साहित्यपोस्ट डट कम

निबन्ध : शुभाकांक्षा सभामा साहित्य प्रेम

निबन्ध : शुभाकांक्षा सभामा साहित्य प्रेम

साहित्यको संसार अक्षरहरूको उरुङ्खात थुप्रो मात्रै होइन, त्यो त संवेदनाको सजीव नदी हो । त्यहाँ विचारहरू बग्छन्, अनुभूतिहरू फक्रन्छन् र समयसँगै चेतनाको नयाँ किनारहरू जन्मिन्छन् । यही प्रवाहलाई दिशानिर्देश गर्ने, शब्दलाई पाठकसम्म पुर्‍याउने र सर्जकको अन्तरमनलाई समाजसँग जोड्ने एउटा महत्वपूर्ण सेतु बनेको छ – साहित्यपोस्ट ।

गत साता ‘शुभाकांक्षा सभा’ नाम दिइएको भेटघाट कार्यक्रम औपचारिक जमघट मात्र थिएन; त्यो त एक किसिमको साहित्यिक आत्ममन्थन थियो । जहाँ सर्जक, पाठक, शुभचिन्तक र साहित्यप्रेमी मनहरू एउटै वृत्तमा उभिएर साहित्यको वर्तमान र भविष्यबारे गहिरो संवादमा डुबे । यसरी एकै ठाउँमा भेटिनु, एकअर्काका अनुभव सुन्नु र सामूहिक चिन्तन गर्नु आफैँमा साहित्यिक संस्कृतिको परिपक्व पहिचानको संकेत हो ।

साहित्य लेख्ने बानी लागिसकेपछि शब्दहरू मानौँ आफ्नै बाटो खोज्दै कागजमा ओइरिन्छन् । लेखिसकेपछि पनि मन भरिँदैन, झन् लेख्ने भोक बढ्दै जान्छ । त्यो भोक केवल सिर्जनाको होइन, सम्प्रेषणको पनि हो । किनकि शब्दहरू पाठकको मनमा नपुग्दासम्म त्यो अर्थहीन र अपूर्ण नै रहन्छन् । यही सन्दर्भमा छापिने प्रक्रियाको ढिलाइले सर्जकलाई कहिलेकाहीँ निराश बनाउँछ । महीनौँ, कहिलेकाहीँ वर्षदिनसम्म पनि पालो कुर्नुपर्ने बाध्यता हुन्छ ।

तर समय बद्लिएको छ । प्रविधिको तीव्र गतिसँगै साहित्यले पनि नयाँ माध्यम पाएको छ । ‘साहित्यपोस्ट’ जस्ता अनलाइन मञ्चहरूले सर्जक र पाठकबीचको दूरी घटाइदिएका छन् । आज लेखेको कुरा आजै पाठकसम्म पुग्न सक्छ । यो तत्काल सम्प्रेषणले सर्जकलाई खुशी मात्र दिँदैन, उसलाई अझ जिम्मेवार पनि बनाउँछ । किनकि अब उसले आफ्ना शब्दहरू तुरुन्तै समाजको आँखामा उभ्याइरहेको हुन्छ ।

यस्ता भेटघाटहरूको आवश्यकता यहीँ स्पष्ट हुन्छ । साहित्य व्यक्तिगत अभिव्यक्ति होइन, त्यो सामूहिक चेतनाको निर्माण पनि हो । जब विभिन्न पुस्ता, विभिन्न धारका लेखकहरू एकै ठाउँमा भेला हुन्छन्, त्यहाँ विचारहरूको अन्तरसंवाद हुन्छ, नयाँ दृष्टिकोणहरू जन्मिन्छन् र पुराना अनुभवहरूले नयाँ मार्गदर्शन पाउँछन् । सोचाइमा नयाँपन आउछ । विचारमा नवीन दृष्टिकोण भित्रिन्छ । लेखनमा फरक शैली र संरचनाको प्रारम्भ हुन्छ ।

महत्त्वको कुरा के हो भने, यस्ता कार्यक्रमहरूले साहित्यिक समुदायलाई एकताबद्ध बनाउँछन् । सर्जकलाई आफू एक्लो छैन भन्ने अनुभूति दिलाउँछन् । ऊ एउटा ठूलो परिवारको हिस्सा हो– जहाँ उसका शब्दहरू सुन्ने, बुझ्ने र मूल्याङ्कन गर्ने मनहरू छन् । समूह र संस्थाहरू छन् भन्ने कुराको हेक्का रहन्छ र ऊ झन् जिम्मेवार बनेर लेख्छ ।

औचित्यको दृष्टिले हेर्दा पनि, यस्तो भेटघाटले साहित्यको दिशा तय गर्न मद्दत पुर्‍याउँछ । वर्तमान अवस्थाको समीक्षा, कमजोरीहरूको पहिचान र भावी योजनाहरूको निर्माण– यी सबै कुराहरू सामूहिक छलफलबाटै सम्भव हुन्छन् । उपयोगिताको कुरा गर्दा, यसको प्रभाव केवल तत्काल सीमित हुँदैन । यस्ता संवादहरूले दीर्घकालीन साहित्यिक संस्कार निर्माण गर्छन् । नयाँ पुस्तालाई प्रेरणा दिन्छन्, पुराना सर्जकलाई पुनः सक्रिय बनाउँछन् । यसले समग्रमा साहित्यिक वातावरणलाई जीवन्त बनाइराख्छन् ।

अन्ततः, ‘शुभाकांक्षा सभा’ जस्ता भेटघाटहरू शब्दहरूको उत्सव मात्र होइनन्; ती त सम्बन्धहरूको पुनर्स्थापना हुन्, विचारहरूको आदान–प्रदान हुन्, र साहित्यप्रतिको सामूहिक प्रतिबद्धताको पुनः पुष्टि हुन् ।

साहित्यको यात्रा कहिल्यै एक्लै हुँदैन– त्यो सधैँ सहयात्रीहरूसँगै अघि बढ्छ । र साहित्यपोस्ट जस्ता मञ्चहरूले यही सहयात्रालाई अर्थपूर्ण, जीवित र दिगो बनाइरहेका छन् ।

साहित्यको यात्रामा शब्दहरू मात्र होइन, भेटहरू पनि बोलिरहेका हुन्छन् । ती भेटहरू कहिलेकाहीँ मौनतामा, कहिलेकाहीँ संवाद बनेर र कहिले मित्रमिलनको सामूहिक संलापका प्रेममय पल भएर व्यक्त हुन्छन् । दिनभरि हामी कति मानिसहरूसँग भेट्छौँ, कस्ता कुरा हुन्छन्, ती कुराले के उपलब्धि दिन्छन् वा के नोक्सानी पुर्‍याउँछन् ?

यसमा हाम्रो चासो कमै हुन्छ । यी सबै सन्दर्भमा हामी प्रायः गहिरिएर सोच्दैनौँ । भेटहरू हाम्रो दिनचर्याका सामान्य घटना जस्ता लाग्छन् । तर यथार्थमा, कुनै पनि भेट सामान्य हुँदैन; प्रत्येक भेटको पछाडि एउटा अदृश्य अर्थ, एउटा सूक्ष्म उद्देश्य र एउटा गहिरो प्रभाव लुकेको हुन्छ । भविष्यका निम्ति त्यो एकछिनको भेट नै अविस्मरणीय पल बनिरहेको हुन्छ । कसैको त्यही भेट पहिलो मात्रै बनेर स्मृतिको पानामा सधैँ यादगार सहिरहेको हुँदैन । कसैको त्यही भेट नै अन्तिम भएर सदाका लागि विश्राम लिइसकेको पनि हुन्छ ।

तिनको टिपोटले तिनको जतन झगडाले भोलिका दिनमा एउटा अभिलेख निर्माण गर्छ जुन अभिलेखले हाम्रो हिजोलाई सुन्दर स्वर्णिम दिनको रुपमा प्रस्तुत गरिदिन सक्छ । त्यसैले भेटहरू सामान्य कदापि पनि हुन सक्दैनन् । यदि ती भेटहरूलाई अर्थपूर्ण रूपमा उपयोग गर्न सकिएको छ भने !

जीवन आफैँ एउटा निरन्तर संवाद हो । समयसँग, परिस्थितिसँग र मानिसहरूसँग । जसरी प्रत्येक दिनले हामीलाई थाहा नपाउने गरी नयाँ सन्देश दिइरहेको हुन्छ, त्यसरी नै प्रत्येक भेट र संवादले पनि हाम्रो चेतनामा नयाँ आयाम थपिरहेको हुन्छ । कसैसँगको छोटो कुराकानीले पनि कहिलेकाहीँ जीवनको दिशा मोड्न सक्छ; कुनै साधारण भेटले पनि असाधारण ऊर्जा दिन सक्छ ।

कुनै पनि भेटको उद्देश्य हुन्छ त्यसको प्राप्ति हुन्छ त्यसले पार्ने प्रभाव र परिणाम हुन्छ । भेटपछिको उपलब्धि सबैका निम्ति बराबर हुनुपर्छ । भेट हुनु र नहुनु वा भेटिएपछिको अर्थ र नभेटिँदाको अभावमा विछोडको पीडा प्रत्येक मानिसका लागि घातक हुन सक्छ ।

हामीले महसुस नगरे पनि, हरेक भेटले हामीलाई केही न केही नयाँ कुरा सिकाइरहेको हुन्छ । कसैको अनुभवबाट, कसैको दृष्टिकोणबाट, कसैको संवेदनाबाट । ती सिकाइहरू कहिले प्रेरणा बन्छन्, कहिले सचेतना हुन्छन् । कहिले नयाँ सुरुवातको आधार बन्छन् । प्रत्येक संवादले हामीभित्र सकारात्मक सन्देश रोपिरहेको हुन्छ, एउटा नवीन ऊर्जा भर्दै, जसले जीवनलाई अझ अर्थपूर्ण बनाउँछ ।

यही जीवनदृष्टिको आलोकमा हेर्दा, साहित्यपोस्टद्वारा आयोजना गरिएको ‘शुभाकांक्षा सभा’ केवल एउटा औपचारिक जमघट होइन, त्यो त यस्तै अर्थपूर्ण भेटहरूको एउटा सजीव अध्याय हो । यहाँ भएका संवादहरू, आदान–प्रदान भएका विचारहरू र साटासाट भएका अनुभूतिहरूले सहभागी मनहरूलाई मात्र होइन, समग्र साहित्यिक यात्रालाई नै एउटा नवीन दिशा दिएका छन् ।

यसैले, यस्ता भेटहरूलाई केवल क्षणिक मिलनका रूपमा हेर्नु अन्याय हुन्छ । यी त जीवनलाई अगाडि बढाउने मार्गनिर्देशक क्षणहरू हुन्– जहाँ हामी आफैँलाई पुनः चिन्ने, अरूलाई बुझ्ने र सामूहिक रूपमा अझ उज्यालो भोलिको कल्पना गर्ने अवसर पाउँछौँ ।

कोही पनि कसैसँग नभेटिकन बाँच्नै सक्दैन । कोही पनि कसैसँग नबोलिकन, कसैलाई नहेरिकन आरामले निधाउनै सक्दैन । प्रत्येक भेट एउटा नयाँ जीवनको प्रारम्भ हो । प्रत्येक बोली जीवनको नयाँ अनुभूति सम्प्रेषणको अवसर हो । प्रत्येक हेराइ, प्रत्येक दृष्टिकोण, प्रत्येक अनुभूति जीवनयापनको एउटा सुखद सौन्दर्य प्राप्ति हो । अझ यो शुभाकांक्षाको सभा आफैँमा विगतको मूल्याङ्कन र आगामी यात्राको खाका निर्माणको क्षण हो ।

हामी सबै यही सुखद सौन्दर्य प्राप्तिको निम्ति मरिमेटिरहेका हुन्छौँ । तर त्यो पाउन सकिरहेका हुँदैनौँ । भेटको नाममा स्वार्थ रहेपछि, भेटको नाममा त्यसबाट आफूलाई हुने फाइदाको अंश खोज्न थालेपछि त्यो भेट कहाँ प्यारो हुन सक्छ र कुनै अनुभूति कुनै दृष्टिकोण वा कुनै हेराइले आफैँलाई केही न केही सन्तुष्टिको स्वाद दिनुपर्छ जसले कोही कसैलाई पनि बर्बाद नगरी अप्ठ्यारोमा नपारी जीवनलाई सकारात्मक गतिमा हिँडाउन सकोस् ।

अन्ततः, प्रत्येक भेट एउटा सानो पाठशाला हो, प्रत्येक संवाद एउटा नयाँ पुस्तक हो । ‘शुभाकांक्षा सभा’ त्यही पाठशालाको एउटा उज्यालो कक्षा बनेर हाम्रो स्मृतिमा दीर्घकालसम्म उज्यालो छरिरहने छ । ठेस लागेर लडेको पाइलालाई उठाउने सामूहिक साहस जुटाउँछ । अनेक विधा, अनेक विषय र अनेकौँ क्षेत्रका साहित्यिक सिर्जनाहरूलाई पोस्ट गर्ने माध्यम निर्माण गरिरहन्छ । साहित्यपोस्टप्रति मेरो शुभेच्छा र उत्तरोत्तर प्रगतिको कामना सधैँ रहिरहने छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.