साहित्यपोस्ट डट कम

निबन्ध : पहिचान

निबन्ध : पहिचान

भाषा, साहित्य, संस्कृति र सम्पदाले देशवासीहरूको पहिचान बोक्नु पर्दछ जुन देशका नामबाट अरू समक्ष आफूलाई चिनाइन्छ । अरू मुलुकमा जति नै बसे पनि आफ्ना जराहरू भुल्नुहुन्न । यदि जराहरू भुलेमा पहिचान समाप्त भएर जानेछ ।

——-

मानिस अरू प्राणीहरूभन्दा सचेत प्राणी हो भन्ने कुरालाई प्रमाणित गरिरहनु आवश्यक छैन । मानिसहरूले आफ्नो सचेतनाका कारण नै यी अनेक अन्वेषण र आविष्कारहरू गर्न सफल भएका हुन् । आज विज्ञानले गर्दा ब्रह्माण्ड नै एउटै गाउँ जस्तो बनेको छ । पृथ्वीका एक कुना र अर्को कुनामा बस्ने मानिसहरू आपसमा आम्नेसाम्ने बसेर बोलेझैँ कुरा हुन्छ । हामीहरू अझै पनि चन्द्रमा, मङ्गल, शनि र वृहस्पति ग्रहहरूको व्रत बस्ने र आराधना गर्दै आएका छौं । हामीले भगवान् मानेर व्रत बस्दै आराधना गर्ने गरेका ग्रहहरूमाथि मानिसले नै पैताला राखिसेकेका छन् ।

चन्द्रमा र मङ्गल ग्रहमा बस्ती बसाउने अभियानमा जुटेका छन् । विज्ञानका अनुसन्धान र खोजले गर्दा संसार कहाँबाट कहाँसम्म पुगिसक्यो । दिन प्रतिदिन नयाँ नयाँ वास्तविकताहरू पत्ता लाग्दैछन् ।

हामी नेपालीहरू भने साँझबिहानको भोक मेट्ने युद्ध लडिरहेका छौँ । नगण्य प्रतिशतलाई छाड्ने हो भने सबै युद्धरत छौं । विदेशमा बस्ने नेपालीहरूलाई त भोकमरीको योद्धा भन्न मिल्दैन है भन्नु होला । युद्धको प्रकृति मात्र फरक हो । युद्ध उही हो योद्धाको मानसिकता उही हो । युद्धबाट हुने प्राप्ति उही हो । पढाइले नयाँ परिस्थिति जन्माइदियो होला । मैले विद्यावारिधिको उपमा पाएँ भनेर गर्वले छाती ढक्क फुल्यो होला । विवाह भोजहरूमा गएको बेलामा श्रीमतीज्यूले हाम्रा डाक्टरसाब त कस्तो पो होइसिन्छ त भन्दा आनन्द अवश्य प्राप्त हुन्छ नै । तर त्यस प्राप्तिले नै कहिलेकाहीँ घाँडो बनेर जिन्दगीका मोडमा आएका पर्खाल नाघ्न दिँदैन । त्यसैको इज्जत राख्ने बहानामा चाहना र इच्छाहरूलाई कच्याककुचुक परेको कागजको डल्लो झैँ बनाएर राख्दछौँ । त्यो पीडा डाक्टरकी बुढी हुँ भन्ने साक्षरताको पोखरीमै नपसेकी महिलालाई थाहा हुने कुरा नै भएन । परदेशमा यस्तै असजिला पलहरू एक्लै भोग्नुपर्छ । ब्रिफकेसमा सेक्युरिटीका लुगा बोकेर म लेखाधिकृत हुँ भन्दै टाईसुटमा हिँड्यो । त्यस अघिको मान्छेलाई आफ्नै अफिसमा सल्युट गर्नु पर्दाको क्षण जस्तै हुन्छ जीवन । श्रमलाई पूजा गर्ने मुलुकमा पुगेर पनि हाम्रो आडम्बरी बर्कोले गर्दा पलपल खुम्चिनु पर्छ । पुरानो मरिचको दाना जस्तै भएर ।

अरू बेला मून र मार्सका कुरा गर्‍यो । साँझबिहान हिँड्दा पोखरी, ताल, र ठूलो रूखलाई बायाँ हाततिर पारेर हिँड्यो भने लु बित्यास पर्‍यो भन्दै दाहिनेतर्फ पारेर हिँड्छौं हामी । उल्टो परेको चप्पल देख्दा दिनभरी लोदर लाग्छ भन्ने मानसिकताले ग्रसित छौँ । गाडी किन्दा ज्योतिषीलाई फोन गरेर गाडीको रङ छान्छौँ । हामीमा आफूलाई मन परेको रङको गाडी किन्ने आँट पलाएकै छैन । घर किन्दा कुन दिशातर्फ फर्किएको किन्ने भनेर ज्योतिषीलाई नै सोध्छौँ । बिचरा ज्योतिषीलाई पृथ्वी गोलो छ भन्ने ज्ञानको हेक्का पनि छैन । उनी आफ्नै घर कता फर्केको किन्ने थाहा नपाएर पैरोले घर लगेपछि बाटोमा चीनाटिप्पण हेरेर बसेका छन् । आफ्नो छोरालाई विदेश पठाउँदा दलालले पैसा खाएर बेपत्ता हुन्छ । दलाल खोज्न ज्योतिषीको छोरो राजधानीमा भौँतारिएको छ । हामी भने जागीरका लागि निवेदन दिँदा, परीक्षा दिन जाँदा, अन्तर्वार्ता दिन जाँदा, उनैसँग ग्रहदशा हेराएर हाम्रो विद्वताको उपह्रास गरिरहेका छौं । आफ्नै क्षमताको अवमूल्यन गरिरहेका छौँ । आत्मविश्वासको अनिकालले गर्दा अन्धविश्वास सामु आत्मसमर्पण गरिरहेकाछौँ । हामी यसरी उही मानसिकता लिएर प्रवासमा समेत भोकमरीबाट मुक्ति पाउन युद्ध लडिरहेका छौँ ।

प्रश्न जन्मिन्छ । के हामीले हाम्रा संस्कृति र संस्कारलाई जोगाउनु हुन्न त ? अवश्य जोगाउनु पर्छ । हाम्रा भाषा, साहित्य, संस्कृति, र सम्पदाहरू भनेका हाम्रा पहिचान हुन् । आफ्नो पहिचान जोगाउने नाममा सत्य र तथ्य कुराहरू विश्लेषण गर्न सकेनौ भने श्राद्ध गर्दा बिरालो बाँधे जस्तै हुनेछ । बिरालो भेटुन्जेल त बाँधौला भेट्न छाडेपछि डलरलाई बिरालोको रूपमा राखेर पुरश्चरण गरी पण्डितजीलाई सुम्पनु भन्दा विकल्प नरहला । भगवान् भनेका कुनै काठ र धातुहरूमा बस्दैनन् । हाम्रो भावनामा बस्छन् ।

न देवो विद्यते काष्ठे न पाषाणे न मृण्मये ।

भावे हि विद्यते देवस्तस्माद् भावो हि कारणम् ।।

हामीले मीठो बोली बोल्यौ भने, सबैमा सद्भाव र सत्विचार सञ्चार गर्यौं भने भगवान् प्रफुल्ल हुनेछन् । न कि व्यवहारमा कृतघ्नता दर्शाउने र शुभसन्ध्या प्रार्थनाको ढोङ प्रदर्शन गर्ने ।

शान्तितुल्य तपो नास्ति न सन्तोषात् परं सुखम् ।

न तृष्णाया: परो व्याधिर्न च धर्मो दयासम:

सबै प्राणीहरूको हित हुने व्यवहार गर्नु जस्तो ठूलो अरू धर्म नै छैन । शान्ति जस्तो कुनै तपस्या नै छैन । सन्तोष जस्तो अरू सुख नै छैन । हाम्रो पुर्खाले यसो गरेका थिए भनेर कुनै वैज्ञानिक र व्यावहारिक कारणहरू बिना नै निरन्तरता दियौँ भने बिरालो बाँधे भन्दा फरक हुने छैन । समयसँग कसी लगाउँदै लगिएन भने संस्कृतिहरू पनि विस्थापित हुने सम्भावनाहरू बढेर जान्छन् ।

एउटा मान्छेले अर्को मान्छेलाई भगवान् मान्दछ । तपाईं त संसारको एक मात्र भगवान् हो भन्दै नतमस्तक हुन्छ । उसका खुट्टामा लम्पसार पर्छ र गिगिडाउने गर्छ । र त्यो पनि पनि हाम्रो संस्कृति र संस्कारको संरक्षण हो भन्छ भने त्यो संस्कृति र संस्कारको अपव्याख्या हो । कुनै विद्वत प्रमाणधारीहरूबाट त्यस्तो भए त विद्वताबाट उत्पादित शठता भन्दा अरू केही नै होइन । नेपाली संस्कृति र परम्परालाई जोगाउने नाममा आफ्ना छोराछोरीलाई नातिनीलाई कति महान, कति ठूलो योगदान पुर्‍याएको भन्दै पुरस्कृत गर्दछ । अरू दशकौँ त्यही क्षेत्रमा समर्पितहरूलाई बेवास्ता गर्छ भने त्यो नेपालका भ्रष्ट नेताहरूको अनुकरण त भयो । त्यस्तो कार्य गर्ने नेतृत्वले परिवारबाट त स्याबासी अवश्य पाउला तर समाजले उसको असक्षमता र वञ्चक प्रवृत्तिलाई सधैँका लागि चिनिदिन्छ । त्यस्तो संस्कार र संस्कृति नै नेपालीहरूको परिचय कदापि होइन । त्यस्तो संस्कार लिएर नेपालीहरूको पहिचान हुँदैन ।

भाषा, साहित्य, संस्कृति र सम्पदाले देशवासीहरूको पहिचान बोक्नु पर्दछ जुन देशका नामबाट अरू समक्ष आफूलाई चिनाइन्छ । अरू मुलुकमा जति नै बसे पनि आफ्ना जराहरू भुल्नुहुन्न । यदि जराहरू भुलेमा पहिचान समाप्त भएर जानेछ । कतिपय नेपालीहरूले शुरूमा अंग्रेजी भाषा सिक्ने र आफूलाई युरोपियन र अमेरिकन बनाउने नाममा आफ्ना सन्तानलाई आफ्नो भाषा सिकाएनन् । आज सन्तानले भाषा संस्कृति र संस्कार सबै गुमाए । सन्तानहरू न अमेरिकन र युरोपियन नै बन्न सके । अरूले तिमी कुन देशबाट आएको भनेर सोध्छन् । त्यस बेला मात्र उसले आफ्नो पहिचान हराएको थाहा पाउँछ । यसरी मानिसहरू पहिचान बिनाको वनको रूख झैँ बनेका छन् ।

अब धेरै ढिला भैसक्यो । अरू नेपालीले त्यस्तो पहिचान बिनाको भएर बस्नु पर्ने अवस्था नआओस् । आफ्ना छोराछोरीले अंग्रेजी, फ्रेन्च र स्पानिस आदि भाषाहरू बोल्दा कति राम्रो बोले भनेर गर्व नगरौँ । ती भाषा भएकै ठाउँमा बसेपछि त्यहाँको भाषा त स्वतः जानी नै हाल्छन् नि । कतै नेपाली भाषा त बिर्सिएनन् भनेर सचेत बनौं । आफ्नो भाषा , संस्कृति र सभ्यतालाई चिनाऔँ । आफ्नो पहिचान जोगाइराखौँ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.