्द्रिय भोग गर्दछ ।
ऊ आफूलाई कुनै ध्यानी मान्दैन । होइन ।
ऊ आफूलाई योगी ठान्दैन । विश्वास गर्दैन ।
केवल ऊ भोगी हो । सचेत भोगी ।
हरेक पल पूर्णतः भोग गर्नमा लिप्त छ । ऊ भोगानन्द ।
लोकका सबै चिज सूक्ष्म भोग गर्ने लालसा लिन्छ । ऊ लोकानन्द ।
तर यस्तो आनन्दको अनुभूति सधैँ हुँदैन । जीवन भोगाइका अनेकौँ असन्तुष्टि छन् उसमा ।
यदाकदा ऊ मौनिन्छ— अनि जीवनमा भने यति विध्न असन्तुष्टि !
आजसम्म उसले यो मन्द तितो चियाभन्दा मीठा र स्वादिला कति चिज खायो होला ? यसको ऊ कुनै गणना गर्न सक्दैन । ती मीठा, स्वादिष्ट भनी खाएका सबैचिज जिब्रोको तिन चार इन्च क्षेत्रफल काटेपछि स्वाद न व्यादका भए । उसलाई लाग्यो, ऊ आफू असन्तुष्ट हुने, दुःखी हुने अनेकौँ बहाना खोज्दो रहेछ । हैन भने स-साना भनी–मानी–बुझी आएका घटनाहरूमा पनि त यति सन्तुष्टि हुँदोरहेछ । आनन्द आउँदो रहेछ । महत्त्वहीनझैँ लाग्ने आजको यस चिया घटनाले उसलाई यही सुझायो । ऊ चिया ध्यानमा छ । त्यसैले हरेक पटकको चियाको मात्रा ऊ सचेत पिउँदै छ । चिसो शरीरमा तातोपनको सिँचाइ गर्दैछ ।
अर्को घुट्कोमा उसलाई फेरि अर्को विचार फुर्यो— प्राप्तिको सङ्घर्षका बहानामा ऊ दुःखी, हतास कुदिरहेछ । अस्थिर बसिरहेछ । छटपट सुतिरहेछ । एक दिन संघर्षका यी सबै बहाना पूरा भएपछि ऊ झन् कति दुःखी होला ? न कुनै डिग्रीले उसमा अन्ततः अनन्त सन्तुष्टि ल्याउला । न त अर्को कुनै घडेरीको कित्ताकाट गरेपछि, लालपुर्जा हातमा थामिएपछि उसलाई सुन्तुष्टिको अनुभव होला । न त डेराको बसाइँबाट पार लागेर आफ्नै भन्ने भान हुने कुनै घरमा छिरेपछि उसमा असारको झरीझैँ हर्ष बर्सेला । यस्ता प्राप्तिपछि ऊ एकछिन उत्तेजित त पक्कै हुनेछ तर यस्तो उत्तेजना एकछिन, एक दिन, एक साता, मुस्किलले एकाद महिना बसिजाला । फेरि अर्को डिग्री, अर्को घडेरी, अर्को लालपुर्जा अनि अर्को, फेरि अर्कोको योजनामा कोठामा एक्लै घोत्लिएला, बाटामा बरबराउँदै हिँड्ला । भेटेकाले “के छ हो हालखबर ?” भनी सोध्लान् अनि ऊ पुर्वतयारी उत्तर देला— तनाव छ हौ । जिन्दगी बढो जटिलतामा फसेको छ । छुटिएर निकै पर पुगेपछि मात्र सोध्ने मित्रले उसलाई नमस्कार गरेको र आफूले फर्काउन बिर्सिएको सम्झिएला ।
उसका योजनाका खाकाहरू भविष्यतिर हानिने बहाना मात्र हुन् । भविष्यको बहाना वर्तमानबाट भाग्ने कला हो । वर्तमानमा गोडा लरखराउन थालेपछि अनि उसको मन व्यस्त हुन्छ बनाउनमा अनेकौँ योजना र परियोजनाका खाकाहरू । लोभी आँखाले दूर भविष्यको सफलतामा घुर्दै हेरिबस्छ । यता अगाडिको वर्तमान सेलाएर चिसिन्छ । या त फर्किन्छ उसको मन विगततिर अनि उग्राउन थाल्छ वितेका दिन ।
उसको सचेत चियापान जारी छ ।
अब झन्डै एक माना थेग्ने पटियाला मगको चिया आधा भएको छ । चियाको तातोपन रगतमा मिसिएर टाउकोभित्र पुग्छ ।
उसलाई कताकता अँधेरोले छोपी ल्याउँछ— के हुन्छ होला यी सबै भविष्यका योजनाहरू पूरा भए भने ! अनि यो गर्छु र त्यो गर्छु भन्दै हतासमा कुदिहिँड्ने उसका बहानाहरू सकिए भने । यस्तै अन्य बहानाहरू मनको सतहमा तैरिरहने छन् यसै गरी निरन्तर । तर मन धान्ने उसको शरीर गल्नेछ, धमिराको घर वर्षाले थचारे सरि । उसको शरीर समयको वर्षाले गलाएपछि मनमा बनेका योजनाका बाटामा हिँड्न नसक्ने गरी गोडा गल्नेछन् । गल्दै गएपछि योजना बनाउने मस्तिष्क कुनै योजनाको खाका नै बनाउनै नसक्ने गरी रिटायर्ड हुनेछ । उसको स्मृति कुण्ड सुक्नेछ । सम्झनामा केही रहने छैन । उग्राउने केही कुरा नभएपछि बाँकी ऊसँग के रहला ? केवल वर्तमान रहला । अनि ऊ स्थिर रहला त्यस वर्तमानको जग्गामा । बल्ल अब ऊ वर्तमानलाई आफ्नो ठान्ला । स्वीकार्ला जब उसमा भविष्य र विगतका बारेमा सोच्ने सबै शक्ति निथ्रिएपछि । तर शक्ति निथ्रिएको वर्तमानको के औचित्य ? जतिबेला शरीर ऊर्जावान थियो, चेतना बलिरहेको थियो, त्यतिबेलाको उसको वर्तमान कि त भविष्यको कल्पनामा बित्यो कि त विगतको स्मृतिमा । उतिखेरै सम्पूर्ण तनमन शक्ति वर्तमानमा केन्द्रित गर्न सकेको भए उसको जीवन आनन्दले धपक्क बल्दथ्यो होला, आइ-ग्लासले सूर्यकिरण खिचेर आगो पारेझैँ । तर भोलिको तयारी भन्दा–भन्दै, हिजोको हिसाबकिताब गर्दागर्दै हरेक आज हिजो हुँदै गयो । हरेक आजलाई आजकै रूपमा बिताएको भए आज उसको जीवन कति आनन्दमय हुन्थ्यो होला ।
उसको सचेत चियापान जारी छ ।
अब चिया मगको पिँधमा पुगेको छ । मगलाई खाटे टेबलको छेउमा राख्नुअघि त्यसभित्र हेर्यो । चियापत्तीको वरिवरि अझ केही धमिलो पानी बाँकी देख्यो । फेरि मगलाई एक पटक ओठमा जोड्यो । बाँकी रहेको चिया विस्तारै मुखमा हाल्यो । जिब्रोलाई थाहा दियो— यो अन्तिमा घुट्को, चाहेजति स्वाद लिनु । तर यो अन्तिम घुट्को चिसिइसकेको थियो, यसमा अघिसम्मको मतमताउँदो तितोपनको मीठास थिएन । न त हिमाली जडिबुटीको गन्ध नै बाँकी थियो ।
चियाको मग उठाउँदै स्वास तान— सचेत
आफ्नो मनलाई शरीरमा फिर्ता बोलाऊ ।
तिम्रो शरीर मात्र होइन मन पनि यहीँ हुनेछ ।
पूर्ण सचेत ।
विगत रहने छैन ।
भविष्यतिर मन जाने छैन ।
भूत र भविष्य दुवैबाट मुक्त होऔला ।
यति खेर चिया र तिम्रो बीच प्रत्यक्ष भेट भएको छ ।
यस मिलनको क्षणमा शान्त रह, खुशी रह, आनन्दित रह ।
चियाको हरेक सुर्कोमा आनन्द लिन सिक ।
दायाँ हातले खाली मग समातेर ऊ पश्चिम फर्किएको झ्यालतिर गयो । चन्द्रागिरी पहाडलाई हेर्यो । चन्द्रागिरीको आङ र थाप्लोलाई छाड्दै बिस्तारै माथि उठ्दै गरेको कुहिरो देख्यो । उसका आँखा कुहिरोसँगै माथि उठ्दै गए ।

