साहित्यपोस्ट डट कम

निबन्ध : धुवाँभित्र हराएको वसन्त

निबन्ध : धुवाँभित्र हराएको वसन्त

हिउँदको कठ्याङ्ग्रिँदो चिसो र हिमपातलाई सहेर, जेनतेन ज्यान जोगाएका ती स–साना बुट्यानहरू जब वसन्तको न्यानोमा नयाँ पालुवा फेर्न खोज्छन्, ठीक त्यही बेला मानव निर्मित अग्निज्वालाले उनीहरूलाई घेर्न पुग्छ ।

सौम्य, शान्त र सन्तुलित वातावरण नभई पानी पर्ने याममा घाम लाग्दा । हिउँ पर्ने मौसममा सुक्खा खडेरी चल्दा बोटवनस्पतिको अस्तित्व समाप्त हुन्छ । जीवजन्तुको जीवनशैली पनि संकटमा पर्न थाल्छ ।

मेरा यी शब्दहरूमा एउटा गहिरो पीडा र प्रकृतिको चित्कार मिसिएको महसुस गर्छु । डढेलोले खाएको वनको त्यो वीभत्स दृश्यमा मृत वनको चित्कार र धुवाँभित्र हराएको वसन्त विरक्तलाग्दो छ । यस्तो दृश्य आँखाले देख्दा मन गह्रौँ भएर छटपटिँदोरहेछ ।

हिजोसम्म डाँफेका सुमधुर धुनहरू गुञ्जने त्यो वनको फेदमा आज चिसो मौनता र तातो खरानी बाँकी छ । वसन्तको आगमनसँगै पालुवा फेर्नुपर्ने रुखहरू आज आफ्नै अस्तित्व रक्षामा उभिएका छन् । जहाँ सिसौ र सालका शीतल छायाँहरूले बटुवालाई लठ्ठ पार्थे, आज त्यहाँ डढेको गन्धले सास फेर्न पनि कठिन बनाइदिएको छ । सुन्दर सपनाहरू कुहिएर झरेझैँ, सुनौला खरबारीहरू खरानीमा परिणत भएका छन् । प्रकृतिले आज कालो रङ ओढेकी छन् ।

धुवाँमा हराएको धर्ती आफैँ, एक्लै रोइरहेको जस्तै लाग्छ । तर उसको रोदन कसले सुन्ने ‘अरण्य रोदन’ मात्रै हो । त्यसैले प्रदूषित कुइरिमण्डल धुवाँले आकाश अहिले निलो छैन; यो त तुँवालोको एउटा बाक्लो पर्दाभित्र निसास्सिएको छ । नजिकैका पहाडहरू, चिनेका खेतबारीहरू र आफ्नै घरका आँगनहरू पनि कुहिरो जस्तै देखिने घातक धुवाँभित्र बिलाएका छन् । हामीले देख्ने अवसर गुमाएका मात्र होइनौँ, हामीले त स्वच्छ सास फेर्ने अधिकारसमेत गुमाउँदैछौँ ।

यसको मारमा रुख–बिरुवामा मात्र सीमित छैनन् । आगोका लप्काहरूमा जिउँदै जलेका ती पन्छीहरू, भाग्न नसकेर माटोमै विलीन भएका ती मृगहरू र खरानी बनेका लाखौँ मौरी, भँवरा, वनस्पतिहरूको लेखाजोखा कसले राख्ने ? प्रकृतिको यो रगतपसिना एकैछिनको लापरवाहीले इतिहास बनाएको छ ।

अन्ततः यसले संकटमा मानवीय स्वास्थ्य पु¥याइदिएको छ । त्यसैले डढेलोले वन मात्र जलाएको छैन, मानिसको स्वास्थ्यको जग पनि हल्लाइदिएको छ । हावामा मिसिएको त्यो विषाक्त कणले आँखा पोल्ने र आँसु झर्ने समस्या निम्त्याएको छ । घाँटी खसखसाउने र सास फेर्न गाह्रो हुने व्यथाले वृद्धवृद्धा र बालबालिका थला परेका छन् । टाउको दुख्ने र शरीर चिलाउने जस्ता समस्याहरूले हरेक घरका परिवारलाई विरामी बनाएको छ । अस्पताल धाउनुपर्ने अवस्था निम्तिएको छ ।

यो कुनै सामान्य विपत्ति होइन; यो त मानव जातिले आफ्नै खुट्टामा हानेको बन्चरो हो । आफ्नै शरीरमा लगाएको आगो हो । फलतः हाम्रो लापरवाहीका कारण प्रकृतिले मृत्युदण्डको सजाय भोग्नु परिरहेको छ । प्रकृतिको यो सजायको भागिदार हामी आफैँ पनि बनिरहेका छौँ ।

यतिबेला म आफैँलाई सोध्छु– ‘के यो डढेलो केवल एउटा प्राकृतिक संयोग हो ?’

फेरि आफैँलाई आफैँले सम्झाउँछु– ‘अँ हँ, यो कदापि होइन । यो त हाम्रो बेवास्ताको पराकाष्ठा हो । प्रकृतिको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनमा हाम्रो उदासीनता हो ।’

प्लास्टिकका थैलाहरू जताततै फ्याँक्ने हाम्रो बानी । यतिले पनि नपुगी त्यसलाई आगो लगाएर फोहोरलाई व्यवस्थापन गरियो भन्ने हाम्रो सोचाइ तर त्यसले नै वातावरणलाई कतिसम्म दूषित पारेको हुन्छ भन्ने कुरामा हामी अनभिज्ञ छौँ ।

बाटो हिँड्दा–हिँड्दै चुरोट खाने निहुमा सल्काइएको सलाईको काँटी । र, चुरोटको ठुटालाई निभाइवरी नफ्याँक्ने त्यो घातक लापरवाही । यस्ता सामान्य कुरामा हाम्रो व्यवहार परिवर्तन हुन नसक्दा प्रकृति जल्न, भस्म हुन र त्यसबाट वातावरणलाई नै नकारात्मक असर पार्ने काम भइरहेको छ ।

घामले त आगो जस्तै ताप दिन्छ, तर आगो त हाम्रो विवेकहीनताले झोस्ने गर्छ । एउटा सानो सलाईको काँटीले वर्षौंको परिश्रम र करोडौँ जीवको वासस्थान खरानी बनाइदिन सक्छ भन्ने सत्यलाई हामीले बिर्सियौँ ।

डढेको वन हेर्दा लाग्छ– प्रकृतिले सास फेर्न छाडिसकेकी छन् । तर अझै पनि समय घर्किसकेको छैन । यदि हामीले हाम्रा यी स–साना गल्तीहरू सुधारेनौँ भने, आउने पुस्ताले हरियो जंगल कथा र कवितामा मात्र भेट्नेछन् ।

खरानीको गन्धलाई फेरि फूलको बासनामा बदल्नु छ भने, हामीले सलाईको काँटी होइन, विवेकको दियो बाल्न जरुरी छ । प्रकृति बाँचे मात्र हामी बाँच्ने छौँ । नत्र, यो धुवाँले एकदिन हाम्रो अस्तित्व नै निलिदिनेछ ।

मेरो मनको स्मृतिमा रहेको त्यो धुमिल अतीत र वर्तमानको यो हृदयविदारक वास्तविकतालाई जोडेर हेर्छु । अझै मर्मस्पर्शी र चेतावनीमूलक जीवनशैलीमा सुधार नआएको देख्दा मन कटक्क दुख्छ । कतै घुम्न जाँदा डढेलोले बाटै छेकेको, गाउँघरतिर आगो फैलिँदै आउँदा कति गाउँलेको सात्तो गएको र कति ठाउँमा त गाउँ नै सखाप भएको समाचार सुन्नुपर्दा झन् दुःख लाग्छ ।

अन्ततः स्मृतिमा हराएको हरियाली र अस्तित्वको सङ्कट विगतको त्यो धमिलो ऐनामा हेर्न थाल्छु । म झल्याँस्स बाल्यकालका ती दिनहरू सम्झन्छु, जहाँ आकाश अहिलेको जस्तै मैलोधैलो तुँवालोले ढाकिन्थ्यो । त्यतिबेला लाग्थ्यो, यो त हिउँदे हुस्सु हो जो घाम लागेपछि बिलिन्छ । तर, ती त डढेलोका धुवाँले धमिलिएका क्षणहरू रहेछन्, जसले हाम्रो भविष्यलाई बिस्तारै अन्धकारतर्फ धकेलिरहेका थिए । आँखाले देख्ने दृश्यहरू कुइरोमा हराएझैँ हराउँथे, तर त्यसको पछाडि प्रकृतिको एउटा ठूलो हिस्सा जलिरहेको हुने कुराको बोध भने मलाई ढिला गरी मात्र भयो ।

कोपिलामै निमोठिएको वसन्तले पालुवा फेर्न पाउँदैन । त्यसले हरियाली फैलाउन सक्दैन । फुल्न र फल्ने अवसरबाट बञ्चित हुन्छ । सुगन्ध र सौन्दर्यको उपस्थितिमा कालोमुस्लो धुवाँ र उकुसमुकुस वातावरणले जीवन र प्रकृति छिया–छिया भइरहेको हुन्छ ।

हिउँदको कठ्याङ्ग्रिँदो चिसो र हिमपातलाई सहेर, जेनतेन ज्यान जोगाएका ती स–साना बुट्यानहरू जब वसन्तको न्यानोमा नयाँ पालुवा फेर्न खोज्छन्, ठीक त्यही बेला मानव निर्मित अग्निज्वालाले उनीहरूलाई घेर्न पुग्छ ।

भर्खरै कोपिला लाग्दै गरेका गुराँसका बोट डढेर जब कालो ठुटोमा परिणत हुन्छन्, तब लाग्छ– प्रकृतिले रगतका आँसु रोइरहेकी छन् । जुन डाँडामा राताम्मे गुराँस हाँस्नुपर्ने थियो, त्यहाँ आज डढेको कालो मुस्लो र मौनता नाचिरहेको छ । ती कोपिलाहरूले फुलिनसक्दै मृत्यु रोज्नुप¥यो । यो देख्दा मनमा एउटा नमीठो र रित्तो अनुभूति हुन्छ, जसको कल्पना मात्रले पनि हृदय टुक्रा–टुक्रा पार्छ ।

वास्तवमा वनस्पति मात्र होइन, अस्तित्व नै जलिरहेको छ । जंगल जल्दा बनजंगल मात्र जल्दैनन; त्यहाँ त हाम्रा सन्तानहरूको भविष्यको हरियाली, हामीले फेर्ने शुद्ध हावा र समग्र जीवनको लय नै खरानी भइरहेको हुन्छ । वनस्पतिहरू डढ्नु भनेको हाम्रो फोक्सोको एउटा हिस्सा जल्नु हो । यदि आज हामीले यो ‘डढेलोले खाएको वन’ लाई अन्तिम चेतावनीको रूपमा लिएनौँ भने, भोलि डढ्ने पालो हाम्रो अस्तित्वको हुनेछ ।

यदि यस्तै समय क्रम र बानी–व्यवहार यसरी नै चल्ने हो भने भविष्यमा आँखाले सित्तैमा पाउने त्यो हरियो रङ स्वच्छ अक्सिजन दन्त्यकथामा सीमित हुने निश्चित छ । फूल फुल्ने बोटहरू नरहेपछि न त चराको चिरबिर सुन्न पाइने छ, न त मौरीको भुन्भुन र पुतलीको उडान नै देख्न सकिने छ । बाँकी रहनेछ त केवल तातो हावा र उराठिलो धर्ती । सुख्खा जमीन र डढेका बोटबनस्पति र रोइरहेको प्रकृति–परिवेश !

यद्यपि यो डढेलो प्रकृतिको ‘नियति’ होइन, हाम्रो लापरवाहीको ‘उपज’ हो । डढेको वनले हामीलाई भनिरहेको छ– ‘म त जलिरहेछु, तर मेरो खरानीले तिमीलाई पनि बाँच्न दिने छैन ।’

त्यसैले, हराएको त्यो सुन्दर र सफा दृश्यलाई पुनः फर्काउन र कोपिला लाग्दै गरेका गुराँसहरूलाई बचाउन अब हामी आफैँ सचेत बन्नैपर्छ । प्रकृतिको यो रुवाइलाई नरोकिए, भोलि हामीसँग आँसु पुछ्ने ओतसमेत बाँकी रहने छैन ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.