‘इन्द्रेणी सौन्दर्य’ को सौन्दर्य आफैँमा जीवन–दर्शनको ‘दर्पण’ हो । मलाई लाग्छ, कुनै पनि लेखकका निम्ति नयाँ सिर्जनाको जन्म सन्तान प्राप्तिको खुसी जत्तिकै सुखद र सन्तुष्टिको हुन्छ । यही मेसोमा मेरो मन पनि नयाँ कृति प्रकाशनको सुखद अनुभूतिले भावविभोर भएको छ । यही खुसी साभार गर्न अहिले म अक्षरमार्गको माध्यमले शब्दहरूमा रूपान्तरण हुँदैछु ।
‘निबन्ध’ मेरा लागि अत्यन्त प्रिय लेखन विधा हो । जीवनलाई अनुभूत गर्ने र सम्प्रेषणको एउटा आत्मीय माध्यम ‘निबन्ध’ हो । जीवनका अनेक मोड, तह, यात्राका पदचाप, सम्बन्धका रङ, प्रकृतिका मौन भाषा र समयले दिएको चेतनालाई मैले निबन्धका हरफहरूमा उतार्ने प्रयास गरेको छु । मेरो पछिल्लो नवीनतम् कृति ‘इन्द्रेणी सौन्दर्य’ त्यही यात्राको दस्ताबेज हो । यहाँ अनुभूति ‘शब्द’ बन्छ र शब्दले फेरि जीवनलाई ‘स्पर्श’ गर्छ ।
‘इन्द्रेणी सौन्दर्य’ मा समय र समाजका विविध पाटाहरूदेखि व्यक्तिगत र सामूहिक स्मृति, प्रेम र पीडा, खुसी र चिन्ता, सौन्दर्य र पराजय, राष्ट्र र अस्तित्व सबैलाई अनुभूतिका आँखाबाट हेर्ने प्रयत्न गरिएको छ । यहाँ समेटिएका ५७ वटा मौलिक निबन्धहरू कुनै निष्कर्ष थोपर्ने अभिप्रायभन्दा पनि पाठकसँगै सोच्ने, सम्झिने र महसुस गर्ने चाहनाबाट जन्मिएका हुन् । कतै स्मृतिको बिहान, कतै मौनताको सौन्दर्य; कतै शब्दहरूको गोधूलि, कतै जीवनको रहस्यमय चाल !
निबन्ध लेख्दा मैले ठूला दर्शनभन्दा साना अनुभूतिहरूलाई प्राथमिकता दिएको छु किनकि जिन्दगी प्रायः ठूला घोषणाभन्दा साना–साना क्षणहरूले बनेको हुन्छ । निबन्धहरूमा सजिलै भेटिने साधारण क्षणहरूभित्र लुकेको असाधारण अनुभूति खोज्ने प्रयास मेरो हो ।
‘इन्द्रेणी सौन्दर्य’ पाठक र लेखकबीचको त्यही संवेदनशील संवाद हो । यहाँ शब्दहरूसँग अनुभूति बोल्छन् । यदि यी निबन्धहरूले पाठकलाई एकछिन रोकिएर आफ्नै जीवनतिर फर्केर हेर्न, सम्झनाका कुनै डोबमा डुबुल्की मार्न या चुपचाप मृदु मुस्कुराउन प्रेरित गरे भने मैले मेरो उद्देश्य पूरा भएको ठान्नेछु ।
‘इन्द्रेणी सौन्दर्य’ को यस आत्मिक यात्राले मेरो लेखनको सिलसिलालाई कतै स्मृति–दंशमा, कतै इन्द्रेणी सौन्दर्यमा, कतै चाँदनी रातमा अवतरित गराउँछन् । यी निबन्ध लेखिएका होइनन्, बाँचिएका हुन् भन्ने म ठान्छु । यहाँ शब्दहरू सजावटका लागि आएका हैनन्; ती जीवनले लेखकीय मनमा आरेखन गरेका अनुभवहरूको प्रक्षेपण, मुस्कान र मौनताका साक्षी हुन् । प्रकृति र जीवनका सूक्ष्म तर गहिरा क्षणहरूलाई मैले आत्मीय ढङ्गले शब्दमा उतार्ने कोसिस गरेको छु ।
यो सङ्ग्रह कुनै एउटा विषयमा सीमित छैन तर जीवनकै वरिपरि घुमिरहन्छ । प्रकृतिसँग आत्मसात् भइरहन्छ । ‘मौनताको सौन्दर्य’ होस् या ‘पराजयको सौन्दर्य’ यहाँ पीडा, हार, मृत्यु र बिछोड पनि सौन्दर्यकै अर्को अनुहार बनेर आएका छन् । यसैले यो कृति पढ्दा पाठकलाई आफ्नै जिन्दगीका दृश्यहरू देखिएजस्तो हुन्छ भन्ने मेरो विश्वास छ । त्यसैले म फेरि भन्छु– ‘इन्द्रेणी सौन्दर्य’ को सौन्दर्य आफैँमा जीवन–दर्शनको ‘दर्पण’ हो ।
मूलतः यही भावलाई मनन गरी मेरो मनका भावनाहरू ‘इन्द्रेणी सौन्दर्य’ को समग्र कृतिमा अवतरित भएका छन् । यसमा नेपाली निबन्ध साहित्यका अग्रणी व्यक्तित्व तथा वरिष्ठ समालोचक प्रा.डा. माधवप्रसाद पोखेरलको छोटो र सारपूर्ण शुभेच्छा छ । जसले मेरो निबन्धको शैलीलाई सूक्ष्म मनले विश्लेषण गरेको छ । जुन मेरा लागि अग्रज सर्जकको शुभाशीर्वाद पनि हो ।
त्यसैगरी वरिष्ठ अग्रज कलाकार विजय थापाको रङ–क्यानभासले निबन्धको समष्टिगत भावलाई आवरण कलामा प्रतिविम्बित गरिदिएको छ । आवरणमा इन्द्रेणी रङको सौन्दर्यसँगै खुसीको बिहान सुनौलो आभामा मुस्कुराइरहेको छ । त्यहाँ जीवनको उल्लास र उत्साहका साथ आशामय जीवनको शुभारम्भ अभिव्यक्त छ । मेरा समग्र इन्द्रेणी सौन्दर्यमय भावनाको प्रतिनिधित्व आवरण कलामा अवतरित भएका छन् ।
‘इन्द्रेणी सौन्दर्य’ खुसीको उत्सव, सम्झनाको उत्सव र आशाको बिहानी हो । यद्यपि यहाँ ‘बिर्सिन नसकिने मान्छे’ छन्, ‘बिर्सेर सम्झेका यादहरू’ छन्, ‘टनकपुरमा दुखेको मन छ’ र ‘यौटा यस्तो कालो दिन’ पनि छ । रातको चकमन्न शून्यता र दिनको कोलाहलमय उपस्थिति जस्तै अनुभूतिका यस्तै भाव–विम्बहरू मेरा निबन्धहरूमा अभिव्यक्त भएका छन् ।
यी निबन्धहरूले जीवनको सम्पूर्णता स्वीकार गर्छन्– जसरी छ, त्यसरी नै ! मेरो लेखक मन पाठकसँगै हिँड्ने, सँगै बस्ने, सँगै जिन्दगीको कुरा गर्ने शैली छ । ‘हतार बिनाका फुर्सद’ र ‘फुर्सदको दिन’ जस्ता निबन्धहरूले आजको भागदौडको जीवनमा एकछिन रोकिन सिकाउँछन् । आफैँतिर फर्किन र एकछिन टक्क रोकिन लगाउँछन् ।
मलाई लाग्छ– यो सङ्ग्रह पढिसकेपछि निबन्ध भनेको ठूला कुरा सोच्नु र लेख्नु होइन, जीवनलाई संवेदनशील आँखाले हेर्न सक्नु रहेछ भन्ने भाव उत्पन्न हुनुपर्छ भन्ने मेरो लेखक मनको आग्रह सविनय यहाँ निवेदन गर्छु । त्यसैले मेरो यो अभिप्राय पाठकसँगको प्रेमिल संवाद पनि हो । यहाँ पाठक निष्क्रिय हुँदैन; ऊ पनि स्मृतिमा फर्किन्छ, आफ्नै यात्राको समीक्षा गर्छ । जीवनलाई बुझ्ने कोसिस गर्छ ।
यस कृतिको सबैभन्दा ठूलो उपलब्धि यही हो भन्ने मलाई लाग्छ । यसले पाठकलाई आफूभित्र हेर्न बाध्य बनाउँछ । जिन्दगीलाई तन्तनी पिउन मन लाग्ने क्षणदेखि लिएर मृत्यु यात्राको साक्षीसम्म, मैले जीवनलाई सम्पूर्ण रूपमा अङ्गालेको छु ।
मेरो मनको दाबी छ– ‘इन्द्रेणी सौन्दर्य’ नेपाली निबन्ध साहित्यमा संवेदनशीलता, सौन्दर्य र आत्मीयताको सुन्दर उदाहरण हो । यहाँ शब्दभन्दा अनुभूति ठूलो छ । त्यसैले ती अनुभूतिको आलेखमा अवतरित भएका छन् ।
नेपाली निबन्ध साहित्य अनुभूति, संवेदना र जीवनबोधको सूक्ष्म अभिव्यक्ति हो । यसै परम्परामा मेरो लेखन निबन्ध सङ्ग्रह ‘इन्द्रेणी सौन्दर्य’ को समग्र सँगालो लिएर आएको छ । यसमा संवेदनशील, सौन्दर्यपूर्ण र दीर्घकालीन पठनीय खुराक पाठकले पाउने कुरामा म आशावादी छु । जीवन, प्रकृति, सम्बन्ध र मानवीय अनुभूतिका विविध आयामहरूलाई सरल भाषामा प्रस्तुत गर्नु मेरो लेखन कर्म हो ।
यस सङ्ग्रहका निबन्धहरूले उपदेशभन्दा अनुभूतिलाई, आग्रहभन्दा आत्मीय संवादलाई प्राथमिकता दिएका छन् । यही कारणले यी रचनाहरू पाठकसँग सहजै सम्बन्ध गाँस्न सफल हुनेछन् भन्ने मेरो लेखकीय विश्वास रहेको छ । मेरो निरन्तर सिर्जनशील यात्राले यहाँ परिपक्व र दृष्टिको विस्तार प्राप्त गर्ने अभ्यासमा आफूलाई अभ्यस्त राखिरहेको अनुभूति मलाई हुन्छ । नेपाली निबन्ध साहित्यका पाठकहरूका लागि ‘इन्द्रेणी सौन्दर्य’ एक अर्थपूर्ण र पाठकीय मनलाई तृप्त पार्ने कृति बन्ने कुरामा म ढुक्क र विश्वस्त पनि छु ।

