सामान्य लाग्ने यस प्रश्नभित्र जीवनका धेरै गहिरा अर्थहरू लुकेका हुन्छन् । प्रश्न समयसँग गाँसिएको भए पनि यसको उत्तर मनसँग जोडिएको हुन्छ । मसँग समय छ कि छैन भन्ने कुरा भन्दा पनि त्यो समय कसका लागि छुट्याउन चाहन्छु भन्ने कुरा बढी महत्त्वपूर्ण हुने रहेछ ।
हामीमध्ये धेरैको पहिलो प्रतिक्रिया यस्तो प्रश्नमा सकारात्मक नहुन सक्छ । कहिलेकाहीँ हामी सुनेर पनि नसुनेझैं, देखेर पनि नदेखेझैं गर्छौं । जवाफ दिनै परे औपचारिकता ओढ्दै भन्छौं—"सरी, अलि व्यस्त छु ।"
तर के साँच्चै समय नभएको होला त ?
धेरैजसो अवस्थामा समयको अभाव होइन, प्राथमिकताको छनोट हुन्छ । हामी आफ्नो समय त्यहीँ खर्च गर्छौं, जहाँ हाम्रो मन, रुचि, आवश्यकता वा सम्बन्ध जोडिएको हुन्छ । त्यसैले, "समय छैन" भन्ने एउटा सानो वाक्यभित्र कहिलेकाहीँ "अहिले मेरो प्राथमिकतामा पर्नुभएन" भन्ने मौन अर्थ लुकेको हुन्छ ।
समय केवल घडीको टिकटिक होइन; जीवनकै अमूल्य निधि हो । हामी कसैलाई समय दिन्छौं भने वास्तवमा आफ्नो जीवनका महत्त्वपूर्ण क्षण उसलाई सुम्पिरहेका हुन्छौं । त्यसैले समय माग्नु भनेको केही मिनेट माग्नु मात्र होइन, कसैको जीवनमा आफ्ना लागि एउटा सानो स्थान खोज्नु पनि हो ।
कहिलेकाहीँ बाटोमा हिँडिरहेका बेला कसैले रोक्दै भन्छ—"एक्सक्युज मी, के तपाईंसँग थोरै समय होला ?"
पहिले–पहिले म त्यस्ता सम्बोधनमा रोकिन्थेँ । उनीहरूका हातमा कलमका थुप्रा, केही पुस्तक वा कुनै सामग्री देखेपछि जिज्ञासाले पनि रोक्थ्यो । पछि बुझ्दै गएँ—त्यो एकछिनको संवाद केही कुराको किनबेच हुने मात्र नभई कहिलेकाहीँ समयको ठूलो क्षति पनि हुँदो रहेछ ।
एकछिन उभिएर कुरा सुन्दा के नै फरक पर्ला जस्तो लाग्छ । तर त्यो एकछिनको अर्थ सबैका लागि एउटै हुँदैन । कसैका लागि त्यो केही क्षण हुन सक्छ, कसैको लागि रोकिने यात्रा, रोकिने काम र रोकिने मनस्थिति पनि हुन सक्छ ।
पर्खाइको आफ्नै मनोविज्ञान हुन्छ । पर्खाइमा बितेका केही मिनेट कहिलेकाहीँ घण्टाजत्तिकै लामा लाग्छन् । प्रत्येक क्षण भारी बन्छ, प्रत्येक मिनेटले अधैर्य बनाउँछ । घडीका सुईराहरू चल्दै नचलेका हुन् कि भन्ने पनि लाग्छ । त्यसैले पर्खिने र पर्खाउनेको अनुभव कहिल्यै एउटै हुन सक्दैन ।
समयप्रतिको हाम्रो व्यवहार हेर्दा लाग्छ—हामी यसलाई धेरै महत्त्वपूर्ण मान्छौं र सबैभन्दा बढी यसैलाई उपेक्षा पनि गर्छौं । आफ्ना केही मिनेट पनि खेर जाला भनी चिन्ता गर्ने हामी अरूका समय भने सहजै व्यर्थ पठाइरहेका हुन्छौं । सभा, समारोह र भेटघाटमा यसबारे चर्चा गर्छौं, गुनासो गर्छौं । व्यवहारमा भने समयभन्दा आफ्नै सुविधा र अनुकूलतालाई प्राथमिकतामा राख्न छोडेका छैनौं । "समयको सम्मान" सिक्नुपर्ने कुराभन्दा पनि धेरैका लागि पढेर बिर्सिने कुरा मात्र बनेको छ ।
बगेको पानी, बितेको समय फर्किँदैन । त्यसैले, कसैको समयको कदर गर्नु भनेको घडी हेरेर अवधि मापन गर्नु मात्र होइन, उसलाई बुझ्नु पनि हो ।
कतै बोलाइएको छ भने निर्धारित समयमा पुग्नुभन्दा त्यही समयमा मात्र घरबाट निस्किनुलाई हामी सामान्य ठान्छौं । अहिले त बाटो मर्मत, ट्राफिक जाम र सिग्नलका कारण केही समय अगावै ननिस्किए समयमा पुग्न झन् कठिन हुन्छ । अफसोस, हाम्रो बासी सोच । नौ बजे बोलाइएको ठाउँमा दश बजे पुग्दा पनि हामी बिना संकोच सहजै भन्छौं—" नेपाली टाइम ।" यो केवल ढिलाइलाई बुझाउने शब्द मात्र नभई कहिलेकाहीँ हाम्रो लापरवाहीलाई सामान्य बनाउने बहाना पनि बनेको छ । आफ्नो कमजोरीलाई संस्कृतिको नाम दिएपछि त्यसलाई सुधार्ने चाहना पनि कमजोर हुँदै जाने रहेछ । न कुनै पछुतो, न क्षमायाचनाको आवश्यकता । मानौँ, पर्खिरहेकाहरूको समयको कुनै मूल्य नै हुँदैन ।
कतिपयलाई त समयमा पुग्नु भनेको आफ्नो मूल्य घटाउनु जस्तो लाग्छ । वास्तवमा सम्मान प्रतीक्षा गराएर होइन, अरूको समयको कदर गरेर प्राप्त हुन्छ । यो कुरा कहिले बुझ्ने हामीले !
व्यक्ति मात्र होइन, संस्थाहरू पनि यो प्रवृत्तिबाट टाढा छैनन् । कार्यक्रमको निम्तोमा समय लेखिएको हुन्छ, कार्यक्रम भने शायद मानिसहरूको संख्या गनेर शुरू हुन्छ । समयमै आएका मानिसहरू ढिलो आउनेहरूको प्रतीक्षामा बस्न बाध्य हुन्छन् । यसले बेलैमा आउनेहरूको समयको अवमूल्यन हुन्छ जस्तो लाग्छ ।
मलाई लाग्छ, समयमै शुरू भएको कार्यक्रममा भलै खाली कुर्सी देखिएलान्, तर त्यसले एउटा सुन्दर थालनी गराउँछ । आज कसैले शुरू गरे, भोलि त्यही संस्कार अरूले पछ्याउँछन् । परिवर्तन सधैं भीडबाट शुरू हुँदैन; कसैको पहिलो पाइला चाल्ने साहसबाट शुरू हुने हो ।
कार्यक्रम केही कारणले ढिलो शुरू भए पनि त्यसलाई समयमै टुंग्याउने प्रयास गरिए सहभागीहरूको मनमा सम्मान कायम रहन्छ । किनकि त्यहाँ दिइने समय केवल समय होइन; तिनका जीवनबाट छुट्याइएको अंश पनि हो ।
केही समयअघि एउटा साथीको अफिसबाट प्रिन्ट गरिएको कागजात लिनु थियो । गेटमा पुगेपछि मैले सन्देश पठाएँ । उनले "थोरै व्यस्त छु, एकछिनमा आउँछु" भने । त्यो "एकछिन" डेढ घण्टामा परिणत भयो । अन्ततः उनी निस्किए, मुस्कुराउँदै "ढिला भएँ" भने र कागजात हातमा थमाए ।
यदि उनले "आज सम्भव छैन, भोलि आउनुस्" भनेका भए, वा कागजात कसैको हातबाट पठाइदिएका भए, मेरो समय व्यर्थ हुने थिएन । उनको सूचना नदिनुले मैले आफ्नो डेढ घण्टा गुमाएँ । समयको घाटा यस्तै हुन्छ—यसको बिल आउँदैन, तर मूल्य भने सधैं तिर्नुपर्छ ।
अर्को पटक पनि यस्तै भयो । केही महिनाअघि लामो समयदेखि सम्पर्कमा नभएका कलेजको साथीले आफ्नो गीतबारे छलफल गर्दै कफी पिउन खोजेको सन्देश पठाए । उनको आग्रहलाई सम्मान गर्दै म निर्धारित दिन र समयमा क्याफे बाहिर कुरिरहें ।
पैँतालिस मिनेट बितिसक्दा पनि उनी आएनन् । म आइसकें भनी पठाएको सन्देशमा जवाफ नआएपछि फोन गरेँ, मोबाइल बन्द थियो । केहीबेर उभिएपछि अन्ततः लज्जित हुँदै फर्किएँ । तुरुन्तै उनको कुनै प्रतिक्रिया पनि आएन । पछि मोबाइलमा 'घरमा पाहुना आएकाले आउन सकिनँ' भन्ने स्पष्टीकरण आयो ।
मलाई उनको नआउनुभन्दा बढी दुःख समयमै एउटा सानो सन्देश नआएकोमा भयो । उनका केही शब्दले मेरो पैंतालीस मिनेट जोगिन सक्थ्यो ।
आजभोलि भने उनले सामाजिक सञ्जालमा 'गुड मर्निङ'का सन्देश पठाउन थालेका छन् । समय र सम्बन्धको मूल्य नबुझ्ने मान्छेसँग पुरानो सहजता कायम राख्न गाह्रो हुँदो रहेछ ।
यस्ता अनुभवहरू साना देखिए पनि सम्बन्धमा गहिरो असर पार्छन् । विश्वास कुनै ठुलो घटनाले मात्र भत्किँदैन; यस्तै साना असावधानीहरूको दोहोराइले पनि चर्किन्छ ।
अरूलाई पर्खाउँदा हामीले केवल उसका केही मिनेट मात्र रोकिरहेका हुँदैनौं । त्यो पलमा उसको विश्वास, अपेक्षा र हामीसँगको भावना पनि गाँसिएको हुन्छ ।
जीवन सधैं हाम्रो योजनाअनुसार चल्दैन । कहिलेकाहीँ परिस्थिति, आकस्मिकता र बाध्यताले हामीलाई पनि ढिला गराउन सक्छ । तर ढिलो हुनु र ढिलो भएको जानकारी नदिनु भने फरक कुरा हुन् ।
"म आउन सक्दिनँ", "अलि ढिला हुन्छ", "आज सम्भव भएन"—यस्ता सामान्य वाक्यहरूले अरूको समयप्रति हाम्रो संवेदनशीलता देखाउँछन् ।
मेरो प्रयास सधैं यही रहन्छ—सकेसम्म समयमा पुग्ने । केही मिनेट अगाडि पुगेँ भने पनि बाहिरै केहीबेर पर्खने गर्छु, ताकि मेरो चाँडोपनले अर्को व्यक्तिको समय र योजनामा बाधा नपरोस् ।
समयको मान राख्नु केवल ढिलो नगर्नु मात्र होइन; अरूको सहजता र अवस्थालाई पनि बुझ्नु हो भन्ने मान्छु ।
मेरी एउटी साथी छिन्, जो समयको मामिलामा निकै फरक छिन् । "फलानो बेला फोन गर्छु" भनिन् भने त्यही बेला फोन गर्छिन् । "भेट्न आउँछु" भनिन् भने तोकिएको समयमा आइपुग्छिन् । कुनै कारणले आउन नसक्ने अवस्था भए समयमै जानकारी दिन्छिन् ।
उनको यो बानीले मलाई एउटा कुरा सिकाएको छ—समयपालन केवल अनुशासन होइन, सम्बन्धप्रतिको जिम्मेवारी र विश्वास बढाउने आधार पनि रहेछ ।
कहिलेकाहीँ हामी कसैको घरमा बिना सूचना पुगेर त्यसलाई "ह्याप्पी सरप्राइज" भन्छौं । कसैलाई त्यो आत्मीय लाग्न सक्ला तर अर्को व्यक्तिको दृष्टिले त्यो असहज पनि हुन सक्छ । सम्भव छ, ऊ कुनै काममा व्यस्त होस्, आराम गरिरहेको होस्, वा आफ्नो कुनै योजनामा होस् ।
त्यसैले, भेट्न जानुअघि एउटा सानो जानकारी दिनु औपचारिकता मात्र होइन, उसको समय र व्यक्तिगत जीवनको कदर पनि हो ।
यदि आज कसैले मसँग सोध्छ—"के तपाईंसँग थोरै समय होला ?"
म घडीभन्दा पहिले मनभित्र नियाल्छु । किनकि उसले केवल केही मिनेट मागेको हुँदैन; मेरो प्राथमिकतामा उसको स्थान कहाँ पर्छ भन्ने पनि जान्न खोजिरहेको हुन्छ । जब म कसैलाई समय दिन्छु, त्यसमा प्रतिबद्ध रहने मेरो कोसिस हुन्छ ।
ल, अब तपाईंलाई सोध्छु—के तपाईंसँग थोरै समय होला ?

