बागमती गाउँपालिका र महाङ्काल गाउँपालिकामा फैलिएको माझखण्ड–रमिते–चमेरे गुफा–कालेश्वर क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण यी चार महत्त्वपूर्ण स्थललाई पदमार्गमार्फत जोड्ने अवधारणा छ । ग्रामीण पर्यटनको नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ । काठमाडौँ उपत्यकाबाट निकटमा रहेको यो गन्तव्य उपत्यकाको कोलाहालपूर्ण वातावरण त्यागेर ग्रामीण जनजीवनमा घुलमिल गर्न उत्कृष्ट हुन्छ । काठमाडौँ उपत्यकाका चार भञ्ज्याङमध्ये दक्षिणतिरको तीनपाने भञ्ज्याङभन्दा बाहिरको यो पदयात्रा सम्झनालायक बन्छ ।
प्रस्तावित पदमार्गले माझखण्ड, रमिते, चमेरे गुफा र कालेश्वर मन्दिरलाई एउटै पर्यटकीय परिपथमा समेट्ने लक्ष्य लिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना, होमस्टे प्रवर्धन, संस्कृति संरक्षण र आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास गरिएको छ । रमिते यो क्षेत्रकै अग्लो भूस्थल हो । रमितेको एकै ठाउँबाट सगरमाथा हिमालय शृङ्खला, काठमाडौँ उपत्यका र तराई मधेशसँगै भारतको रक्सौल क्षेत्रसमेत देख्न सकिन्छ । उत्तरका सेता हिमालको मनोरम दृश्यसँगै महाभारत पर्वत शृङ्खलाको पहाडी भूभाग र तराईको समथर भूमिको दृश्यले यहाँ पुग्ने जो कोहीको मन पुलकित बनाउँछ ।
माझखण्ड धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल मानिन्छ । हिन्दू धर्मग्रन्थमा वर्णित कथाअनुसार यो क्षेत्र दक्ष प्रजापतिको यज्ञस्थलसँग सम्बन्धित रहेको छ । यही पौराणिक प्रसङ्सँग जोडेर यहाँ महरुद्रेश्वर महादेवको महिमा स्थापित भएको मानिन्छ । यसका साथै माझखण्ड बौद्ध विहारले बौद्ध शिक्षा, ध्यान तथा आध्यात्मिक अभ्यासको केन्द्रका रूपमा पनि परिचय बनाएको छ, जहाँ स्वदेशी मात्र नभई विदेशी साधकसमेत आउने गरेका छन् । कुनै कल्पमा माझखण्डमा देवाधिदेव महादेवले रौद्ररुप धारण गरेका थिए । त्यसैले यहाँका महादेव रौद्रेश्वर अर्थात् रुद्रेश्वर नामले विराजमान भएको मानिन्छ । शास्त्रमा वर्णित दक्ष प्रजापतिको महायज्ञस्थलका यथेष्ट प्रमाण यहाँ छन् । सतीदेवीले पिता दक्ष प्रजापतिको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण आहुती गरेपछि महादेव यहाँ स्वयम् प्रकट भई रौद्ररूप धारण गरेका थिए । यज्ञ विध्वंश गर्दै दक्षको शिर छेदन गरेको शास्त्रमा वर्णित छ । यो त्यही स्थल हो भन्ने स्थलगत अवशेष र शास्त्रीय प्रमाणका तथ्य छन् । त्यसपछि महादेव क्रोधित भई सतीदेवीको मृत शरीर यज्ञकुण्डबाट बोकी पृथ्वी पराक्रममा हिँडेका थिए । यही शास्त्रीय मान्यताका आधारमा माझखण्ड परिचित छ ।
यही वर्णनअनुसार नै पुण्यभूमि माझखण्डमा शिव र पार्वतीको जोडा शीला अदभूत शक्तिपीठको रूपमा रहेको धर्मगुरूहरू बताउँछन् । “शिवपाञ्चायनका साक्षत रूप एकै शिलामा सँगै छन् । शिव, पार्वती, गणेश, सूर्य र विष्णुका प्राकृतिक शीला एकैस्थलमा विराजमान हुनु दुर्लभ हो ।”–महेश संस्कृत आश्रम देवघाटधामका पीठाधीश १००८ स्वामी रमणानन्द गिरीले भन्नुभयो । यही ऐतिहासिक र पौराणिक विशिष्टताकै कारणले रुद्रेश्वर मात्रै होइनन् महारुद्रेश्वर भनिनुपर्छ भन्ने धार्मिक अध्येता गुरुहरूको मत छ । महारुद्रेश्वरको वरिपरि गौरीकुण्ड, ऋषिखल, भद्रकालीगुफा, भैरवस्थान, देवीस्थानजस्ता ऐतिहासिक स्थल हुनु थप दृष्टान्त भएको उहाँहरूको भनाइ छ ।
रमिते यस क्षेत्रकै उत्कृष्ट दृश्यावलोकन स्थल हो । यहाँबाट हिमाल, महाभारत पर्वत शृङ्खला, काठमाडौँ उपत्यका तथा तराईका फाँटसम्म एकै स्थानबाट अवलोकन गर्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यका कारण रमिते पर्यटकका लागि विशेष आकर्षण बन्न सक्ने सम्भावना रहेको प्रस्तावमा उल्लेख गरिएको छ । रमितिबाट गाउँहरू हवाइजहाजबाट देखिएझैँ तलतल देखिन्छन् । जाँदा बाटामा भेटिएका बडेमानका घरहरू पनि रमितिबाट मसिना देखिन्छन् । यहाँको जैविक विविधताले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । वनमा पाइने मौसम अनुसारका फलफूलले पर्यटकलाई स्वागत गरिरहेको भान हुन्छ । यहाँको वनमा डाँडैपिच्छे र खोँचहरूमा भेटिने चराचुरुङ्गी र वन्यजन्तु तथा पर्यटकबिचको लुकामारी वर्णन गर्नै नसकिने किसिमको हुन्छ । कतैकतै जम्काभेट हुँदा दुवै डराउने त कतैकतै मुकाविला गर्नुपर्ने अवस्थासमेत सिर्जना हुन्छ । कोइलीको कुहुकुहु मात्रै हौइन स्यालको हाइहाइ र हुइहुइले वनै सङ्गीतमय बन्न पुग्छ ।
गिम्दीस्थित चमेरे गुफा जैविक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण सम्पदा हो । हजारौँ चमेराको बासस्थान रहेको यो गुफा अनुसन्धान, अध्ययन तथा साहसिक पर्यटनका लागि उपयुक्त मानिएको छ । गुफाभित्रको रहस्यमय वातावरण र प्राकृतिक संरचनाले पर्यटकलाई थप आकर्षित गर्ने विश्वास गरिएको छ । गुफा र वरपरको वातावरणमा जो कोही केही घण्टाका लागि हराउन पुग्छ । आफूलाई त्यतै कतै समर्पण गर्न पुग्छ । तुन्द्रुङ्ग झुण्डेका चमेराको चर्तिकला हेर्दैमा समय बितेकै पत्तो हुँदैन ।
त्यसैगरी, कालेश्वर महादेव मन्दिर धार्मिक आस्थाको प्रमुख केन्द्र हो । स्थानीय किंवदन्तीअनुसार सतीदेवीसँग सम्बन्धित पौराणिक घटनासँग यो स्थान जोडिएको मानिन्छ । यस कारण वर्षौंदेखि हजारौँ भक्तजन यहाँ दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन् । गोटीखेलमा रहेको वैतरणीधामबाट कालमोचनले कालेश्वरमा चोखो जल लगेर नित्य पूजा गर्ने गरेको र बाटोमा पर्ने चन्दन ढुङ्गोमा चन्दन घोट्ने गरेको किंवदन्ती छ । यहाँको चन्दन ढुङ्गो अपत्यारिलो तरिकाले अडेको छ । जुन पर्यटकका लागि अदभूत बन्न सक्छ । सानो आधारमा ठूलो ढुङ्गो अडेको छ । पृथ्वीमा आएका धेरै विपत्तिको साक्षी यो ढुङ्गोले १९९० र २०७२ सालमा आएका विनाशकारी भुइँचालोलाई फिसै मानेन । कालेश्वर मन्दिर प्याङ्गाउँलेहरूको कुल देवता पनि भएकाले चापागाउँको प्याङ्गाउँबाट महर्जनहरूको आउजाउ बाक्लो हुने गर्दछ । अन्यत्रका धर्मावलम्बीहरूको पनि कालेश्वरमा भीड लाग्ने गर्दछ । विशेषगरी साउन र माघ तथा सोमबारहरूमा यहाँको शिवालयमा भक्तजनको घुँइचो लाग्ने गर्दछ । यहाँबाट नजिकै पर्ने कालेश्वरको लुङ्गतोङ गुम्बा, मानिखेलको सिम्बा झरनाले पनि पर्यटकको प्रतीक्षा गरिरहेको भान हुन्छ ।
प्रस्तावित परियोजनाअन्तर्गत नयाँ पदमार्ग निर्माण, विश्रामस्थल र चौतारा निर्माण, सूचना तथा सङ्केत बोर्ड स्थापना, वातावरणमैत्री पूर्वाधार विकास, फोहोर व्यवस्थापन, शौचालय निर्माण, स्थानीय स्रोत–साधनको उपयोग तथा स्थानीय गाइड र होमस्टे सञ्चालकलाई तालिम दिने योजना समावेश गरिएको छ । यसबाट पदयात्रा सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बन्ने अपेक्षा गरिएको छ । यस योजनाबाट स्थानीय बासिन्दा, होमस्टे सञ्चालक, व्यवसायी, विद्यार्थी, अनुसन्धानकर्ता तथा स्वदेशी–विदेशी पर्यटक प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । परियोजना कार्यान्वयनपछि पर्यटक आगमन वृद्धि, ग्रामीण अर्थतन्त्र सुदृढीकरण, स्वरोजगार विस्तार तथा धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
धार्मिक आस्था, प्राकृतिक सम्पदा र ग्रामीण जीवनशैलीलाई एउटै पर्यटकीय शृङ्खलामा जोड्ने माझखण्ड–कालेश्वर पदमार्गको अवधारणा सफल कार्यान्वयन हुन सके ललितपुरको दक्षिण भेगलाई नेपालको आकर्षक धार्मिक तथा पर्यावरणीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण आधार बन्न सक्छ । बन्दै गरेको यहाँको पदमार्ग बन्नु अगाडि कस्तो थियो भन्ने इतिहास राख्न पनि एकपटक घुम्न जाने होइन ? बुझ्न र बझाउन माझखण्ड–रमिते–चमेरे गुफा–कालेश्वरको यात्रामा निस्कौँ ।


