“तिमी ठूलो भएर के बन्नेछौ ?” युद्ध ग्रस्त गाजाका एक निहत्था बालकलाई विश्वप्रसिद्ध अभिनेता ज्याकी च्यानले प्रश्न गरे । त्यसको उत्तरमा निहत्था त्यो बालकको छोटो तर गहिरो भनाइले संसारभरिका संवेदनशील मानिसको मन झस्काएको थियो । जवाफमा शान्त स्वरमा ती बालकले भनेका थिए, ” हाम्रो पक्षका बालबालिका त ठूलो नै हुँदैनन् ।”
एउटा सामान्य प्रश्न – “तिमी ठूलो भएर के बन्नेछौ ?” – को जवाफमा त्यो बालकले भनेका कुराले मानव सभ्यतामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको थियो । त्यो वाक्य कुनै फिल्मको संवाद थिएन, कुनै नाटकको स्क्रिप्ट थिएन – त्यो एउटा बालकको यथार्थ थियो । आफू र बालकबीच भएको संवादको त्यही भिडियो हेरेपछि ज्याकी च्यान भावुक भएर रोएका थिए । उनले भनेका छन्, “त्यो बालकको आँखामा आँसु थिएन, डर थिएन, आश्चर्यजनक रूपमा कुनै भाव नै थिएन । शायद उसले धेरै पहिले नै पीडासँग सम्झौता गरिसकेको थियो । त्यही निस्तब्ध अनुहार सबैभन्दा पीडादायी थियो ।”
ज्याकी च्यानले बालकसँगको यो प्रसंगबारे रुँदै भनेका थिए, “त्यस क्षण मैले जीवनको सबैभन्दा गहिरो सत्य बुझेँ । ठूलो हुनु पनि एउटा खुशी रहेछ ।”
हामीमध्ये धेरैका लागि ठूलो हुने कुरा भविष्यको सपना, योजना र सम्भावनासँग जोडिएको हुन्छ । तर गाजाका बालबालिकाका लागि ‘ठूलो’ हुनु नै अनिश्चित छ । उनीहरूको बाल्यकाल खेलौना र विद्यालयले होइन, बमको आवाज, ध्वस्त घर र डरले भरिएको छ । गाजामा जारी हिंसाले केवल भवन र संरचनामात्र ध्वस्त बनाएको छैन, यसले बालबालिकाको भविष्य, सपना र बाल्यकाल नै चकनाचुर बनाइदिएको छ । जब एउटा बालकले आफू ठूलो नहुने विश्वास बोकेर बाँच्न थाल्छ, त्यहाँ मानवताले हार घोषणा गरिसकेको अर्थ लाग्छ । ज्याकी च्यानले विश्व समुदायलाई गम्भीर आत्ममन्थन गर्न आग्रह गर्दै भनेका छन् “हामी युद्धका आँकडामा होइन, ती आँकडाभित्र दबिएका बाल अनुहारमा ध्यान दिनुपर्छ किनकि बन्दुक र बमले जिते पनि, हार सधैँ निर्दोष बालबालिकाकै हुन्छ । यो घटना केवल गाजाको कथा होइन, यो सम्पूर्ण मानव जातिका लागि चेतावनी हो । यदि बालबालिकाले भविष्य देख्न छाडे भने, संसारले पनि आफ्नो भविष्य गुमाउनेछ ।” आखिर गाजामाथिको आक्रमण पनि कसै न कसैको ठूलो हुने रहर नै हो । शक्तिशाली हुने, ठूलो हुने, बलियो हुने रहरले कहिलेकाहीँ यसरी मानवतालाई पनि बिर्सँदो रहेछ । मान्छे जन्मँदै एउटा आकार लिएर आउँछ तर ऊ जीवनभर एउटा प्रकार बन्ने धुनमा भौँतारिरहन्छ । त्यो प्रकार हो— ‘ठूलो मान्छे’ ।
सभ्यताको उषाकालदेखि नै मानवीय चेतनाको एउटै उत्कण्ठा देखिन्छ: क्षितिजभन्दा पर पुग्ने र आफूलाई भीडभन्दा अग्लो बनाउने । तर, यो ‘ठूलो’ हुनुको परिभाषा र यसका लागि गरिने सङ्घर्ष आफैँमा एउटा यस्तो चक्रव्यूह हो, जहाँ अभिमन्यु त धेरै बन्छन्, तर कृष्ण कोही भेटिँदैनन् । ठूलो बन्ने यात्रा कुनै फूलबारीको हिँडाइ होइन, यो त आफ्नै अस्तित्वलाई तिखार्ने एउटा क्रूर प्रक्रिया हो । मान्छेले ठूलो हुनका लागि सर्वप्रथम आफ्ना साना खुशीको बलि चढाउँछ । निद्रा बेचेर सपना किन्छ र पसिना बगाएर प्रतिष्ठाको जग हाल्छ । इतिहासका पानाहरू पल्टाउने हो भने देखिन्छ— हरेक ‘ठूलो’ मान्छेको सफलताको टापुमुनि एउटा ठूलो विफलता र त्यागको महासागर लुकेको हुन्छ । सङ्घर्ष केवल बाह्य जगतसँग मात्र हुँदैन, यो त आफ्नै आन्तरिक सीमाहरूसँगको युद्ध हो । एउटा कलाकारले रङ्गसँग, एउटा लेखकले शब्दसँग र एउटा उद्यमीले समयसँग गर्ने लडाइँ वास्तवमा ‘ठूलो’ बन्ने लालसा नै हो ।
तर, विडम्बना के छ भने, सफलताको शिखरमा पुग्दा मान्छेले आफ्ना ती कलिला भावनाहरू गुमाइसकेको हुन्छ, जसले उसलाई वास्तवमा मान्छे बनाएका थिए । हाम्रो समाजले ठूलो हुनुलाई अक्सर भौतिक उचाइ, सत्ताको बागडोर वा धनको थुप्रोमा नाप्ने गर्छ । यही नै सबैभन्दा ठूलो दार्शनिक भ्रम हो । मान्छे जति माथि चढ्छ, धर्ती उति नै टाढा देखिँदै जान्छ । अग्लो टाकुरामा पुगेको मान्छे अक्सर एक्लो हुन्छ । त्यहाँ हावाको वेग त तीव्र हुन्छ तर छहारी दिने रुखहरू हुँदैनन् । प्रसिद्ध दार्शनिकहरूले भनेझैँ, “हामी जे बन्न खोज्छौँ, त्यही बन्ने प्रक्रियामा आफूलाई गुमाउँछौँ ।” ठूलो हुने नाममा हामीले ओढ्ने मुकुण्डो यति बाक्लो हुन्छ कि अन्ततः हाम्रो वास्तविक अनुहार नै त्यो मुकुण्डोमा विलिन हुन्छ । जसरी समुद्रको छाल आफूलाई ठूलो देखाउन आकाशतिर उफ्रिन्छ तर अन्ततः किनारको बालुवामा बजारिएर फेरि समुद्रकै पिँधमा फर्कनुपर्छ, मान्छेको अहंकार पनि त्यस्तै क्षणभंगुर छ । ठूला मान्छेका दुःख साना मान्छेका भन्दा गहिरा र मौन हुन्छन् । एउटा सामान्य मान्छे रुन सक्छ, कराउन सक्छ र आफ्ना पीडाहरू गल्लीका भित्ताहरूमा पोख्न सक्छ । तर एउटा ‘ठूलो’ भनिएको मान्छेलाई आफ्नो ओहोदाको गरिमाले रुने अनुमति पनि दिँदैन । उसले आफ्नो आँसुलाई मुस्कानको पर्दाले छोप्नुपर्छ । भावनात्मक रूपमा, ठूलो हुनु भनेको अक्सर अरूबाट काटिनु पनि हो । जति ठूलो कद, उति नै ठूलो दूरी ।
मान्छेले सङ्घर्ष गरेर जुन सुखको महल बनाउँछ, त्यसको बैठक कोठामा बसेर उसले अक्सर ती दिनहरूको याद गर्छ जब ऊसँग केही थिएन, तर ऊसँग ‘आफन्त’ र ‘आफू’ थियो । तब हरकोहीलाई यो महसुस हुन्छ कि, “संसार जित्नु एउटा कुरा हो, तर आफैँलाई नहराउनु अर्कै कुरा रहेछ ।” वास्तवमा ठूलो हुनु भनेको अरूलाई सानो देखाउनु होइन, बरु आफू सानो भएर पनि अरूलाई अटाउन सक्ने विशाल हृदय बनाउनु हो । हिमाल ठूलो छ किनकि उसले आफ्नो फेदका बस्तीहरूलाई आश्रय दिएको छ । समुद्र ठूलो छ किनकि उसले संसारका सबै फोहोर नदीहरूलाई आफूभित्र समाहित गर्ने धैर्य राख्छ । यदि हाम्रो ‘ठूलो’ हुने यात्राले अरूको आँसु पुछ्न सिकाउँदैन, मानवताको संवर्द्धन गर्दैन र आफ्नै आत्मासँग संवाद गराउँदैन भने, त्यो केवल एउटा अहंकारको बेलुन हो, जुन कुनै पनि बेला एउटा सानो सियोको ठुँगाले फुट्न सक्छ । त्यसैले, ठूलो मान्छे बन्ने दौडमा एउटा ‘असल मान्छे’ बन्न नभुलौँ । किनकि इतिहासले तिनैलाई सम्झिन्छ जसले समाजको पिँधमा बसेर मानवताको उचाइ छोए ।
सृष्टिको कञ्चन ऐनामा मानवता सधैँ एउटै रङ्गमा पोतिएको हुँदैन । कतै यो दरबारका मखमली पर्दाभित्र निसास्सिएको हुन्छ, त कतै सडकका धुलाम्य गल्लीहरूमा नग्न नाचिरहेको हुन्छ तर इतिहासको पाना पल्टाएर हेर्ने हो भने, संसारलाई उज्यालो दिने महामानवहरू प्रायः भव्य महलका झ्यालहरूबाट होइन, समाजको अन्धकारमय पीँधबाट जन्मिएका छन् । जसको पैतालामुनि काँडाका तिखा बिझाइहरू थिए, तिनैका शिरमा आज मानवताको स्वर्णमुकुट शोभायमान छ । अभावको भट्टीमा नपोलिएसम्म भावको सुनारले सुन्दर गहना बनाउन सक्दैन भन्ने शाश्वत सत्यलाई ती महान् आत्माहरूले प्रमाणित गरिदिएका छन् । समाजको त्यो आधारभूत तह जहाँ भोकको आफ्नै लय र अपमानको अलग्गै सुस्केरा हुन्छ । त्यही शून्यको धरातलबाट उठेका व्यक्तित्वहरूले नै अनन्तलाई स्पर्श गरेका छन् । अब्राहम लिङ्कन त्यो एउटा सानो काठको ओडारबाट निस्किएको बालक, जसको हातमा न त किताब थियो, न त भविष्यको कुनै सुनौलो मार्गचित्र । तर, गरिबीको त्यो अँध्यारो सुरुङ खन्दै उनी मानवताको त्यस्तो उचाइमा पुगे जहाँ उनले दासताको साङ्लोलाई आफ्नो इच्छाशक्तिले चुँडालेर फालिदिए । महात्मा गान्धी त्यो बाहिरी आवरणमा एउटा साधारण धोती लगाएको अर्धनग्न फकिर तर भित्री चेतनामा हिमालयभन्दा उच्च । समाजको तिरस्कृत कुनाबाट उठेर उनले सत्य र अहिंसाको यस्तो अस्त्र चलाए, जसले साम्राज्यवादी शक्तिको जग नै हल्लाइदियो । म मानिस हुँ र मानवतासँग जोडिएको कुनै पनि कुरा मेरा लागि पराई छैन भन्न सक्नु र बुझ्न सक्नु नै पिँधबाट शिखर पुग्ने मूल मन्त्र रहेछ ।
अभाव आफैँमा एउटा ठूलो पाठशाला हो । जब पेट भोको हुन्छ तब मस्तिष्कले ब्रह्माण्डका रहस्यहरू सोच्न थाल्छ । नेल्सन मण्डला २७ वर्षसम्म जेलको एउटा साँघुरो कोठामा थुनिए, जहाँ समाजको पिँधभन्दा पनि गहिरो खाडल थियो । तर, त्यही अँध्यारोले उनलाई क्षमा र सद्भावको उज्यालो सिकाएको थियो । उनले सावित गरे कि शरीरलाई फलामे साङ्लोले बाँध्न सकिएला तर एउटा दृढ संकल्पित आत्मालाई कहिल्यै कैद गर्न सकिँदैन । त्यस्तै, डा. बी.आर. अम्बेडकर, जसलाई समाजले ‘अछूत’ भनेर पिँधको पनि पिँधमा धकेलेको थियो । तर, उनले ज्ञानको यस्तो दियो बाले कि आज एउटा विशाल राष्ट्रको संविधान उनकै कलमको मसीबाट निसृत छ । यो अपमानबाट सम्मानतिरको यात्रा मात्र थिएन, यो त ढुङ्गालाई देवता बनाउने साधना थियो । यस्तै कोटीमा लक्ष्मी प्रसाद देवकोटा र वि.पि. कोइरालालाई पनि दाज्न सकिन्छ । ठूलो हुनुको आदर्श र मानवताको मानक आफ्नै दृष्टिको केन्द्रबिन्दुमा पनि नाप्न सकिन्छ ।
पिँधबाट उठ्नु मात्र ठूलो कुरा होइन, शिखरमा पुगेर फेरि पिँधतिरै फर्कनु वास्तविक महानता हो । मदर टेरेसाले अल्बानियाको सुकिलो जीवन त्यागेर कलकत्ताका फोहोर गल्लीहरूमा मृत्युसँग लडिरहेका मानिसहरूको पीप र रगत पुछ्नुभयो । उहाँका लागि मानवता कुनै सिद्धान्त थिएन, यो त एउटा सेवाको जीवित रूप थियो । जब मानिसले आफ्नो ‘स्व’ लाई त्यागेर ‘सर्व’ को लागि सोच्न थाल्छ तब ऊ देहबाट देवतामा रूपान्तरित हुन्छ । पिँधका मानिसहरूसँग गुमाउनु केही हुँदैन, त्यसैले उनीहरूमा संसारलाई दिन सक्ने अदम्य साहस हुन्छ । आकाशको जून हेर्नका लागि पनि भुइँमै उभिनुपर्छ । संसारका यी महान् पात्रहरूले सिकाएका छन् कि— हिलोमै कमल फुल्छ र अँध्यारोमै तारा चम्किन्छ । हिलोमा कमल भएर फुल्नु पो ‘ठूलो मान्छे ‘ अँध्यारोमा तारा भएर चम्किनु पो ‘ठूलो मान्छे ‘ मानवताको उचाइ नाप्न मनको हिमाल चढ्नु पो ‘ठूलो मान्छे’ ।

