अहंको कालो
सुक्खा नदी किनार
पातको ओस !
संस्कृतमा एउटा सुन्दर उक्ति छ ‘प्रज्ञापराध’ । अर्थात्, बुद्धि हुँदाहुँदै पनि विवेकको प्रयोग नगर्नु नै सबैभन्दा ठूलो अपराध हो । आजको नेपाली समाज ठ्याक्कै यही मोडमा उभिएको छ । हामीसँग ‘इन्टेलिजेन्स’(बुद्धि) छ, तर ‘विजडम’ (प्रज्ञा) हराएको छ । प्रज्ञा भनेको केवल सूचनाको सङ्ग्रह होइन । यो त आन्तरिक प्रकाश हो । चेतनाको विकसित र विवेकपूर्ण प्रयोग हो । समाजका सम्पूर्ण आयामहरू प्रज्ञाबाट नै निर्देशित हुन्छन् ।
आजको मानिस आफूलाई मनपर्ने कुरालाई मात्र सत्य मान्छ । आजको समाज एउटा अनौठो विरोधाभासमा बाँचिरहेको छ । सूचनाको भण्डार छ तर ज्ञानको खडेरी छ । प्रविधि छ तर प्रज्ञा छैन । विशेष गरी आजको मानव “म र मेरो” भन्ने सङ्कुचित घेराभित्र कैद भएको छ । आफूले जानेको कुरा मात्र ज्ञान हो र आफूलाई मनपर्ने विचार मात्र सही हो भन्ने अहङ्कारले गर्दा मानिसले आफ्नो विवेक गुमाइरहेको छ ।
जब हामी अरूको अस्तित्व र विचारलाई इन्कार गर्छौं तब हामी वैचारिक अन्धकारमा फस्छौँ । “मै खाऊँ, मै लाऊँ” भन्ने भावनाले सामाजिक सद्भाव मात्र बिगारेको छैन । व्यक्तिको आन्तरिक प्रज्ञालाई पनि मुर्छित बनाइदिएको छ । आफूलाई मात्र ठीक देख्ने यो प्रवृत्तिले मानिसलाई सहिष्णुताबाट टाढा लैजाँदैछ ।
अहिलेका मानिसहरू प्रज्ञाविहीन रोबोट जस्ता देखिन्छन् । किन ? किनकि हाम्रा प्रतिक्रियाहरू हाम्रा आफ्नै छैनन् । सामाजिक सञ्जालमा कसैले एउटा कुरा लेख्छ, हामी नसोची त्यसको पछि लाग्छौँ । हाम्रा विचारहरू “अल्गोरिदम” ले नियन्त्रण गरिरहेका छन् । रोबोटले हिसाब गर्छ तर दया गर्दैन । रोबोटसँग डाटा हुन्छ तर भावना हुँदैन । निर्देशन हुन्छ तर विवेक हुँदैन । हामी पनि सामाजिक सञ्जालका ‘अल्गोरिदम’ बाट निर्देशित भइरहेका छौँ । हामी त्यही सुन्न चाहन्छौँ जो हाम्रो कानलाई प्रिय लाग्छ र त्यही देख्न चाहन्छौँ जसले हाम्रो अहङ्कारलाई सन्तुष्ट गर्छ ।
युवा उर्जामा
झरनाको सङ्गीत
विवेक फुल्छ !
यान्त्रिकताले हामीबाट संवेदना खोसेको छ । अरूको दुःखमा नपग्लने र अरूको विचारलाई कदर नगर्ने मानिस भौतिक रूपमा जीवित भए पनि आत्मिक रूपमा मृत समान हुन्छ । प्रज्ञा भनेको केवल पढ्नु वा जान्नु मात्र होइन । प्रज्ञा त जान्नु र बुझ्नु बीचको मसिनो रेखा हो जसले हामीलाई ‘मानिस’ बनाउँछ । यो अवस्थालाई चिर्ने सामर्थ्य केवल युवा पुस्तामा छ ।
युवा भनेको परिवर्तनको संवाहक हो । तर आजका युवा आलोचना र गाली बीचको भिन्नता छुट्याउन नसक्ने अवस्थामा पुग्नु दुःखद छ । कसैको आलोचना गर्ने नाममा आफ्नो मर्यादा र विवेक गुमाउनु प्रज्ञाको लक्षण होइन । विवेकको जागृति र प्रज्ञाको खोजी गर्नु आजका हरेक युवाको परम कर्तव्य हो ।
युवा अवस्था भनेको शरीरको मात्र शक्ति होइन । विचारको प्रखरता पनि हो । तर, आजका युवाहरू “आलोचना” गर्ने नाममा “निन्दा” गरिरहेका छन् । वास्तविक आलोचनाले सुधारको बाटो देखाउँछ । तर विवेकहीन आलोचनाले केवल घृणा फैलाउँछ । युवाहरूले बुझ्नुपर्छ कि प्रश्न सोध्नु युवाको अधिकार हो । प्रश्न गरौँ तर प्रश्नमा विष होइन, जिज्ञासा होस् । आफ्नो विचार व्यक्त गरौँ तर सद्भाव नबिथोलियोस् । हामी रोबोट होइनौँ । हामी त चेतनशील मानव हौँ । हाम्रो चेतना नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । यसलाई सधैँ जागृत राखौँ ।
प्रज्ञा भनेको त्यो उज्यालो हो जसले हामीलाई सही र गलत बीचको भेद सिकाउँछ । युवाहरूले अब पुराना रुढीवादी परम्परा र आधुनिक यान्त्रिक दासता दुवैबाट मुक्त भएर एउटा सचेत मार्ग पहिल्याउनु पर्छ । एक्लैको प्रयासले मात्र यो समाज बदल्न कठिन छ । जागरणका लागि सामूहिक सचेतन प्रयत्न आवश्यक छ । हामीले एउटा यस्तो समाजको निर्माण गर्नु छ जहाँ फरक मतको सम्मान होस् । आलोचना रचनात्मक होस् । ध्वंसात्मक नहोस् । जब हामी सामूहिक रूपमा सचेत हुन्छौँ तब प्रज्ञाको दीप प्रज्वलित हुन्छ । जब हामी यो कुरा बुझ्छौँ तब हामी रोबोटबाट पुनः मानव बन्ने दिशामा अग्रसर हुन्छौँ ।
आज नेपाली समाजमा मौलिकता हराउँदै गएको छ । मौलिकता हराउनुको मुख्य कारण अर्काको देखासिखी हो । जब हामी अरूको जीवन बाँच्न खोज्छौँ, हाम्रो आफ्नो प्रज्ञा निभ्छ । हाम्रो सोचाइमा धेरै पत्रहरू छन् । जात, धर्म, राजनीति, र व्यक्तिगत स्वार्थ । प्रज्ञाले यी सबै पत्रहरूलाई हटाएर वस्तुलाई ‘जस्तो छ त्यस्तै’ हेर्न सिकाउँछ । “मैले जानेको मात्र ठिक” भन्नु एउटा मानसिक रोग हो । यो रोगबाट मुक्त हुनु नै विवेकको उदय हुनु हो । मृगले आफ्नो कस्तुरीको सुगन्ध आफैँभित्र खोज्न नसकेर बाहिर भौँतारिएझैँ आजको युवा आफ्नो मौलिकता भुलेर अरूको पदचापमा हिँडिरहेको छ । मौलिकता भनेको नयाँ कुराको आविष्कार मात्र होइन, बरु पुरानै सत्यलाई आफ्नो अनुभवको कसीमा घोटेर नयाँ ढङ्गले प्रस्तुत गर्नु पनि हो । जब तपाईंको विचारमा तपाईंको आफ्नो अनुभव मिसिन्छ तब त्यो मौलिक हुन्छ ।
अहिलेको जमाना “सर्ट्स” र “रिल्स”को हो । सबैलाई छिटो र सतही जानकारी चाहिएको छ । तर जीवनको सत्य गहिराइमा हुन्छ । सतहमा त केवल फिँज मात्र हुन्छ । प्रज्ञाले हामीलाई धैर्य गर्न र गहिराइमा डुब्न सिकाउँछ । प्रज्ञा सूचनाको जङ्गलमा सत्य छान्ने आलोचनात्मक दृष्टि हो । जात, धर्म, राजनीतिको चश्माले वास्तविकता विकृत हुन्छ । प्रज्ञाले यी सबै हटाएर वस्तुलाई जस्तो छ त्यस्तै देख्न सिकाउँछ ।
कुनै पनि विषयलाई गहिरिएर नबुझी टिप्पणी गर्नु विवेकहीनताको पराकाष्ठा हो । प्रज्ञाविहीनता, आँखा भएर अन्धो हुनु हो । बहसले जित्छ । संवादले सिकाउँछ । बहस होइन संवाद गरौँ । जितेर होइन सिकेर अगाडि बढौँ । सामाजिक सञ्जालमा केही लेख्नु वा कमेन्ट गर्नु पहिले सोचौँ यो प्रज्ञा हो कि आवेग ? आफ्नो मनको गहिराइमा प्रश्न सोधौँ । यो आत्मचिन्तन नै प्रज्ञाको बीउ हो । अल्गोरिदमको दास नबनौँ । मौलिक बाटो बनाऔँ । प्रज्ञापराध त्यागेर असल मानिस बनौँ ।
प्रज्ञा जगाऔँ
माया र करुणाको
फूल फुलाऔँ !

