साहित्यपोस्ट डट कम

निबन्ध : साहित्य र सत्ता

निबन्ध : साहित्य र सत्ता

साहित्य सृजनाको भाषा हो, सत्ता शासनको । तर जब सत्ताले सत्य गुमाउँछ, साहित्य मौन हुन थाल्छ ।  

“कसरी उड्छन् राजहंस ? के तिमीलाई त्यसको रहस्य थाहा छ, पुत्री ?

आफ्नो दृढता र अठोटले, आचार्य ।

दृढता भनेको के हो पुत्री ?

सत्यको साधना ।

सत्य के हो ?

सत्यको अर्थ हो, मनको निष्पक्षता ।

मन के हो पुत्री ?

अलौकिक र अमर अस्तित्व ।”

( “इथा” पृष्ठ ४६)

नेपालको राजनैतिक इतिहास र कथाहरूमा भ्रष्टाचारमा नमुछिएको कुनै अध्याय भेटिन्न भन्ने कुरामा असत्य वा अतिशयोक्ति केही छैन । आचार्य संवत्सर र नयनताराबीचको उपरोक्त  संवाद आख्यानकार केशव दहालद्वारा लिखित ‘इथा’ (पृष्ठ ४६) मा भेटिन्छ । मलाई लाग्छ, उपरोक्त संवाद प्रश्नोत्तरमा सीमित छैन । यो त एक विम्बात्मक प्रस्तुति हो जसमा राजहंसलाई माध्यम बनाएर एक आदर्श शासकको चरित्र चित्रण गरिएको छ । 

देश निर्माणमा प्रतिबद्ध शासकमा दृढता, सत्यको साधना, मनको निष्पक्षता, र अस्तित्वको खोज हुनु जरुरी छ । एक शासकको दृढतालाई सत्यको साधनामा आधारित दृढता भनेर बुझ्नुपर्छ । सत्य भनेको नै निष्पक्ष मन हो । र मन जहिले पनि एक अलौकिक, अमर चेतनाको प्रतीक भएर बस्छ । वास्तवमा, एक आदर्श शासकको खोज – देशमा सुशासन नै हो ।    

एकछिन नेपालमा सत्ता प्राप्तिको इतिहासतर्फ फर्कौं । कुनै समय नेपाल जहानियाँ राणा शासनको कुशासनबाट ग्रसित थियो । बीपी कोइरालाहरूको सशस्त्र आन्दोलनले २००७ सालको इतिहास लेख्यो र राजा त्रिभुवन पुनः गद्दीमा स्थापित भए । देशको रोजाई थियो प्रजातान्त्रिक पथ र राजा महेन्द्रले जन चाहनाको दबाबका कारण २०१५ सालमा आम निर्वाचन गराए र बीपी कोइराला देशका पहिलो जन-निर्वाचित प्रधानमन्त्री बने ।

तर तत्काललै इतिहास फेरि लेखिनु थियो र लेखियो पनि । पुर्खाहरूले भोग चलन गर्दै आए जस्तै निरङ्कुश शक्तिको मोह (the desire of absolute power) का भोका राजा महेन्द्रले २०१७ साल पौष ०१ गते जननिर्वाचित प्रधानमन्त्रीलाई जेल हाले र कलिलो प्रजातन्त्रको घाँटी रेटेर हत्या गरे । एक प्रकारले पौष ०१, २०१७ मा उनले राजतन्त्रको अन्त्यको जग हाले । पौष ०१ गतेलाई राजनीतिको एक कुरूप दिवस पनि भन्न सकिन्छ ।

नियतिको विडम्बना नै भनौं राजा महेन्द्रले मात्र ११ वर्ष त्यो निरङ्कुश चाहना उपभोग गर्न पाए । २०२८ सालमा युवराज वीरेन्द्र राजा वीरेन्द्र बने । समयक्रमसँगै, २०४७ सालमा उनले आफ्नो प्रजातान्त्रिक संवेदनशीलताको परिचय स्थापित गर्दै पञ्चायत व्यवस्थाको अन्त्य गरे र बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई पुनर्स्थापित गरे । जनता प्रजाबाट नागरिक बने । अधिकार र पहिचानको नयाँ अध्याय शुरू भयो ।

त्यसपछि अनेक ‘दलीय राजाहरू’को उत्पादन हुन थाल्यो । सत्ताको बागडोरसँगै, राजतन्त्रका हिमायतीहरूमा देखिने भ्रष्टाचार अब दलीय राजाहरूमा स्थानान्तरित भयो । मात्र ५ वर्षको अन्तरालमा हिजोसम्म चप्पल लगाएर आन्दोलनमा हिँडनेहरू सत्तामा साझेदार बने, कोही सांसद त कोही मन्त्री बने । अवसर पाउनेहरू बेहिसाब धनी बने ।

२०५२ साल आइपुग्दा, अवसरबाट वञ्चित र असन्तुष्ट समूहहरू बन्दुक लिएर जङ्गल पसे – “हाम्रो हिस्सा खै ?” भन्दै । उसै त देशको जनसंख्या कम भन्छन्, सत्ता भोकको त्यस युद्धमा १७ हजार देशका नागरिक मारिए । राजा वीरेन्द्रको वंश नाश भयो । देश शोकमग्न भयो, राज्य अस्तव्यस्त भयो । गद्दीमा नयाँ राजाको सिंहासनारोहण भयो । तर, उनले विवेक पुर्याएनन् र पुनः आफ्नो पितालेझैँ निरङ्कुश शासनतर्फ उन्मुख भए । वास्तवमा यो विनाश विपरीत बुद्धिको एक उदाहरण बन्यो । नेपाली राजतन्त्रको सेतो कागतमा राजतन्त्र अन्त्यको तमसुक लेखे ।  

गिरिजाप्रसाद कोइरालाले बन्दुकधारीहरूलाई भने- हुन्छ आउनुहोस्, गणतन्त्र ल्याम र मिलीजुली खाम । २०६२-६३ को जनआन्दोलनले त्यो अभियान सफल बनायो ।

नारायणहिटीमा एक राजा मारिए, एक राजाले स्वयं राजतन्त्रको अन्त्य गरे, गणतन्त्रको स्थापना भयो र त्यसपछि सिंहदरबारका गल्छीहरूमा सयौं राजाहरू जन्मिए ।

तर, अफसोस, २०४६ पछिका कुनै पनि ‘राजा’हरूमा नयनताराले आचार्य संवत्सरलाई आफ्नो उत्तरमा भनेका शासकीय गुणहरू - दृढता, सत्यको साधना, मनको निष्पक्षता, र अस्तित्वको खोज- प्रायः देखिएन ।

जनता आजित भए विशेषतः भविष्यप्रति चिन्तित युवा पुस्ता । प्रतीक्षा असह्य बन्दै गयो, र अन्ततः २०८२ साल भाद्र २३ र २४ जेन्जी आन्दोलन विस्फोट भयो । ७८ निर्दोषहरूको ज्यान गयो ।

जेन्जी आन्दोलनकै छायाबाट राजनीतिले देशमा चर्को होहल्ला मच्चाउन थाल्यो । स्थिति यतिसम्म गम्भीर बन्यो कि खरा वरिष्ठ साहित्यकारहरू मात्र होइन, म जस्ता साहित्यमा रुची राख्ने पनि राजनीतिको हो हल्लामा कतै सुनिएनन् अथवा कमै सुनिए ।

धुरन्धर कवि साहित्यकारका कलमबाट उत्कृष्ट कविता फुर्न छोडेजस्तो लाग्यो । हिजोसम्म कविताले भरिने सामाजिक सञ्जालहरू अब करिब ९० प्रतिशत “बालेन-सम्बन्धी” खबरका स्रोतमा परिणत भए ।  स्वयं मैले कविता नकोरेको पनि करिब ९/१० महिना हुन लग्यो । मस्तिष्कमा जेन्जी आन्दोलन, आन्दोलनले निम्त्याएको क्षति, अन्तरिम सरकार, चुनाव अनि रास्वपाको दुई तिहाइ बहुमत बाहेक अरू केही छैन जस्तो लाग्छ ।

सामाजिक सञ्जालका पानामा जता हेर्यो ३५ वर्षदेखिको भ्रष्टाचार को उत्खनन, पटक-पटक प्रधानमन्त्री बनेकाहरूको पतन वा पलायन, रविको उद्घोष, बालेन्द्र शाहको उभार, अनि बालेन सरकारको समर्थन र विरोधमात्र देखिन्छ । त्यसमाथि, संसदभित्रको दृश्यले विचलित बनाउँछ - विरोधका लागि विरोध, कतै मुक्का, कतै धकेला धकेल, कतै कुर्ची उचाल-पछार... मानौँ संसद भवन नीति निर्माणको मञ्च नभएर  आवेग र सनक प्रदर्शन गर्ने रंगमञ्च हो ।

तर, बालेन वा बालेन सरकारका वास्तविक विरोधी को हुन् ? संख्यात्मक रूपमा न्यून संख्यामा रहेका विपक्षका सांसदहरू ।

संख्या सानो हुनु कमजोरी होइन । न्यूनता आफैँमा एक शक्ति हो । तर, त्यो शक्तिले आफ्नो अस्तित्व बुझ्न सक्नुपर्छ । अस्तित्वको अर्थ के हो ? साहित्यकार केशव दाहालकै शब्दमा ‘सत्यको साधना’ र मनको निष्पक्षताको खोज । 

अहिले संसदमा भइरहेको दंगल हेर्दा अचम्म लाग्छ । १८२ वेर्सेस ९२ को उपस्थिति र यी ९२ मा करीब दश प्रतिशतमात्र उफ्रिने, कराउने र मुक्केबाजहरूको चर्तिकला । अरू त शान्त, समर्थनमा उभिने सज्जनमात्र हुन् । यिनै दश प्रतिशत वा अलिक बढीलाई मैले ‘न्यून’ भनेको हो । तर, यो न्यूनता कमजोर छ भनेको होइन । बाटो बिराएका भनेको हो । यो न्यूनले न्युक्लियरझैँ एकदम शक्तिशाली हुने सम्भावना बोकेको छ । मेरो गुनासो मात्र के हो भने त्यो शक्तिको दुरुपयोग भयो – सही दिशामा प्रयोग हुन सकेको छैन ।

दुईतिहाइ बहुमतले संसदमा जुनसुकै प्रस्ताव ल्याए पनि, जतिसुकै हल्ला-खल्ला गरे पनि अन्ततः पारित गरिहाल्छ । तर यो “न्यून-न्युक्लियर” शक्तिले आफ्नो आचरणमा कुनै परिवर्तन ल्याउन नसक्दा सिचुएसन झनै हास्यास्पद बनेको छ । किनकी, शायद उनीहरूलाई आफैँ थाहा भए जस्तो  – ‘देश विकासका क्रममा यो पाँच वर्ष हाम्रो योगदान हो-हल्लासम्म सीमित छ । दूध र मलाई त यी दुई तिहाइमै भएकाहरूले मात्र खाने हुन् ।’ अफसोसको कुरा के भने मेरो बुझाई र यही उफ्राइमा उहाँहरूले आफ्नो शक्ति, छवि र भोलिको सम्भावना सबै गुमाउँदै हुनुहुन्छ ।

विपक्षको भूमिका – विपक्षका सांसदज्यूहरू पनि सम्माननीय माननीयज्यूहरू हो । राजनीति नेभर एन्डीङ्ग खेल हो । यो केवल आजको खेल होइन; यो भोलिको निर्माण हो । यो कार्यकाल त जे भयो भयो आउने कार्यकालका लागि बाटो बनाउँदै गर्ने हो । जस्तै नेपाली कांग्रेसका प्रतिपक्षका नेता भिष्म राज आङ्देम्बेले भन्नुभयो – “अब म प्रधानमन्त्रीलाई खोज्दिनँ ।” खोज्ने पनि होइन । उनी आफ्नै तरिकाले सुशासनको काममा लागि परेका छन् । यो पनि सत्य हो जुन देशमा सुशासन हुँदैन त्यहाँ विकास हुँदैन ।

यस सन्दर्भमा भारतको अनुभव पनि शिक्षाप्रद छ । भारतीय राष्ट्रिय कांग्रेसको शासनकालमा सुशासनको अभावबारे आलोचना हुने गर्थ्यो, जसले विकासको गति पनि सुस्त बनायो । तर भारतीय जनता पार्टीको उदयसँगै नरेन्द्र मोदीले सुशासनलाई प्राथमिकता दिएपछि भारतले तीव्र आर्थिक उछाल लियो र आज विश्वको अग्रणी अर्थतन्त्रहरूमा उभिएको छ ।

अतः विपक्षी दलले आजको सत्तासँग प्रतिस्पर्धा मात्र होइन, भोलिको नेतृत्वका लागि आफूलाई तयार पार्नु पर्छ । सकारात्मक सोच, आन्तरिक एकता र स्पष्ट दृष्टिकोण बिना त्यो सम्भव छैन ।

आजको यथार्थ हेर्दा—काँग्रेस आफैँ भित्र एकता कायम गर्न संघर्षरत छ, एमाले विभाजनको सम्भावनाबाट जोगिन खोजिरहेको छ । उता, भ्रष्टाचारका फाइलहरू दिनहुँ खुलिरहेका छन्, र हिजोका सत्तासीनहरू भित्र–भित्र त्रसित देखिन्छन् । तर डरले कहिल्यै शक्ति दिंदैन; बरु झन् कमजोर बनाउँछ ।

"रास्वपा कहिले फुट्ला र हाम्रो पालो आउला” भन्ने सोच राजनीति होइन, पराजित मानसिकता हो । किनकि, सत्ता क्षणिक हुन्छ- तर साहित्यले जस्तै सत्यको साधना गर्ने राजनीति मात्र दीर्घकालीन हुन्छ । सत्ता परिवर्तनले देश बदल्दैन- चिन्तन परिवर्तनले बदल्छ र जहाँ राजनीति साहित्यको जस्तै निष्पक्ष, संवेदनशील र सत्यनिष्ठ बन्छ, त्यहीँबाट राष्ट्रको वास्तविक उडान शुरू हुन्छ- राजहंसझैँ, आफ्नै अठोट र सत्यको पखेटामा ।

अन्त्यमा, ‘इथा’को अन्त्य पनि निकै रोचक छ । अत्याचारी राजा जेतेदास्तीको विभत्स अन्त्य हुन्छ । ऊ कराइरहन्छ –

“द्वार्पाल, ए द्वार्पाल ।”

“सेवक, ए सेवक । सैनिक, ए सैनिक । कुमार सुपुष्प । नयनतारा ।”

तर कतैबाट पनि जवाफ आएन । राजाले पटक-पटक सबैको नाम लिएर बोलायो । तर च्यासल दरबार चुपचाप थियो ।” (पृष्ठ ३६८ )

युवक युवराज सुपुष्प राजा बने ।

“अमात्य मणिभद्रकले उद्घोषण गरे - “महासम्मत, सूर्ववंशी क्षेत्रीय महाराज श्री सुपुष्पको जय हो । राजमाता नयनताराको जय हो । मंजुपत्तनको जय हो । सम्पूर्ण प्रजाजनको जय हो ।” (पृष्ठ ३७२)

उपन्यासको प्रारम्भमा आत्महत्या गर्ने प्रण गरेकी वसुधाले उपन्यासको अन्त्यमा जीवन बाँच्ने निर्णय गर्छिन् । शायद यही नै मानव जीवनको सबैभन्दा सुन्दर सत्य हो - अन्धकार जति गहिरो भए पनि, अन्ततः जीवनले नै जित्छ । 

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.