साहित्यपोस्ट डट कम

निबन्ध : सम्बोधन समयलाई

निबन्ध : सम्बोधन समयलाई

प्रिय समय !

कहिलेकाहीँ तिमी मप्रति हदभन्दा ज्यादा निर्दयी बनिदिन्छौ । कठोर बनिदिन्छौ । अप्रिय बनिदिन्छौँ यद्यपि तिमीलाई ‘प्रिय’ भनेरै सम्बोधन गर्न मन लाग्छ । आज तिमीलाई मैले धन्यवाद दिइनँ भने म कृतघ्न ठहरिने छु किनकि आज म जति बलियो छु त्यसको कारक तिमी नै हौ ।

तिमी मप्रति कठोर नबन्दाका पलसम्म निकै डरपोक थिएँ । काँतर थिएँ । साना दु:खले पनि हतोत्साही हुने साह्रै निम्छरो थिएँ । जब तिमीले मलाई धकेल्न थाल्यौ, म दह्रोसँग उभिन सिकेँ । जब तिमीले मलाई निमोठ्न थाल्यौ, म हाँगाबिँगामा फैलिन थालेँ । जब तिमी लोहाको वज्र बनेर मेरो शिरमा बज्रिन थाल्यौ, म स्पात बनेर थापिन थालेँ । तिमीलाई घृणा यस कारण पनि गर्न सक्तिनँ कि तिमी आफैँ घाउहरू बनाइदिन्छौ अनि आफैँ मलम बनेर सन्चो बनाइदिन्छौ । यी हेर न यो शरीरमा कति छन् चिरफारका खत ! तर तिनी पहिलेझैँ कहाँ दुख्छन् र ! समयसँगै ती अब स्मृति बनेँ । एउटा अनुभव, सिकाइ र सङ्घर्षका प्रेरणा बनेँ ।

तिमीलाई थाहै छ, कुनै दिन तिमीले भेन्टिलेटरमा कृतिम सास लिनुपर्ने अवस्थासम्म पुर्‍याएका थियौ । त्यस पलमा मैले हिम्मत हारेकी भए ? मैले आस छाडिनँ र सासले साथ दियो । सासले धोका दिएन र त तिमीले लास बनाउन सकेनौ । यो मनुष्य चोलामा जन्मदाखेरि नै फिर्ती टिकटसहित पाहुनासरि आएको हो । तब फेरि यो छोटो बसाइमा कति बिथोल्छौ तिमी ? यो छोटो बँचाइमा कत्तिचोटि परीक्षा लिन्छौ तिमी ?

अचम्म पनि लाग्दो हो तिमीलाई ? तिम्रो अनुमानभन्दा ज्यादा जब्बर निस्केँ है म ! हुन त बारबार तिमीले मेरो शरीरलाई प्रयोगशाला जो बनाएका छौ । केसम्म खपिनँ र मैले ? रोमरोममा सुई रोपेर चाल्नोजस्तो छाला, मुटु धड्काउने, सास चलाइदिने जिम्मा भेन्टिलेटरलाई दिएर कति कोर्रा हान्यौ आइसियुका चिसा बेडहरूमा ? पानी–पानी भनेर मेरो सास घाँटीसम्म आएर घिटघिटाउँदा ‘ओठमात्रै भिजाइदिने हो पानी खान मिल्दैन’ भन्न आइपुग्थे नर्सहरू । अहो ! त्यो काकाकुलको भन्दा व्याकुल तिर्खा ! कसरी बिर्सन सक्छु म । उफ ! तैपनि प्रेम गर्छु म तिमीलाई । आफ्नो शरीरमा आफ्नोभन्दा डोनरको रगत धेरै बग्नु, आफ्नो फोक्सोमा आफूले फेरेको भन्दा सिलिन्डरको हावा धेरै भरिनु, आफ्नै हात र गोडा चल्छन् कि चल्दैनन् भन्ने थाहा पाउन नर्सलाई सोध्नपर्ने अवस्था हुनु । अहो ! त्यो पीडाबाट मुक्ति पाउनका गरिएको आर्तनाद ! आफ्नै सन्तानले आफैँलाई देख्दा तर्सेर भागेको आफैँले देख्नु पर्ने । त्यो कृशकायबाट छुटिरहने आहतको आवाजहीन चित्कार । त्यसको पीडा नाप्ने कुनै यन्त्र छ तिमीसँग ? कुन जन्मको रिसिवी साँधेको हो तिमीले मसँग ? बिरालोले जिउँदो मुसो खेलाउँदा खेलाउँदै शिथिल पारेपछि खान आँट्दाको जस्तो पछार्न सम्म पछार्यौ । लघार्नसम्म लघार्यौ । तिमीलाई लागेको हुँदो हो, अब यो जिउँदो लास भइसकी । घोषणा गरिदिएको बखत ओड्याइने छ सेतो कपडा । निठुर समय ! तिम्रो अनुमान गलत थियो । तिमीले मेरो धड्कन र रगतको नाडी छाम्यौ तर मेरो आत्मविश्वासको नाडी छाम्न सकेनौ । म उठेँ– खरानीबाट फिनिक्सजस्तै । पहराको कापबाट तृणजस्तै । मेरा जिजीविषा तिम्रा ज्यादती भन्दा जब्बर निस्के । तिमी हार्‍यौ हारेनौ थाहा छैन तर मैले जितेँ ।

तिमीलाई थाहै छ, अक्सर अप्रेसन भनेपछि मान्छेहरूको सातो जान्छ । मलाई त एकपटक होइन दुईपटक होइन, दश–दश पटक पुर्‍यायौ त्यो मृत्युजस्तो कहालीलाग्दो अप्रेसन थिएटर भित्र । हेर त तिमीले हातमा ब्लेड, सिजर, स्विचर र निडल लिएर मलाई लखेट्न थालेको पनि साढे दुई दशक हुन थालेछ । पहिलोपटक क्यानुला लगाउँदा र क्याथरडल निकाल्दा कति अत्तालिएकी थिएँ । सासै फुस्केलाजस्तो । अब त नर्सले हातमा क्यानुलाको सुइरो घुसार्दै गर्दा हेरिरहन सक्छु । नर्स मेरो निडरपनलाई देखेर छक्क पर्छे । अन्तस्करणबाट मरिगए एक सर्को आत्था निस्किँदैन । कहाँबाट आएको यो सहन सक्ने शक्ति ? शायद मेरो यही शक्ति माथि इर्ष्या छ तिमीलाई र देखाइरहन्छौ आफ्नो बर्बर रूप ममाथि ।

तिमीलाई थाहा छ, यसपटक अप्रेसन थिएटरमा मैले के गरेँ ? नर्सले ओटीतिर लैजाँदै गर्दा पहिलापहिला मैले मेरा बालबच्चा र जीवनसाथीलाई सम्झन्थेँ । अहो ! केही भएर म बेहोस भएको भयै भएँ भने के होला तिनको हालत ? जब उनीहरूको सम्झना आउँथ्यो मेरो पीडा दोब्बर भएर आउँथ्यो । यसपटक भने मैले केटाकेटीलाई खासै सम्झिनँ । अब उनीहरू आफ्ना खुट्टामा उभिइसकेका छन् । कथंकदाचित मलाई केही भइहाल्यो भने पनि उनीहरू बाँच्न सक्छन् । आधाबाटोमै सहयात्रीको साथ छुट्नु, यो पनि संसारमा कसैलाई नघटेको घटना होइन । जीवनसाथी भन्नु पनि आधा बाटोमै भेटिएर छुट्ने बेला छुट्टाछुट्टै जाने सहयात्री न हुन् । सँगै आएर सँगै को गएको छ र म जोडी छुट्ने डरमा रोइकराई गरुँ ? मलाई चिन्ता त ती पात्रहरूको भयो जो मेरा अपुरा आख्यानमा मेरो कलमको प्रतीक्षा गरेर बसिरहेका हुन्छन् । प्रत्येक पात्रका आ–आफ्ना कथा छन् । कोही मिलनका आसमा, कोही मुक्तिको आसमा, कोही उज्यालोको आसमा त कोही उद्दारको आसमा मलाई कुरिरहेका हुन्छन् । म मरिहालेँ भने ती सारा पात्रहरू अभरमा पर्नेछन् । मबाहेक कसैले पनि उनीहरूलाई गन्तव्यमा पुर्‍याउन सक्नेछैन । म भक्कानिएँ ती मेरा मानस सन्तानहरू सम्झेर जसलाई नौ महीना होइन वर्षौंसम्म मनमस्तिष्कमा राखेर जन्माएँ । उनीहरूसँग मेरो उत्तिकै प्रेम छ जति मेरा प्रियजनको छ । उनीहरूसँग गरेको प्रतिबद्धता छ, उनीहरूको गन्तव्यसम्म नपुगुन्जेल साथसाथ हिँड्ने । त्यसैले पनि वार्डबाट स्ट्रेचरमा ओटीतिर गुडाउँदै गर्दा मैले याचकले सरी तिम्रा हात समाएकी थिएँ प्राणरक्षाको भीख माग्दै । तिम्रो गतिलाई मेरा हातले के रोक्थे । म हुलिएँ ओटीको सिरिङ्ग हुने क्याबिनभित्र । अप्रेसनमा खटिएका सर्जन र एनेस्थेटिस्टको टोलीले अप्रेसनका लागि मलाई तयार गरिसकेपछि मुखमा मास्क लगाउन खोज्दै भने, “अब यसबाट सास तान्नु है ।” त्यो मास्कको सर्को कस्तो ज्यानमार सर्को, दुई सर्को तान्न नपाउँदै अचेत । यसपटक मलाई अचेत हुनबाट डर लागिरहेको थियो किनकि एकपटकको अप्रेसनमा म अचेत अवस्थाबाट होस फर्कन एक हप्ता लागेको थियो । मलाई चोटदेखि डर थिएन । काट्दा हुने दुखाइको चिन्ता थिएन तर मेरो स्वासप्रस्वास फर्केन भने ? पहिलेजस्तो घाँटीमा कृतिम स्वासनली घुसार्न पर्यो भने ? भित्रभित्र आँशु डबडबाएका थिए तर आत्मविश्वास साथ भनेँ, “डाक्टर साब एनेस्थेसिया नदिइकन अप्रेसन गर्न मिल्दैन ? म जत्ति पनि दुखाइ सहन सक्छु तर किन किन मलाई बेहोस हुनबाट डर लागिरहेको छ ।”

डाक्टरहरू मुखामुख गरे । एकछिन वाल्ल परे । वास्तवमा मलाई आफैँले आफ्नो अप्रेसन भइरहेको हेर्ने मन थियो । कतै सुनेकी थिएँ, पहिलेपहिले अप्रेसन थिएटरमा अप्रेसन गरेको हेर्ने दर्शक हुन्थे रे । त्यसैले अप्रेसन कक्षलाई अन्य नाम नदिएर ‘थिएटर’ भनिएको रे । मलाई मेरै अप्रेसनको दर्शक बन्ने मन थियो । मनको कुरा भन्न त सकिनँ फेरि पागल सोच्लान् भन्ने डर पनि थियो । मेरो चिन्ता सुनेर एकजना डाक्टरले मेरो हात समाउँदै ढाडस दिँदै भने, “होइन पेटभित्र चिरफार गर्नुपर्ने अप्रेसन हो । सहन सक्ने त कुरै हुँदैन नि । तपाईं नडराउनुस् हामी छौँ ।” म निरीह भएर चारैतिर आँखा डुलाएँ । आँखा माथि उज्याला प्रकाशवाला लाइट धपक्क बले । कोठा प्रकाशमय भयो । अप्रेसन थिएटरलाई थिएटर नाम राखेकोमा गुनासो भरियो मनमा । मुखमा मास्क जोडियो । जे त होला भनी जीवनभरिलाई पुग्नेगरी सास तानेँ । आँखै तिरमिराउने उज्यालोलाई एकै निमेषमा निभ्यो ।

आँखा खुल्दा तिमी मेरो बेड छेउमै थियौ । तर खोइ तिम्रो सान्त्वनाको एक शब्द ? सहन सक्ने मान्छेमा मात्रै परीक्षण गर्दो रहेछ कि प्रकृतिले जस्तो पनि लाग्यो । सोह्र वर्षअगाडि नै डाक्टरले आस मारेको आइसियुको एउटा जिद्दी प्यासेन्ट थिएँ म । डाक्टरले कुरा गरेको सुन्थेँ, ‘एनेस्थियाले पनि पुरै लठ्ठाउन नसक्ने कस्तो जब्बर प्यासेन्ट हो ।’ हुन त मानव अस्तित्व नै सङ्घर्षको परिणति हो । करोडौं शुक्रकीटहरूसँगको महायुद्ध जितेर भ्रुण बन्नु नै एउटा चुनौती हो । आमासँग जोडिएका मन, मस्तिष्क, रक्त प्रवाह, स्वास प्रस्वासजस्ता असङ्ख्य भौतिक र अभौतिक जोडनबाट चुडिँदैचुडिँदै अर्कै लोकमा जन्मनु र नयाँ वातावरणमा घुलमिल हुनसक्नु पनि सानो चुनौती हो र ? यस अर्थमा पनि तिमी जति निठुर छौ त्यति लाग्दैन । शायद त्यसैले पनि तिमीप्रति क्षमाशील बनिदिन्छु ।

कहिलेकाहीँ त तिमीलाई धन्यवाद पनि भन्न मन लाग्छ । धेरैपटक ‘धन्न बाँचियो’ भन्ने पलबाट गुज्रनुले एउटा राम्रो काम के गर्दो रहेछ भने प्रत्येक पललाई सेलिब्रेसन गरेर बाँच्ने हौसला दिँदोरहेछ । जसले जिन्दगी नै बोनसमा पाएको छ उसले जिन्दगीसँग के गुनासो गर्ने ? प्रत्येक दु:ख र सुख नै यसका परिपूरक हुन् भनेर स्वीकारिसकेपछि दु:खमा आत्तिएर रोइकराइ गर्नु र सुखमा उन्मुत्त हुने भन्ने नै नहुँदो रहेछ । अनि मृत्युसँग धेरैपटक साक्षात्कार गरिसकेको मान्छेलाई जीवनमा आइपर्ने सानातिना दु:ख त जीवनलाई समालोचना गर्ने र आफैँतिर फर्केर हेर्न सिकाउने श्रृङ्खलाजस्तो लाग्दो रहेछ । कसैसँग कुनै कुरामा पनि रीस, राग, द्वेष, घृणा भन्ने चिज मनमा नै नआउँदोरहेछ । न कसैसँग प्रतिशोध न प्रतिस्पर्धा । प्रतिस्पर्धा छ त केवल अघिल्लो पलभन्दा पछिल्लो पल कसरी सुमधुर र सुखद बनाउने भन्ने । उसो त जिन्दगी एकैनास एउटै रेखामा कहाँ चल्छ र ? छातीमा धड्कन चलिरहेको पनि सकुशल हुन्जेल कहाँ याद रहन्छ र ? कि कम धड्क्यो भने हेक्का हुन्छ कि ज्यादा ।

आमाको गर्भबाट जन्मिएपछि पहिलोपटक आँखा खोल्दा तिमीलाई देखेको थिएँ । मुस्कुराउँदै मेरा कलिला औँला थामेको हिजोजस्तो लाग्छ । तिनै हात समातेर मैले तातेताते गर्न सिकेँ । तिनै हातले फेरि धकेलिदिन्छौ मुख बाइरहेको मृत्युतिर । तिम्रो यो बहुरूपी चालादेखि पनि म आजित हुन्छु घरिघरि । कति धेरै मुकुन्डा तिम्रा ? कहिले जन्मको रूपमा आउँछौ त कहिले काल । कहिले उल्लासका रूपमा आउँछौ त कहिले विनासका । कम्ता छली छौ तिमी ? तर म बुझ्छु, मलाई सक्काउने नै मनसाय भएको भए त आज यो एकाउन्नौ जन्मदिन कसरी मनाउन पाउँथेँ र म ? आखिर मैले नबोलाए पनि मेरो जन्मदिनको केक काट्न तिमीलाई नै हतार छ । थर्थराएका गोडाहरूले उभिन र बाउँडिएका हातहरूले केक काट्न उत्साहित पारेका छौ मलाई ।

प्रिय समय ! जे जति छल्यौ माफ गरिदिएँ आजदेखि । तर एउटा कुरा भन न ! तिमीलाई मान्छेको कालगति थाहा हुन्छ कि हुँदैन ? थाहा छ भने सुटुक्क भनिदेऊ न, मैले अझ कति वर्षसम्म तिम्रो कोर्रा खान परिरहने हो ?

भन्दैनौ ? ल ठिकै छ ।

तिमीले भन्दैनौ भन्ने थाहा थियो । खैर ! मेरो जीवन अपुरो रहला त्यो सुर्ताको विषय होइन । पीर त मेरो आख्यान अपुरो रहला कि भन्ने हो । मेरा पात्रहरूलाई अलपत्र नपार्नु है ! नत्र मलाई उनीहरूको श्राप लाग्नेछ । ल आऊ एउटा प्रेमिल अङ्गालोमा आलिङ्गन भऔँ । दुश्मनी बिर्सौ । एकदिन फेरि मर्नु त छँदैछ ।

कम अन् ! लेट्स सेलिब्रेट माइ बर्थ डे ! आऊ केक काटौँ र विस गरौँ यो ज्याद्रो मान्छेलाई जन्मदिनको । ह्याप्पी बर्थ डे टु यु डियर राधिका !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.