साहित्यपोस्ट डट कम

निबन्ध : ढिँडोको माहात्म्य

निबन्ध : ढिँडोको माहात्म्य

उतिबेला ढिँडोको साथी गुन्द्रुक, सुकेको साग आदि यस्तै हुन्थ्यो । यदि छिमेकमा कसैको घरमा मोही पारेको छ भने मोहीसँग ढिँडो मुछेर खाँदा भने अलि रसिलो हुन्थ्यो ।

कोदोको ढिँडो खन्डेथालमा ! त्यो पनि खसीको मासुसँग! सुन्दै अनौठो लाग्ने है । तर आजकाल लाग्दैन । उहिले हाम्रो हजुरआमा भन्नु हुन्थ्यो: ढिँडो चुपचाप खानु तर भात थाल ढटाएर खानु । त्यतिबेला गाउँको प्राय: सबैको भान्सामा दिनहुँ पाक्ने भनेकै ढिँडो थियो । तैपनि ढिँडोलाई हेला गर्थे । म बुझ्दैनथेँ ढिँडोलाई यति धेरै हेला किन गरेको होला । नमिठो भएर हो भनौँ भने गुन्द्रुकको झोलमा पनि एक थाल ढिँडो जान्थ्यो । सजिलै प्राप्त हुने र सस्तो भएर भनौँ भने नेपालका कति भेगमा मकै र कोदोको उत्पादन नै हुँदैन थियो । अहिले त झनै हुँदैन । त्यही पिठोको रोटी बनाएर खाँदा इज्जत नजाने अनि पानीमा पकाएर खाँदा हेप्ने!

हेला नि कति सम्म भने नि हरेक दिन ड्याम्म पेट भर्न ढिँडो नै चाहिने भए पनि शुरुमा औसानी हाल्न र देउतालाई चढाउन भनेर एक गाँस र अन्तमा बिर्को लगाउन भनेर दुई चार गाँस भात त थालमा नभै नहुने । मलाई त्यतिबेला ढिँडो र छोरीहरू उस्तै लाग्थ्यो । प्राय: सबैका छोरी हुन्थे तर तिनीहरूलाई पनि ढिँडोलाई झैँ हेला गरिन्थ्यो । जसरी पेट भर्न हरेक दिन ढिँडो नै खानु पर्ने भए पनि चाड पर्वमा चामलको भात खाने चलन थियो त्यस्तै चार-पाँच जना छोरीहरू भए पनि बंस जोगाउन र स्वर्गको ढोका खोल्न छोरा नै खोज्दथे बा आमाले । छोराको जन्मलाई गर्वले प्रचार गर्थे भने छोरी जन्मदा शरम र दुख मान्थे । ढिँडो खानु गरिबीको पहिचान मानिन्थ्यो । सकेसम्म ढिँडो खाएको कुरा खुलेर गर्न कोही पनि चाहँदैनथे । ढिँडो खानेको घरमा छोरी नदेलान कि भन्ने पिरले होला । १५ गते नामक टेलीचलचित्रमा भान्चाबाट फ्याँकेको ढिँडोले छिमेकीको गाला पोलेपछि हरिबंशको आफ्नै लभरसँग बिहे हुन नसकेको हामीले हेरेकै हो ।

हामीले अलि ठुलो स्वरमा ढिँडोको चर्चा गर्यो भने हाम्री हजुरआमालाई पिर पर्थ्यो । “बाटोमा हिँड्नेले सुन्लान् कति भट्याको ” भनेर गाली गर्नु हुन्थ्यो । एउटै देशमा पहाडकाले ढिँडो खाने तर मधेसकाले भात । एउटै गाउँमा मुखियाले भात तर हलीले ढिँडो । अनि एउटै परिवारमा लोग्नेमान्छेलाई भात तर स्वास्नीमान्छेलाई चिसो ढिँडो । कतिसम्म पक्षपात त ल! त्यति मात्रै हो र! भात खान पहिले जागिर खानु पर्ने । ढिँडो र बेरोजगारको लागि त उखान नै छ नि ‘खायो ढिँडो हल्यो हिँड्यो ।’

छोरालाई पढ्न स्कूल पठाउने तर छोरीलाई घरधन्दा र मेलापात गर्न लगाए झैँ भातलाई मासु र दाल तर ढिँडोलाई भने गुन्द्रुकको झोल र सिस्नोको तरकारीमा टार्ने चलन थियो । भातलाई चरेसको थाल वा स्टिलको खन्डेथाल तर ढिँडोलाई सिलभरको थाल । जब जब म कोदोको ढिँडो खान थाल्छु तब हजुरबाले भनेको सम्झन्छु । उहाँ भन्नु हुन्थ्यो कोदो कुअन्न हो । उहाँले त सायद कोदो कहिले मुखमा हाल्नु भएन होला । भोज भत्तेरमा नपाक्ने अनि श्राद्धको पिन्डो पनि नबाटरिने ढिँडोलाई आजकल इज्जत र सम्मान दिन थालिएको छ । भात भए त खुर्सानीसङ्ग नि बाजा बजाएर लिन आउँछ भन्नेहरू अहिले भान्चामा ढिँडो मस्काइरहेका भेटिन्छन् । नेपाल गएको बेलामा लौ जाउँ बाहिर कतै रेस्टुरेन्टतिर खान भन्यो भने बहुमतले ढिँडो र माछाकै झोलकोलागि प्रख्यात रेस्टुरेन्ट रोज्दछन् ।

उबेला म आफैलाई ढिँडो खानु पर्दा दुख पाए जस्तो लाग्थ्यो । भातको आस लागि रहन्थ्यो । हामीले अहिले ढिँडो थरि थरिका तरकारी, माछा, मासु , दुध र दहीको साथमा ज्युनार गर्न पाएका छौँ र पो यति धेरै तारिफ गरेका छौँ । रातोदिन प्याज र खुर्सानीको टुक्रासँग निस्तो ढिँडोको डल्लो कुप्लुक्क निल्नु पर्ने व्यक्तिहरूलाई सोध्नु पर्छ ढिँडो खानुको पिडा । एकदिन नेपालका सुपरस्टार राजेस हमाल “हेर्ने कथा” भन्ने कार्यक्रम मार्फत एउटा पिछडिएको गाउँमा पुगेका थिए । त्यहाँ एकजना नानीले हरेक दिन ढिँडो खानु परेको पिरलो पोखेपछि राजेस हमालले भात भन्दा त ढिँडो जाती र मिठो हुन्छ नि भनेर सम्झाउन खोजेका थिए । तर उन्लाई त्यो कुरो चित्त बुझेन । उन्ले भनिन्, “होइन खान पाए त भात नै मिठो र हितकर हुन्छ ।”

उतिबेला ढिँडोको साथी गुन्द्रुक, सुकेको साग आदि यस्तै हुन्थ्यो । यदि छिमेकमा कसैको घरमा मोही पारेको छ भने मोहीसँग ढिँडो मुछेर खाँदा भने अलि रसिलो हुन्थ्यो । त्यही मोही पनि अहिले हामीले वालमार्ट र पबलिक्समा किन्ने बटरमिल्क (मोही) जस्तो बाक्लो र मिठो कहाँ हुन्थ्यो र! हरेकदिन कुँडेमा उमालेको दुधको तर र बचेको एक डाडु दुधलाई ठेकीमा जमाउदै जाने चलन थियो । ठेकी भरिन एक हप्तासम्म लाग्थ्यो त्यसैले दही अमिलो र तितो भैसक्थ्यो । त्यही एक ठेकी दहीलाई घारघुर पारेर नौनी निकालेपछि बाँकी रहेको मोहीमा पानी थपेर पातलो बनाउनु हुन्थ्यो आमाहरूले । खलकभरि भाग पुर्याउनु जो थियो । ढिँडोको अर्को साथी हुन्थ्यो कालतोरीको साग । कालतोरीको साग आफैमा तितो अनि कसरी छिरोस ढिँडो त्योसँग घाँटीबाट! रायो र चमसुरको साग र फर्सीको तरकारी, दही आदि मिलेको दिन मात्र मलाई ढिँडो खाद्द्यन्न हो जस्तो लाग्थ्यो । सालमा मुस्किलले दुई तिन पटक घरमा मासु पक्थ्यो । तर मासु पाकेको दिनमा घरमा सधैँ भातै पाक्थ्यो । फेरि हामी केटाकेटीलाई जिब्रो बाढो हुन्छ भनेर बाले अचार पनि खान नदिने । त्यसैले पनि सानोमा खासमा मेरो ढिँडोसँग राम्रो मित्रता बसेन ।

आजकल उल्टो भएको छ । ढिँडो मिठो र पकाउन छिटो लाग्न थालेको छ । घिउ हालेर पकाएपछि र माछा वा खसीको मासुको झोलसँग चोपेर खान पाउने भएपछि ढिँडोको स्वाद पनि किन न फेरियोस त । ढिँडो खाएको कुरा लुकाउन भन्दा बताउन रमाइलो र गर्ब लाग्छ । बुढ्यौलीतिर लागेर हो कि पुगिसरी आएर हो कुन्नी आजकल त्यही कालतोरी र सुपको साग वा गुन्द्रुकको झोलसँग पनि एक प्लेट ढिँडो त सजिलै जान्छ हो । क्याटफिसको टाउकाको झोल र ट्वाक्क पिरो गोलभेँडाको अचार अनि सानो कचौरामा दही राखिदिएपछि ढिँडोको नाम सुन्दा नै नाक खुमच्याउने श्रीमतीजी पनि “मलाई एक गाँस ढिँडो है बुढा” भन्छिन् । डाक्टरहरूले चामल भन्दा पिठो बढि स्वस्थकर हुन्छ भन्दिएकोले नेपालदेखि बिदेशसम्म नेपालीहरूको भान्चामा यसले गतिलो ठाउँ पाएको छ । हिजो ढिँडोकै कारणले बोलचाल बन्द भएका छिमेकी आज ढिँडै खान एक ठाउँमा जम्मा हुन थालेका छन् ।

मलाई लाग्छ- हामी आफुले उपभोग गर्ने र गरिआएका बस्तुहरूको हामी आफैले सम्मान गरेनौँ भने अरूबाट त झन् त्यसको आसा गर्नु बेकार छ । चाहे त्यो भात होस वा ढिँडो, मकै होस वा कोदो, दाल होस वा गुन्द्रुक – हामीले खाइरहेका छौँ भने त्यसमा भेदभाव किन गर्ने । त्यसैले म त पाहुना आउँदा, पार्टीमा, पुजामा, बर्तमा, श्राद्धमा भात चल्छ भने ढिँडो चलाउन किन नहुने भन्छु ।

आजकाल यो ढिँडो खाने चलन बढेकोले होला जातभात भन्ने कुरा पनि घट्दै गएको छ । हुन त जातभात छुट्याउने चलन गएकोले पनि ढिँडोको महत्व बढेको हुन सक्छ । यो जात त भातसँग जोडिएको रहेछ नि । जातभात भने झैँ जातढिँडो त कल्ले भन्छ र! फेरि यो भात मोरो त संसारका सबै मानिसले खाँदा रहेछन् नि । तर ढिँडो त हाम्रो मौलीक र अलौकिक परिकार हो भनेर गर्ब गर्न पाइएको छ । कि कसो?

ए ला! यता ढिँडोको माहात्म्य बयान गर्दै गर्दा उता चुलोमा ढिँडोको पानी भुकलुक भुकलुक उम्लिसकेछ । ल लागेँ म ढिँडो मस्काउन । आजलाई यति नै ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.