“नमस्ते ज्योतिकिरण जी ! कता जान लाग्नुभो ?”
पूर्वी नेपालको एउटा सानो तर जीवन्त शहर हो चारआली । जहाँ चारवटा बाटा एकआपसमा अँगालो हाल्न आइपुग्छन् । त्यही चौबाटोको एउटा कुनामा रहेको चिया पसलको बाफिँदै गरेको गिलास हातमा लिएर म उभिइरहेको थिएँ । मेरो नाम ज्योतिकिरण, तर त्यस क्षण आफैँभित्र कतै अँध्यारो गल्लीमा हराएझैँ टोलाइरहेको थिएँ । एउटा परिचित आवाजले मेरो तन्द्रा भङ्ग गरिदियो । उनी मेरा मित्र कृष्ण सिग्देल जी थिए । चिया पसलको त्यो चिसो बेन्चमा बसेर उनले सोधेको प्रश्न सामान्य थियो तर मेरो मनको गहिराइमा त्यसले ठुलो तरङ्ग पैदा गरिदियो । मैले चिया सुरुप्प पार्दै जवाफ दिएँ, “यो चारआलीको चोकमा उभिएर हेर्दा लाग्छ कृष्ण जी, यी चारैतिर फैलिएका बाटा मेरा जीवनका विकल्पहरू हुन् । तर म कुन बाटो रोजूँ, आफैँ अल्मलिएको छु ।”
उनले हाँस्दै भने, “बाटो त जता गए पनि पुगिहालिन्छ नि, आखिर सबै बाटोको अन्त्य कतै न कतै त हुन्छ नै ।”
“हो !” मैले थपेँ, “तर समस्या पुग्नुमा होइन कृष्ण जी, यात्राको सार्थकतामा छ । एउटा बाटोले विगततिर लैजान्छ, अर्कोले अनिश्चित भविष्यतिर । एउटा बाटोले जिम्मेवारीको भारी बोकाउँछ भने अर्कोले स्वतन्त्रताको आकाश देखाउँछ । म त यो चौबाटोमा उभिएको त्यो बटुवा हुँ, जोसँग गन्तव्यको नक्सा त छ, तर दिशा छुट्याउने सुइरो बिग्रेको छ ।” “साहित्यकारसँग बोल्नचाहिँ धेरै गार्हो” भन्दै गज्जबले हासे कृष्ण जी ! हामी हाँस्ने चर्को तरिकाले अरुलाई पनि रुचि जगायो । मेरो हातमा सानो झोला भएकैले होला टिका जी, भोजराज जी, मोहन दाई, कुमार काका, अनुप र अर्जुन जी को पनि त्यही जिज्ञासा थियो “कता टाढै हो ज्योतिकिरण जी ?”
‘ज्योतिकिरण’ एउटा यस्तो नाम जसको अर्थ नै ‘प्रकाशको झुल्को’ हुन्छ, र चारआली जस्तो नामैले सङ्गम बुझाउने ठाउँ र परिवेश निकै दार्शनिक र सुन्दर पनि लाग्छ मलाई । जीवन आफैँमा एउटा चौबाटो हो, जहाँ हामी हरेक मोडमा ‘कता जाने ?’ भन्ने प्रश्नसँग जुधिरहेका हुन्छौँ । मेरो जीवन पनि ठ्याक्कै यो चारआली जस्तै छ । कहिलेकाहीँ लाग्छ, म जन्मँदै एउटा चौबाटोमा उभिएर आएको हुँ । विश्व इतिहासका महापुरुषहरूको सफलतामा लुकेको कथा पनि उनीहरूले चौबाटोमा लिएको साहसी निर्णय नै हो । आफ्नै कम्पनीबाट निकालिएपछि स्टिभ जब्स एउटा भयानक चौबाटोमा थिए । एकातिर अपमान सहेर हराउने विकल्प थियो, अर्कोतिर शून्यबाट शुरु गर्ने जोखिम । उनले शुरुवातकर्ताको हल्कापन रोजे, जसले पछि ‘पिक्सार’ र ‘नेक्स्ट’ मार्फत् प्रविधि जगतलाई नै पुनर्जन्म दियो । २७ वर्षको जेल जीवनपछि नेल्सन मण्डेला सामु दुई बाटा थिए । एउटा प्रतिशोधको बाटो र अर्को क्षमाको । उनले क्षमाको त्यो कठिन चौबाटो रोजे, जसले दक्षिण अफ्रिकालाई मात्र होइन, पूरै विश्वलाई मानवताको नयाँ पाठ पढायो । अल्बर्ट आइन्स्टाइनले यदि सुरक्षित शैक्षिक करियरको चौबाटो रोजेका भए, संसारले E = mc2 को क्रान्ति पाउने थिएन । उनले प्याटेन्ट अफिसको एउटा सामान्य जागिरमा रहेर पनि ब्रह्माण्डको रहस्य सुल्झाउने अप्ठ्यारो बाटो रोजे । चौबाटोमा उनले भीडलाई होइन, आफ्नो कौतुहलतालाई पछ्याए ।
संयोगवश म चौबाटो भएको चारआली नामको सानो सहरको स्थानीय बासिन्दा हुँ । यो सहरको चौबाटोमा उभिएको मलाई आज मानिसहरू सोधिरहेका छन् — “कता जाने ?” तर उनीहरूलाई के थाहा, चौबाटोमा उभिनुको अर्थ केवल भौतिकता वा कतै एकतिर जानु मात्र होइन, बरु सबैतिर जाने महान् सम्भावनालाई जीवित राख्नु पनि हो । अहिले म चारआलीको यो चौबाटोबाट विश्वका महामानवहरूले अँगालेको त्यो चौबाटो हेरिरहेको छु जसले दुनियाँ बदल्ने चौबाटो हिँड्न सिकाएका छन् । जीवन एउटा निरन्तरको यात्रा हो र यो यात्रामा हामी पटक-पटक एउटा यस्तो बिन्दुमा आइपुग्छौँ, जहाँबाट बाटाहरू बाँडिन्छन् । नेपाली शब्दकोशमा ‘चौबाटो’ को अर्थ चारवटा बाटाहरू जोडिने ठाउँ मात्र होला तर जीवनको दर्शनमा यो एउटा यस्तो निर्णायक क्षण हो, जहाँ मानिसको साहस, सपना र गन्तव्यको अग्निपरीक्षा हुन्छ । म त्यही अग्निपरीक्षामा पनि छु । म जान्दछु हरेक सफल व्यक्तिको कथा एउटा सुनसान चौबाटोबाट शुरु हुन्छ । एकातिर सजिलो र हिँडिसकेको बाटो हुन्छ, जहाँ भिड छ, सुरक्षा छ तर आफ्नो मौलिकता हराउने डर हुन्छ । अर्कोतिर अनकन्टार र भिरालो बाटो हुन सक्छ, जहाँ जोखिम छ तर शिखरमा पुग्ने सम्भावना पनि छ । मलाई थाह छ चौबाटोमा उभिएको मानिस सधैं एक्लो हुन्छ । त्यहाँ न त अतीतको सहारा हुन्छ, न भविष्यको सुनिश्चितता । त्यहाँ हुन्छ त केवल वर्तमानको ढुकढुकी र निर्णयको भारी । विश्वका महान् आविष्कारक हुन् वा सफल उद्यमी, उनीहरूले त्यही चौबाटोमा उभिएर लोकप्रिय बाटोलाई त्यागी ‘उद्देश्यमूलक’ बाटो रोज्ने हिम्मत गरेका थिए । गरिबी र असफलताको चरम बिन्दुमा उभिएकी एक महिला जे.के.रोलिङ, जसको अगाडि हार मान्ने सजिलो विकल्प थियो । तर उनले आफ्नो कल्पनाको बाटो रोजिन् र ‘ह्यारी पोर्टर’ जस्तो जादुई संसार सिर्जना गरिन् । यस्तो देख्दा मलाई लाग्छ कहाँ जान सकिँदैन र यो चौबाटोबाट ? कति विशाल छ म उभिएको यो चौबाटो ?
यस्तो लाग्छ चौबाटोले हामी सबैलाई सोधिरहेको छ, के तिमी आफ्नो परिचय बदल्न तयार छौ ? धेरै मानिसहरू छनोटको छटपटीका कारण चौबाटोमै जड भएर बस्छन् । तर चरा तब मात्र आकाशको हुन्छ जब उसले गुँडको सुरक्षा छोडेर शून्यमा पखेटा फिँजाउने निर्णय गर्छ । सङ्घर्ष बाटोमा हुँदैन, सङ्घर्ष त बाटो रोज्नुअघिको मानसिक द्वन्द्वमा हुन्छ । जब पाइला अगाडि बढ्छ, तब अनकन्टार जङ्गलले पनि मार्ग प्रदर्शन गर्न थाल्छ । जब हामी चौबाटोबाट एउटा दिशा रोज्छौँ, सङ्घर्ष शुरु हुन्छ । धेरैलाई लाग्छ कि चौबाटो पार गरेपछि गन्तव्य नजिकै छ तर यथार्थमा, चौबाटो त केवल प्रतिबद्धताको शुरुवात हो । सपनाका यात्रीहरूका लागि चौबाटो एउटा ऐना हो । चारआली चोकको यो चौबाटोबाट मेरो दाबी छ कि आजको विश्वमा हामी सबै फरक भूगोलमा भए पनि एउटै ‘वैश्विक चौबाटो’मा छौँ । प्रविधि, जलवायु परिवर्तन, र मानवीय सम्बन्धका नयाँ आयामहरूले हामीलाई नयाँ मोडमा उभ्याइदिएका छन् । एउटा तन्नेरी जो न्युयोर्कको गल्तीमा आफ्नो भविष्य खोज्दैछ, र अर्को जो नेपालको पहाडमा उद्यमको सपना देख्दैछ, उनीहरूको मनोदशा एउटै हो । सफल मानिसहरू ती हुन् जसले चौबाटोलाई अप्ठ्यारो होइन, अवसर मान्छन् । उनीहरूलाई थाहा छ कि हरेक मोडले नयाँ क्षितिज उघार्छ । त्यसैले यात्राको सुन्दरता कतै पुग्नुमा मात्र होइन बरु चौबाटोमा उभिएर सही दिशा रोज्न सक्ने आत्मविश्वासमा लुकेको हुन्छ । चौबाटो कुनै अन्योल होइन, यो त सम्भावनाको उत्सव रहेछ । यदि बाटो रोज्दा गल्ती भयो भने पनि चिन्ता नगर्नुहोस्, किनकि एउटा गलत बाटोले दिएको अनुभवले अर्को चौबाटोमा तपाईंलाई ‘द्रष्टा’ अवश्य बनाउने छ । जीवनको सुन्दरता चौबाटो पार गरेर पुगिने मन्दिरमा मात्र छैन, बरु त्यो चौबाटोमा उभिएर हावाको झोक्कासँगै आफ्नै अस्तित्वलाई नियाल्नुमा छ । म यो चौबाटोमा उभिएर आज त्यही अस्तित्व नियालिरहेको छु ।
मानिसहरू सोध्छन्— “कता जाने ?” तर उनीहरूलाई के थाहा, चौबाटोमा उभिनुको अर्थ निश्चित एक तर्फ कतै जानु मात्र होइन, बरु सबैतिर जाने सम्भावनालाई जीवित राख्नु पनि हो । चारआलीको यो चोकमा उभिएर हेर्दा आज मलाई आफ्नै जिन्दगी एउटा सुन्दर दोभान जस्तो लागेको छ । मित्रले सोधेको “कता जाने ?” भन्ने प्रश्नको उत्तर मसँग कहिल्यै हुँदैन होला, किनकि म यात्रा गर्न रुचाउँछु, पुग्न होइन । मेरो जिन्दगीको चौबाटोमा म सधैँ यसरी नै उभिइरहनेछु—हातमा चियाको गिलास, आँखामा सपनाको ‘किरण’ र मनमा ‘ज्योति’ बोकेर । आखिर जिन्दगी भनेकै सही बाटो रोज्नु मात्र कहाँ हो र ? यो त अलमलमै रमाउँदै अघि बढ्नुको नाम पनि पो हो रहेछ ।

