हाम्रो समयमा गाउँघरमा हुर्के बढेका युवाहरूका लागि शहर पस्नु आकर्षणका लागि भन्दा पनि बाध्यताको कहर थियो । हुन पनि विद्यालयसम्मको शिक्षा जेनतेन आफ्नै ठाउँमा सकेपछि उच्चशिक्षा अध्ययनका लागि शहर भासिनै पर्थ्यो । जसै शहरमा पस्थ्यौँ, यहाँको रङ्गिन दुनियाँमा घुलमिल हुनका लागि धेरै समय लाग्थ्यो । सँगैका दौँतरीले चिटिक्क आइरन लगाएको सर्ट र पाइन्ट । त्यसमा कपालमा तेल लगाएर बिचमा सर्लक्क पारेर कोरेको जुल्फी हाम्रा लागि आकर्षणका बिन्दु बन्थ्यो । ती साथीहरूको तुलनामा हाम्राे भाषाशैली र पहिरनमा साँच्चै फिक्कापन भेटिँदो हो । यदाकदा मजाकको विषय पनि बन्दो हो । ती मित्रहरूले कहिल्यै अपमान हुने व्यवहार गरेनन्, बरु वास्तविक शहरीया जीवनमा घुलमिल हुनका लागि प्रेरित र सहयोग गरे । त्यसैले, ती साथीहरू हाम्रो मन मुटुमा सधैँ अमिट र आदर्श बनेर बाँचेका छन् । वर्गीय हिसाबले उनीहरू र हामीबीच एक किसिमको खाडल नै भए पनि हाम्रो साथ उनीहरूले कहिल्यै छोडेनन् । एक दिन समूहमै गफिँदै थियौं, एक मित्रले फुटबलका कुरा निकाले । भन्दै गए, “एकजना अर्जेन्टिनी खेलाडीले इङ्गल्यान्ड सँगको खेलमा खत्रै गोल गरे । बाफरे ! मान्छे भने सानो सानो छ, खेल भने खतरै छ ।”
म आफ्नो गाउँठाउँमा कपडाको डल्लो बनाएर खेल्दै पदोन्नती भइ फुटबल खेल्ने स्तरमा पुगेको ठिटो । यदाकदा गाउँकै टुँडिखेलमा खेलेको पनि थिएँ । यहाँफुटबलको कुरा निस्किँदा हौसिएर अगाडि सर्नु स्वभाविकै बन्यो । फ्याट्टै सोधें, “लौन ! कहाँ खेल भएको हो हामी पनि हेर्न जाऊँ न । ती साथी मुसुक्क मुस्कुराएर, “मित्र यहाँ कहाँ हो र ? त्यो खेल त मेक्सिकोमा भएको हो नि” भन्यो । आफूलाई फेरि तिरिमिरी बनायो । कहाँ हो त्यो मेक्सिको भनेको ? उनलाई पनि मेक्सिको कुन गोलार्द्धमा पर्छ थाहा रहेनछ । त्यसैले भने, “मैले त टेलिभिजनमा हेरेको ।” आफूलाई भने मेक्सिको भन्ने देश र टेलिभिजन भन्ने जिनिस दुवै नौला र पहिलो पटक सुनेको शब्द थिए । इङ्गल्यान्ड र फ्रान्सका बारेमा भने नौ कक्षामा पढदा सुनेको थिएँ । गोवर्धन आचार्य सरले भुगोल पढाउँदा हातमा सानो लौरी लिएर पछाडि कालोपाटी माथि झुण्ड्याइएको विश्व मानचित्रलाई लौरीको टुप्पोले देखाउँदै, फ्रान्सका शासक लुई चौधौंले "म नै राज्य हुँ" (I am the state) भनेको र लुई सोह्रौंलाई गिलेटिन मेसिनमा राखेर काटिएको कुरा सुनेको थिएँ । तर मेक्सिको कहाँ पर्छ के थाहा ? टेलिभिजन के हो ? यसमा दृश्यहरू कसरी देखिन्छ भन्ने कुरा बिजुली बिना हुर्के बढेको ठिटोलाई के थाहा !
जसै कलेजबाट डेरामा फर्किएँ, हातले फुटबल जालीभित्र छिराएको बिम्ब मानसपटलमा फनफनी घुम्न थाल्यो । आफू पाटनमा बस्ने, साथीहरू क्षेत्रपाटीतिर बस्ने गर्छन् । मेरो मनमा यति धेरै हुटहुटी भयो कि त्यही साँझ पाटन ढोका एक्सप्रेस चढेर क्षेत्रपाटीतिर लागेँ । सोधखोज गर्दै जाँदा हाम्रा गाउँका एकजना हङकङका लाहुरे अशोक श्रेष्ठदाईको काठमाडौं भोटेबहालमा भएको घरमा टेलिभिजन छ रे । त्यहीँ गएर हेर्ने निधो गरि कोठामा फर्किएँ । फाइनल खेल राति ११:४५ हुनेवाला थियो । आफ्नो बसाई पाटन भएकाले, साथीको डेरामै बस्ने निर्क्यौल गरी ०४३ आषाढ १५ गते आइतबार (1986 June 29) कलेज सकिने बित्तिकै डेरामा झोला मिल्काएर क्षेत्रपाटी गएँ । मनमा कौतुहलता छ, टेलिभिजन र टेलिभिजनमा आउने खेल दुवै आफ्नालाई नौला छन् । यी दुवै वस्तुहरूलाई मेरो आँखाबाट आज पहिलो उद्घाटन हुँदैछ । लाहुरे दाइको घरमा सखारै पुग्यौँ, हामी केटाकेटीहरूका लागि भुइँमा सामान्य सुकुल बिच्छाइएको थियो । लाहुरे दाइले हामीलाई त्यहीँ बस्न निर्देश गर्नुभयो । हुन त त्यहाँ सोफा पनि थिए । तर ती हाम्रा लागि थिएनन् । गजक्कसँग बिच्छाइएको सुकुलमा बसेर अगाडि भित्तामा देखिएका झिलिमिलि रङ्गिन तस्बिरलाई आँखा झिमिक्क नगरीकन हेरिबस्यौँ । मनभित्र ज्वारभाटा उम्लिएको छ । आफैँले आफैँलाई प्रश्न गरिरहेको छु, कहाँबाट यी नर्तकीहरू उफ्रिएका होलान् है ? भित्ता पछाडि अर्कै दुनियाँ छ कि क्या हो । यस्तै यस्तै त्यहाँ कसलाई पो सोध्नु र सबै मजस्ता पहिलोपटक टेलिभिजन देखेका साथीहरू त थिए ।
मस्त टेलिभिजनको दृश्यमा रम्दै थियौं, सेतोमा आकाशे नीलो रङ्गको ठाडो झर्सो भएको जर्सी लगाएका अर्जेन्टिनी र हरियो जर्सी लगाएका पश्चिम जर्मनका खेलाडीहरू मैदानमा देखा परे । अर्जेन्टिनी खेलाडीहरू होचा होचा कदका तर बेपत्तै दौडिन सक्ने देखिन्थे भने पश्चिम जर्मनका खेलाडीहरू लामा लामा कदका र बलिष्ठ देखिन्थे । खेलमा एउटा होचो अर्जेन्टिनी खेलाडीको खेल तारिफ योग्य थियो । उनै रहेछन् इङ्गल्यान्डबिरुद्धको खेलमा हातले गोल गर्ने “डिएगो म्याराडोना ।” उनको खेल कौशल, अत्यन्त हेर्न लायक र जादुमय थियो । उनैको टोलीले पश्चिम जर्मनलाई ३-२ ले हराएर जित सुनिश्चित गरी विश्व च्याम्पिएन बन्यो । मस्तसँग हेर्दै थियौं, झ्याप्पै भित्तामा बोलिरहेको आवाज बन्द भयो, लाहुरे दाइले अब सकियो घर जाऊ भने । हामी आज्ञाकारी सिपाही जस्तो जुरुक्क उठेर आफ्ना आसन कसिहाल्यौँ । हाम्रा आँखा त ती भित्ताका झिलिमिलि हेर्न कहाँ अघाएका थिए होलान र ? तर बलजफ्ती आफ्नो गन्तव्यलाई निशाना दियौं । हाम्रो देशमा पनि वि.सं. २०४२ सालको भाद्र महिनाबाट टेलिभिजन सञ्चालन भइसकेको भए पनि यसको पहुँच अत्यन्त सीमित क्षेत्रमा मात्र भएकाले हामीले नेपालमा टेलिभिजनको विकास र बिस्तार भएको कुराको पत्तै पाएका थिएनौं । पत्तो भएको भए पनि पहुँच कहाँ हुन्थ्यो र !
सन् १९३० मा शुरू भएको फिफा विश्वकप फुटबल विश्वकै सबैभन्दा प्रतिष्ठित र लोकप्रिय उत्सव बनेको छ। फुटबलको सर्वोच्च निकाय फिफा (FIFA) का तत्कालीन अध्यक्ष जुल रिमेको विशेष प्रयास र परिकल्पनाका कारण यस ऐतिहासिक प्रतियोगिताको शुरूवात भएको थियो । सन् १९३० देखि हालसम्म आइपुग्दा यसले अनेकौँ उतारचढाव, अद्वितीय कीर्तिमान र विश्वव्यापी भावनालाई समेटेको छ । १९३० को जुलाई महिनामा भएको पहिलो फिफा विश्वकपमा १३ देशले भाग लिएका थिए, जसमा अर्जेन्टिना, चिली, फ्रान्स, मेक्सिको, युगोस्लाभिया, ब्राजिल, बोलिभिया, आयोजक उरूग्वे, रोमानिया, पेरू, अमेरिका, पाराग्वे र बेल्जियम थिए । प्रतियोगितामा यसअघि १९२८ को ओलम्पिकमा भिडेका दुई देश अर्जेन्टिना र उरूग्वेनै पहिलो विश्वकपको फाइनलमा खेलेका थिए । जुलाई ३० का दिन उरूग्वेको सेन्टेरियो रंगशालामा भएको खेल हेर्न ९३ हजार दर्शकहरू रंगशालामा आएका थिए रे । त्यसमध्ये अर्जेन्टिनाबाट मात्रै १५ हजार समर्थकहरू खेल हेर्न आएका थिए रे । फाइनल खेलमा अर्जेन्टिनालाई ४–२ ले हराउँदै आयोजक उरूग्वेले पहिलो विश्वकपको उपाधि आफ्नो पोल्टामा पारेको थियो ।
पहिलो विश्वकप आयोजना हुँदासम्मा फिफा सदस्य देशको संख्या जम्मा ४१ थियो । त्यो बेला छनोट चरण प्रतियोगिता भएको थिएन । दोस्रो विश्वकपमा सहभागी सदस्य देशको संख्या धेरै बढेकाले छनोट प्रतियोगिता गराइएको थियो । छनोट चरण पार गरेका १६ टोली फाइनल चरणको प्रतिस्पर्धाका लागि छनोट भएका थिए । त्यसपछि लामो समयसम्म छनोट चरण र १६ देशबीच विश्वकप खेलाइने क्रम जारी रह्यो ।
बिस्तारै सदस्य संख्या र खेलको स्तर बढ्दै गएपछि सन् १९८२ को १२औं विश्वकपदेखि यसलाई बढाएर २४ देश पुर्याइयो । विश्वकपमा भाग लिन चाहने देशको संख्या झनै बढ्न थालेपछि सन् १९९८ को १६औं संस्करणदेखि विश्वकप फाइनल चरणका लागि छनोट हुने देशको संख्या ३२ पुर्याइएको थियो । सन् २०२२ मा कतार विश्वकपसम्म सहभागी संख्या ३२ नै थियो । फिफाले सन् २०२६ को विश्वकप फुटबलमा सहभागी संख्या ३२ बाट बढाएर ४८ पुर्याएको छ । विश्वकपमा टोली बढाउने फिफाको निर्णयले एशिया र अफ्रिकन देशहरूबाट यस वर्षको सहभागीतामा उल्लेख्य मात्रमा वृद्धि भएको छ । ४८ टिममध्ये एशियाका ९ र अफ्रिकाका १० टिम सहभागी हुन पाए । यो दुवै महादेशका लागि खुशीको कुरा हो । धेरै राष्टहरू सहभागी हुँदा सबैले विश्वकप हाम्रो पनि हो भन्ने र स्वामित्व लिने अवस्था बन्दछ । फिफाको यो कार्यको सर्वत्र प्रशंसा भएको छ । फिफाका अध्यक्षले त अझै संख्या बढाएर ६४ राष्ट्रहरूको सहभागी गराउने भन्न थालेका छन् । यसले विशेषत: अपार जनसंख्या र भुगोल भएको एशिया र अफ्रिकालाई फाइदा हुनेछ । पछिल्लो समय एशिया र अफ्रिकन फुटबलको स्तर धेरै माथि गएको अनुमान गर्न सकिन्छ । विश्वबजारमा फुटबलको व्यापार एसियामा बिस्तार हुँदै गएको छ । चीन र भारतका लिग गेमहरूमा विभिन्न देशका चर्चित खेलाडीहरू आएर खेल्न थालिसकेका छन् । यसको अर्थ चीन र भारतले फुटबलको स्तर उकास्न ठूलो धनराशी लगानी गरिरहेको छ । हुन पनि युरोपका साना देशले पनि विश्वकप फुटबल खेलिसकेका छन् । विश्वकपको सहभागितामा संख्या बढदै जाँदा दक्षिण एशियाका साना मुलुक नेपाल र भुटानले पनि सहभागिता हुने सपना देख्न पाउँछन् ।
नेपाल अहिलेसम्म विश्वकपमा छनौट चरण बाहेक मुख्य प्रतियोगितामा पुगेको छैन । तथापि नेपाली फुटबलप्रेमीहरू विश्वकपमा आ-आफ्नो टिमको धुवाधार समर्थक हुन्छन् । नेपालीहरूमा यति धेरै उत्साह छ कि विश्वकपको मिति नजिकै आउँदा बजारभरि विभिन्न देशको रङ्गिन जर्सीहरू टाँगिएका हुन्छन् । आ-आफ्ना टिमको रङ्गिन जर्सी लगाएर रातभरी जाग्राम बसी खेल हेर्छन् भने सडकमा आफ्नो मनपर्ने देशको झण्डा लिएर हिँड्ने समेत गर्छन् । विशेषत: ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र इङ्गल्याण्डका टिम नेपाली दर्शकहरूको पहिलो रोजाइको टिम हो । नेपालमा विश्वकप फुटबल खेलप्रति आकर्षित हुने धेरै छन् । उमेरले राम्रै छेलो हानिसकेका र ढाड दुख्ने समस्याले पिरोलिएका, बिहानी हिँडाइमा सहभागी हुने मित्र समेत विश्वकप शुरू भएपछि एक महिना बिदा बस्न लागेको भनेर हामीमाझ मौखिक निवेदन नै हालेका थिए । उनी एक महिनासम्म लापता नै भए ।
म पनि १९८६ को विश्वकपदेखि नियमितरूपमा घरदेश परदेश जहाँ भए पनि खेल हेर्दै आएको छु । १९८६ मा खेल्ने फुर्तिलो अर्जेन्टिनी खेलाडी “डियगो म्याराडोनालाई” खेल पत्रकारले इङ्गल्याण्डसँग भएको म्याचका बारेमा सोध्दा धन्न इङ्गल्याण्डको टिममा गोर्खालीहरू थिएनन् र खेल जितियो भन्ने जवाफ दिएका थिए रे । यो कुरा त्यतिबेलाको नेपाली अखबारहरूमा छ्याप्छ्याप्ती थियो । इङ्गल्याण्ड र अर्जेन्टिनाबीच भएको फकल्याण्डको लडाइँमा इङ्गल्याण्डको तर्फबाट लडेका गोर्खाली फौजबाट अर्जेन्टिनीहरूलाई परास्त गरेका थिए । त्यही भएर अर्जेन्टिनी खेलाडीहरूले गोर्खालीलाई सम्झेका हुन् । गोर्खालीहरूसँग अर्जेन्टिनी सिपाहीहरू धेरै डराउँथे भन्ने कुरा ब्रिटिस फौजमा रही फकल्याण्ड युद्धमा सहभागी भएका श्री बुद्धिराज राईको भनाइमा पनि अर्जेन्टिनी सिपाहीहरू गोर्खाली फौजसँग भएको खुकुरीले सय मिटर वरपरसम्म आएका कुनै पनि चिजलाई नष्ट गर्न सक्छन् भन्ने विश्वास राख्थे रे । अनि गोर्खाली रिसाएपछि मान्छे नमारी छोड्दैन भन्ने ठान्दथे । त्यस कारण पनि उनीहरू गोर्खाली फौज युद्धमा सहभागी भएपछि मानसिकरूपमा नै कमजोर बनेका थिए रे । यसैको फलस्वरुप अर्जेन्टिनी खेलाडीहरू पनि गोर्खालीसँग डराए । यसैकारण पनि हामी दर्शकहरू अर्जेन्टिनीमैत्री भएका होलान् । यद्यपि सो लडाइँमा धेरै गोर्खालीहरूले विरगती पाएका थिए रे ।
विश्वकप हेर्ने क्रममा युवक हुँदा साथीसङ्गीहरूसँग बसेर हेरिन्थ्यो, उमेर ढल्किँदै गएपछि कहिले परिवारसँग, कहिले एक्लै हेर्दै आइयो । विश्वकप सञ्चालन गर्ने देशअनुसार हाम्रो समय फरक हुने भएकाले कहिले धेरै गेम हेरियो भने कहिले थोरै हेरियो । विश्वकप खेल्ने खेलाडीहरूको आ-आफ्नै विशेषताहरू छन् । हाम्रा लागि सबै अब्बल छन् । ८० को दशकका डियगो म्याराडोना, ९० का दशकका रोनाल्डो, रोबर्टो बाजियो र डेविड बेकहाम त्यसपछिका नेयमार, क्रिस्टियानो रोनाल्डो लियोनल मेसी र किलियन एम्बाप्पे; यी सबै विश्व फुटबल जगतका उज्ज्वल नक्षत्रहरू हुन् । यी सबै खेलाडीहरूले आफ्नो देश र क्लबका लागि उत्कृष्ठ खेल पस्केका छन् भने नव प्रतिभाहरूका लागि प्रेरणाका स्रोत बनेका छन् । यी सबै खेलाडीमा उच्च सम्मान र प्रेम हुँदाहुँदै पनि म अर्जेन्टिनाको समर्थक बन्नुको पछाडि आकर्षक खेल शैली, डिएगो म्याराडोनाको जादु र लियोनल मेसीको प्रेरणादायी नेतृत्व मुख्य कारण बने । डिएगो म्याराडोना र लियोनल मेसीको आक्रमण खेल, उत्कृष्ट ड्रिब्लिन र रोमाञ्चक प्रदर्शन हुँदै आएको छ । जसको कारणले म र मजस्तै विश्वभरका दर्शकलाई अर्जेन्टिनी खेलाडीको खेलमा मन्त्रमुग्ध बनाउँदै आफूतिर आकर्षित गरेका छन् ।
रमाउने कसरी ? यो विशाल ब्रह्माण्डमा भएका मानिसहरूमा रमाउने तरिकाहरू अवश्य फरक फरक छ । को कसरी र कहिले रमाउँछ त्यो त मनोविदलाई पनि थाहा हुँदैन् । मान्छेको मन न हो, सानो झिल्कोले पनि पुलकित हुन सक्छ भने सानै झिल्कोले पनि विचलित बनाइहाल्छ । रमाउने कुरा कुनै गणित होइन जहाँ फर्मुला सिद्धान्तले काम गरोस् । रमाउने कुराहरू सधैँ स्थिर पनि हुँदैन, चलायमान रहन्छ । त्यसैले, आफू कहाँ र कसरी रमाइन्छ आफैँले पहिचान गर्ने हो ।
हामी मर्निङ वाकका सहयात्रीहरू बहुमुखी क्षेत्रमा आबद्ध भएका छौं । बसन्त बोहोराज्यू निर्माण क्षेत्रमा चाहिने सामग्रीहरूको उच्च तहको व्यापार गर्नुहुन्छ । डम्बर केसी, शिव बजगाइँ, नारायण पन्त, अशोक शर्मा र सुमन घिमिरे उच्च तहको शेयर कारोबारी हुनुहुन्छ । पवन घिमिरे बैङ्कर हुनुहुन्छ भने भरत भुसाल र म सेवा निवृत कर्मचारीहरू हौं । बहु क्षेत्रमा काम गरे पनि खुशी हुनका लागि ठूलो र मूल्यदार काम नै किन गर्नपर्ने रहेछ र ? हामीबीच सल्लाह भयो, फिफा विश्वकप २०२६ का गेमहरू दुई टिमको समर्थक भई हेर्ने, अनि जित्नेले केही गर्न नपर्ने तर हार्नेले बिहानको चिया कफीको पैसा तिर्ने भन्ने भयो । हामी सबै सहमत भयौँ । खेलसँगै हामी पनि रमाउँदै गयौं । हाम्रा मुर्झाउँदै गएका शरीर चलायमान हुँदै गए । रातको सन्नाटामा हाम्रा खुट्टाहरू आफैँ उचालिन्थे अनि बस्थे । यो खेलको वैकल्पिक खेलाडी आफैँ हो जस्तो गरी सतर्क बन्थ्यौं । कहिले किष्टियानो रोनाल्डोको आँशुसँगै नोस्टाल्जिक हुन्थ्यौँ भने कहिले लियोनल मेसीको दुर्लभ हाँसोसँगै मुस्कुराउँथ्यौँ । बिहान भालेको डाँकमै उठेर सहयात्रीसँग भेटेर फुटबलका छापहरू पस्किन हतार हुन्थ्यौं । हाम्रा लागि २०२६ को फिफा विश्वकप उत्कृष्ट र रोमान्टिक बन्यो । हामी त रमायौँ नै, हाम्रा वरपरका अन्य मित्रहरूलाई पनि रमाइलोमा सहभागी गरायौं । फुटबल महामेलाको एक महिना बितेको पत्तै भएन ।
जसै फिफा विश्वकपको फाइनलले ढोका उधार्यो, मध्यरातको सन्नाटामा अधैर्यका साथ एक उत्कृष्ट दर्शक बनेर अमेरिकाको न्यूजर्सीस्थित मेटलाइफ रंगशालामा भएको गेम हेर्न बस्यौं । बाहिर झमझम पानी परिरहेको भए पनि हामी भने गर्मीले असिनपसिन भएका थियौँ । खेल समाप्तिको अन्तिम सिठी बज्नासाथ विजयी स्पेनका खेलाडीहरू तछाडमछाड गर्दै मैदानमा छिरे । ती खेलाडीहरूका लागि जीवनकै एक उत्कृष्ट र अनुपम समय थियो । तर उपविजेता टिमका क्याप्टेन लियोनल मेसी भने नि:शब्द भएर मैदानको एक छेउमा गएर बसे । स्टेडियममा भएका उनका समर्थकहरूको ठूलो होहल्ला थियो तर मेसीका लागि यो पल शून्य थियो । अर्जेन्टिनाको जर्सीमा एक तारा थप्ने जादुगरको जादु आज चल्न सकेन । खेलभरीको उत्कृष्ट खेलका लागि गोल्डेन बल स्पेनी खेलाडी रोड्रीले प्राप्त गर्दा स्टेडियमबाट मेसी मेसी भन्ने आवाज गुञ्जिरहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट चाँदीको मेडल लगाएर केही अगाडी बढेर मेसी टोलाइरहे । जब उनका नयन सामुन्नेमा रहेको दर्शकहरूले स्टेडियमबाट उनको दश नम्बर अंङ्कित जर्सीसँगै रुँदै अर्जेन्टिनाको झण्डा फहराउँदै मेसी मेसी भन्दै गरेको दृश्यमा ठोकियो मेसीले आँखाबाट बरर आँशु खसाले । आँशु त यस अघि इङ्गल्यान्डसँग भएको सेमिफाइनलको गेम जितेपछि पनि खसालेका थिए तर त्यो आँशु र यो आँशु नितान्त फरक थियो । खेलाडीहरूलाई कति धेरै बोझ हुने रहेछ । जब उनले देशको झण्डा फहराउँदै रुँदै गरेको समर्थकहरूलाई देखे, अनायास सम्हालिँदै गरेको उनका आँखाबाट टपटप आँशु टप्किन थाल्यो । लाग्दथ्यो, खेल मैदानबाट बिदाई हुँदै गर्दा मेसीको आँशुले हजारौं शब्द बोलिरहेको छ । मेसीको बिदाइमा कुनै विवादमा थिएन, उनको विगतमा पनि कसैको गुनासो थिएन, उनको निष्ठामा कुनै कमी थिएन । फुटबल जगतमा उनले संसारलाई धेरै दिएका छन् ।
फाइनल गेम भन्दा अघिल्लो रात उनले इन्ट्राग्राममा लेखेका थिए, “भोलि हारजित जे पनि हुन सक्छ, हामीले फुटबलमा एउटा कथा लेखिसकेको छौँ, जसलाई हामी कहिल्यै भुल्ने छैनौं र यसलाई कसैले मेट्न सक्ने छैन ।” उनी लगायत उनका साथीहरू खेलकुद मैदानबाट बिस्तारै ड्रेसिङ रुममा छिर्दै गर्दा मलाई लाग्दैथ्यो, जादुमय युगको समाप्त भयो । अर्को फिफा विश्वकपमा पक्कै पनि मेरा आँखाले अर्जेन्टिनी मेसीलाई खोज्नेछ । उनीबिनाको अर्जेन्टिनी टिमलाई मैले समर्थन गर्छु कि गर्दिन होला ? कुन्नि !
सयौं चट्टानलाई एक्लै फोड्दै
हजारौं प्रहारसँग एक्लै लड्दै
एक सजीव मानवले मैदान छाड्यो
मैदानमा आफ्नो बिम्ब मात्र छाडेन
उसले त नयाँ युगको द्वीप बालेर छाड्यो ।

.png)
