साहित्यपोस्ट डट कम

निबन्ध: बादलका आकृति

निबन्ध: बादलका आकृति

शायद कमै मानिस होलान् यात्रा मन नपराउने । म ती कममा पर्दैन, मलाई पनि यात्रा गर्न मन पर्छ । अधिकांश यात्रुले यात्रामा तस्वीर खिच्न मन मराउँछन् । म ती अधिकांशमा पनि पर्दैन, मलाई तस्वीर खिच्न अल्छी लाग्छ । डिजिटल युग शुरू नहुँदा तस्वीर खिच्नु महङ्गो मात्र हैन, तस्वीर निकाल्न समय लाग्ने र झन्झटिलो काम थियो । शायद त्यही कारणले होला तस्वीर खिच्न मन नलाग्ने मेरो बानी बसेको ।

अब तस्वीर खिच्न न त महङ्गीको समस्या छ न त कस्तो तस्वीर आयो भनेर हेर्न समय लाग्छ न त यो झन्झटिलो नै छ । हात हातमा मोबाइल छन्, जति बेला मन लाग्यो, मोबाइल निकाल्यो खिच्यो, हेर्‍यो ! मन परेन भने फेरि अर्को खिच्यो । प्रविधिले कति सजिलो बनाइदिएको छ । तर बानी सुधार्न अलि गाह्रै हुन्छ । मेरो समस्या त्यही हो । तर मैले तस्वीर खिच्दै नखिच्ने भने हैन; सुन्दर र अनुपम दृष्य भेटेँ भने म पनि आफ्नो मोबाइल तेर्साउँछु । खालि तुलनात्मक रूपमा अरूभन्दा कम खिच्ने मात्र हो ।

पहिले पहिले हवाई यात्रा गर्दा झ्यालतिर बसेर बाहिर हेर्न निकै रमाइलो लाग्थ्यो । झ्यालबाट बाहिर हेर्दा प्राय: जसो जहाजका भीमकाय पखेटाहरूले पूर्ण दृष्य ओझेलमा पारेको हुन्थ्यो तै पनि जति हेर्न पाइन्थ्यो, त्यसमै प्रफुल्ल भइन्थ्यो । यात्राको क्रम बढेपछि त्यो रहर पनि बिस्तारै कम हुँदै गयो । त्यसैले आजभोलि म झ्यालतिर सिट पारिदिन आग्रह गर्दिनँ, जहाँ पर्छ त्यहीँ खुशीसाथ बस्छु, छेउतिर पर्‍यो भने झन् ठीक लाग्छ ।

संयोग नै होला, यो पटक झ्यालतिरको सिट परेछ । मलाई न उत्साह थियो न सिकायत ! सिट पनि अलि अगाडि नै परेछ, विमानका पखेटाहरू पछाडि परेछन् । झ्यालबाट देख्न सकिने पूरै दृष्य आफ्नै थियो । मध्य दिनको समय थियो । जहाजले गगन चुम्यो । मौसम सफा थियो, घामका चर्का किरणहरूले झ्यालबाट पसेर मेरो मुहार चुमे । आँखा तिर्मिराए । मलाई झर्को लाग्यो र झ्याल बन्द गरेँ अनि पुस्तक निकालेँ । मलाई जहाजमा निद्रा लाग्दैन । त्यसमाथि दिउँसोको यात्रा- आँखाले झिमिक्क गर्न पनि अटेर गरे । दुई चार पृष्ठ पढेपछि पढ्न पनि मन लागेन । केही लेखौँ कि भनेर कम्प्युटर निकालेँ, ब्याट्री निकै कम भएको रहेछ । दश मिनेटपछि उसले पनि बिदा माग्यो ।

ल्याप्टपलाई बिदा दिएपछि मेरो अरू काम भएन । छेउमा मेरै उमेरको पुरुष यात्रु बसेको थियो । बोलचाल भएको थिएन । मैले उसलाई राम्ररी हेरेको पनि थिइनँ, उसले पनि मलाई हेरेको थिएन भन्ने पनि मलाई थाहा थियो । आफूलाई चाहिएपछि ऊतर्फ नजर लगाएँ । ऊ आँखा र मुख दुवैमा कालो मास्क लगाएर सुतेको मुद्रामा देखियो । निदाएको पक्कै थिएन तर सिट ढल्काएर आरामसँग बसेको थियो । म अपरिचित मान्छेसँग सजिलै खुल्न सक्ने मान्छे होइन । आफू खुल्न र उसलाई ‘खोल्न’ कोशिश गरिहालौँ भन्ने लागेको थियो, उसले त पहिले नै मैले उसलाई बोलाउने प्रयास गर्नेछु भन्ने थाहा पाए जसरी खोल्नै नमिल्ने गरी पूरै अनुहारमा ढक्कन लगाएर बसेको रहेछ । उसको अनुहारको ढक्कन खुल्ने अवस्था नदेखेपछि मैले झ्यालको ढक्कन खोलेँ ।

जहाज धेरै माथि पुगिसकेको थियो । सफा मौसम हुँदा उडेको जहाज त्यहाँ आइपुग्दा घना बादलमाथि उडिरहेको थियो । बादलमाथिको मौसम झन् सफा र सुन्दर थियो । घामका किरण म बसेको सिटनेरको झ्यालबाट अन्त कतै गैसकेका थिए । क्षितिजको नीलो आकाश र जहाजमुनिका सुन्दर बादलहरूले मेरा नजर ताने । पूरै आकाश बादलले ढाकेको थियो । यस्तो प्रतीत हुन्थ्यो, बादलको समतल तह नै धर्तीको तह हो र त्यसमाथि बादलकै विशाल थुम्काहरू अडिएका छन् । अनेक आकारमा सजिएका मेघका ती स्थिर थुम्काहरू निकै मनमोहक देखिए । सफेद तन्नामा कपासका विशाल थुप्राहरू थुपारेको जस्तो देखिने ती थुम्काहरू स्थिर देखिए पनि नजानिँदो ढङ्गमा निरन्तर आफ्नो आकारहरू बदल्दै थिए भन्ने मलाई थाहा थियो ।

तर प्लेन अगाडि बढिरहेको हुनाले ती बदलिँदा आकारहरू कल्पना मात्र गर्न सकिन्थ्यो, देख्न सकिँदैनथ्यो । विशाल र मूर्त आकृतिका देखिने ती बादलका थुप्राहरू जति विशाल देखिन्थे त्यति नै सूक्ष्म थिए । एक अर्थमा ती न त वास्तविक थिए, न त काल्पनिक । वास्तविक भनौँ भने ती केवल पानीका बाफका संगम मात्र थिए जसको कुनै ठोस आकार हुँदैन र काल्पनिक भनौँ भने ती मेरै आँखा अगाडि ठिङ्ग उभिएर आफ्नो अस्तित्वको प्रमाण दिइरहेका थिए ।

जे भए पनि मैले आफूलाई बादलको सुन्दरतामा हराएँ । सूर्यको प्रकाश परेको भाग सफेद, चम्किलो र सुन्दर देखिएको थियो भने छायातिरको भाग प्रलय ल्याउने गरी गर्जन तयार कालो नीलो देखिएको थियो । अलि पातलो बादलमा रवि किरणहरू एक छेउबाट अर्को छेउमा पुग्दा कुनै दक्ष चित्रकारले कोरेका अमूर्त कला जस्तो देखिएको थियो । कुनै कुनै बादलमा त प्रकाश पुञ्ज बादलका छिद्रहरूबाट छिरेर आफ्ना सातै रङहरू छरपस्ट पारेका पनि देखिएका थिए । तर त्यही बादल अर्को दिशाबाट, अर्को कोणबाट, फरक उचाइबाट हेर्दा अर्कै देखिनेछन् भन्ने म सजिलै कल्पना गर्न सक्थेँ ।

कस्तो अचम्म ! बादल उही हो, स्थान उही हो, समय उही हो तर परिस्थिति र दृष्टिकोण फरक पर्दा दृष्य र त्यसको अनुभवमा पनि आकाश जमीनको फरक पर्न सक्छ ।

जहाज निरन्तर अगाडि बढिरहेको थियो । म बादलका दृष्य र कल्पनामा हराइरहेको थिएँ । अनायासै मेरा नजर निकै परका बादलका झुन्डमा पुगेछन् । त्यहाँ त बादलको जङ्गल नै थियो । क्षणिक नै सही तर ती बादलहरूले त्यहाँ प्रस्तरका जङ्गल आकारमा अनेक सुन्दर अनि विकट शैलकूटहरूको निर्माण गरेका थिए । सिनेमामा देखिने जस्ता ती मनमोहक मेघ जङ्गलबाट मेरा नजर निस्कन मानेनन् । निकै दूरीमा रहेकाले मैले धेरैबेरसम्म ती बादलका गतिविधि नियाल्न पाएँ । बाल्यकालमा चौरमा नभाभीमुख पल्टेर आकाश हेर्दै अनेक जनावरका आकृति कल्पना गरिन्थ्यो । मेरो बाल्यकाल फेरि एक पटक जहाजभित्र प्रकट भयो- मैले बादलमा अनेक जनावरका आकृति देखेँ । देखेँभन्दा पनि आकृति बनाएँ भन्नु ठीक होला । कुनै बादल भयानक सिंहको आकारमा आफ्नो शिकारलाई झम्टँदै गरेका थिए भने कुनै चाहिँ वायुपङ्खी अश्वका आकारमा अहिले नै कुद्छन् जस्ता देखिन्थे । कतै खरायोले आफ्ना कान ठाडा पारेको थियो भने कतै हात्तीले आफ्नो सुँड उठाएको थियो । कतै परीहरू उडिरहेका थिए भने कतै स्वयं भगवान बादलमा उभिएर आफ्ना भक्तहरूलाई आशीर्वाद दिँदै गरेका देखिन्थे । तर एउटै बादलको थुम्कोमा पनि मैले जुन आकृति बनाउन चाहन्थेँ त्यही आकृति बन्थ्यो । ती आकृतिका रचनाकार म थिएँ । म जे देख्न चाहन्थेँ त्यही देख्थेँ । मलाई पक्षी देख्न मन लाग्यो, मैले साँच्चै पक्षी देखेँ, मलाई मानिस देख्न मन लाग्यो, त्यही बादल तुरुन्त मानिसको आकृतिमा परिणत भयो ।

हाम्रो कल्पना यति शक्तिशाली छ कि कल्पना हो भन्ने जान्दा जान्दै पनि वास्तविक नै हो जसरी प्रस्तुत गरिदिन्छ । आकार विहीन उडिरहेका जल कणहरूको पुञ्जमा मैले आफ्नो कल्पनाले एउटा छुट्टै परिदृष्य बनाइसकेको थिएँ । त्यो अस्थीर पुञ्जलाई मैले टाढाबाट हेर्दा वास्तविक र स्थिर मानिरहेको थिएँ ।

बादलका बदलिँदा काल्पनिक आकृतिसँग रमाउँदै गर्दा मेरो मनमा केही दार्शनिक, केही वैज्ञानिक र केही आध्यात्मिक विचारहरूको सम्मिश्रणले कब्जा जमाइसकेछन् । मलाई लाग्यो हामी पनि त त्यही बादलका आकृति जस्तै अस्थीर छौँ । हरेक क्षण, हरेक पल परिवर्तन भैरहेका छौँ, तर हामी आफूलाई स्थायी जस्तै सम्झेर अनेक आसक्तिमा अल्झिएका छौँ ।

वायुमण्डलमा तैरिएर बादलभित्र जम्मा भएका सूक्ष्म जल कणहरू जस्तै हामी पनि सूक्ष्म कोषिकाहरूका पुञ्जहरू मात्र त हौँ । हाम्रो यो आकार पनि बाहिरबाट हेर्दा वास्तविक जस्तो देखिएको मात्र त हो नि । कोषिकाभन्दा पनि सूक्ष्म रूपमा हेर्ने हो भने त झन् हामी केवल अणु, परमाणु अनि त्यो भन्दा पनि सूक्ष्ममा हेर्ने हो भने उप-परमाणविक कण र त्यो भन्दा पनि गहिराइमा जाने हो भने त झन् खाली ऊर्जाका कम्पन मात्र त हौँ । तिनै आकृतिलाई जस्तै हामीलाई कसैले सुन्दर देख्छ, कसैले कुरूप ! कसैले रङ्गीन देख्छ, कसैले रङ्ग हीन ! सूक्ष्मतामा गएर हेर्दा हामी पनि त्यही बादल जस्तै अस्थीर र अस्थायी मात्र छैनौँ, अमूर्त र काल्पनिक पनि छौँ । हामी आफ्नो काल्पनिक अस्तित्व रमाइरहँदा

मैले बादलका आकृतिहरू हेरे जस्तै कसैले हामीलाई पनि बादल जस्तै सम्झेर हेरिरहेको पो छ कि ? हामीले बादललाई हेरेको उसलाई थाहा हुँदैन, त्यसरी नै हाम्रो भन्दा फरक आयामबाट कसैले हामीलाई नियालिरहेको पनि हामीलाई थाहा नभएको पो हो कि ? हामी भन्न सकौँला, बादल त निर्जीव हो, उसमा न जीवन छ न चेतना हामी सजीव हौँ, हामीमा चेतना छ, त्यसैले हामी काल्पनिक हैनौँ, वास्तविक हौँ । तर जीवन र चेतनाका कुराहरू सब हाम्रो सीमित ज्ञान र कल्पनाका आधारमा हामी आफैँले परिभाषित गरेका हैनौँ र ? अनि फेरि हाम्रो सजीवता र चेतना अति सूक्ष्म रूपमा हेर्दा सबै निर्जीव लाग्दैनन् र ? म यस्तै विचारहरूमा चुर्लुम्मै डुबेछु । जहाज ओर्लने तयारीको उद्घोष भयो ।

म अझै कल्पनामै रमाउन चाहेको थिएँ तर कति छिटो ओर्लने बेला भैसकेछ । मैले त यादै गरेको रहेनछु, मेरा सुन्दर बादलहरू पनि झ्याल बाहिरबाट हराइसकेका रहेछन् । बादलका आकृति हेर्दाहेर्दै म आफैँ बादलभित्र पसेर बादल जस्तै गरी हराएछु ।

बादलको काल्पनिक साथले मैले यात्रामा गुजारेको समय कति छिटो र अनुपम अनुभूतिसँग बितेछ, पत्तै पाइनँ । विमान ओर्लने क्रममा बिस्तारै बादलभित्र पस्यो । झ्यालबाट अब त्यो बादल सुन्दर नदेखिएर जल कणहरूको कुहिरो मात्र देखियो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.