असारको दिन, झरी परिरहेको थियो । कार्यालयबाट झ्यालबाहिर रहेको शमीका पातहरू पानीका थोपासँगै बिस्तारै हल्लिरहेका थिए । आकाशभरि बादल थिए, तर कार्यालयभित्र हरेकका अनुहारमा आ-आफ्नै मौसम थियो । कसैको कम्प्युटरको पर्दामा अङ्कहरू दौडिरहेका थिए, कोही भावी योजना तयार गर्दै थिए त कोही प्रगति प्रतिवेदन लेख्दै थिए । कसैको टेबलमा फाइलको चाङ बढ्दै थियो । बाहिर वर्षा आफ्नै लयमा थियो, भित्र जीवन आफ्नै लयमा ।
बिहानदेखि पानी परेकाले केही चिसो अनुभव भइरहेको थियो । दिउँसोको चिया, खाजाको समय भयो । हामी केही सहकर्मी, सँगै चिया पिउने योजना बमोजिम क्यान्टिनतर्फ लाग्यौँ । पाँच कप चिया मगायौँ । पहिला कहिल्यै चिया नपिउने मलाई आजकल साथीहरूसँग नियमित जस्तो पिउने बानी परेको छ । जीवनका भोगाइसँगै मैले बुझ्न थालेकी छु; चिया केवल पेय मात्र नभई, थकान र मौनतालाई केही बेरका लागि एकै टेबुलमा बसाल्ने एउटा सानो संस्कार पनि हो । दिनभरि औपचारिक देखिने अनुहारहरू त्यही केही मिनेटमा अलिकति मान्छे बन्छन् । हाँसो सुन्ने, गुनासो पोख्ने, र कहिलेकाहीँ मनका गहिरा घाउले शब्द खोज्ने माहोल चियाको चुस्कीले नै त तयार गर्छ । चिया समयमा हामी घरको, छोराछोरीको, बढ्दो महँगीको अनि भविष्यको कुरा साटासाट गर्ने गर्थ्यौं ।
त्यो दिन भने चियाको गफले अर्कै मोड लियो ।
हालका दिनहरूमा लगातार चर्चामा आएका आत्मदाहका घटनाले समाजलाई झस्काइरहेको थियो । सामाजिक सञ्जालमा सबैले आ-आफ्ना धारणा पोखिरहेका थिए । तर त्यही समाचारले हाम्रो चियाको टेबुलमा एउटा फरक प्रश्न जन्मायो । एकजना सहकर्मीले सहजै भन्नुभयो, “यति सानो कुरामा पनि मानिसले ज्यान दिन्छ र ?” अर्काेले थप्नुभयो, “समस्या त सबैका जीवनमा हुन्छन् । धैर्य गर्नुपर्थ्यो नि ।” तेस्रो सहकर्मीले चियाको कप समाउँदै भन्नुभयो, “आजकल मानिसहरू अलिकति दबाब पनि सहन सक्दैनन् जस्तो लाग्छ ।”
कुरा बढ्दै गयो । कसैले सरकार र कानूनको कुरा गर्यो, कसैले मानसिक स्वास्थ्यको, कसैले पारिवारिक तथा सामाजिक जिम्मेवारीको । सबैका आ-आफ्ना तर्क थिए । तर मलाई भने एउटा कुरा बारम्बार मनमा आइरहेको थियो–हामी आत्मदाह (आत्महत्या) को कारण खोजिरहेका थियौँ, तर त्यो निर्णयसम्म पुर्याउने वर्षौँको मौन पीडाबारे कसैले कुरा गरिरहेका थिएनौँ । त्यही बेला मैले मेरी अर्की सहकर्मी अनामिकातिर हेरेँ । बाल्यकालदेखि चिनेको हुनाले उनलाई कार्यालयमा पनि म ‘तिमी’ सम्बोधन गर्थेँ ।
उनी सधैँझैँ शान्त थिइन् । उनको चियाको कप अझै आधा भरिएको थियो । उनी बोलेकी थिइनन् । केवल सुनिरहेकी थिइन् । मैले उनलाई धेरै वर्षदेखि चिनेको थिएँ । उनी जब बोल्थिन्, शब्दभन्दा बढी अनुभव बोल्थ्यो । एकछिनपछि उनले कप बिस्तारै टेबलमा राखिन् र मुस्कुराउँदै भनिन्, “हामी मानिसहरू धेरै पटक एउटै गल्ती धेरै गर्छौँ,” सबैको ध्यान उनीतिर मोडियो । “हामी अन्तिम घटना देख्छौँ, तर त्यो घटनासम्म आइपुग्न मानिसले कति रात निदाउन सकेन, कति अपमान सह्यो, कति जिम्मेवारी एक्लै बोक्यो, कति पटक लडेर पनि उठ्यो त्यो देख्दैनौँ ।” माहोल एकाएक निस्तब्ध भयो । उनले बाहिर परिरहेको वर्षातिर हेर्दै फेरि भनिन्, “मानिस धेरैजसो आफ्नो अदृश्य पीडासँग हारिरहेको हुन्छ । हामीले उसको अन्तिम निर्णय देख्छौँ, तर त्यो निर्णयसम्म पुर्याउने हजारौँ मौन दिनहरू देख्दैनौँ ।” उनको आवाजमा कसैप्रतिको आरोप थिएन । बरु एउटा गहिरो करुणा थियो । मलाई लाग्यो, हामी बसेको ठाउँको हावा नै बदलियो ।
चियाको गफ अब समाचारको विश्लेषण रहेन । त्यो बिस्तारै मानिसहरूको जीवनतिर मोडिन थाल्यो । अनामिकाले हामीतिर हेरेर भनिन्, “आज म तपाईंहरूलाई एउटा कथा सुनाउँछु । यो कुनै समाचारको कथा होइन र कुनै एक जनाको मात्र कथा पनि होइन । शायद हामी सबैभित्र अलिअलि बाँचिरहेको एउटा मानिसको कथा हुन सक्छ । उनी भन्दै गइन्, “हामीले आजसम्म कति मानिसको अनुहार हेर्यौँ, तर के हामीले उसको पीडा हेर्ने प्रयास कहिल्यै गर्यौं ?
अनामिकाको प्रश्नको उत्तर कसैसँग थिएन । घडीले फेरि काममा फर्किने समय जनायो । हामी सबैले आआफ्नो चियाको कप उठायौँ । कसैको कप रित्तिएको थियो, कसैको आधा भरिएको । तर त्यो दिन हामी सबैको मन भने पहिलेभन्दा अलिकति धेरै संवेदनाले भरिएको थियो । सबै जना आ–आफ्नो कार्यकक्षतिर फर्कियौँ । कम्प्युटर फेरि खुले । किबोर्डमा औँलाहरू फेरि चल्न थाले । फोनहरू फेरि बज्न थाले । कार्यालय फेरि आफ्नो पुरानै लयमा फर्कियो । तर म भने त्यही लयमा फर्किन सकिनँ ।
अनामिकाका शब्दहरू मनभित्र बारम्बार प्रतिध्वनित भइरहेका थिए–“मानिस धेरैजसो आफ्नो अदृश्य पीडासँग हारिरहेको हुन्छ । हामीले उसको अन्तिम निर्णय देख्छौँ, तर त्यो निर्णयसम्म पुर्याउने हजारौँ मौन दिनहरू देख्दैनौँ ।” त्यो साँझ घर फर्कँदै गर्दा सडक किनारका अनुहारहरूलाई म पहिलेभन्दा फरक दृष्टिले हेर्दै थिएँ । ट्राफिक व्यवस्थापन गरिरहेका प्रहरी, दिनभरि सडक पेटीमा व्यापार गरेर फर्किरहेकी महिला, विद्यालयको गह्रौँ झोला बोक्दै थकित पाइला चालिरहेका बालबालिका, यात्रुको पर्खाइमा बसिरहेका ट्याक्सी चालक, चोकको पसलमा ग्राहक कुरेर बसेका व्यापारी, बसको झ्यालबाट टोलाउँदै गरेका युवा । यी सबै अनुहारहरू फरक थिए, तर एकाएक मलाई लाग्यो यी सबैले पनि आ-आफ्नो मौन युद्ध लडिरहेका छन् । कसैले परिवार बचाइरहेका होलान्, कसैले सपना बचाइरहेका होलान्, कोही सम्बन्ध बचाउन मौन होलान्, त कसैले केवल आफ्नो मन नथाकोस् भनेर हरेक बिहान आफूलाई सम्झाइरहेका होलान् । हामी कसैको सङ्घर्ष देख्दैनौँ, किनकि सङ्घर्षको कुनै प्रदर्शनी हुँदैन । त्यो त चुपचाप मानिसको काँधमा बसेर जिम्मेवार बन् भन्दै उसलाई अलिकति झुकाइदिन्छ, आँखामुनि हल्का कालोपन थपिदिन्छ, मुस्कानलाई अलिकति कृत्रिम बनाइदिन्छ, र रातलाई अलिकति लामो बनाइदिन्छ । शायद यही कारण हामी अरूको जीवन सजिलो देख्छौँ । हामी अरूको यात्रा देख्छौँ, गन्तव्य देख्दैनौँ । हाँसो सुन्छौँ, तर रोदन सुन्दैनौँ । हामी अरूको सफलता देख्छौँ, तर त्यसका लागि उसको सङ्घर्ष र उसले कति कुरा गुमायो, त्यो देख्दैनौँ ।
त्यो दिन अनामिकाले हामीलाई कुनै नयाँ सिद्धान्त वा दर्शन सिकाएकी थिइनन् । उनले केवल एउटा बिर्सिएको मानवीय गुण सम्झाइदिएकी थिइन् । त्यो हो – निर्णय गर्नुअघि बुझ्ने प्रयास गर । आलोचना गर्नुअघि सुन्ने प्रयास गर । कसैको भोगाई, पीडाको आकार नाप्नुअघि, आफ्ना अनुभवको डोरीलाई अलिकति छोटो र सीमित ठान ।
घर पुगेर म धेरैबेरसम्म झ्यालबाट बाहिर हेरिरहेँ । झरी पूर्ण रूपमा रोकिइसकेको थियो । आकाश खुल्दै थियो । तर मेरो मनमा प्रश्न अझै अल्झिरहेको थियो । के मानिसको परिचय उसको अनुहारले दिन सक्छ ? उसको हैसियत उसको पहिरनले बताउन सक्छ ?
मानिसको पीडाको परिचय के ले दिन्छ ? अनुहारले, मुस्कानले वा मौनताले ? किनकि, म बुझ्दै थिएँ– पीडाको अनुहार हुँदैन । त्यसलाई देख्न आँखा मात्र होइन, मानवता पनि चाहिन्छ ।

