मेरा यी आत्मपरक, सुगन्धित भावनाहरू क्यानभासको अनुहारमा मौलिक अनुभूतिको रङ पोत्दैछु । संगीतको लय र झङ्कारमा त्यसलाई घोल्दै यौटा विछट्टको बिहान निम्त्याउने जमर्कोमा प्रयत्नरत छु । आफ्नो लेखकीय सत्वलाई जोगाउँदै जीवनको सुन्दर र सुललित अध्यायहरूमा आफू व्यक्त हुन हतारमा छु । त्यही हतारमा मैले मेरो करेसामा अनुभूतिका फूलहरू फुलाएको छु । ती फूलहरूको रङ–सौन्दर्य र हरहर वासनाको मिठासले मेरो मन प्रफुल्लित हुन्छ । म खुसीले बुर्कुसी मार्छु । मेरा खुट्टा भुईमा टेकिदैनन् । म धरती छोडेर माथितिर उड्दै अनुभूतिका फूलहरूमा जीवनको बैंस भेट्छु । आकाश–गंगामा शिव–ताण्डव नृत्यको रोमाञ्चमा म स्वतः मग्न हुन थाल्छु ।
वसन्तको बिहान जब अनुभूतिका फूलहरू बोकेर सङ्घारैमा आइपुग्छ, तब जीवन आफैँ एउटा उत्सवजस्तै लाग्छ । भावनाका वासनाहरूले भरिएको हावाले मनको दैलो घ्वारक्क खोलिदिन्छ । म बलेँसीमा उभिएर संसारतिर आँखा ओछ्याउँछु– जस्तो कि प्रकृतिको विराट काखमा आफूलाई सुम्पिँदैछु । त्यसै क्षण मन खुसीले बुर्कुसी मार्छ, हृदय उत्साहले भरिन्छ र मन सौन्दर्यको अथाह सागरमा छोप्याङ्ग–छुप्लुङ्ग गर्दै पौडिन थाल्छ ।
त्यहाँ आँखाले देख्ने मात्रै होइन, अनुभूतिले महसुस गर्ने संसार खुल्छ । प्रत्येक दृश्य अनुभूतिको अभिलेख जस्तै हुन्छ । त्यहाँ भावनाहरू मगमग सुगन्ध फैलाइरहेका हुन्छन् । हरियो मैदानमा मुस्कुराइरहेका घाँसका कलिला मुनाहरू, फूलका पातमा टल्किरहेका शीतका थोपा र आकाशमा लहराइरहेका बादलहरूले जीवनको सौन्दर्य बोलिरहेका हुन्छन् । म त्यही सौन्दर्यमा जीवन भेट्छु र त्यही आनन्दमा आफूलाई डुबाउँछु ।
म मेरा अनुभूतिका कोमल, रङ्गीन र सुगन्धमय फूलहरू टिप्दै जान्छु । तिनलाई हृदयको धागोमा उनेर एउटा जीवन्त माला बनाउँछु । त्यसले मेरो भित्री संसारलाई उज्यालो पार्छ । ती फूलहरू कल्पनाका होइनन्, ती त जीवनका संघर्ष, आशा, श्रम र सपनाका प्रतिफल हुन् । म अनुभवको शिल्प खोल्छु, परिश्रमको डुङ्गा ख्याउँछु र जीवनका रङ्गीन सपनाहरूलाई यथार्थको किनारमा ल्याएर राख्छु ।
वसन्त आउनुसँगै अनुभूतिका फूलहरू फुल्छन्, प्रकृतिका सारा जीवन त्यसतिर आकर्षित हुन्छन् । भोका मौरी र भँमराहरू रस सुस्न अर्कै संसारबाट भुन्भुनाउँदै आइपुग्छन् । पुतलीहरू रङ्गीन पखेटा फैलाएर रमाउँदै नाच्छन् । चराहरू चिरबिरी स्वरमा गीत गाउँछन् । आकाश बादल खोलेर यो सौन्दर्यलाई टुलुटुलु हेर्छ । टाढाबाट हिमाल मुसुक्क मुस्कुराउँदै आशीर्वादको शिर झुकाउँछ । यस्तो दिव्य प्रकृतिको मिलन कि त्यहाँ खुसीले नेटो काटिसकेको कसैलाई पत्तै हुँदैन ।
त्यो क्षण, त्यो पल, मेरा लागि स्वर्गीय आनन्दभन्दा कम हुँदैन । यौटा फरक प्रीतिकर पल, यौटा अनौठो आभास, यौटा शब्दातीत क्षण ! शब्दहरूमा बाँध्न गाह्रो हुने सुखले मन भरिन्छ । म हर्षविभोर भएर अनुभूतिका फूलहरूमा मन्त्रमुग्ध हुन्छु । जीवनका सारा उच्छ्वासहरू भावनामा पोख्न थाल्छु । एकपछि अर्को अनुभूतिको अवतरण हुँदै गर्दा म चुपचाप अक्षरका प्रत्येक पङ्क्तिहरूमा जीवनको सौन्दर्य भेट्छु । ती सौन्दर्यमा दुःख बिर्साउने औषधि हुन्छ । पीडा लुकाउने गोप्य ठाउँ हुन्छ । तनाव हटाउने उपाय हुन्छ ।
वास्तवमा अनुभूतिका फूलहरू प्रकृतिको उपहार मात्र होइनन्, ती हृदयका भाषा पनि हुन् । ती मानवीय मनका स्वभावसमेत हुन् । ती फूलहरू फुल्दा जीवन अर्थपूर्ण हुन्छ, यात्रा सुन्दर बन्छ र हरेक बिहान त्यो नयाँ आशाको उज्यालो बोकेर उदाउँछ । यही फूलहरूको सुगन्धमा म आफूलाई भेट्छु, संसारलाई बुझ्छु र जीवनलाई प्रेम गर्न सिक्छु । यिनै अनुभूतिका फूलहरू फुल्छन् र नै मन भङ्ग हुँदैन । बैराग्यले मन भाँडिदैन । बरु आरोग्य निम्तिन्छ ।
अनुभूतिका फूलहरू फुलिरहेका मनको बगैँचामा म हरेक बिहान एउटै ठाउँमा उभिन्छु । तर संसार हरेक दिन नयाँ देखिन्छ । हेर्ने आँखा उही हो तर देखिने दृश्य सधैँ नयाँ लाग्छ । अनुभूति गरिने कुरा नवीन हुन्छ । बाटो उही हुन्छ, पहाड उही, आकाश उही ! तर अनुभूति उस्तै हुँदैन । यही परिवर्तनशील अनुभूतिको लयमा जीवनको रहस्य लुकेको रहेछ भन्ने कुरा म वसन्तको बिहानी प्रहर बुझ्दै जान्छु ।
आँखा पछ्याउँदै पाइलाहरूका साथ म उकालो चढ्दै थाक्छु । निधारबाट तर्तरी पसिना झर्छ । सास फेर्न गाह्रो हुन्छ । त्यही थकाइभित्र एउटा अनौठो मिठास लुकेको भेट्छु । शरीर थाकेको हुन्छ तर मन थाकेको हुँदैन । म बुझ्छु– सुख सजिलै पाइने गन्तव्यमा होइन, कठिन बाटोमा उम्रिने अनुभूतिमा बस्दोरहेछ । यिनै बोटबुट्यान, माकुराका जालो र लतालहराहरूमा । यिनै पातपतिङ्गर र झोरझाडीहरूमा, जहाँ विशुद्ध आफ्नोपनको अनुराग हुन्छ । जहाँ आफ्नै प्रकृति र परिवेशको सुन्दर संसार हुन्छ । साँच्चै त्यहाँ अनुभूतिका फूलहरू ढकमक्क फुलिरहेका हुन्छन् ।
एक दिन पहाडको मोडमा उभिएर तल फैलिएको उपत्यका नियाल्दा मैले दृश्य देखिनँ, मैले जीवनको फैलावट देखेंँ । कतै बालीले हराभरा उज्याला खेतहरू । कतै छायाँमा परेका, अभावले पिछडिएका बस्तीहरू । मलाई लाग्यो– जीवन पनि यस्तै रहेछ, घाम र छायाँको संगम । दुःख नहुँदो हो त सुखको अर्थ कसरी बुझिन्थ्यो ? कठिनाइ नहुँदो हो त उपलब्धिको स्वाद कसरी आउँथ्यो ?
हावाले अनुहार छोएर भाग्दा मलाई समयको स्पर्शझैँ लाग्यो । समय पनि यस्तै हो– देखिँदैन तर महसुस हुन्छ । कहिले शीतल, कहिले कठोर । यसैको बहावमा हामी बगिरहेका छौँ । तर हामी कहाँ पुग्ने भन्ने निर्णय भने हाम्रो चेतनाले गर्छ । म यात्रामा सिक्दै गएको छु– भाग्यले बाटो देखाउछ होला, तर पाइला चाल्ने जिम्मा आफ्नै हो ।
कहिलेकाहीँ बाटोमा भेटिने वृद्ध बटुवाको चाउरी–चेहराले मलाई जीवनको दीर्घ कथा सुनाइरहेको अनुभूति हुन्छ । उनका आँखामा संघर्षका नदीहरू बगेका हुन्छन् । तर ओँठमा मृदु मुस्कानका छचल्कनहरू छचल्किरहेको आभास हुन्छ । त्यहाँ स्वतः शान्तिको मुस्कान बसेको हुन्छ । म बुझ्छु– जीवनले धेरै चोट दिएपछि मात्रै मानिसभित्रबाट शान्त हुन सिक्दोरहेछ । मुस्कानमय आभाले मानिसलाई अलिकति शान्तिको सुस्केरामा खुसी पनि दिँदोरहेछ ।
एक साँझ अस्ताउँदै गरेको सूर्यलाई हेर्दा मलाई अन्त्यको सौन्दर्यबोध भयो । उज्यालो बिस्तारै रातमा विलीन हुँदै थियो । तर, त्यो विलय पनि कति सुन्दर ! मैले महसुस गरेँ– अन्त्य पनि डर लाग्दो होइन रहेछ । यदि त्यो पूर्णताका साथ आइपुग्यो भने हरेक दिनको अस्ताउने क्रम जस्तै जीवनको अन्त्य पनि नयाँ आरम्भको संकेत हुनसक्छ । अन्त्यबाट नै पुनः आरभ्म हुन्छ ।
यात्राले मलाई बाहिरी भूगोल मात्रै चिनाएको हुँदैन, भित्री मनको नक्सा पनि कोरिदिएको हुन्छ । म जहाँ पुग्छु, त्यहीँ आफूलाई भेट्छु । उकालोमा संघर्ष, ओरालोमा विश्राम, मोडमा निर्णय र गन्तव्यमा आत्मसन्तोष ! यी सबै जीवनका पाठ हुन् ।
अनुभूतिका फूलहरू भावनाबाट उम्रिँदैनन्, ती चेतनाको माटोमा हुर्किन्छन् । सोचको पानीले सिँचाइ हुन्छ, अनुभवको घामले फुल्छन् । यसले जीवनलाई हेर्ने दृष्टि फराकिलो बनाउँछ, त्यही व्यक्तिको बगैँचामा यी फूलहरू सुन्दर फुल्छन् । यसरी आफ्नै घर करेसामा फुलेका फूलहरूले जीवनलाई ऊर्जा प्रदान गर्छन् । ती ऊर्जा नै वस्तुतः जीवन निर्माणका आधार बन्छन् ।
म अझै यात्रा गर्दैछु । जीवन नै यात्रा हो । हामी कोही पनि यात्रा नगरी कतै पुग्न सक्दैनौँ । यही यात्राले हामीलाई संसार देखाउँछ, संसारसँग साक्षात्कार गराउँछ । हरेक पाइला एउटा प्रश्न हो, हरेक दृश्य एउटा उत्तर । यी प्रश्न–उत्तरको बीचमै जीवनको दर्शन उम्रिरहेको हुन्छ ।
अनुभूतिका फूलहरू अब सुगन्ध होइनन्, ती जीवनका सत्य हुन् । तिनले मलाई बाँच्न सिकाउँछन्, बुझ्न प्रेरित गर्छन् र गलतलाई अस्वीकार गर्न लगाउँछन् । यही शायद जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।

