साहित्यपोस्ट डट कम

निबन्ध : कुसुले र पुतली

निबन्ध : कुसुले र पुतली

हाम्रा कयौँ पुतली साथीहरू ज्ञात–अज्ञात शहीद बने । र पनि हामी पुतलीहरू अँध्यारोमा बलेको बत्तीमा होमिए झैं झुम्मिन्थ्यौँ ।

===

विश्वमा नेपाल एउटा आफ्नै पहिचान बनाएर रहेको स्वतन्त्र राष्ट्र हो । यहाँका विविध जातजाति, भिन्नभिन्न भाषाभाषी, र पृथक पृथक संस्कृतिमा रमेका मानिसहरूको एकता र आत्मीयता देखेर सारा जगत् मात्र हैन इन्द्र पनि आत्तिएका होलान् । शिवजीले बस्ने संसारकै अग्ला हिमालहरू रहेको हुनाले हिमालयको देश भनेर पृथ्वी लोकमा चिनिन्छ । शुद्धोदनका छोराको विश्वमा शान्ति छर्ने चमत्कारी कार्य देखेर त्रिलोकमा नै हलचल मच्चिएको थियो रे । नेपालका बलबाहु अरनिकोको कला देखेर स्वर्गका सुन्दर डिजाइनर विश्वकर्मा बाबाले पनि जिब्रो काडेका थिए रे । वेदव्यास जस्ता महर्षिहरू जन्मिएको, जनक राजाले राज्य गरेको, रामको ससुराली देशभन्दा नागलोक देखि पाताललोक र स्वर्गलोकका देवताहरूले पनि शिर झुकाएको देश हो – ‘नेपाल !’ यहाँका सबै जातजातिलाई आआफ्नो कला र सीपले पारङ्गत बनाएर नेपालमा पठाएको रे ।

हुन त सृष्‍टिकर्ता ब्रह्मादेखि पालन कर्ता विष्णु र संहार कर्ता शिवजीको क्रीडास्थल नै नेपाल हो । सती देवीको दुखद महाप्रस्थानमा विक्षिप्‍त बनेका शिवले पत्नीको मृत शरीरलाई लिएर घुम्दै कति ठाउँमा अङ्गहरू गलित भएर पतन भए । आज तिनै ठाउँहरू दर्शनीय र पवित्र स्थलमा रूपान्तरित भएका छन् । नेपालका साहसी योद्धाहरू देख्दा इन्द्रले दानवहरूबाट इन्द्रासन जोगाउन पटक पटक युद्धमा भोगेका कारुणिक अवस्थाहरू सम्झन्छन् रे ! देवताहरू मिलेर देवीहरूको शरणमा गएर बिन्ती गरेको बिलौना अझै पनि अँध्यारोमा एक्लै बसेर कान थाप्ने हो भने सुनिन्छ भनेर बुढापाकाहरूले अझै पनि विश्वास गर्छन् । आज गोरखाली, नेपाली जे भने पनि लडाकु, निडर, र साहसी भनेर विश्वले चिनेको छ । यो धरामा ब्रह्माले सृजना गरेअनुरूप विभिन्न जातजातिले आफ्नै प्रकारका पेशाहरू गरेर परिचय स्थापित गरेका छन् । यद्यपि कतिपय पेशाहरू ती जातिका पहिचान नै बनेर रहेका छन् । कति भने लोपोन्मुख अवस्थामा पुगेका छन् । जातीय पहिचान हराउँदै गएका छन् । ती मध्यकै एक जाति हो – ‘कुसुले !’

कुसुले एक प्रतिभाशाली जाति हो । म सानो हुँदा गाउँमा कुसुलेहरू आउँथे र पुतली नचाउँथे । सुन्दर पहिरनकी पुतलीका विभिन्न अङ्गमा धागोले बाँधेका हुन्थे । कुसुलेले त्यो पुतलीलाई नचाउँथे । हामी केटाकेटीहरू माहुरीको गोलो जस्तै झुम्मिएर कुसुलेलाई घेरा हाल्थ्यौँ । पुतलीको जादुमय नाच हेर्थ्यौं । खै कसरी हो पुतलीले मसिनो आवाज पनि निकाल्थ्यो । हात जोडेर हामीलाई नमस्ते भन्थ्यो । केटाकेटी सबैले पुतलीलाई नमस्कार गर्थे । कुसुलेले जे भन्यो त्यो पुतली पनि त्यसै गर्थ्यो । हामी बिलखबन्द भएर हेर्थ्यौं ।

मेरा साना टाउकाले सोच्थ्यो – हाम्रा स्कुलका शिक्षकहरू पनि कुसुले रहेछन् । हामी विद्यार्थीहरू चैँ पुतली रहेछौँ । सरले जस्तो गीत गाउन र नाच्न भन्थे, हामी त्यसै गीतका भाकामा नाच्थ्यौँ । उठबस गर्थ्यौं । नाटक गर्थ्यौं । कति पटक त नाटकमा पात्रले बोल्न नजान्दा पर्दा भित्रबाट सरले भन्नुहुन्थ्यो । हामी मञ्चमा त्यही कुरा दोहोर्‍याउँथ्यौँ । पुतलीको नाच हेर्दा हामीले ताली बजाए जस्तै दर्शकहरू बेस्सरी ताली बजाउँथे । गाउँमा चुनावको चहलपहल शुरू हुन्थ्यो । शहरदेखि नेताहरू गाउँमा आउँथे । नेताहरूले रसिया, जर्मनी, चीन र भारतका कुरा भन्थे । सरहरूले गाउँलेहरूसँगै हामीलाई पनि ताली बजाउन लगाउँथे । हाम्रा सरहरू पनि कुसुले नेताको पुतली भएर कस्सी कस्सी ताली बजाउँथे । भोलि पल्टदेखि सरहरू कुसुले बन्थे र नेता कुसुलेहरूले भनेका कुराहरू सुनाउँथे । हामी विद्यार्थीहरू पुतली बनेर नाच्थ्यौँ ।

कलेज पढ्न थालेपछि थाहा भयो । विभिन्न पार्टीका नेताहरू कुसुले बन्थे । कलेजका मञ्चहरूमा विद्यार्थीहरूलाई पुतली बनाएर नचाउँथे । विद्यार्थीहरू आफ्नो जीवनको पर्वाह नगरी नाच्थे । पुतलीहरू मर्ने र मार्ने प्रण गर्दै होसिएर लाग्थे । टायर बाल्थे ,सडकबार भत्काउँथे, र तोडफोड गर्थे । चक्का जाम र हड्तालको इशारा हुन्थ्यो । देश नै ठप्प बनाउने कुसुलेको इशारा हुन्थ्यो । हामी पुतलीहरू त्यसै त्यसै गर्थ्यौं । हामी पुतलीहरू बुटहरूबाट कुल्चिन्थ्यौँ । लाठीहरू बर्षिंदा हामी अपाङ्ग बन्थ्यौँ । हाम्रा कयौँ पुतली साथीहरू ज्ञात अज्ञात शहीद बने । र पनि हामी पुतलीहरू अँध्यारोमा बलेको बत्तीमा होमिए झैँ झुम्मिन्थ्यौँ । कुसुलेहरू पुतलीहरूको शक्ति देखेर गर्व गर्दथे ।

कुसुलेहरूले आफ्ना पुतलीको ताकत देखाएर अरूसँग वार्गेनिङ गर्थे र लाभ उठाउँथे । पार्टीका नेताहरूलाई पनि अदृश्य कुसुलेहरूले पुतली बनाउँथे । ती शक्तीवान नेता पुतलीहरू राजदूतावास र पाँचतारे होटलमा गएर कुसुलेहरूको सङ्गीत र इशारामा नाच्दथे । नदीनाला, भू-भाग र कारखानाहरू भेटी चढाउँथे । कुसुलेहरू कुटिल मुस्कानमा तथास्तुको भिख भूईंभरी छरिदिन्थे । नेता पुतलीहरू हारालुस गर्दै चुच्चाले चारो टिप्थे । कुसुलेहरू त्यो रमाइलो दृश्यमा मदहोस भएर रमाउँथे । पुतलीहरू मिठो धुनमा दूतावासका दूतहरू मुलुकका नेतृत्वको इशारामा नाच्थे । ती राष्ट्रहरू पनि शक्ति राष्ट्रको आदेशमा घुम्थे, झुम्थे र नाच्थे ।

कतै पण्डित र पुजारीहरूले पनि कुसुले बनेर भक्तजनहरूलाई पुतली बनाएर नचाउँथे । मरेपछि तातो कराईमा डुबाउने र रौरव नर्ककुण्डमा तैरनु पर्ने भनेर भयको गीत गाएर तर्साउँथे । यमराजलाई घुस खुवाएर पाप नाश गराइदिन्छौँ भन्दै पुतलीहरूबाट दानका रूपमा रिस्वत अर्थात घुस लिन्थे । पुतलीहरू घरबारविहीन हुन्थे । ऋणमा डुबेर वर्षौंसम्म एक छाकका लागि संघर्ष गर्थे । ती पण्डित, पादरी, ईमाम, र पुजारीहरू हामी त कर्ता मात्र हौँ, पुतली हौँ हामीलाई चलाउने भगवान, ईश्वर छन् । उनकै इच्छामा हामी चल्छौँ । यो प्रकृति, नवग्रह, दिनरात, घामपानी आदि सबै प्रभुको कृपा हो भनेर अर्कै कुसुले रहेको जिकिर गर्दछन् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.