साहित्यपोस्ट डट कम

निबन्ध: प्रश्नको मूल्य

निबन्ध: प्रश्नको मूल्य

मानव जातिको इतिहासमा दुःखी मान्छे साक्षात्कार गर्ने पहिलो मानव होइनन् बुद्ध । दुःख त सबैले देखेकै थिए तर त्यसबाट कसैको मनमा प्रश्नको खिल गाडिएन ।

===

आज मानव जातिले जुन उचाइ चढेको छ, जुन उचाइमा यात्रारत छ, त्यसको श्रेय ऊभित्र पैदा हुने अनन्त प्रश्नका सिलसिलाहरूलाई दिनुपर्ने हुन्छ किनभने प्रश्न गर्ने क्षमताले नै मान्छेलाई उन्नत ऊर्ध्वतर्फ अभिमुख गराइरहेको हुन्छ । निरन्तर मानिसले आफूलाई र अर्कालाई गरेका प्रश्नको सिँढी चढेर उसले आफ्नो यात्रालाई सभ्यताको आरम्भिक बिन्दुदेखि एक–एक तह माथि उठाउँदै यस ठाउँसम्म ल्याइपुर्याएको छ ।

जुन दिन मान्छेका मनमा प्रश्नको खुल्दुली जन्म्यो, जीवन र जगतप्रति अनन्त जिज्ञासाहरू जन्मे, त्यस दिनबाट ऊ चौपाया जनावरबाट दोपाया प्राणीको रुपमा विकसित भयो । हामी देख्छौँ– अहिले पनि सकल प्राणीगण जनावरको तहमा नै विचरण गरिराखेका छन् । कारण उनीहरूका चित्तमा प्रश्नका झञ्जावात उठ्नै सकेको छैन । अझ यसो भनूँ गिदीमा प्रश्न निर्मित हुने चित्त विकसित हुन बाँकी नै छ । उनीहरूको मनको बारी प्रश्नको टुसो पलाउने गरी ऊर्वर हुन सकेको छैन । त्यसैले त जनावरको तहमा सीमित छन् ।

जसका मनमा अनन्त प्रश्नका झिल्का उठ्छन्, त्यो मानिस जीवनको अँध्यारो सुरुङ्गबाट उज्यालो संसारतिर उडान लिन्छ । मानव मनमा उठेको प्रश्नको आगोले जीवनको अँध्यारो भगाउन शुरु गर्दछ । बुद्ध र न्यूटनको जीवनी पढ्दा प्रश्नको गरिमा कत्ति ओजनदार छ ! त्यसको भेउ पाउन सक्छौँ । सुकरातदेखि जेम्स वाटसम्मको मस्तिष्कमा तरङ्गित भएका प्रश्नले कति सुन्दर सिर्जना गर्न सक्यो ! त्यसको मूल्य थाहा पाउन सक्छौँ ।

सिद्धार्थका पिता शुद्धोदनले कपिलवस्तुको दरबारमा सिद्धार्थको मनमा कुनैपनि प्रश्नहरू नजन्मियून् भनेर अनेक तरहका सुविधा प्रबन्ध गरेका थिए । किसिम किसिमका आनन्दहरूको इन्तिजाम गरेका थिए । जाडो/गर्मी शीत/वर्षा जस्ता मौसम–चक्रको दुःखले सिद्धार्थको मन र शरीरलाई आहत नगरोस् र उनको चित्तमा जीवनप्रति कुनै किसिमको सन्देह पैदा नहोस् भनेर मौसम र ऋतुकाल अनुसारका दरबार बनाइदिएका थिए । सिद्धार्थलाई दुःखको दु सम्म थाहा नहोस् भनेर सुख सुविधाको प्रबन्ध मिलाइएको थियो । यतिसम्म कि बगैँचामा ओइलाई झरेका पातसम्म छोराले देख्न नपाओस् भनेर तुरुन्तै टिप्ने गरिएको थियो । छोराले ओइलाएको फूल र पहेँलिएको पातसमेत नदेखोस् भनेर चौबीसै घन्टा माली–मुसारे बगैँचामा तैनाथ रहन्थे । बूढा राजालाई एउटै पीर थियो, कतै यस्ता चिज देख्यो भने छोराका मनमा वैराग्यका प्रश्नहरू उठ्न सक्छन्, त्यो नउठोस् ! एउटा भएको राजकुमार पनि जोगी भएर राज्य त्यागेर हिँड्यो भने भोलि राजकाज कसले सम्हाल्छ ! राजालाई त्यसको चिन्ता थियो । त्यसैले छोरो जवान हुँदासम्म उनले वृद्ध, रोगी र लाश हेर्न दिएका थिएनन् । कतै रोगी वृद्धलाई देख्यो भने उसको मनमा संशय पैदा होला अनि नमिठो विरक्ति भाव आउला र मनमा दुःखका प्रश्नहरू जन्मिएला भन्ने त्रास थियो ।

आखिर प्रश्नबाट वञ्चित गरेर सिद्धार्थलाई जीवनका सत्यदेखि जति नै टाढा राखे पनि, कुनै वैराग्यको भाव नआओस् भनी गुमराहमा राखे पनि एकदिन उनले थाहा पाए– मानिस बूढो हुँदो रहेछ, रोगी अशक्त हुँदो रहेछ र मृत्युको मुखमा पर्नुपर्ने रहेछ । अर्थात् बाउले जतिनै रोके छेके पनि उनले रोगी देखे, लाश देखे, वृद्धजन देखे र तत्क्षण उनका मनमा प्रश्नको सुइरो गाडियो । जुन दिन मनमा प्रश्नको जुलुश उठ्यो, त्यो दिन दरबारलाई दरबार देखेनन् त्यसमा त बलिरहेको अग्निज्वाला देखे । त्यसपछि उनका मनमा केही भयानक प्रश्न उठे । मानिस किन दुःखमा छ ? वास्तवमा दुःख के हो ? दुःख विमुक्तिको उपाय के छ ? त्यो चिज पत्ता लगाउन आफ्नै राजसी चुल्ठो आफैँले काटेर जङ्गल पसे । र ६ वर्ष पछि प्रश्नको जवाफसहित बाहिर आए ।

प्रश्नले नै सिद्धार्थलाई बुद्धत्व दिलायो । आखिर एउटा बूढा मानिसका निधारमा कोरिएका चाउरी धर्साले मान्छेको मनमा हजार प्रश्न जन्माउँदो रहेछ । एउटा पिलन्धरे रोगीको कृशकायाले चित्तमा अनन्त औडाह जगाउँदो रहेछ । एउटा कीर्तिशेष अर्थीले मान्छेलाई भित्रैबाट हल्लाउने गरी प्रश्नका ज्वारभाटाहरू सिर्जना गर्न सक्दो रहेछ । बुद्धको मनमा उठेको एउटै प्रश्न मानवजातिको इतिहासमा कति मूल्यवान छ ! त्यसको ठीक हिसाब लाउन पनि सकिँदैन ।

हुन त बुद्ध जन्मनुअघि पनि मान्छे बूढा हुँदै आएका थिए । त्यस अघि पनि हजारौँ मान्छे रोगी थिए । करोडौँ मान्छे मृत भएका थिए । तर ती वृद्ध, रोगी र मृतक मान्छे देख्ता कसैको मनमा पनि प्रश्नको भुइँचालो चलेन । कसैको मनमा पनि सानो सन्देहको झञ्जावात पैदा भएन । बुद्ध अगाडिका मान्छेले पनि देखेकै हुन् दुःखी मनुवाहरूको अनुहार । तर, कसैको चित्तमा पनि प्रश्नको कुनै चिन्तना जन्मेन । मानव जातिको इतिहासमा दुःखी मान्छे साक्षात्कार गर्ने पहिलो मानव होइनन् बुद्ध । दुःख त सबैले देखेकै थिए तर त्यसबाट कसैको मनमा प्रश्नको खिल गाडिएन । मान्छे अनन्त दुःखमा छ । यसबाट मुक्तिको उपाय के छ ? यी प्रश्नले नै बुद्धलाई ब्युँझायो । मनमा प्रश्नका सुइराले घोचे पछि उनी चुपचाप सुत्न सकेनन् । परम् जागरणको बाटोबाट जीवनको सत्य पत्ता लगाउने चेष्टा गरे । त्यस जागरणको मुकामसम्म उनलाई प्रश्नका घेराहरूले तानेर पुर्यायो ।

मनमा प्रश्नका सुनामी चक्रवात उठे पछि स्वर्ण हवेलीको राजसी विलासमा डुब्न दिँदैन मान्छेलाई । उसलाई खोजको कष्टकर यात्रामा तानेर हिँडाउँछ । शोधको विकटपूर्ण अवस्थामा परिशोधन गराउँछ । उसले साधना र सङ्घर्षको कण्टकमय पथ तय गर्छ । कारण, उसका मनमा उठेका प्रश्नहरू अत्यन्त मूल्यवान् हुन्छन् । प्रश्नको मूल्य नगुमाउने शर्तमा आफ्नो राज्यसत्ता परित्याग गरिदिए बुद्धले । न्यूटन जन्मिनुअघि पनि स्याउ भुइँमै खस्थ्यो । पाकेको स्याउ भुइँमा नखसेर आकाशतिर उचालिंँदैनथ्यो । त्यो जमिनमै झर्थ्यो । तर कुनै मनुवाको मनमा स्याउ भुइँमा झरेको विषयमा संशय पैदा भएको थिएन । प्रश्न उठेकै भए पनि त्यसको जरो कारण पत्ता लाउन कोही उत्सुक थिएन ।

सरदर मान्छेले त स्याउ खसेको देखेपछि टिपेर खानेबाहेक अरू के कुरा सोच्छ र ? खानको चिन्ता भएका मान्छेका मनमा खानु पिउनु बाहेक अरू विषयको चिन्तन गर्ने, सोचविचार गर्ने परिपाट पनि हुन्न । तर सर आइज्याक न्यूटनले पहिलो चोटि प्रश्न गरे– आखिर यो स्याउ किन जमिनमा झर्यो ? यो किन आकाशतिर गएन ? जमिनमै खस्नुपर्ने कारण के हो ? यस प्रश्नले उनलाई यसरी ङ्याक्यो– आखिर पृथ्वीको गुरुत्वबलको सिद्धान्त पत्ता नलगाई विश्राम लिएनन् ।

उनका मनमा प्रश्न पैदा नभएको भए शायद गुरुत्व बलका विषयमा धर्ती आजसम्म बेखबरै रहन्थ्यो कि ! सन्देह गर्न सकिन्छ । स्याउ खानतिर लोभ गरेका भए भौतिक विज्ञानको महानतम सिद्धान्त अवश्य पत्ता लाग्दैनथ्यो । उनको खानमा भन्दा खोज्नमा ध्यान गयो । नत्र उनीभन्दा अगाडि कैयौँ मनुष्यले देखेका थिए स्याउ खसेको दृश्य । किन कोही न्यूटन बनेनन् । कारण स्पष्ट छ, खसेको स्याउले न्यूटनको मनमा प्रश्नको आँधीबेहेरी उठायो । नाथे रूखबाट स्याउ खसेको सामान्य दृश्यले एउटा वैज्ञानिक चित्तको मान्छेलाई भित्रैबाट बिथोल्ने गरी हिर्काउँदो रहेछ र एउटा भीमकाय प्रश्नको महाभुँवरीमा फसाउँदो रहेछ । प्रवर्तन, नवप्रवर्तन, आविष्कार र खोजका महान् सिलसिलाहरू प्रश्नकै घेराबाट उद्भव हुँदा रहेछन् ।

मान्छेको मगजमा अनन्त प्रश्न उमार्ने ताकत र ताछिल्य छ । मगजसित जति प्रश्नका गाँठा पार्न सक्ने खुबी छ, त्यति नै समाधानका सूत्र पहिल्याउने क्षमता पनि छ । प्रश्नको विराट क्षमताले नै मानव जाति ज्ञानविज्ञानको उपल्लो शिखर टेक्न सफल भएको हो । कुनै समय आगोविहीन, ओत र आश्रयविहीन भएर ओढारमा स्यूस्यू कामिरहेको मनुष्य आज सुख वैभवको दुनियाँमा सयर गर्ने भयो । जङ्गलमा जाडो र भोकले कठ्याङ्ग्रिरहेको मनुवा आज आफैँलाई प्रश्न गर्दै, आफ्नै यात्राका डोबमाथि प्रश्नका तीर सोझ्याउँदै सभ्यता र सृजनाको यस द्वारसम्म चियाउन आइपुगेको छ । मानिसले निरन्तर प्रकृति र प्रकृतिका नियममाथि प्रश्नका तीर सोझ्याउँदै आयो । शासक–प्रशासक, राजा–महाराजाका शासन शैलीका रीतभाँतमाथि प्रश्नका बौछार बर्साउँदै आयो । प्रश्नकै शक्तिको भरमा एउटा सुललित सभ्यताको चौतारी खन्न सफल बन्यो ।

इतिहासमा कतिपय शासक, राजा–महाराजा प्रश्नको घेराबाट अलग्गै बस्न रुचाएका उदाहरण छन् । प्रश्न सोध्ने जनका जिब्रो थुतेका दृष्टान्त छन् । प्रश्न गर्दा ठड्याइएका औँला गिँडेका दर्दनाक कथा–कहानी छन् । यहाँमात्र होइन संसारभरि नै प्रश्न खडा गर्नेप्रति प्रतिशोध राख्ने, प्रताडित गर्ने र यातनाको आगोमा सेकाउने परिपाटी नौलो होइन । सानो आँटले, सानो हिम्मतले र सानो मनोबलले प्रश्न गर्ने औँलो हावामा ठड्याउन सकिँदैन ।

हो, प्रश्नले निचाम्म निर्जीवतूल्य शान्त पोखरीमा ढुङ्‌गो खसाल्छ र एक वायुवेगी तरङ्ग सिर्जना गर्छ । अनि समाजको सन्नाटा तोड्छ । यसले लोकको मुर्दा शान्ति बिथोल्छ । उहिल्यै यूनानमा दार्शनिक सुकरातले प्रत्येक नागरिकलाई प्रश्न गर्न उद्वेलन गरे । चोकचोक गल्ली गल्लीमा उभिएर हरेक विषयमा प्रश्न गर्ने र सवाल–जवाफको सुन्दर परिपाटीको शुरुआत गरे । तर शासकहरूले उनीमाथि नागरिकलाई भड्काएको अभियोग लाएर सत्तरीवर्षको उमेरमा विष पिलाएर मृत्युदण्ड दिए । उनलाई मार्नुअघि शासकहरूले बाँच्ने विकल्प दिएका थिए । अर्थात् प्रश्न नगर्ने शर्तमा उनलाई बाँच्ने छुट थियो । शासक र समाजका मूल्यमाथि हर विसंगत व्यवहारप्रति मौन सहमति जनाउने शर्तमा जीवनदान दिने कुरा गरेका थिए तर बागी सुकरातले प्रश्नविहीन मुर्दा सन्नाटामा बाँच्नुभन्दा बोलेर मृत्युवरण गर्नु श्रेयष्कर देखे । शासकका प्रलोभनले उनलाई फकाउन सकेन । तिनका डर, त्रास, धाक, धम्कीले उनको आस्था गलाउन सकेन । उनले मृत्युभन्दा प्रश्नको मूल्य ठूलो ठाने । उनले लोभ प्रलोभनको जीवनभन्दा निष्ठाको जीवन माथि देखे ।

प्रश्न गर्नु मानव जातिको जन्मजात गुण हो । यस गुणलाई बन्ध्याकरण गरियो भने मान्छे नपुसंक हुन्छ । प्रश्नको अधिकारलाई कहीँ कतैबाट बाधित गरियो भने विद्रोहको झण्डा फहरिन्छ । भनिन्छ, औसत चारवर्षको बच्चाले चारसय प्रश्न सोध्ने ल्याकत राख्तछ । प्रश्नको यो विपुल क्षमता गुमाएको दिन मनुष्य मनुष्य रहँदैन । मानव हुनुको ओज र गरिमा प्रश्न गर्नुमा छ । जाग्रत् जीवन्त बन्नुको महत्ता निरन्तर प्रश्न पैदा गर्नुमा छ । प्रश्नले हामीलाई यथास्थितिको आहालबाट माथि उठाउँछ र ऊर्ध्वगामी पथका पदयात्री बनाउँछ । विहङ्गम दृष्टिले धर्ती नियाल्ने मान्छे बनाउँछ । प्रश्नबाटै उठ्छन् हरप्रकारका विद्रुपता, विसंगति र विभेद विरुद्धका जिहादी स्वरहरू । प्रश्नले खोल्छ विद्रोह र विवेकको ढोका । तर त्यो प्रश्न सृजनमयी होस्, सौन्दर्यमयी होस्, ज्ञानमयी होस्, अवधानमयी होस् ।

प्रश्नले मान्छेलाई सुत्न दिँदैन । अचेत बेहोस हुनेगरी घुर्न दिँदैन । खालखालको घना अन्धकारबाट आलोकको दुनियाँमा रमण गराउन मान्छेका आत्मामा उठेका प्रश्नले जति भूमिका खेलेका छन्, शायद अन्य चिजले ऊ नब्यूँझिन सक्थ्यो । त्यसैले प्रश्नले हृदय हल्लाइदिन्छ । मथिङ्गलमा आँधीहुरी चलाउँछ । सीमित घेरामा बसेको मान्छेलाई असीम द्वारमा छिराउँछ । विदितको दुनियाँमा अड्किएको मान्छेलाई अविदितको आँगन टेकाउँछ ।

मलाई अहिले पनि महाभारतमा युधिष्ठिरलाई यक्षले गरेका प्रश्न मन पर्छ । गंगालालले जुद्ध शमशेर र नर शमशेरलाई गरेका प्रश्न मन पर्छ । प्रश्न सोध्न हमेसा निषेध गर्ने डिएन गुरुभन्दा जगतलाई प्रश्न सोध्न सुझाउने रेने देकार्त हजार गुना प्यारो लाग्छ । देकार्तहरूका प्रश्न आफैँमा अमूल्य छन् । यी प्रश्नले दिगन्तसम्म उज्यालो आभा छरिरहेका छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.