प्रतिस्पर्धीले आफू हिँड्दै गरेको बाटो नै छेकिदिन सक्छ । सफलताको ढोकाअगाडि पुग्दै गर्दा त्यो ढोका बन्द गरिदिन सक्छ । अनेक तर्क र उदाहरण दिएर तपाईं खराब मानिस भएको पुष्टि गर्न खोज्छ ।
===
कुनै निश्चित उद्देश्य, पद, लाभ वा सफलता प्राप्त गर्नका लागि प्रतिस्पर्धा गर्ने व्यक्ति वा संस्था प्रतिस्पर्धी हो । पद, लाभ वा सफलता त्यत्तिकै मिल्दैन, त्यसका लागि कुनै न कुनै प्रतिस्पर्धामा सामेल हुनैपर्छ । त्यसैले, प्रतिस्पर्धीसँगको प्रतिस्पर्धामा हासिल गर्ने जितले नै व्यक्तिले आफ्नो जीवनको बाटो निर्धारण गर्दछ ।
चार्ल्स डार्विनका अनुसार प्रकृतिका सबै जीवहरू जीवित रहन प्रतिस्पर्धा गर्छन् । जुन जीव प्रकृतिमा अनुकूलन हुन्छ, ऊ बाँच्छ । जो अनुकूलन हुँदैन, ऊ लोप भएर जान्छ । त्यसैले हरेक क्षण मानिसले प्रतिस्पर्धा जितेर आफूलाई अब्बल साबित गर्नुपर्छ । प्रतिस्पर्धाको लडाइँमा हार्नेहरूको अवस्था त्यसै पनि कमजोर हुन्छ । संसारका मानिसलाई जानाजान एकअर्कासँग प्रतिस्पर्धी बनाइएको छ, अनि तिनलाई बुझ्नेगरी भनिएको छ, “जित र हार्नेहरू माथि शासन गर ।”
प्रतिस्पर्धीहरूबीच तिनको बुद्धि, कौशल, बल, क्षमता, गुणस्तर तथा लोकप्रियता आदिमा प्रतिस्पर्धा हुन्छ । राजनीतिक पार्टीले चुनावका माध्यमबाट आफ्नो लोकप्रियताको प्रतिस्पर्धा गरी राज्यसत्ता सञ्चालनको अधिकार प्राप्त गर्दछ । कोही व्यक्तिले परीक्षाद्वारा ज्ञान, बुद्धि र क्षमता जाँच गर्ने प्रतिस्पर्धामा अब्बल ठहरिएर सम्बन्धित पदमा नियुक्ति लिन्छ । कुनै खेलाडीले बल, कौशल र चातुर्यको प्रदर्शन गर्ने खेलको प्रतिस्पर्धामा विजय हासिल गर्छ ।
व्यक्तिले सानातिना प्रतिस्पर्धामा त जहिल्यै सामेल हुनुपर्दछ । जीवनका विभिन्न क्षणमा उसले गरेका प्रतिस्पर्धा र प्राप्त गरेका सफलताले समाजमा उसको स्थान निर्धारण हुन्छ । गहिरिएर हेर्ने हो भने यही प्रतिस्पर्धाले समाजलाई सन्तुलित बनाएको हुन्छ ।
कसैलाई त प्रकृतिले नै जित्ने शक्ति र क्षमता दिएर पठाएको छ । सिंहलाई जङ्गलमा राज गर भनेर पठाइएको हो । कोही मानिसले पनि सत्ता सञ्चालन गर्ने त्यस्तै चातुर्य कौशल पाएका होलान् । जो सामान्य मान्छेभन्दा भिन्न छन् । सामान्य मान्छेलाई थकाइ लाग्छ, झन्झट लाग्छ, दिगदारी लाग्छ तर जित्ने सोच भएकाहरूलाई केहीले अलमल्याउँदैन ।
चुनावी प्रतिस्पर्धामा जित्नेले सत्ता प्राप्त गर्छ र उसैले शासन गर्छ । पराजित हुनेले ऊबाट शासित हुनुपर्छ । यस्तो प्रतिस्पर्धा जिते हस्तनापुरको राज, हारे चपरिमुनिको बास भनेजस्तै हो । थोरै अन्तरको हारजितले आकाश जमिन जत्तिकै फरक पार्छ । धेरै प्रतिस्पर्धीका बीचबाट नै कुनै सरकारी संस्थाको प्रमुख भएर कोही एकजनाले विशेष कार्यकारी अधिकार प्राप्त गर्छ । हजारौँ आकांक्षी प्रतिस्पर्धी बीचबाट केहीजनाले विशेष पदमा नियुक्ति पाउँछन् । यस्ताे प्रतिस्पर्धाको विजयीलाई सर्वस्व प्राप्त गरेको सुख र पराजितलाई हदैसम्म पीडा अनुभव हुन्छ ।
सँगै कुद्ने हजारौं प्रतिस्पर्धीलाई एक पाइलाले जितेर पदक प्राप्त गर्नेभन्दा भिन्न खालको प्रतिस्पर्धा पनि समाजमा कायम हुन्छ । त्यस्तो नरम खालको प्रतिस्पर्धामा सबैले आफूअनुसार लाभ पाउँछन् । पढाइको कुनै तहमा प्रतिस्पर्धा गर्नेहरूले सबैले उही स्थान प्राप्त नगरे पनि प्रायले पढाइको त्यो तह पूरा गर्छन् । बजारमा एउटै वस्तु बेच्ने प्रतिस्पर्धी व्यापारिक कम्पनीहरूले उत्तिकै नाफा कमाउन नसके पनि आफ्नो हैसियत अनुसारको व्यापार गर्दै रहन्छन् । यस्तो प्रतिस्पर्धाको हार सबथोक गुमाएँ भन्ने खालको हुँदैन ।
कला, साहित्य, विद्वता तथा व्यवसाय आदि जस्ता क्षेत्रमा प्रतिस्पर्धा हुँदै रहन्छ । तर त्यस्ता प्रतिस्पर्धीहरू सबैले तिनको क्षमता, समयको अनुकूलता, सम्बन्धित क्षेत्रमा आफूले गरेको प्रयत्नअनुसार लाभ पाउँछन् । तिनको सफलता त्यति धेरै जित र हारमा गणना हुँदैन । तथापि प्रतिस्पर्धाको होडमा जित्न चाहने प्रतिस्पर्धीले नै अब्बल स्थान प्राप्त गर्छ ।
मानिस जीवनका अनेक प्रतिस्पर्धाहरू जित्न चाहन्छ र ऊ धन, मान, इज्जत, प्रतिष्ठा तथा उच्च सामाजिक हैसियत प्राप्त गर्न चाहन्छ । यस प्रतिस्पर्धाको होडमा उसले अनेकौँ प्रतिस्पर्धीहरूको सामना गर्नुपर्ने हुन्छ ।
जो कोही प्रतिस्पर्धीले अवश्य नै आफैँ विजयी हुने अपेक्षा राखेको हुन्छ । प्रतिस्पर्धा जहिले म वा हामी केन्द्रित हुन्छ । प्रतिस्पर्धाले एउटा हद पार गरेपछि कोही प्रतिस्पर्धी नै प्रतिद्वन्दी बन्न जान्छ । यसबाट नै रिस, आक्रोश, आवेग, वैमनस्यता र दुष्टता उत्पन्न हुन्छ । त्यसैले, स्वच्छ प्रतिस्पर्धा वा मित्रवत् प्रतिस्पर्धा भन्दै प्रतिस्पर्धीलाई प्रतिद्वन्दी बन्नबाट बचाउने प्रयत्न गरिएको हुन्छ ।
आफ्नो क्षेत्रमा काम गरिरहँदा को, कतिखेर प्रतिस्पर्धी भएर चुनौती दिन थाल्छ, थाहै पाउन सकिन्न । आफूसँग को-को प्रतिस्पर्धा गरिरहेका छन् भन्ने पर्गेल्न पनि गाह्रो पर्छ । प्रतिस्पर्धीहरू धेरै प्रकारले प्रकट हुने गर्छन् अथवा अप्रकट अवस्थामा नै रहेर प्रतिस्पर्धा गर्छन् । कसैलाई आफूले हितैसी मित्र ठानेर निकै विश्वास गरिएको हुन्छ । उसलाई आत्मीय मानिन्छ र हृदय खोलेर कुरा गरिन्छ । उसले पनि भित्रभित्रै आफूलाई प्रतिस्पर्धी सोचिरहेको हुन सक्छ । अनि आफूलाई पछि पार्नका लागि गुप्त जाल रचिरहेको हुन सक्छ । यसरी आफ्नै हितैसी ठानिएकाहरू नै पत्तै नपाई प्रतिस्पर्धी भएर तगारो बन्न आउन सक्छन् ।
जब कसैको नियमित लगावले कुनै क्षेत्रमा सफलता पाएको देखिन्छ, आफ्नो क्षेत्रमा जति काम गरेर पनि केही प्राप्त गर्न नसकेका केही मानिसहरूको मनमा स्वभाविक जलन उत्पन्न हुन्छ । त्यस्तै, समाजका स्वघोषित प्रतिष्ठित भनिने मानिसहरूलेभन्दा बढी सफलता र चर्चा पाउनु पनि तिनको आँखी हुनु बराबर हुन्छ । जब व्यक्ति सफलताको सिँढी चढ्दै जान्छ, अदृश्य रहँदै दृश्यमा आएका अनेक प्रतिस्पर्धीहरूको सामना गर्न थाल्नुपर्छ ।
दोस्रो कुनै व्यक्ति सम्बन्धित क्षेत्रमा राम्रो सम्भावना देखाउँदै आयो भने माथिकाहरू स्वयं आफूलाई चुनौती दिएको रूपमा बुझ्छन् । महत्त्व दिन र माथि उठाउन खोज्दैनन् । माथि उठाउन खोज्नेहरूले पनि त्यतिबेलासम्म साथ दिन्छन् जुनबेलासम्म ऊ आफूभन्दा तल नै रहेको हुन्छ । जब आफूलाई जितेर अघि बढ्न थाल्छ तब उसका खुट्टा तान्न थालिन्छ ।
प्रतिस्पर्धी चरणबद्ध रूपमा प्रकट हुँदै जान्छ । सँगै रहेर सामुन्नेमा खुब प्रशंसा गर्छ । सामुन्ने आफ्नो त्यत्रो प्रशंसा गर्ने मान्छे अरुसामु हुँदा आफ्ना बारेमा केही बोल्दैन । बिस्तारै अरुहरूले आफ्ना बारेमा नकारात्मक कुरा बोल्दै हिँड्न थालेको सुनाउँछन् । त्यसपछि त सामुन्नेमा पनि व्यङ्ग्यले भरिएको प्रशंसा गर्न थाल्छ । ऊ अनाहकमा आफूलाई होच्याउन र आफूसँग विवाद गर्न थाल्छ । अन्त्यमा, ऊ कुनै कारणबिना आफ्नो प्रतिद्वन्दी बनेर भिड्ने मनस्थितिमा रहेको बुझ्न थालिन्छ ।
जीवनमा हजारौं प्रतिस्पर्धीहरूसँग भेट हुन्छ । विषय र घटना बदलिएपछि पात्र बदलिए जस्तै प्रतिस्पर्धीहरू पनि बदलिइरहन्छन् । तर कुनै कुनै यस्ता जटिल मानसिकता भएका प्रतिस्पर्धीहरू पनि हुन्छन्, तिनीहरूले जीवनभर पछ्याइरहन्छन् । राजनीति गर्यो राजनीतिमै लागेर बाटो छेक्छन्, व्यवसाय गर्न थाल्यो व्यवसायी नै बनेर अवरोध सिर्जना गर्छन् । कुनै ठाउँको यात्रा गरेर कसैलाई त्यसको अनुभव सुनाएको थाहा पायो भने त्यही काम नगरी उसलाई चित्तै बुझ्दैन । ऊसँग तपाईंलाई जित्नै पर्ने ध्याउन्न मात्र छ । त्यसले त के गर्यो र ? त्योभन्दा राम्रो मैले गरेँ, भन्नुमा नै उसलाई सबैभन्दा बढी आनन्द आउँछ । बेतुकको प्रतिस्पर्धामा आफूले जितेको भ्रम पालेर जीवन बिताउनेहरू धेरै भेटिन्छन् ।
हिँड्ने क्रममा कोही अगाडि जानु र कोही पछाडि नै रहनु स्वभाविक छ । कसैको वास्ता नगरी तपाईं आफ्नै बाटो हिँडिरहनुभएको छ । संसारमा तपाईंभन्दा सबल मान्छे लाखौं छन्, तपाईंभन्दा कमजोर मान्छेहरूको सङ्ख्या पनि उत्तिकै होला । तपाईंलाई आफूजस्तै हुनुमा आनन्द छ तर कोही व्यक्ति तपाईंलाई आफूले उछिन्न सकेको भनेर गर्व गर्छ । तपाईंभन्दा सबल भएको भन्ने घमण्ड गर्छ । तपाईंभन्दा ऊ जतिसुकै कमजोर किन नहोस् ? आफू सक्षम, सबल र महान् घोषणा गर्छ । अनि आफूलाई कसैले जित्न नसकेको तर्क दिन्छ । तपाईंलाई होच्याएर ऊ आनन्दित भएको अनुभव गर्छ । जति नै माथि पुगोस् तर आजसम्म बोल्ने क्रममा तपाईंलाई नै विषय बनाएर नकारात्मक उदाहरण दिइरहेको छ । हो, त्यही नै तपाईंको असली प्रतिस्पर्धी हो ।
जीवनभरि सँगै हिँडेका दुई सहयात्रीले कठिनभन्दा कठिन परिस्थितिको सामना गरेका हुन्छन् । हातमा हात मिलाएर, काँधमा काँध मिलाएर अघि बढ्छन् । एउटालाई माथि उठाउन अर्कोले काँध थापिदिएको हुन्छ । एकको छातीमा बज्रिने मुक्का थाप्न अर्को तयार भएको हुन्छ । मरे पनि सँगै, बाँचे पनि सँगै भन्ने भावनामा अघि बढ्दै रहेका हुन्छन् । उनीहरूबीच नेपाली उखानले आन्द्रो जोडिएको छ भनेजस्तै सम्बन्ध कायम रहेको हुन्छ । उनीहरूले राम्रा कामदेखि सार्वजनिक गर्नै नमिल्ने गुप्त काम समेत सँगै गरेका छन् । उनीहरूले आफूहरूबीच फाटो हुने कुरा कहिल्यै सोचेनन्, शङ्का गरेनन् । तर अन्त्यमा उनीहरूले लक्ष्य प्राप्त गर्ने बेलामा परिस्थिति यस्तो आइदिन्छ, उनीहरू समेत एकअर्काका प्रतिस्पर्धी बन्न पुग्छन् ।
भलाइ चाहने आफन्त र हितैसी मित्र तपाईंको प्रगतिमा खुशी हुन्छ । असफलतामा ढाडस दिन्छ । गल्ती छन् भने तिनलाई औँल्याएर सही बाटो देखाउने प्रयत्न गर्छ । ऊ अन्तर हृदयदेखि नै तपाईंको हित चाहन्छ, त्यसले कहिल्यै तपाईंलाई होच्याउने प्रयत्न गर्दैन ।
प्रतिस्पर्धीले आफू हिँड्दै गरेको बाटो नै छेकिदिन सक्छ । सफलताको ढोकाअगाडि पुग्दै गर्दा त्यो ढोका बन्द गरिदिन सक्छ । अनेक तर्क र उदाहरण दिएर तपाईं खराब मानिस भएको पुष्टि गर्न खोज्छ । तपाईंलाई पछि हट्न बाध्य पार्नका लागि अनेक दबाब सिर्जना गर्छ । तपाईंले बोलेका कुरालाई बाङ्गो अर्थ लगाएर पटकपटक स्पष्टीकरण दिन बाध्य बनाउँछ । प्रतिस्पर्धीले खेलका नियमहरू गम्भीर ढङ्गले उल्लङ्घन गर्न सक्छ तर त्यतिबेला फुटबल खेलमा जस्तो नियम उल्लङ्घन गर्ने बित्तिकै सिटी बजाउने रेफ्रीको पनि अभाव हुन्छ ।
देखिएरै प्रतिस्पर्धामा उत्रिनेहरूभन्दा छद्मरूपमा प्रतिस्पर्धा गर्नेहरू बढी खतरनाक हुन्छन् ।
ऊ कसैलाई गन्दैन भने नगनोस् । अहम् बोक्छ भने बोकोस् । वास्ता गर्दैन भने नगरोस् । आफ्ना विरुद्ध उसले कुनै दबाब सिर्जना गर्दैन भने त्यसले आफूलाई केही बिगार्दैन । तर त्यसभन्दा अघि बढेर अनेक दबाब सिर्जना गर्दै प्रतिस्पर्धी भई प्रतिवादमा उत्रिन बाध्य बनाउँछ भने उसले आफूलाई अनिच्छित झमेलामा फसाइदिन्छ ।
अन्य कुरा जे जे भएपनि प्रतिस्पर्धीहरूले व्यक्तिलाई आफ्नो काममा प्रतिबद्ध भएर खट्न ऊर्जा दिइरहेका हुन्छन् । प्रतिस्पर्धाले व्यक्तिलाई आफ्नो उत्कृष्टताका लागि राम्रो गर्न प्रेरित गरिरहेको हुन्छ । प्रतिस्पर्धाले नै कामप्रति लगनशील बनाउँछ । प्रतिस्पर्धीलाई उछिन्नकै लागि व्यक्तिलाई काम गर्ने जाँगर चल्छ । यसले व्यक्तिलाई सिर्जनशील पनि बनाउँछ । नयाँ सोचको विकास गर्न, कामको गुणस्तर सुधार गर्न र आत्मविश्वास बढाउन प्रतिस्पर्धाको ठूलो भूमिका रहेको हुन्छ ।

