व्यक्तिमा भएका रूप, गुण वा विशेषतालाई शब्द, व्यवहार वा शारीरिक हाउभाउमार्फत मन पराइएको भाव व्यक्त गर्नु नै प्रशंसा हो । यसको लागि सधैँ बोलिरहनु पर्दैन । कोही राम्रो लागेको, मन परेको अनि उसका सिर्जना रुचाइएको कुरा आँखाले पनि बोलिरहेका हुन्छन् । व्यक्ति सामुन्ने नभएको अवस्थामा भने प्रशंसाका लागि शब्दको आवश्यकता पर्छ ।
प्रशंसा सुगर-कोटेड सस्तो क्यान्डी होइन । यो वास्तवमै रसिलो हुन्छ, मनको भित्री तहसम्म पुग्छ; र थकित चेतनामा ताजापन भरिदिन्छ ।
आफ्नो तारिफ सुन्न मन नपराउने को होला र ? अनि त्यो सुनेर प्रसन्न नहुने पनि को होला ? यदि त्यस्ता कोही हुन्छन् भने पनि विरलै गणना होलान् । त्यस्ता व्यक्तिहरू या त साधु प्रवृत्तिका हुन्छन्, या यस्ता भावनाका मोहबाट तटस्थ रहन सक्नेहरू ।
केही दिनअघि पाटन अस्पताल गएको थिएँ । बिलिङको बेला मैले ज्येष्ठ नागरिक कार्ड देखाएँ । काउन्टरकी युवतीले भनिन्, “तपाईंलाई ज्येष्ठ नागरिक भन्नै सुहाउँदैन । योग, ध्यान केही गर्नुहुन्छ कि के हो ?”
उनका शब्दले मात्र होइन, आँखामा देखिएको साँचो प्रशंसाले पनि मलाई प्रसन्न बनायो । त्यही दिन माइक्रो चढ्दा भने फरक अनुभव भयो । सहचालकलाई भाडा दिने बेला मैले आफूसँग कार्ड रहेको बताएर बाँकी पैसा दिएँ । उसले कार्ड हेर्न चाह्यो । कार्ड ओल्टाइपल्टाइ हेरेर उसले मलाई एकछिन नियाल्यो । उसको अनुहारमा ‘यिनी ज्येष्ठ नागरिक ?’ भन्ने अविश्वास स्पष्ट देखिन्थ्यो । मलाई र कार्डलाई पालैपालो हेर्दै ऊ भुतभुतायो, “अनुहार छ त्यस्तो, तर कार्ड बोकी हिँड्छन् !” उसको भनाइमा प्रशंसा थियो वा थिएन कुन्नि, त्यो भन्दा अरूले पनि सुन्ने गरी गरिएको त्यस टिप्पणीले मलाई निकै सङ्कोच महसूस गरायो ।
प्रशंसा निष्कपट छ भने मात्र त्यसको अर्थ रहन्छ । अचेल कसैको निकट पुग्न, लाभ लिन वा प्रभाव जमाउन प्रशंसा गर्नेहरूको पनि कमी हुँदैन । कुराकानी र प्रत्यक्ष भेटघाटका बेला उनीहरूको प्रस्तुति सत्य हुँदैन, तर उनीहरू तारिफका यस्ता पुल बाँधेर हाउभाउ प्रस्तुत गर्छन् कि अगाडि बसेको व्यक्तिले सही र गलत छुट्याउन सक्दैन । शब्दका रङ्गिन आवरणमा बेरिएका स्वार्थका पोका जस्ता अवास्तविक प्रशंसाले क्षणिक खुशी त दिन सक्छन्, तर आत्मीयताको ताप नभएको त्यसले अन्ततः धोका नै दिन्छ । यस्ता असत्य प्रशंसाले व्यक्तिलाई आफ्ना कमजोरीहरू देख्न नदिई भ्रममा राख्न सक्छन् ।
फेसबुकभरि फैलिएका सामग्रीमाथि आउने लाइक र कमेन्टले पनि व्यक्तिलाई यथार्थबाट टाढा राख्न सक्छन् । किनभने तीमध्ये धेरैमा साँचो प्रशंसाभन्दा बदलामा आफ्नो पनि प्रशंसा पाउने चाहना वा फेसबुके सम्बन्ध टिकाइराख्ने प्रयत्न बढी हुन्छ ।
हुन त प्रशंसाको चाह नराख्नु र पाएको प्रशंसाप्रति पनि दुई हात पर बस्नु फरक कुरा हो ।
हामीमध्ये अधिकांश प्रशंसा रुचाउँछौँ । आफूले गरेको काम, सिर्जना, सफलता वा आफ्नो व्यक्तित्व अरूले ख्याल गरून् र त्यसको तारिफ होस् भन्ने चाहना हामी सबैमा हुन्छ । आफ्नो रचना अरूलाई देखाउँछौँ, पढिदिन आग्रह समेत गर्छौँ । त्यसको पछाडि अरूले आफ्नो बारेमा प्रशंसाका दुई शब्द बोलिदिउन् भन्ने चाहना अवश्य पनि लुकेको हुन्छ ।
राम्रो कुरालाई राम्रो भनिनु पनि पर्छ । यसले एक स्रष्टाका लागि जीवनदायिनी, उत्साहवर्धक र कहिलेकाहीँ त सञ्जीवनी बुटीकै काम गर्छ । प्रशंसाका दुई–चार शब्दले हार र निराशाले थिलथिलो बनेको मनलाई फेरि उठ्न सक्ने साहस दिन्छन्, जसरी लामो खडेरीले चिरा परेको जमिनमा परेको पहिलो वर्षाले हरियालीको सम्भावना जगाउँछ ।
कलाकारले बनाएको चित्रको तारिफ गर्दा उसको आत्मविश्वास बढ्छ । लेखकले गरेको सिर्जनाको कदर हुँदा ऊ अझ राम्रो लेख्न प्रेरित हुन्छ । कार्यस्थलमा कर्मचारीको योगदानको सम्मान गर्दा उसको कामप्रतिको लगाव र जिम्मेवारी बोध बढ्छ । हेर्ने हो भने प्रशंसा केवल शब्द मात्र होइन, यो कसैको क्षमता उजागर गर्ने र उसको सम्भावनालाई अझ फराकिलो बनाउने सकारात्मक ऊर्जा पनि हो ।
शायद यो मानिसको स्वभाव हो । एकातिर हामी प्रशंसा गर्नुपर्छ भन्छौँ, अर्कोतर्फ प्रशंसा गर्न उत्तिकै कन्जुस्याइँ पनि गर्छौँ । आफूलाई राम्रो भनिदेओस्, आफ्नो लेखाइको प्रशंसा होस् भन्ने चाहना राख्ने हामीमध्ये कति जनाले दोस्रो स्रष्टालाई मनदेखि तारिफ गरेका छौँ, शुभकामना दिएका छौँ ? यो आफैँसँग गर्नुपर्ने प्रश्न हो । उनका बारेमा खर्चिएका केही शब्द, सानो सन्देश वा एउटा फोन कल पनि उनका लागि दिनभरिको टनिक हुन सक्छ, सम्बन्ध विस्तार गर्ने माध्यम हुन सक्छ ।
गोरखापत्रमा कथा-सहारा प्रकाशित भएपछि रेखा आचार्यजीले फेसबुकमा त्यो रुचाउनुभएको सन्देश पठाउनुभयो । कथा प्रकाशित भए जत्तिकै खुशी लाग्यो त्यो दिन । खुशी हुन लेखकलाई अरू बढी के चाहिँदो रहेछ र ?
त्यस्तै, साहित्यपोस्टमा प्रकाशित भएको कथाको पात्र भन्ने कथा पढेर अतुल पोखरेलजीले मलाई फेसबुकमा खोजेर राम्रो लागेको भन्दै सन्देश पठाउनुभयो । स्वयं लेखक हुनुहुने उहाँको त्यो प्रतिक्रियाले मलाई उहाँका रचनाहरू पढ्न पनि प्रेरित गर्यो ।
हामी धेरैपटक अरूको राम्रो काम देखेर मनभित्रै प्रशंसाका फूल फुलाउँछौँ, तर ती फूल शब्द बनेर ओठसम्म आइपुग्न भने सक्दैनन् । हाम्रो त्यो हिचकिचाहटमा कुरा व्यक्त गर्न नसक्ने संकोची स्वभावभन्दा पनि धेरैमा जलन, ईर्ष्या, अहम् र रिसका भावना पनि हुन सक्छन् । कसैको आलोचना गर्न हामी अगाडि–पछाडि हेर्दैनौँ, न त समय नै कुर्छौँ । तर जब कसैका बारेमा केही राम्रा कुरा बोल्नु वा लेख्नुपर्ने हुन्छ, शब्द नै हराउँछन् । हामी बिर्सन्छौँ, मनमा लागेको राम्रो कुरा उचित समयमा व्यक्त गरिदिँदा त्यसले सम्बन्धहरूलाई अझ न्यानो र विश्वासिलो बनाउँछ ।
मानिसले यश, पद र प्रतिष्ठाको मात्र खोजी गरिरहेको हुँदैन; उसले आफ्नो अस्तित्वको स्वीकार्यता पनि खोजिरहेको हुन्छ । प्रशंसा त्यही स्वीकार्यताको एउटा सुन्दर र उज्यालो अभिव्यक्ति हो । यो केवल अरूलाई दिइने उपहार होइन, आफ्नै मनको उदारता र संवेदनशीलताको परिचय पनि हो । मनदेखि गरिएको प्रशंसामा कुनै हिसाबकिताब हुँदैन, कुनै स्वार्थ वा अपेक्षा हुँदैन, घोचपेच र व्यङ्ग्य हुँदैन । त्यहाँ केवल शुभेच्छा हुन्छ, अर्काको खुशीमा खुशी हुन सक्ने उदारता हुन्छ र आफूलाई छोएको सुन्दरतालाई सहज रूपमा स्वीकार गर्ने साहस हुन्छ ।
त्यसैले मनमा कसैका लागि कुनै राम्रो भावना पलाएको छ भने त्यसलाई व्यक्त गर्न कन्जुस्याइँ किन गर्ने ? स्नेह र प्रशंसाका लागि पनि के कुनै साइत कुर्नुपर्छ र ?

