बिहान उठ्दा उठ्दै दिमाग घडीभन्दा १० मिनेट पछाडि नै रहेको आभास भयो । लाग्यो मेरो बुद्धि बिहानै उठेर कतै घुम्न गएछ । अनि ओछ्यानमै पल्टिरहेर सोच्न थालेँ मैले, “के म साँच्चै बुद्धिमान छु कि बुद्धि हराइसकेको छ ?”
बुद्धि बस्ने ठाउँमा प्रश्न उत्तर चल्न थाले । प्रश्नको ओइरो बीच बुद्धिले “अहिले म अफलाइन छु, कृपया केही समयपछि प्रयास गर्नुहोस्” भनेर जवाफ फर्काइदियो । कैयौँ प्रश्नहरू उत्तर नपाई फर्किए, पछि प्रयास हुने आशामा । अनि, यो बुद्धि भन्ने चीज कता जान्छ ? किन जान्छ ? अनि गएपछि फर्केर आउँछ कि त्यहीँ हराउँछ ? यी सबै प्रश्नको उत्तर खोज्न मैले एकछिन दिमागी टेलिफोन घुमाए, तर बुद्धि बिनाको दिमागले तुरुन्तै रिसिभर राखिदियो ।
पहिला पहिला त हरेक निर्णय सोचविचार गरेर लिइन्थ्यो । “साँझ के खाने ?” भन्ने कुरा पाँच मिनेट सोचेर मात्र निर्णय गरिन्थ्यो । तर अहिले ‘बुद्धि घुम्न गएको’ बेला सिधै पेटलाई सोधिन्छ, “के खाऊँ ?” पेटले ‘जे छ खा’ भन्छ, अनि हात गोडा आफैँ काम गर्न थाल्छन् । के निर्णय लिइरहेको छु भनेर पत्तो नै हुँदैन । यत्तिकैमा, दिमागले एउटा शङ्का उत्पन्न गर्यो, “तेरो बुद्धि साँच्चिकै हरायो कि तँ अहिले बेकामे मान्छे भएकै कारण यस्तो महसूस गर्दै छस् ?” यस्तो प्रश्न सुनेर म झन् झस्किएँ । प्रश्नहरूको जन्जालमा आफ्नो बुद्धि हराएको हो वा बुद्धि हराएर प्रश्नहरूको जन्जाल फैलिएको हो, छुट्टाउन गाह्रो भयो मलाई ।
हुन पनि बुद्धि हराएको जस्तो लागेको मलाई पहिलो चोटि भने होइन । बेला बेला मेरो शरीरले गर्ने हर्कतहरू हेर्दा बुद्धि हराएको यकिन गर्न पनि त्यति अप्ठ्यारो नपर्ने आफ्नै वरिपरि बस्ने बुद्धिमानहरू भन्ने गर्छन् । कहिलेकाहीँ आफूलाई पनि बुद्धिमान सम्झिएर काम गर्ने ठाउँमा पुग्दा समस्याको थुप्रो आइपुग्छ । ‘टिम मिटिङ’ नामको एउटा अचम्मको चलन चलेको सबैलाई थाहा भएकै कुरा हो । यो मिटिङमा प्रायः कसैको बुद्धिको उपयोग हुँदैन । पाँच घण्टा चलेको मिटिङपछि निष्कर्ष निस्कन्छ, ‘अर्को मिटिङ अब फलानो दिन बस्ने ।’ यस्तो मिटिङका कारण मेरो बुद्धिले कुनै दिन सामूहिक आत्महत्या गर्न बेर छैन । आफ्नो फ्रस्ट्रेसनले आफै भुटभुटिएको बेला अफिसको सेक्युरिटी गार्डले भन्छ, “बुद्धि नभएको मान्छे पनि किन अफिस आएको होला !”
अब यो समस्या कसरी भयो भन्नेमा मैले गहिरिएर सोच्न खोजेँ, तर समस्या नै त्यहीँ थियो सोच्ने काम गर्नु, त्यो पनि सोच्ने कुरा नै हराएको बेला । कस्तो विडम्बना ! हाम्रो बुद्धि भन्ने चीज पनि कति लापता हुने रहेछ भन्ने पहिलो पटक बुझेँ । फेसबुक खोल्दा साथीहरूले पोस्ट गरेका दर्शनहरू देख्दा लाग्यो म मात्र हैन, धेरैको बुद्धि घुम्न गइसकेको रहेछ । ‘लाइफ इज जर्नी’ भन्दै फोटो राख्नेहरू, ‘डोन्ट ट्रस्ट एनीवन’ लेखेर पाँचौँ पटक ब्रेकअप गरिसकेका ब्रोहरू, अनि ‘वर्कहार्ड, पार्टी हार्डर’ लेख्ने तर महिनाको अन्त्यमा चिसो चिउरा चपाउँदै बस्ने साथीहरू देखेर लाग्यो, बुद्धिको पर्यटन व्यापक रूपमा भइरहेको छ ।
हुन त बिहान दूध किन्न जाँदा देखि नै बुद्धिको परीक्षा दिने क्रमको शुरूवात हुन्छ । पसलमा दूधको मूल्य सोध्दा पसलेले यति लामो प्रवचन दिन्छ कि लाग्छ, दूध बेच्न होइन, अर्थशास्त्र पढाउन आएका हुन् । “हेर्नुस्, महँगी बढेको छ । पेट्रोलको मूल्य बढेको छ, ट्रान्सपोर्ट महँगो छ, गाईहरू पनि स्ट्रेसमा छन्…” अहो ! कस्तो गजबको कुरा ! त्यतिबेला मेरो बुद्धि झन् अफलाइन मोडमा पुग्दा अचम्म पर्दिन म ।
अफिस जाने बाटोमा मेरा जुत्ताहरू मसँगै षड्यन्त्र गर्न थाल्छन् । “हामी त आज तिम्रो खुट्टाबाट छुट्टी लिन्छौँ !” भन्दै, दायाँ जुत्ता बायाँ खुट्टामा जान खोज्छ, बायाँ जुत्ता दायाँ खुट्टामा । कुन बेला कति खेर उल्टो जुत्ता लगाउन पुग्छु, हेक्का रहँदैन अनि बुद्धि भन्छ, “अब त जुत्तासँगै म पनि क्रस सर्किट हुन पुगेछु !”
यसमा अझ फूलबुट्टा भर्छ बसको कन्डक्टरले, “बुद्धि नभएका मान्छेलाई टिकट चाहिँदैन !”
अनि म प्रश्न गर्छु, “बुद्धि बिना बाँच्न सकिन्छ र ?”
ऊ हाँस्दै भन्छ, “तिमी बाँचिरहेको छौ त !”
उता अफिसको मिटिङमा बस्दा झन् बिजोग । सबै जना गम्भीर भएर कुराकानी गर्छन्, अनि मचाहिँ बुद्धिविहीन अवस्थामा टोलाइरहेको हुन्छु । अचानक म्यानेजरले प्रश्न गर्छ, “तिम्रो विचारमा, यो प्रोजेक्टलाई कसरी अगाडि बढाउने ?”
म एक सेकेन्ड सोच्न खोज्छु, तर मेरो मस्तिष्कले पुरानै सन्देश दोहोर्याउँछ, “तपाईंले सम्पर्क गर्न खोजेको बुद्धि हाल छुट्टीमा छ । कृपया पछि प्रयास गर्नुहोला !”
अनि मलाई यकिन हुन्छ, मेरो बुद्धि पक्का कतै घुम्न गएको छ । हुन सक्छ, कतै समुद्री किनारमा पल्टिरहेको छ, वा कुनै गुफामा ध्यान गरिरहेको छ । सम्भवतः, मेरो बुद्धिले संसार घुम्ने योजना बनाएर मलाई नै बिर्सिएको होला शायद ! अनि म सोच्छु, “यदि बुद्धि नै नभएर जिन्दगी चल्छ भने, किन चाहियो बुद्धि ?”
राति ओछ्यानमा पल्टेर म मुस्काउँछु । मेरो बुद्धि कतै घुम्न गएको भएर होला, जिन्दगी कस्तो मज्जाको भएको छ ! कम्तीमा, म अब चिन्तामुक्त भएर सुत्न सक्छु । बुद्धि फर्केर आएपछि त्यसलाई सोध्नु पर्छ, “हेर न, तँ घुम्न गएपछि म चाहिँ झन् खुशी भएँ, अब तँ नै सोच, फर्किनु ठीक हो कि होइन !”
म सोच्न थाल्छु, आखिर किन बुद्धि यस्तो हराउँदै जान थालेको हो ? शायद, बुद्धिलाई पनि कता कता बिरक्त लागेको होला । कस्तो जीवन भयो ! बिहान उठ्नासाथ मोबाइल खोल्नुपर्छ, दिउँसो काम गर्ने नाटक गर्नुपर्छ, बेलुका ‘नेटफ्लिक्स एन्ड चिल’ भन्दै निदाउनु पर्छ । यो बुद्धिलाई पनि बिदा चाहियो होला । सरकारलाई सुझाव दिन मन लाग्यो, बुद्धिको अनिवार्य पञ्जीकरण गरौं ! मान्छेहरूलाई आफ्नो बुद्धि कति छ भनेर प्रमाणपत्र दिऊँ, अनि हप्तामा एकपटक जाँच गरौँ । कसैको बुद्धि ‘लोड सेडिङ’मा गएको भए, उसलाई केही दिन बिदा दिएर आराम गर्न सल्लाह दिऊँ ।
बुद्धि हराउने कारणहरूको अनुसन्धान गर्न मलाई लाग्यो । मेरो बुद्धि किन हराइरहेको छ, खोज्न मन लाग्यो । हुन त यो अनुसन्धानको काम साइन्सका मान्छेहरूले गर्ने हो, तर जब मेरो आफ्नै बुद्धि छुट्टीमा जान थालेपछि, कम्तीमा म आफैँले अनुसन्धान त गर्नपर्छ !
१. गुगलतन्त्र
पहिले कुनै प्रश्न मनमा आएमा आफैँ सोचिन्थ्यो । “मानिस किन सुत्छ ?” भन्ने प्रश्न आयो भने, कम्तीमा ३० मिनेट दिमाग घुमाइन्थ्यो । अहिले यस्तो प्रश्न आए Google खोल्नुपर्छ । गुगलले “मानिसको शरीरलाई आराम चाहिन्छ” भन्छ, अनि दिमाग त्यही मान्छ । नसोची नतौलिएकै भरमा कुरा पत्याउने चलन नै बस्यो । अब यस्तो अवस्थामा बुद्धि कहाँ टिक्छ ?
२. सूचनाट्राफिक जाम
आजकल सामाजिक सञ्जालको कारण हाम्रो दिमाग ‘डाटा गोदाम’ बनेको छ । बिहान उठ्दा २३ वटा नयाँ मेसेज आउँछन् “शुभ प्रभात”, “आजको राशिफल”, “१० सेकेन्डभित्र यो पढे भाग्य चम्किन्छ” जस्ता कुराले मस्तिष्कभरि अनावश्यक सूचना जम्मा हुन्छ । यस्तो भार बोकेर दिमागले के सोचोस् ?
३. आलस्यको कूचो
पहिले पहिला बिहान सबेरै उठेर केही लेख्न थालिन्थ्यो, अहिले त बिहान उठ्ने बित्तिकै “केही गर्नुपर्छ” भन्ने सोच आउँछ, अनि तुरुन्तै अर्को सोच आउँछ, “तर अहिले होइन, अलि पछि गरौँ ।” यही ‘अलि पछि’को कारणले गर्दा बुद्धि सुत्न थाल्छ ।
४. निर्णयथेरापी
पहिले जे गरे पनि निर्णय आफैँ गरिन्थ्यो । अहिले “खाजा के खाने ?” भन्दा साथीभाइलाई सोध्नुपर्छ । खाजा निर्णय गर्न नै १० मिनेट लाग्छ भने, जीवनको ठूलो निर्णय कसरी लिने ? यस्तो अवस्थाले बुद्धिले ‘छुट्टीमा जान्छु’ भनेर बिदा पत्र लेख्दा के अचम्म मान्नु ।
अन्त्यमा, यो लेख पढिसके पछि यदि तपईंलाई लाग्यो कि, “मेरो बुद्धि कतै घुम्न गएछ कि क्या हो !” भने चिन्ता नलिनुस् । शायद, तपाईंको बुद्धि पनि मेरो बुद्धि जस्तै अहिले लाजिम्पाटको कुनै क्याफेमा चिया पिउँदै अरू हराएका बुद्धिहरूसँगै गफ गर्दै बसिरहेको होला ।

