बिहानै तन्द्रामा नै बोलेको थिएँ होला मैले यी तीन शब्दहरू, “एउटा लेख लेख्नुछ…..”
वास्तवमा लेख्नु पनि एउटा नसा नै रहेछ । मद्यपानजनित समस्या भएकालाई बिहान आँखा खोल्नका लागि नै एक पेग ‘आइ ओपनर ड्रिङ्क’ चढाउनुपरे जस्तै हुन्छ मलाई लेखनको विचार उठान भएदेखि नै । अनि खोजी गर्न थाल्छु शीर्षकको ।
“तिमी गुलाफलाई गुलाफशिवाय केही देख्दैनौ, म त्यसमा हेलेन र पद्मिनी पाउँछु”
उपरोक्त घोषणा गर्नेे, अनि आफूलाई ‘पागल’ नै करार गरिदिन पनि संकोच नगर्ने देवकोटाकोझैं कल्पनाशक्ति, सृजनाशक्ति हुँदो हो त, म जेलाई पनि शीर्षक मानेर अहिल्यै लेख्न बस्थेँ होला ।
तर, आफू परेँ ‘लगाममा बाँधिएको घोडा’, ‘घर–अस्पताल–घर’ गरेर यसैमा नै दिन कटाउने–जिन्दगी सकाउने ‘डाक्टर’ । दायाँ–बायाँ हेर्ने, प्रकृतिमा रमाउने फुर्सद कसरी जुट्नसक्दो हो र मलाई ? सृजनाका लागि समय नै नभएको एकोहोरो प्राणी–डाक्टर ।
साँच्चै नै, कोरा विज्ञानमात्रको अध्ययनले त मानिस अपूर्ण नै हुने रहेछ । देवकोटाले त्यसै भनेका होइन रहेछन्,
“तिमी ठोस गद्य हौ, म तरल पद्य हुँ”
तरल पद्य हुनसकेको भए त पानीसरि बग्न सक्दथें होला । आफू जेमा समाहित हुने हो, त्यही भाँडासरि आकार ग्रहण गर्ने थिएँ होला, अनि जहाँ पनि आफूलाई अटाउन सक्दथें होला । अनि त भावनामा बगेर अनेकौं कृति सिर्जित हुनसक्दथ्यो होला ।
तर पनि म निष्पट्ट लेख्दै नलेख्ने मान्छे भने होइन है फेरि ! यसमा भने राष्ट्रकवि माधव घिमिरेज्यूको धारणासँग सहमत छु म,
“ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल”
त्यसैले कहिलेकाहीं यो ढुङ्गाजस्तो ठोस हृदयमा पनि कल्पनाले डुबुल्की लगाउने गर्दछन् । अनि डाक्टरी जस्तो निरस अनि बेफुर्सदी पेशामा लाग्दालाग्दै पनि म केही लेखिटोपल्छु । अनि साथीभाइमाझ लेखक कहलाइन्छु ।
कवि शिरोमणि लेखनाथले त भनेका नै छन्,
“टप्पर्टुइयाँ पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित
को बोल्दछ अँध्यारोमा महात्मा जूनकिरीसित ?”
त्यसैले, म फाट्ट फुट्ट केही अक्षर कोर्ने मान्छे पनि डाक्टर–समाजमा साहित्यकारका रूपमा दरिएको छु ।
तर आज किन किन शीर्षकविहीन हुन पुगेँ म ? आफूभित्रको जलभण्डार महसुस नभएर मृगतृष्णामा झुलिरहेको कस्तुरी पो हुँ कि त म ? या त कोही सम्झाइदिने, झक्झक्याइदिने मान्छे नभेट्टाएर त्यसै अल्मलिरहेको छु म ?
रामायणमा कथा आउँछ, हनुमानलाई उसको शक्ति सम्झाइदिन जाम्बूवान नै चाहिएको थियो रे ।
अथवा, कवि भूपिले “हामी” कवितामा भनेझैं पो हो कि त ?
“हामी आफैँ छुट्टिन नसक्ने, कसैले छुट्याइदिनुपर्ने
हामी आफैँ मिल्न नसक्ने, कसैले मिलाइदिनुपर्ने
क्यारेमबोर्डका गोटी हौँ
स्ट्राइकरको सहायताबिना
यताउति गर्न नसक्ने
हामी,
मानिस कम, बरु गोटी ज्यादा हौँ ।”
त्यसैले मभित्रको लेखक या कवि हृदय पनि स्ट्राइकरको प्रतीक्षामा बसिरहेको क्यारेमबोर्डको गोटी नै पो हो कि ? कसैले शीर्षक जुराइदिनासाथ भटाभट लेखिहाल्ने, कोरिहाल्ने, अनि कृति पनि तयार गरिहाल्ने ।
क्यारेमबोर्ड अनि स्ट्राइकरका बारेमा सोच्दासोच्दै म हाम्रै मुलुक हाँक्ने नेतागणलाई सम्झन पुग्छु । कुनै ‘अमुक प्रभु’को आशीर्वादबिना आपसी सहमति नै नगर्ने, फेरि ती स्ट्राइकरको इशारा पाएमा झट्टै मिली पनि हाल्ने । त्यसले फेरि आदेश दिएमा जतिसुकै मिले पनि टुक्रिहाल्ने, छुट्टिहाल्ने । त्यही व्यक्ति कुनै क्षण ‘देवाधिदेव’ नै बन्ने, अनि जुनसुकै क्षण पनि ‘नालायक या राक्षस’ नै पनि बनिदिनसक्ने ।
सामाजिक सञ्जालदेखि सञ्चार माध्यम, टिभी, एफ.एम., रेडियो, पत्रपत्रिका, अनलाइन, सबैतिर छाउने तिनका नाटक–प्रहसनहरूले त हाम्रो घरायसी टेलिभिजनमा दोहोरिइरहने हाम्रा गृहिणीहरूको प्रिय हिन्दी सिरियलका दृश्यको झझल्को दिने गर्दछन् । ती दृश्यले गृहिणीहरूलाई मात्र नभइ हाम्रा साना बाबुनानीलाई समेत संवेदनाहीन, ह्रिंस्रक, अनि मौलिकताहीन बनाउने त होइन ? भन्ने चिन्ता समेत लागिरहेछ अचेल मलाई । कतै भविष्यका कर्णधार यी बालबालिका पनि आफ्नो भाषासंस्कृति अनि सभ्यताबाट विमुख भएर जे कामका लागि पनि परनिर्भर बनी, हाम्रो आफ्नै पहिचान नै लोप हुने त होइन ?
हुन त के नै पो बाँकी छ र हाम्रो पहिचान ? हाम्रा स्कुल कलेज सब विदेशीका नाममा मात्र चल्दछन् । देउसीभैलो जति सब डिस्कोडान्सले खाइसके । दोहोरी–रोदी सब डान्सबारमा रुपान्तरित भइसके । मकैभटमास, आलुचिउरा, पुवा, हलुवा खाजा बन्दैनन् घरमा, चाउमिन, पिज्जा,स्याण्डविच नै हाम्रो जिब्रोमा बसिसक्यो । हाम्रा माननीय मन्त्रीगण समेत टाइसूटमाथि भादगाउँले टोपी लगाएर गाईजात्राको विदूषक सरह विदेशीसामू परिचित हुन थालिसके ।
हामी त ‘धोबीको कुकुर, घरको न घाटको’ भनेझैं यता न उताका भइसक्यौं ।
जान्नेबुझ्नेहरू जति सब डि.भी., पी.आर. आदिको तयारीमा नै दिनरात कटाउने भइसके । अलि अलि बल हुने युवा दुबई र कतारका लागि लाइन लाग्न थालिसके । विदेशी भूमिमा कसैगरी पाइला टेक्नेहरू त्यहाँबाट फर्कन नपर्ने जमर्को गर्ने गर्दछन् । भन्न त म चाहन्छु ती सबैलाई,
“जसमा जति जे छ लिएर आओ
नेपालकै काख विषे खन्याओ ”
तर उनी पटक्कै सुन्दैनन् । सुनुन् पनि कसरी ? यहाँ तिनको योग्यताको कदर नै छैन, न त तिनको वीरताको मुल्याङ्कन नै छ ।
त्यसैले त कवि भूपिको यो भनाइ तीतो सत्यझैं प्रतीत हुन्छ मलाई सधैं,
“हामी वीर छौं तर बुद्धु छौं
हामी बुद्धु छौं त्यसैले हामी वीर हौं
हामीले बुद्धु नभइकन वीर बन्न कहिल्यै जानेनौं”
जब जब म निराश हुन्छु, म यी तीता शब्दहरू स्वतः उद्घाटित भएझैं पाउँछु आफ्ना जीवनका पाइला–पाइलामा ।
कवि धरणीधरझैं छट्पटाउँछु म सधैं आफ्नो निद्रामा अनि सपनीमा,
“नेपाल तिम्रो मुहुडा हँसिलो
देखेर मर्छु कि यसै म मर्छु ?”
आँखा भरिन्छन्, जिउ काँप्दछन्, अनि सुइय लामो सुस्केरा हाल्छु म ।
अनि झल्याँस्स हुन्छु ।
ओहो !
शीर्षकको खोजीमा म त आफ्नै आत्मकथा लेखेझैं मनोवादमा हराउन थालिसकेछु ।
तर पनि, “उद्देश्य के छ लिनू ? उडी छुनू चन्द्र एक” भनी देवकोटाले एपोलो–११ को अभियान शुरु हुनुअगाडि नै उद्घोष गरेको यथार्थलाई मनन गर्छु ।
अनि आफ्नै लक्ष्यमा, आफ्नै धरातलमा ओर्लन्छु म, एउटा लेख त जसोगरी पनि लेख्नु नै छ ।
नेपथ्यमा भने राष्ट्रवादी पपगीत गुञ्जिरहेछ,
“जे गर जसो गर, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
नेपाली हो….”

