साहित्यपोस्ट डट कम

निबन्ध : सम्झनाको सुगन्ध

निबन्ध : सम्झनाको सुगन्ध

सम्झनाको सुगन्ध आफैँमा यौटा प्रेरणादायी पल हो । यौटा प्रेमिल क्षणको आभास हुनु पनि हो । जहाँ बिर्सिएका सबै विगतहरू सम्झनामा एकपछि अर्को दृश्यचित्र जस्तै देखापर्न थाल्छन् । तिनै सम्झनाका सगन्धले मन पनि पल्लवित र पुष्पित हुन थाल्छ । त्यसपछि मन फुरुङ–भुरुङ हुँदै आकाशमा कावा खान थाल्छ ।

सम्झनाको सुगन्धले मानिसलाई जीवन–प्राणको स्पन्दन प्रदान गर्छ । पुरानिएर खुइलिइसकेका क्षणहरू वसन्तमा पाउलिएका बोटबनस्पति जस्तै हराभरा हुन तम्तयार हुन्छन् । सम्झनाहरू जति नै पीडादायी हुन् तर तिनलाई एक झल्को सम्झँदैमा पनि आनन्द लाग्नसक्छ । आफैँलाई पछाडि फर्किएर हेर्दा रमाइलो पनि लाग्छ । ती दिन सम्झँदा आँखामा आउने आँशु पनि दुःख र अफसोसकोभन्दा पनि पूर्वस्मृतिको झलकले बेग्लै अनुभूति गराउने हुँदोरहेछ ।

हुन त ,सृष्टिमा काँडाहरू पनि छन्, फूलहरू पनि छन् । काँडाले घोच्न सक्छ, फूलले सुवास दिन्छ । जीवनको बाटोहरूमा हिँड्दा काँडाले घाउ पनि लाग्छन् । ढुङ्गामा ठेल लागेर लड्न र घाइते पनि बन्न सकिन्छ । तर फूलको सुगन्धले ती घाउहरूलाई मलम पनि लगाउँछ । त्यसैले त देवीदेवतादेखि मानसम्मान र पूजापर्वमा काँडाभन्दा फूलकै उपस्थिथि अनिवार्य हुन्छ ।

हुन त कुनै सम्झनाहरू जति सम्झन खोजे पनि सम्झनामा आउँदैन । कुनै सम्झनाहरू जति बिर्सौँ भने पनि झन्–झन् गाढा भएर सम्झनामा आइरहन्छन् । तर तिनै याद आइरहने सम्झनाको सुगन्ध नै निकै प्रिय हुन्छ । निकै सुगन्धमय हुन्छ ।

मानिस भन्छन्– म त्यो दिनलाई, म त्यो क्षणलाई कहिल्यै बिर्सन चाहन्न, सधैँ सम्झन चाहन्छु ।

कोही भन्छन्– म त्यो दिनलाई, म त्यो क्षणलाई कहिल्यै सम्झन चाहन्न, सधैँ बिर्सिन चाहन्छु ।

यही ‘सम्झाइ’ र ‘बिर्साइ’ को जीवन हो कि जस्तो पनि लाग्छ । तथापि भनेर हुने होइन । कुनै सम्झना झलमल्ल घाम जस्तै आइरहन्छ । कुनै सम्झना पानी जस्तै काकाकुल बनेर रहन्छ । चाहदैमा हुँदैन । सम्झिँदैमा सम्झन सकिँदैन ।

सम्झना भनेको एउटा तस्बीर होइन, न कुनै शब्द ! सम्झना त विगत दिनहरूको अभिलेख हो । अनुभूतिहरूको त्यो गहिरो सुगन्ध हो, जसले मनको कान्लामा सदैव बास गर्छ । घरको बलेँसीमा तप्तप पानी झरेझै बिस्तारै यादका पानाहरू पल्टिन्छन् । जति नै समय बिते पनि, ती सम्झनाहरू ताजा रहन्छन् । फूलको माया गर्ने हरेक हृदयमा सम्झनाहरू उम्रिन्छन् । म पनि त्यही फूल खोज्दै हिँडिरहेको छु, जसले मेरो मनलाई सुगन्धित बनाइरहोस् । म पनि त्यही सम्झना सम्झिरहछु जसले मीठो सुगन्ध दिइरहोस् ।

जीवनको यात्रा कहिलेकाहीँ कठोर पनि हुन्छ । कुनै मोडमा काँडाहरू पनि बिझ्न आउँछन्, तर मैले ती काँडाहरूलाई पन्छाएर, त्यसबाट टाढिएर हिँड्ने यात्रा रोक्न चाहिनँ । मलाई त ती भित्र लुकेको फूलको सुगन्ध चाहिएको थियो । त्यही भएर मैले सधैँ सकारात्मक बाटो रोजेँ । मैले सुगन्धित फूलहरू नै रोजेँ ।

फूलको अस्तित्व उसले दिने सुगन्धमा मात्र सीमित हुँदैन, उसको कोमलताले पनि धेरैको मन जित्छ । सम्झनासँग पनि यस्तै गुण हुन्छ । केही सम्झनाहरू चोखो प्रेमले भरिएका हुन्छन् । तिनीहरू हावामा घोलिएका सुगन्धजस्तै हुन्छन्, जसलाई मनले सधैँ महसुस गर्न सक्छ ।

मेरो जीवनका धेरै रङहरू सम्झनाका फूलहरूले इन्द्रेणी रङहरूले रङ्गिएका छन् । बाल्यकालका तिनै सुनौला दिनहरू, आमाले सुनाइदिने कथाहरू, साथीहरूका तृप्त हाँसो ! यी सबै मेरा हृदयका बगैँचामा फुलेका फूलहरू हुन् । मैले तिनलाई सधैँ बचाएर राखेको छु । म त बिर्सन सक्दिनँ, किनभने ती सम्झनाहरू नै मेरो अस्तित्वका रङहरू हुन् । तिनैका सुगन्धले म प्रफुल्ल छु । तिनकै वासनाले म तृप्त छु ।

फूलहरू सुन्दर मात्र हुँदैनन्, उनीहरू धैर्य र समर्पणका प्रतीक पनि हुन् । एउटा फूल फुल्नुपूर्व माटोमा धेरै समय बिताउँछ, वर्षाको झरी सहन्छ, घामको तातो झेल्छ । खडेरी र हिमपातको झापट पनि ब्यहोर्छ । अनि बल्ल मुनामुजुरा पलाउँदै आफ्नो सुगन्ध छर्ने मौका पाउँछ । मानिसका यादहरू पनि यस्तै हुन् । केही क्षणहरू तीताटर्रा हुन्छन्, केही मीठा हुन्छन् । तर सम्झनालाई हृदयले आत्मसात गर्न सकियो भने ती काँडाबीच फुल्ने फूलजस्तै अमर रहन्छन् । जुन कुनै दिन भगवानको शिरको शोभासमेत बन्न सक्छन् ।

म काँडालाई होइन, फूललाई रोज्ने मान्छे हुँ । मलाई लाग्छ, अधिकांशले फूललाई नै मन पराउँछन् । म बिर्सन होइन, सम्झनलाई खोज्ने मान्छे हुँ । किनभने सम्झनाहरू नै त जीवनका सुगन्ध हुन्, जसले हामीलाई सदैव ताजापनले भरिराख्छ । त्यसैले, काँडारूपी दुःख र पीडालाई बिर्सेर यस्तो सम्झना गरौँ जसलाई हामीले सम्झदैमा त्यसबाट दिव्यभाव जागृत हुन सकोस् । अथाह प्रेरणाले जीवन प्रगतिपथमा हिँड्न सकोस् । कुनै बाधा, कुनै अवरोधलाई सजिलै जितेर सफलताको सिँढीमा सहजै पुग्न सकियोस् ।

हुन त काँडाहरू पनि फूलकै प्रिय अंश हुन् । जो काँडा र फूलबिचकै संयुक्त जीवनमा बाँचेका हुन्छन् । काँडाबिनाको फूल कल्पना हुँदैन । सायद फूललाई जोगाउनकै निम्ति पनि काँडाको साथ–सुरक्षा राखिएको होला । सम्झना पनि त्यस्तै हो, बिर्सिनका लागि विगत भएर जाने होला । सम्झना आएपछि त्यो फेरि आगतमा आउने होला । तर जे जसरी आए पनि सम्झनाको सुगन्ध सबैका लागि सुन्दर हुन्छ । सम्झनाको स्पर्शले मानिसलाई आफैँतिर फर्काएर आफ्नो पहिचान गराउने चेष्टा गर्छ । यो व्यस्त जीवनमा यतिसम्म हुनु पनि ठूलै कुरा मान्नुपर्छ ।

वास्तवमा आफ्ना विगत दिनहरूतिर फर्किएर तिनलाई सम्झिएर त्यसमा आफूलाई भेट्नु भनेको निकै सुखद कुरा हो । कोही पनि आफ्ना विगत दिनबाट फुत्त भागेर कतै बेपत्ता हुन सक्दैन । यसलाई उसकै सम्झनाहरूले पछ्याइरहेको हुन्छ । कहिले सम्झनाको झटारोले तारो हान्न पनि सक्छ । कहिले सम्झनाले शुभ समाचार ल्याइदिन पनि सक्छ । भन्न सकिन्न सम्झनाको कुरा न हो ! तर मलाई लाग्छ– सम्झनाले कहिल्यै घात गर्दैन । बरु आफैँलाई यौटा सुन्दर पलको सम्झना गराएर सुमधुर सुगन्धमा लट्ठ पारिदिनसक्छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.