साहित्यपोस्ट डट कम

निबन्ध: नाभिको विस्मरण

निबन्ध: नाभिको विस्मरण

मानव मगजले सबै कुरा बिस्तारै बिस्तारै विस्मरणको खाडीमा खसाँउदै जाँदो रहेछ । शायद दिमागको भण्डारण क्षमताको सीमितता छ क्यारे । दिन प्रतिदिनका नयाँ नयाँ तथ्य, घटना र सूचनाका ज्ञानराशीलाई सञ्चित गर्न ठाउँ खाली गर्नुपर्छ क्यारे । नयाँ चिजलाई ठाउँ दिन पुरानो चिजलाई विस्मृतिको गर्भमा धकेल्नै पर्ने नियम छ । नयाँलाई चेतन मनमा ठाउँ दिन पुरानोलाई अचेतन मनमा पुर्नैपर्ने नियम छ । कालोपाटी या सेतोपाटीमा खरी र मार्करले लेखेका अक्षरहरूलाई गुरुले डस्टर दलेजस्तो दिमागमा अवस्थित अनन्त–अनन्त अक्षर, शब्द, वाक्य र सङ्कथनलाई मगजले नै हरहमेसा डस्टर दल्ने गर्छ । यसरी डस्टर दलेन भने दिमाग फोहोर थुपार्ने सङ्ग्रहालय बन्दछ ।

आवश्यक कुराको सङ्ग्रह र सञ्चिती थाहा छ मानव मस्तकलाई । भुल्नु र बिर्सिनुपर्ने कुरा बिर्साउँदै लाने यसको आफ्नै संयन्त्र छ । मानव मस्तकमा एकदिनमा साठी हजार विचार आउँछन् । तिनलाई यादमा राख्न सम्भव छैन । एकैरातमा सपनाका अनेकौँ रील तयार हुन्छन्, तिनलाई पनि स्मरणको कुञ्जमा सुरक्षित राख्न सम्भव छैन । निरर्थक कुरालाई स्मृतिको फलकबाट निषेध गर्दै जानुमा, अनावश्यक सूचना, सोच र जानकारीलाई अवचेतन या अचेतन मगजमा पठाएर चेतन मन खाली गर्नुमा गज्जबको नियमले काम गरिरहेको हुन्छ ।

हाम्रो मस्तिष्कले विस्मृतिको गर्भमा पठाउनुपर्ने कतिपय कुराहरू विस्मृत गर्न सकेन भने त्यसले मानसिक असन्तुलन ल्याउन सक्छ । भुल्नैपर्ने कटु अनुभव, जीवनका दुसाध्य दुःखद् सन्दर्भ, असाध्य अप्रिय कुरा र जघन्य घटना–क्रम हरबखत स्मरणमा राख्यो भने मान्छे विक्षिप्त हुन्छ । शारीरिक र मानसिक तवरले ऊ रुग्ण र अस्वस्थ बन्दछ । त्यसैले मगजमा समयले नै विस्मरणको सुललित तारतम्य मिलाएको हुन्छ ।

अस्तित्वले नै सृजना गरेको विस्मरणको यो सुन्दरतम् व्यवस्था अनुपम छ । चोटहरूको विस्मरण कति जरुरी छ मान्छेलाई ! आघात र अवसादहरूको विस्मरण कति महत्त्वपूर्ण छ मान्छेलाई ! तर, आज मान्छे विस्मृतिको गर्भमा छोप्नुपर्ने कुरालाई स्मरण गर्ने भयो, स्मरणमा तरोताजा राख्नुपर्ने कुरालाई विस्मरण गर्ने भयो; बिस्तारै मानिस विस्मरणको रोगले ग्रसित हुँदैछ । अल्जाइमर्स, डिमेन्सियाको शिकार बन्दैछ । यस्ता घातक स्मृतिलोपका बिमारले धनी–गरिब, पठित–अपठित, मूर्ख–विद्वान् सबैसबैलाई डस्न थालेको छ ।

स्मृतिलोपमा खसेपछि मान्छे आफैँलाई बिर्सने हुन्छ । उसले घरपरिवारका छोराछोरी बिर्सन्छ । पति पत्नीको साइनो बिर्सन्छ । साख्य सहोदर दाजुभाइ भुल्छ । इष्टमित्र भुल्छ । नातागोता बिर्सन्छ । कुलदेवता बिर्सन्छ । पद प्रतिष्ठा बिर्सन्छ । रुपैयाँ पैसा, सुनचाँदी, धनदौलतको मूल्य महत्त्व बिर्सन्छ । जीवनको उद्देश्य र यसको सार बिर्सन्छ । र शनैः शनैः परिवार जनका लागि ऊ भार बन्न पुग्छ । यो तहको आत्मविस्मरण कति कष्टदायक हुन्छ ! विस्मरणको शिकार भएका अनेकौँ व्यक्तिका जीवनलाई हामीले नजिकबाट देखिरहेका छौँ ।

जीवनमा अति आवश्यक आधारभूत कुराको सुधबुध हराउनु त घातक कुरा नै रहेछ । मस्तिष्कले बाँच्न व्यवहार गर्न दरकार पर्ने न्यूनतम कुरा पनि विस्मृतिको कुण्डमा खसालिदियो भने जीवन कत्ति नारकीय हुँदो रहेछ । मान्छेले आफूले खाने भातको गाँसै बिर्स्यो । पानीको गिलासै बिर्स्यो । स्याहार–सुसार गरिराखेका छोराछोरी चिन्न छाड्यो । आफन्त परिजनलाई बिरानो बिरन्तरीको व्यवहार गर्न थाल्यो । दिशापिसाब चर्पीमा विसर्जन गर्नुपर्छ भन्ने कुरा भुल्यो । कपडा लाउनु र नलाउनुको पार्थक्य रेखा समेत बिर्स्यो भने मान्छे भएर बाँच्नुको सारै हराउँछ । यो खालको विस्मरण चाहिँ हानिकारक छ । मानव जीवनको सारतत्व जीवित राख्ने तहको स्मरण त मस्तिष्कमा सुरक्षित रहनैपर्छ ।

मेरो छिमेकमा एक बूढा बाजे छन् । उनको विस्मरण माया लाग्दो पनि छ, हाँस उठ्तो पनि छ । नाककै डाँडीमा छ चश्मा । अर्थात् चश्मा हराएकै हुँदैन । आँखामै लाइरहेकै हुन्छन् । तर, आधी घण्टादेखि चश्मा हरायो भनी धुँइ धुइँती खोजिरहेका हुन्छन् ।

नातीले उनको हात समातेर नाकेडाँडीको चश्मा छुवाइदिएपछि भने ढुक्क बन्छन् र चश्मा खोज्न छोड्छन् । आँखामै हुन्छ तर चश्मा खोजीरहन्छन् निरन्तर । यस घडी उनको चर्को आत्मप्रवञ्चना साँच्चै दयनीय देखिन्छ । हल्का स्मृतिलोपको पञ्जामा परेका यी वृद्धजनका अनेकन् विसंगत व्यवहारलाई नजिकबाट नियाल्छु । कहिले फेटा टाउकामै बाँधिरहेका हुन्छन् । मेरो फेटा हरायो भनी घण्टौघण्टा लुगा खोसेली बस्छन् । कहिले हातमै जुत्ता झुण्ड्याएर मेरो जुत्ता हराए भनी गनगन गरी बस्छन् । अक्सर वार्धक्यमा घटित हुने यसखालको विस्मरणले मानिसलाई नाजुक हालतमा पुर्याएको देखिन्छ । रोगजन्य कारणले मानिस स्मृतिलोपको दलदलमा खस्नु र आफ्नो स्व–अस्तित्वको स्मृति हराएर आत्म–विस्मरणमा पर्नु नितान्त फरक कुरा हुन् । हामी मनुष्य हुनुको कोटिबाट तल उत्रेर गहिरो आत्म विस्मरणको खाल्डोमा खस्न लागेको अनुभूति हुन्छ ।

यस खालका विस्मरणको चर्चा गर्दा कुनै सदगुरुले आफ्ना शिष्यगणलाई सुनाएको सानो बोधकथाको सन्दर्भ याद आउँछ – जाडोको दिन थियो । एउटा मानिस अग्निको खोजमा निस्क्यो । चिसोले उसका हात कठ्याङ्ग्रिएका थिए । फेरि केही नदेखिने निष्पट्ट अँधेरी रातले धर्ती लपेटिएको थियो । अँध्यारो चिर्न पनि आगो जरूरी थियो । चिसो भगाउनका लागि पनि आगोकै आवश्यकता थियो । सुनसान अँधेरी रातमा सानो पिलपिले दियो बोकेर ऊ आगोको खोजीमा निस्किएको थियो । “आगो कता पाइन्छ हजुर !” ऊ ठूल–ठूलो स्वरमा चिच्याइरहेको थियो । उसको हालत देखेर आसपासका मानिस खित्का छोडेर हाँस्न थाले ।

उनीहरू किन हाँसिरहेका छन् ? उसले त्यो कुरा सहजै बुझ्न सकेन । “ किन हाँस्छौ साथी हो ? म धेरैदिनदेखि जाडो र घोर निशाबाट पीडित छु । यी दुवै चिज हटाउन मलाई अग्निको जरुरत छ । लौ न कहाँ पाइन्छ भर्भराँउदो कोइला ! मलाई देखाइदिनुहोस् । आगो पाइने ठाउँ बताइदिनुहोस् ।” ऊ दयनीय आवाजमा याचना गरिरहेको छ । त्यहीबेला कुनै मानिस अघि सरेर भन्यो, “ तिमी पागल भएका त छैनौ ? किनकी तिमी आफैँ हातमा आगो लिएर हिँडिरहेका छौ, फेरि आगोकै खोजी गर्नु के जरुरी छ तिमीलाई !” अन्धकारमा भड्किरहेको मानिस टक्क रोकियो । र, अनयास उसलाई सोध्यो, “ कसरी ? मेरो हातमा कहाँ आगोको कोइला छ ?”

उसले त्यस मानिसलाई झँगेल्दै भन्यो, “ बिलकुल तिम्रो हातमा आगो छ । तिम्रो हातमा जलिरहेको जुन पिलपिले दियो छ नि, त्यो अग्निकै एक रुप हो । यसै दियोबाट जति पनि आगोका फिलुङ्गा जन्माउन सकिन्छ । दियोको ज्योतिबाटै अनेकन् रुपका अग्निज्वाला उमार्न सकिन्छ । ब्रह्माण्डमा आगोका अनेक स्वरुप छन् । एउटा झिल्कोबाट विश्व दग्ध गर्ने आगो दन्काउन सकिन्छ । सोही झिल्कोबाट विश्वको जाडो र अँध्यारो दूर गर्ने ज्वाला पनि पैदा गर्न सकिन्छ ।”

यस कुराले त्यो मानिस झल्याँस्स ब्यूँझेजस्तो बन्यो । उसलाई आफ्नो अज्ञानताको भलिभाँती थाहा भयो । हातमै आगोले बोकेर त्यसको विस्मरण हुनुको लज्जाबोध गर्यो । आफ्नै हातमा अग्निबीजको आत्मबोध भएपछि त्यसैबाट तरहतरहका आगोका फिलुङ्‌गा निकाल्न सफल बन्यो, सिपालु बन्यो ।

यो कथा भनिँदै सुनिँदै आएको धेरै युग बित्यो । तर, हामी मानिस हातमै आगो बोकेर आगो खोज्न छोडेका छैनौँ । हामी विस्मरणको गहनतम दलदलमा फसेका छौँ । सुनेको छु, हिमाली वनको कस्तुरीमृग आफ्नै नाभिकुण्डको सुगन्ध नचिनेर वन–वन भड्‌किहिँड्छ । आफ्नो स्रोत–सम्पदाको विस्मरणले हामी त्यही कस्तुरीमृग जस्तो भएका छौँ । आफ्नो सामर्थ्य र शक्तिको विस्मरणले हामी अर्काको वैशाखी टेक्ने भएका छौँ । आफ्नो ऊर्जा र औकातको विस्मरणले कताकता दिनदिनै सन्ठीराम हुँदै गएका छौँ । आत्मविस्मरणले ल्याएको एक किसिमको अपाहिज स्थिति भोगिरहेका छौँ हामीले । कहिलेकाहीँ ढोका, कन्तुर र दराजको चाबी बिर्सन्छौँ । चाबीको विस्मरण भन्दा नाभिको विस्मरण खतरनाक छ । राष्ट्रको जीवनमा नाभि विस्मरणको मोल हमेसा महङ्‌गो पर्न जान्छ । नाभि केन्द्रको ऊर्जा कति शक्तिशाली छ ? त्यसको भेउ नपाउँदा मानिस दुर्बलकोटिमा बाँच्नुपर्छ । आफ्नो अनन्त शक्ति र सामर्थ्यबाट कोसौँ टाढा रहनुपर्छ । सृजन र पौरखका नव–नव गाथा रच्नबाट ऊ वञ्चित रहन्छ । हामीलाई आफ्नै नाभिको आगो देखाइदिने अर्को सदगुरुको खाँचो छ ।

जीवनमा बिर्सनै पर्ने विषय–प्रसङ्ग त मस्तिष्कले भुल्नै पर्छ । जुन चिजलाई स्मृतिको पर्दामा टाँगिराख्न जरुरी छैन, त्यसलाई मेट्नै पर्छ । त्यसलाई कुचो लाएर बढार्नै पर्छ । डिलिट बटन दबाएर त्यसको अस्तित्व नामेट पार्नै पर्छ, यसमा कुनै सन्देह छैन । यी काम मस्तिष्कका सहज तन्तुले गरिनै राखेका हुन्छन् । स्मृतिशास्त्रको नियमै छ– अल्पकालीन स्मृति तीस सेकेण्डभन्दा लामो हुन्न । सिकेको, जानेको कुरा केही मिनेट, केही घण्टा, केही दिन, केही वर्ष, अथवा जीवन पर्यन्त दिमागमा सञ्चित बस्छ भने त्यो दीर्घकालीन स्मृतिकोषमा अटल रहन्छ । चाबीको विस्मरण गए पनि नाभिको विस्मरण कदापि हुनुहुन्न भन्ने मेरो मान्यता रहेको छ । किनभने नाभि बिर्सनु भनेको आफूले आफैँलाई बिर्सनु हो । आफ्नो स्व र स्वत्वलाई बिर्सनु हो । आफ्नो औकात र अस्तित्व बिर्सनु हो । नाभि विस्मरणको दुष्चक्रबाट माथि उठ्नु नै अहिले हाम्रो पुनित दायित्व हो । जय आत्मस्मरण !!

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.