साहित्यपोस्ट डट कम

निबन्ध: भीडमा एक्लो हुनुको अर्थ

निबन्ध: भीडमा एक्लो हुनुको अर्थ

भनिन्छ, मानिस आवश्यकताका खानी हुन् । जुन समय र परिस्थितिमा जे चाहिन्छ, त्यही नै त्यस समयका आवश्यकता हुन्छन् । मानिस जन्मिनासाथको आवश्यकता भनेको आमाको दूध नै हो । त्यसपछिका आवश्यकता उमेरसँगै बढ्दै जान्छन् क्रमशः । मानिसलाई उमेरले नै अध्ययन गराउँछ र अनुभवी बनाउँछ । काम गराउँछ र बाँच्ने बनाउँछ । जति ठूलो हैसियतको भए पनि मूल कुरो बाँच्ने नै हो । कसरी बाँच्ने भन्ने मात्र फरक हो । जसरी भए पनि आवश्यकताको जननी नै हो मानिस । अनुभवको खानी नै हो मानिस ।

जीवनको सबैभन्दा कठिन काम भनेको आत्मदर्शन हो । हिँडेपछि लाखौँ किलोमिटर टाढाको ठाउँमा पनि पुग्न सकिन्छ । जति नै टाढाको र जति नै फरक भूगोल र संस्कृतिको भए पनि भेटघाट गर्न सकिन्छ । केही समय सँगै भइयो भने अरुलाई मजाले चिन्न पनि सकिन्छ । तर आफूले आफैँलाई भेट्न र चिन्न भने निकै गाह्रो हुन्छ ।

अध्ययन, अनुभव, आर्जन र परिवार सबैलाई चिनिसकेपछि आफैँलाई चिन्नु आवश्यक हुन्छ । अरु चिज देखेजस्तो, अरुलाई भेटेजस्तो न आफूलाई देख्न सजिलो हुन्छ न भेट्न नै ।

हो, जीवनको दौड भनेकै सुख र शान्तिका लागि हुन्छ । फरक हुन सक्लान् दौडिने माध्यमहरू । फरक हुनसक्लान् खोजी गर्ने तरिकाहरू । जसले जसरी गरिरहे पनि खोजी भने गरिहेकै हुन्छन् । खोजी गर्ने सबैले पाउँछन् नै भन्ने पनि हुँदैन । पाउनेहरूमा पनि कसले कति भन्ने हुन्छ ।

हो, विज्ञानले गर्न नसक्ने केही पनि छैन अहिले । प्रमाणित गरिरहेका छन् अकल्पनीय तथ्यहरू । विज्ञानको कामले सुविधा बढाएको छ । असम्भवजस्ता लाग्नेलाई सम्भव बनाएको छ । तर आत्मशान्ति भने दिन सकेको छैन । अझ विपरीत बन्दै गएको छ । भावना र हार्दिकताको दूरी बढाउँदै लगेको छ । औपचारिकता भने हुनसम्म बढाउँदै लगेको छ । जीवन र सम्बन्ध कृत्रिम बनाउँदै लगेको छ । भेट हुँदा कुरै नगर्नेहरू सामाजिक सञ्जालमा भने मिल्नेसम्मका मिठा अक्षरसंवाद गर्छन् । शुभकामना आदानप्रदान गरिरहन्छन् । कहिले कुनै कुरामा वास्ता नगर्नेहरू पनि कोही बिरामी भएको थाहा पाउनासाथ दुःखी भएर स्वास्थ्य लाभको कामना गर्दछन् । त्यही बिरामी निको भएर भेट हुँदा केही थाहा नभएजस्ता गर्छन् ।

प्रविधिले मानिसलाई समाजबाट टाढाको बनाएको छ । संस्कार र संस्कृतिबाट अलग्याउँदै लगेको छ । एकै घरधुरीका परिवारलाई पनि नजिकको बनाउन सकेको छैन । टाढा भएकालाई नजिकको बनाउने, नचिनेकालाई नजिकको बनाउने तर नजिक भएकालाई टाढाको बनाउने विज्ञानको विशेषताजस्तै बनेको छ ।

एकान्तमा एक्लो हुनु आफूले आफैँलाई खोज्ने एउटा अभ्यास हो । भीडमा भएर पनि एक्लो बन्नसक्नु आत्मदर्शनको अर्को तरिका हो । हामीले जन्मेदेखि देखिरहेका हुन्छौँ । देख्न नसक्नेको कुरै भएन । देख्नेले आँखा बन्द गर्दाबाहेक सधैँ देखिरहेका हुन्छन् । जति वर्ष, महिना र दिनदेखि खोलिएका आँखाले देखिरहेकै हुन्छन् । तर आफूतिर फर्केर कहिल्यै हेर्ने प्रयास गर्दैनौँ ।

शरीरलाई स्वस्थ राख्न व्यायाम गर्नुपर्छ भन्ने जान्दछौँ । मर्निङवाक गर्छौँ । योग गर्छौँ । तर मनलाई पनि स्वस्थ राख्नुपर्छ भन्नेतिर ध्यान दिँदैनौँ । किन दिँँदैनौँ ध्यान मनतिर ? के नदेखिने कुराको महत्त्व हुँदैन ? हुन्छ । देखिनेको भन्दा अझ बढी महत्त्व नदेखिनेको नै हुन्छ । के देखिने बोटबिरुवाले मात्र फूल फलाएका हुन् र ? होइन । के देखिने रुखले मात्र फल दिएका हुन् र ? होइन नि । रुखबाट फल र बिरुवामा फूल दिने काम नदेखिने जराले नै गरिरहेका हुन्छन् । हाँगा भाँचिदा रुखलाई केही हुँदैन । बिरुवाका डाँठ भाँचिदा र पात टिप्दा पनि केही फरक पर्दैन । तर नदेखिने जरालाई भाँचिदिने वा सार्वजनिक गरिदिने हो भने न हाँगा रहन्छ, न पात हुन्छ, न फल न फूल नै फल्छ ।

यसले के भन्छ भने, सबै देखिएका सत्य हुँदैनन् । सत्यभित्र अझै महत्त्वपूर्ण सत्य हुन्छन् । शक्तिका हिसाबले पनि देखिनेभन्दा नदेखिने नै शक्तिशाली र महत्त्वपूर्ण हुन्छन् । यसको अवमूल्यन गर्नु भनेको आफैँप्रतिको अवमूल्यन हुनु हो । यसलाई महत्त्व नदिनुको अर्थ आफैँप्रति बेवास्ता गर्नु हो ।

धेरैअघिदेखि मलाई लागेको थियो आफूलाई हेरेर चिन्नुपर्छ । त्यो पनि अनुभूतिको गहिराइसम्म पुगेर खोज्ने । अभ्यास त गर्नैपर्थ्यो निरन्तर । तलबी कामको जिम्मेवारी हुञ्जेलसम्म सम्भव हुनै सकेन । योजना बनाएको थिएँ निवृत्त भएपछि अवश्य लाग्नेछु भन्ने । तर नछोड्ने रहेछ जिम्मेवारी र बाध्यताले । मात्र फरक भनेको सशुल्कबाट निःशुल्क हुने रहेछ । थिए कतिकति बाँकी कामहरू । पुस्तकालयलाई अलि बढी व्यवस्थित गरौँला भन्ने थियो । चालीसको दशकदेखि लेख्न नसकेका कति कुरा लेखौँला भन्ने थियो । पढ्नुपर्छ भनेर चाङ लगाएर राखेका पुस्तकहरू पढ्छु भन्ने थियो । अलिअलि नभएका होइनन् तर पूरा गर्नसकेको भने अझै सकेको छैन ।

जागिरबाट निवृत्त भएपछि झन् बढेजस्तै भएको छ जिम्मेवारी । रिटायर्ड भएको मान्छे । अर्को कुनै जिम्मेवारी नभइसकेको मान्छे भनेपछि झन् थुप्रिँदा रहेछन् काममाथि काम । पुस्तक प्रकाशनअघिको पाण्डुलिपि हेरिदिनुपर्ने । सम्पादन गरिदिनुपर्ने । भूमिका लेखिदिनुपर्ने । कार्यक्रमको शोभा बढाउन गइदिनुपर्ने । बोलिदिनुपर्ने । समीक्षा गरिदिनुपर्ने । पत्रपत्रिका र अनलाइनलाई लेखिदिनुपर्ने । आफ्नो लेख्नुचाहिँ सधैँको भ्याइनभ्याइ । यसो गर्यो, उसो गर्यो ठीकठीकैको मात्र हुने बन्छ दिन । थाहा छ यो कमाइ नै हो साहित्यिक जीवनको । पाइरहेको माया र सद्भाव नै हो जस्तो लाग्छ । मधुपर्क, युवामञ्च र गोरखापत्रमा काम गर्दाको ब्याज पाइरहेजस्तो पनि लाग्छ । सोच्छु, एक्लै भएको बेलामा गहिरिएर सोच्छु र भाग्यमानी नै ठान्छु । फर्केर हेर्न खोज्छु आफैँलाई । थाहा नपाइकन मुस्कुराएजस्तो लाग्छ आफ्नै मन ।

इच्छा गरिरहेपछि नहुने केही हुँदैन । त्यस्तै भयो सेवा निवृत्त भएको तीन वर्षपछि । साइत जुर्यो आफूले आफैँलाई हेर्ने अभ्यासका दिन । विपश्यना ध्यान केन्द्रमा गएर एघार रात बाह्र दिनको । असारको बीस गतेदेखि एकतीससम्म उनासी सालको । गएको थिएँ हुनसम्मको जिज्ञासा लिएर भित्रभित्रै । सक्छु कि सक्दिनँ बस्न त्यत्रो दिन नबोलिकन भन्ने डर थियो भित्रभित्रै । सुनेको थिएँ निकै गाह्रो हुन्छ त्यहाँभित्रको अनुशासनमा बस्नलाई । नसकेर फर्किनेहरू पनि धेरै हुन्छन् । बिहान चारबजे उठ्नुपर्ने । बोल्न नपाइने । केही पनि पढ्न नपाइने । लेख्न नपाइने । केही पनि सुन्न नपाइने । मोबाइल राख्न नपाइने । ध्यान गर्ने, मात्र ध्यान गर्ने ।

म भने दृढ थिएँ यस मामलामा । कसैले फकाएर अथवा तर्साएर पठाएको भए पो । आफ्नै इच्छाले स्वबन्दी बन्न गएको त हो नि । आफ्नै रहरले कारागारको बन्दी बन्न गएको त हो नि । स्वकारागारको स्वबन्दी बन्न गएको त हो नि ।

मलाई विश्वास छ मौनतामा जस्तो शक्ति अरुमा हुँदैन । पहिलेपहिले ऋषिमुनिहरू एकान्तमा मौन बसेर ठूलाठूला उपलब्धिहरू पाउँदथे । अहिले भने हामी एकैछिन चुप लागेर बस्न सक्दैनौँ । अनि कसरी हुन्छ आवाजमा शक्ति ? कसरी हुन्छ विषयमा दम ? कसरी हुन्छ सन्दर्भमा गहनता ? जति बोल्यो त्यति हलुका हुने त हो नि ।

असारको महिना थियो । परिरहेको पानी भर्खरै रोकिएको थियो । मनभरि कौतूहलता बोकेर प्रवेश गरेको थिएँ ‘धर्मश्रृङ्ग’ परिसरभित्र । बूढानीलकण्ठबाट शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेश द्वारसँगै । नाम दर्ता गरेपछि दिइएको कोठामा पुग्छु । चिया खान पाइने थाहा पाएपछि भोजन कक्षतिर जान्छु । साँझ ओरियन्टेशन कक्षापछि बोल्न पाइँदैन भन्ने त्यहीँ थाहा पाउँछु धर्मसेवकहरूबाट । एघार दिन पूरै मौन ।

पानी पर्न शुरु भइसकेको थियो त्यही समयमा । वर्षाको समय डाँडाको ठाउँ पानी परिरहँदोरहेछ बेलाबेलामा । छाता बोकेको थिइनँ । पानी रोकिने समय कुरिरहेको देखेर एउटा छाता ल्याएर दिनुभो धर्मसेवकले । छाता खुल्ला राखुञ्जेल काम चल्ने बन्द गर्नासाथ बिग्रिने थियो । त्यही भएर बन्दै नगरेर छातालाई कोठाबाट ध्यानकक्ष र भोजन कक्षमा आउजाउ गर्न प्रयोग गरेँ । ध्यानमा र भोजनमा जाँदा सबैले एकैठाउँमा छाता राख्ने गरिन्थ्यो । दोस्रो दिन मैले खुल्लै राखेको छाता ध्यान कक्षबाहिरबाट कसैले लगिदिएछ । सबैजना गइसकेपछि बाँकी भएको छाता बोकेर निस्किएँ । मौन अवधि शुरु भइसकेको थियो । वरपर जतासुकै देखिने गरी आर्यमौन ( Nobel Silence ) लेखिएका बोर्डहरू थिए । त्यसैले मैले प्रयोग गरेको छाता कसले लग्यो भनेर सोध्ने कुरा भएन ।

पानी पर्न रोकिएको थियो । कोठामा पुगेर झ्यालबाट बाहिर हेर्छु । बाक्ला रुखहरू भएको डाँडा देखिन्छ । वातावरण पूरै मौन भएकाले नजिकैको रुखको पातमा परेर आएको पानीपातको आवाज सुनिन्छ । नजिकैको कुलेसोबाट पानी बगिरहेको पनि सुनिन्छ । हुस्सु उडेर रुखलाई छुँदै माथिमाथि पुगिरहेको देखिन्छ । फेरि केही समयपछि त्यही पानी भएर बर्सिहाल्दो रहेछ ।

बिहानको चारबजे घण्टी लाग्यो टङ टङ टङ । ब्युँझिएँ त्यही आवाजले । बाहिर पानी परिरहेको थियो । त्यही छाता ओढेर गएँ । चार बजेर पच्चिस मिनेटको अर्को घण्टी बजिरहँदा म ध्यानकक्षमा प्रवेश गरिसकेको थिएँ । लगभग कक्ष भरिसकेको थियो । आफ्नो नम्बर भएको ठाउँ खोज्छु । प्रमुख गुरुको ठीकअगाडि एकजनाको पछाडि परेछ मेरो बस्ने ठाउँ । हामी पुरुषहरू त्रियासीजना छौँ । दुईजना गुरु हुनुहुन्छ । महिलातिर पनि त्यत्तिकै सङ्ख्यामा छन् । गुरुमा पनि दुईजना नै हुनुहुन्छ । केही विदेशीहरू हाम्रो समूहमा छन् । पछि थाहा भयो विदेशीहरूको त अर्को ठाउँमा छुट्टै समूह नै रहेछ ।

यति धेरै मानिसहरू भएर पनि कहीँ कतै कुनै आवाज थिएन । धर्मसेवकहरूसँग केही सोध्नुपर्यो भने कुनामा गएर साउती गर्नुपर्थ्यो । कहिले कुनै आवाज सुनिएन । न बाहिर जुत्ता फुकाल्दा, न छाता राख्दा, न आशनमा बस्दा, न खाना खाँदा, न भाँडा माझ्दा नै । नास्ता र भोजनमा जाँदा पनि आफ्नो नम्बर लेखिएको टेबुलमा भएको थाल, कचौरा र चम्चा लिएर लाइनमा बस्यो । त्यही ठाउँमा बसेर खायो । सकिएपछि भाँडा माझेर पुछेपछि फेरि त्यही ठाउँमा घोप्टाएर राखिदियो ।

सुनिने भनेको मात्र चराचुरुङ्गीको आवाज हो । झ्याउँकिरीको आवाज हो । पानी परेको आवाज र खोल्सोको आवाज हो । चराहरू चिरबिराउन थालेपछि मौसम झन् आकर्षक बन्न थाल्छ । हो पनि ! चरा नकराउने रुख, रुखजस्तो हुँदैन । जङ्गल जङ्गलजस्तो हुँदैन ।

जीवनमा बोल्न थालेदेखि कहिल्यै चुप लागेर नबसेका हामी । तर यहाँको अनुशासनले गर्दा कसैको मुखबाट एक शब्द निस्किएको सुनिन्थेन । मानिएपछि नै हुने त हो नि अनुशासन भनेको । हो, ध्यानमा बस्दा बेलाबलामा सुनिन्छ कसैले हाच्छयुँ गरेको, कसैले खोकेको, कोहीले डकारेको र कोही घुरेको आवाज पनि । यो भीडमा पनि एक्लो बनिरहेको समय भएकोले सानो स्वर हुँदा पनि प्रष्टसँग सुनिन्छ ।

बिहान चराहरू पनि नउठ्दै ध्यानमा बन्द गरेका आँखाहरू । नास्ता र भोजनका निश्चित समयबाहेक चराहरू गुँडभित्र पसिसक्दा पनि बन्द नै हुन्थे आँखा । बिहानदेखि राति साढे नौबजेसम्म बाह्र घण्टाजति नै बन्द हुन्थे आँखा । लाग्छ, ओछ्यानमा सुत्दा मात्र बन्द हुने आँखा । अहिले एकनाशले यसरी बन्द भइरहँदा आँखा नै छक्क परेका होलान् ।

तेस्रो दिनको बिहान, ध्यानकक्षमा मेरो ठाउँमा पछाडि अडेस लगाउन मिल्ने आसन राखिएको थियो । यो ढाड दुख्नेहरूका लागि दिइने सुविधा हो । यसका लागि गुरुलाई अनुरोध गर्नुपर्छ । त्यसपछि धर्मसेवकहरूले व्यवस्था गरिदिन्छन् । तर मैले कसैलाई केही भनेको थिइनँ । ढाड त दुख्न थालिसकेको थियो तर सकेसम्म सहन्छु भन्ने ठानेको थिएँ । कसले र किन राखिदियो मलाई भनेर सोध्ने कुरा पनि भएन । बोल्न नपाइने ठाउँमा । आखिर चाहिएकै पनि थियो ।

त्यही दिन भोजन सकेर बाहिर निस्कँदा प्रा.डा. रामप्रसाद ज्ञवालीसँग भेट भयो । भेट त पहिलो दिनदेखि भइरहेको थियो, बोलचाल मात्र भएको थिएन । उहाँलाई ढाड दुख्ने समस्या भएको थाहा थियो । अडेस लगाउने आशन माग्नलाई थाहा भएन कि भन्ने लाग्यो र अकस्मात् भनिदिएँ, ढाड दुख्ने समस्या छ भनेर गुरुलाई भन्नुस्, व्यवस्था हुन्छ । अहिले मौन समयमा छु भन्ने पनि बिर्सिएँ । मौनव्रत भङ्ग गरिदिएँ । अनुशासन भङ्ग गरिदिएँ ।

गुरुकहाँँ रिपोर्ट पुगिहालेछ हामीले अनुशासन उलङ्घन गरेको । एकदिन अघिमात्र भोजनपछिको समयमा मैले मूूलगुरुसँग भेटेर केही जिज्ञासा राखेको थिएँ । भोजनपछि कोठामा आराम गरिरहेको थिएँ । धर्मसेवक आएर गुरुले भेट्न खोज्नुभएको छ भन्ने सन्देश दिएर जानुभो । शायद अरु केही कुरा गर्न खोज्नुभएको होला भनेर गएँ । गुरुसँग भेट्न बसेकाहरूको लाइन थियो । पालो आएपछि भित्र गएर भेटेँ । कुरो त्यही रहेछ । मौन अवधिमा अनुशासन भङ्ग गरेकोमा शिविरबाट निकालिदिने पनि गरिँदो रहेछ । मैले भूल भएको भनेर स्वीकारेपछि मेरो पृष्ठभूमिको कुरा गर्दै अब गल्ती नदोहोर्याउन भन्नुभयो । रामप्रसादजीलाई पनि त्यस्तै भनिएको कुरा एघारौँ दिनमा मात्र थाहा भयो ।

सचेत थिएँ अब झुक्किएर पनि बोल्दिन भन्नेमा । अनुशासन आफ्नै लागि नै हो । दुर्भाग्यले छैटौँ दिन फेरि त्यस्तै घटना दोहरियो । दिउँसोको ध्यान सकिएर बाहिर निस्किएर पानी पिइरहेको थिएँ । एकजना अग्लो मानिस मेरो नजिकै आएर सोध्नुभयो, सर, मेन गुरुको नाम के हो ? मैले थाहा नभएको सङ्केत गरेँ । उहाँले यसरी प्रश्न गर्दा नजिक धर्मसेवक रहेछ । उहाँले हामी दुवैजनाको नाम, कोठा नम्बर र आसन नम्बर सोधेर कापीमा टिप्नुभो ।

परेन त अब फसाद । गुरुलाई गल्ती दोहोर्याउँदिन भनेर वचन दिएको दुई दिनमै फेरि नाम पुग्नेभो । फेरि गुरु कहाँ के भनेर स्पष्टीकरण दिन जानु ? शिविर नै छोड्नुपर्ने भयो भने के गर्ने होला ? कति अघिदेखि पालेको सपना । यस्तो भयो भने आफैँले आफूमाथि ठूलो अन्याय हुनेछ । आफैँलाई चिन्न आएको मान्छे । आफैँले अपमान गरेको तितो अनुभूति भइरहेको थियो । संयोगले नाम टिप्नुहुने धर्मसेवक आइपुग्नुभो कोठामा । मैले आफ्नो कुरा राखेँ । म उहाँलाई चिन्दिनँ । उहाँले सोध्नुभएको हो तर मैले बोलिनँ, सङ्केत मात्र गरेँ । गुरुकहाँ फेरि उभिनुपर्यो भने साह्रै नमज्जा हुन्छ । शायद उहाँलाई पनि ठीक लागेछ । मलाई सोध्नेको मात्र नाम पठाइदिनुभएछ । मैले स्पष्टीकरण दिन जानु परेन । एघारौँ दिनमा मित्रले भनेअनुसार उहाँलाई शिविरबाट निस्किन मन छ कि भनेर गुरुले सोध्नुभयो रे ।

एकप्रकारको कारागारजस्तै हो विपश्यना ध्यान केन्द्र । यहाँभित्र प्रवेश गरेपछि एघार दिनसम्म बाहिर निस्कन पाइँदैन । यहाँको अनुशासन पूरै मान्नुपर्छ । जे दियो, त्यही खानुपर्छ । जस्तो ठाउँ दियो, त्यहीँ सुत्नुपर्छ । बोल्नु अपराध मानिन्छ । यो त जेलभन्दा ठूलो जेलजस्तो हुन्छ । जेलमा त बोल्न पाइन्छ । लेख्न, पढ्न पाइन्छ । मन लागेको कुरा सुन्न, खेल्न र मान्छेसँग भेटघाट गर्न पनि पाइन्छ । यहाँ त मात्र ध्यान, भोजन र आराम गर्न पाइन्छ ।

त्यसैले त बनाउन सकेको हो नि बन्दी आफैँलाई । यहाँ चराहरू चिरबिराउँछन्, केही भन्न पाइँदैन । कुलेसोमा बगेको पानीको आवाजमा आफ्नो स्वर थप्न पाइँदैन । बगैँचामा फूल गोडिरहनेहरू छन्, केही सोध्न पाइँदैन । निर्माणका काम गरिरहनेहरू छन्, केही भन्न पाइँदैन । खाना बनाउनेहरूलाई कस्तो भयो भन्ने प्रतिक्रिया दिन पाइँदैन । खाना राखिदिनेहरूलाई धन्यवाद भन्न पाइँदैन । सबै कुरा नबोलेर नै व्यक्त गर्नुपर्छ ।

मात्र पानी परिरहँदा सुनिने भनेको त्यसैको आवाज हो । यो पनि एकप्रकारको सङ्गीतजस्तो लाग्छ । कुनै समय रेडियो नेपालबाट सुनिने कृष्णमानले बजाएको जलतरङ्गजस्तो । हुन त यो एकप्रकारको समर्पण र प्रतिबद्धता पनि हो स्वदर्शनका लागि ।

नत्र किन छोडिन्थ्यो आफ्नो घरपरिवार ? किन छोडिन्थ्यो समाज ? किन बेखबर भइन्थ्यो देश र विदेशका खबरबाट ? किन बसिन्थ्यो नबोल्ने पहाडहरूमा नबोलेर ? मात्र हेर्न खोजेर आफूले आफैँलाई भित्रसम्म गहिरिएर । आफूलाई चिन्न आफैँ अग्रसर हुनुपर्छ । अरु कसैले गरिदिएर हुँदैन । आफूलाई भोक लाग्दा अरुले खाएर नअघाएजस्तै । तिर्खा लाग्दा अरुले पिएको पानी हेरेर प्यास नमेटिएजस्तै । आफूलाई चिन्नका लागि पूजापाठ गरेर हुँदैन । मन्दिर धाएर जति प्रार्थना गरे पनि हुँदैन । मानिसअनुसारको स्वभाव भएजस्तै हुन्छ । नत्र किन फरक हुन्छन् एउटै माटोमा रोपिएका पनि फरकफरक स्वाद र स्वभावका ? प्रार्थना गरेर उखुलाई कागतीजस्तो र कागतीलाई उखुजस्तो बनाउन सकिन्छ र ?

प्रवचन सुनाउने क्रममा गुरु सत्यनारायण गोयन्का भन्नुहुन्थ्यो, हामी अहिले अपरेशन थियटरमा आइपुगेका छौँ । यहाँ कुनै कुराको पनि केही अर्थ हुँदैन । त्यसैले किन अरुसँग बोल्नुपर्यो ? किन सुन्नुपर्यो ? किन पढ्नुपर्यो ? मात्र अपरेशन सफल होस् भन्ने ध्येय भएजस्तै हो ध्यान । त्यसपछिको सबै समय आफ्नै त हो नि । त्यसैले ध्यान गर्दा सबै कुरा त्याग्नुपर्छ, अरु कुनै कुराको केही पनि अर्थ हुँदैन ।

कुनै रेष्टुरेन्टमा मिनु हेरेर खानाको परिकार र मूल्य थाहा पाउन सकिन्छ । अरुले खाएको हेरेर अनुमान गर्न सकिन्छ तर स्वाद नै थाहा पाउनलाई आफैँले खानुपरेजस्तै हो । त्यस्तै हो आफैँले आफैँलाई हेर्ने र चिन्ने तरिका पनि । आफ्नो लागि आफैँले गर्नुपर्छ । आफू पुग्नलाई आफैँ हिँड्नुपर्छ ।

ध्यान शिविरको एघारौँ दिन बिहान दश बजेपछि आर्यमौन अवधि सकियो । एकआपसमा परिचय गर्ने अनुमति भयो । त्यत्रो दिनदेखि सँगै ध्यान गरेकाहरू, सँगै खाएका र सँगै बसेकाहरूबीच कुराकानी हुन्छ । तर अधिकांशको दबेको आवाजमा ।

ध्यानमा ज्ञान छ । शक्ति छ । आनन्द छ । त्यही भएर सबै कुराले सम्पन्न भए पनि पश्चिमाहरू ध्यान गर्छन् र भन्छन् स्ट्रेस मेनेजमेन्ट । त्यही भएर भगवान् बुद्धले भन्नुभएको छ, सम्पूर्ण दुःखको कारण तृष्णा हो । पीडाको कारण माया, मोह र वासना हो । त्यसैले भनिएको हो, भोग त गर्नुपर्छ जीवनमा आवश्यकताअनुसार तर त्यागसहितको । नदीमा डुङ्गा तरिसकेपछि डुङ्गा पनि साथै लैजानुपर्छ भन्नु दुःख हो ।

आफूले आफैँलाई चिन्न सक्नुजत्तिको सुख अरु केही हुँदैन । विपश्यना ध्यानले ठ्याक्कै मानिसको मनको सर्भिसिङ गर्दो रहेछ । रिफ्रेस गरेर पूरै ताजा र सकारात्मक बनाइदिँदो रहेछ । त्यहाँको प्रकृति, त्यहाँको वातावरण, गुरु गोयन्काको प्रवचन र दर्शनको हुनसम्मको गहिरो अर्थ हुँदो रहेछ । अन्यथा त्यति धेरै दिनसम्म मौन बस्नुको के अर्थ ? मानिसहरूको भीडमा बसेर पनि एक्लो बन्नुको के अर्थ ?

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.