साहित्यपोस्ट डट कम

निबन्ध: अम्मल

निबन्ध: अम्मल

अम्मल नै छैन भने ढुङ्गामै टाउको ठोके पनि नफुर्दो रहेछ साहित्य । ५२ वर्षे लक्का जवानी छँदैछ फुराइहाल्छु नि भन्यो, ठँसठँसी कन्यो, फुर्छ कि फुर्छ कि झैँ हुन्छ, फुर्दैन । कलम समातेर घोरियो, बिहान बित्छ, दिन बित्छ, रात बित्छ थपिँदैन दोस्रो अनुच्छेद । पुस्तक बन्नु त कता हो कता थालेको सिर्जनाले पनि पूर्णता नपाउँदा हुँडल्लिएर आउँछ उछ्वास ।

आदत बसाउनै नसकेपछि ‘अम्मल’ को ‘अ’ सम्मले नपत्याउँदो रहेछ । ज्यान फाले परेन नजिक । न पुस्तक पढ्ने आदत न कफी पिउने । रक्सी चुरोटको त विषय नै टाढाको । सुपारीको कुट्कोधरि चपाएन मुखले । सिकौँ, के सिकौँ बाउन्नवर्षे जवानीमा ! नसिकौँ, बनाउनु छ आफूलाई अब्बल साहित्यकार ।

उहिले गोठालोमा माल्दाजुसँग खैनी खान सिक्ता धुलेअचार निलेझैँ निलेँछु फाँको । दिनभर उल्टी गर्दा बाँच्छुजस्तो लागेको थिएन । बाँचेँ धन्न !

दुब्लो थिएँ । ४५ केजीको पिलन्धरे । साथीहरूले भने– “काँचो अण्डा खाने आदत बसाऊ, मोटाइन्छ ।” बाहुनको छोरो । न घरमा कुखुरा पाल्नु, न अण्डा किन्ने रूपियाँ हुनु । त्यै पनि ज्यानको तौल ह्वात्तै बढाउने मनसायले छिमेकीघरको अण्डा चोरेर बारीका कान्लामुनि पुगेँ लुगलुग काम्दै । लुक्तै, वरपर आँखा तन्काउँदै, दर्सनढुङ्गाले टुप्पो फुटाएर अलिकति चाटेँ । केही भएन । मुखले सेतो भाग चुरुप्प तानेर निलेँ । केही भएन । पहेँलो भाग क्वाप्पै मुखमा हालेर चपाउँदो भएँ । सुलीको बुजो चपाएझैँ लाग्यो । फर्लक्कै फर्कियो पेट मकैबारीमै । आन्द्राभुँडी दुहुँदादुहुँदै बित्यो पूरै दिन । इन्तुनचिन्तु भएर घिस्रिँदै घर पुगेँ बेलुका । भोलिपल्टदेखि अण्डा सम्झिँदै रिँगटा छुट्न थाल्यो, किन बस्थ्यो र आदत ?

चिया खाने जोश चढेछ मेरा बालाई । चिया रङ किन्ने कन्चे थिएनछ घरमा । खयरको थोत्रे हरिस पखालेर खुर्किन थाले बुढा । झुत्रैझुत्रा, चोइटैचोइटा बनाएर सुकाए मान्द्रामा । ढिकीमा घान हालेर बेस्मारी कुट्न लगाए हामीलाई । ढुट्टो बनेपछि राखे सुरुवालका लामालामा धोक्रामा ।

अब हरेक बिहान घरमा बडेमानका कित्लीमा खयरेचिया पाक्न थाल्यो । पानी उमाल्यो, मुठ्याएर हाल्यो ढुट्टो । सख्खरका डल्ला हाल्यो गुलियो हुने गरी र पित्ले गिलास, झर्के बोटुका जे जे छन् घरमा, भरिभरि सारेर थाल्यो पिउन ।

बिहान ओछ्यानबाट उठ्न तँछाडमछाड हुन थाल्यो हामीमाझ । “मलाई भरि गिलास चाहिन्छ” भन्थ्यो एउटाले । होइन मलाई भरि भन्थ्यो अर्काले । मलाई मलाई भन्दाभन्दै कहिले गिलास तानातान गरेर पिल्स्याउँथ्यौँ तिघ्रा । दशभाइ छोरा हामी, लड्डी पर्थ्यो ठेलाठेल र खोसाखोसमा । अन्ततः फिक्का चिया मानामाना पिएर हिँड्थ्यौँ नाम्लाडोरी, कुट्टेकोदाला, हलाजुवा, हम्बर गैँती जे जे छन् बोकेर आ-आफ्ना मेलामेलामा ।

६ महिनापछि एकाएक टेकिन छाडेछन् बाआमाका गोडा । हाम्रा पनि लुलिक्लुलिक् हुन थाले । आँतमा तागत र नाडीमा बल सकिएछन् सबैका । कमजोरीका कारण खोज्दै जाँदा अनुसन्धानले समात्यो त्यै खयारेचियाको पच्छर । बाआमाले बाँकी रहेको झण्डै १० मानाजसो ढुट्टो लगेर मलखाडीमा दाहसंस्कार गर्नु भयो । बन्द भयो अब हाम्रो ६ महिने चियापुराण पनि । बस्नबस्न आँटेको चियादत पनि भुर्र उडेर गयो आकाशतिर । शरीरमा अम्मलको गाछी हुर्काउला कि भनेको त गोडालाई लाछी बनाएर गुड्काउने कामचाहिँ पछिसम्म नै चलाइरह्यो ।

साहित्यकारको ताज पहिरिने आफ्नो रहर मरिचको दानुझैँ चाउरिँदै गएपछि अरूचाहिँ कसरी विश्वप्रसिद्ध बनेछन् भनेर खोज्ने भूत सवार भयो मस्तिष्कमा । पढेका पुस्तक र सुनेका कहानीहरू कोट्याउँदै थुपार्न थालेँ एकठाउँमा । पहिलो लाइनमा उभिए फ्रान्सेली साहित्यकार ‘ओनदे द बाल्जाक’ । जानेसम्म नियालेँ उनलाई एउटा कुनाबाट ।

एउटा सिङ्गो समाजलाई देखाउन एउटा उपन्यासले मात्र पुग्दैन भन्दै मानिसहरूका जीवनकथा, स्वार्थ, सपना, पतन, उत्थान आदि सबैकुराको संयोजन भएका नब्बेभन्दा बढी विश्वप्रशिद्ध उपन्यासको सँगालो “ला कमेडिया ह्युमेन -La Comedia Humaine” तयार गर्ने बाल्जाक सारै कडा कफीप्रेमी रहेछन् । “मस्तिष्कको इन्धन” मानेर दिनमा ३० देखि ५० कपसम्म कफी पिउँदै २० घण्टा दैनिक लेखिरहने क्षमता रहेछ उनको । “मानिस कसरी समाजले बनिन्छ ? र समाज कसरी मानिसले बिगार्छ” भन्ने कथाहरूको संसार एउटै सँगालोभित्र समेटिदिने व्यक्ति रहेछन् उनी । जुन सँगालो आजको विश्वकालागि पनि उत्तिकै महत्त्वपूर्ण रहेछ ।

समय बद्लियो तर समाज बद्लेको रहेनछ । पैसा, शक्ति र सम्बन्धले मानिसहरू नाटकमा जस्तै भूमिका खेलिरहँदा रहेछन् । “बाहिर असल, भित्र स्वार्थी” । बाल्जाकको त्यो “मानव कमेडी” त हिजोभन्दा आज बढी रहेछ । उनको त्यो बेलाकै बुझाइ थिएछ कि–

“पैसाले– मानिस बद्लिन्छ ।”

“प्रेम– स्वार्थ राखेर लड्छ ।”

“सत्ताले– नैतिकता खान्छ ।”

“परिवार– समाजको ऐना हो ।”

“महत्त्वाकांक्षा– पतनको बाटो हो ।”

कफीको कमाल देखाउने ‘ओनदे द बाल्जाक’पछि कफीमा चकलेटसमेत मिसाएर दैनिक ४० कपसम्म पिउँदै क्यान्डिड (Candid) उपन्यास लेख्ने बहुआयामिक स्रष्टा भोल्टेयरलाई पढेँ मैले । “संसार सुधार्ने ठूला भाषणमा भन्दा आफ्नो जीवन र कर्ममा ध्यान दिने मानिस बुद्धिमानी ठहर्छ” भन्ने निष्कर्ष निकालेका भोल्टेयरले ‘दर्शनका पछि दौडन छोडेर आफ्नो करेसाबारी गोडमेल गर्न’ सिकाएका रहेछन् । अन्धविश्वास र अन्धआशावाद त्यागेर तर्क र अनुभवबाट सोच्न सिकाएका रहेछन् । धर्म र सत्तामा कपट हुने हुँदा व्यवहारिक जीवन नै महत्त्वपूर्ण हुने ज्ञान दिलाएका रहेछन् । संसार आदर्शमा होइन जिम्मेवार र सचेततामा चलेको छ भन्ने चेतना दिलाउने, ‘दार्शनिक शब्दकोश’ का निर्माता भोल्टेयरलाई कफीले नै हो त्यस्ता जीवन्त कृति दिलाएको भन्ने पक्का भयो मलाई ।

म अझै कफीप्रेमीहरू खोज्दै गएँ । अम्मलको तागत हेर्दै पनि गएँ । शास्त्रीय सङ्गीतमा गाइने कथा ‘कफी कान्ताता’ (Coffee Cantata) लेख्ने सङ्गीतकार ‘योहान सेबास्टियन बाख’ फेला पारेँ । कफीको लतमा फसेकी छोरीलाई धम्क्याउँदै “कफी पिउन छोडिनस् भने तँलाई भात खान दिन्न, नयाँ लुगा किनिदिन्न, विवाह पनि गरिदिन्न” भन्ने कडा बाबुले छोरीबाट “म त्यस्तो केटासँग बिहे गर्छु जसले मलाई कफी पिउँदा गाली नगरोस्” भन्ने प्रतिउत्तर प्राप्त गरेपछि कफी अम्मली ज्वाइँ खोज्न बाध्य बनेको अवस्था भेटेँ । मानिसको सानु लत तर समाजको ठूलो कथा बनिरहेको कफीमोहलाई लेख्नु पनि सङ्गीतकारको कफीप्रतिको मोहकै प्रमाण हो भन्ने ठहर भयो ।

हिजो पेरिसका क्याफेहरूमा बसेर Existentialism is Humanism लेख्ने अस्तित्ववादी दार्शनिक जाँ पाल सात्र्र,The Second Sex का लेखक सिमोन दे बुब्वाँर मात्र नभएर The

Old Man and the Sea का लेखक अमेरिकी नागरिक अर्नेष्ट हेमिङ्वे, Harry Potter का लेखक जे.के. रोलिङ, Norwegian Wood तथा Kafka on the Shore का लेखक हारुकी मुराकामी जस्ता लेखकहरू कफीप्रेममुक्त पाइएनन् । झन् मुराकामी त स्वयं कफी पसल सञ्चालन गर्ने, लेख्नुअघि कफी पिउने, सङ्गीत सुन्ने र सबै दनावबाट मुक्त भएपछि एकोहोरो लेखिरहने बौद्धिक व्यक्ति भएको पाइयो ।

यसले मलाई निष्कर्षमा पुर्यायो कि कफी बौद्धिक वृत्तमा पहिले र अहिले पनि उत्तिकै लोकप्रिय रहेछ । यसलाई सामान्य पेय मात्रै नमानेर ‘विशिष्ट संस्कृति’ बनाउने बौद्धिकहरू धेरै छन् । ‘कफी र क्याफे–संस्कृति’ लेखनसँग राम्ररी जोडिएका छन् मानिसहरू ।

यी र यस्ता कयौँ लेखकहरूको प्रसिद्धि हेर्दा ‘कफी’ केवल पेय मात्र होइन, साहित्यकारका लागि एकाग्रता, जागरण र कल्पनाशीलताको सहयात्री पनि हो भन्ने कुरा छर्लङ्ग भयो र म पनि कफीलाई अम्मल बनाउने निष्कर्षमा पुगेँ ।

फेरि मैले सम्झेँ, रक्सीका अम्मलीहरू पनि त विश्वविख्यात लेखक छन् नि । नबनाउनु आदत बनाइसकेपछि कफी मुलाङमा के जात फाल्नु । एकपटक रक्सीतिर पनि पो ध्यान दिने हो कि भनेर रक्सीप्रेमी केही साहित्यकारको नाम खोजिहेरेँ ।

फेरि नाम दोहोरिएर आए उनै अर्नेष्ट हेमिङ्वे, विलियम फकनर, एडगर एलेन पो आदिआदि । उनीहरूले रक्सीलाई केवल नशा मात्र नभएर कथानकको अभिन्न हिस्सा नै बनाएको पाइयो । विश्वप्रशिद्ध पुस्तकहरू The Post Office तथा ‘Office’ का लेखक चाल्र्स बुकोव्स्की पढेँ । कृतिहरूमा रक्सीलाई ‘कठोर सत्य’ मान्दै पात्रहरू पनि प्रायः बारमा बस्ने, रक्सीमा हराउने र समाजको तल्लो स्तरमा बाँच्ने सर्वसाधारण नागरिकका रूपमा देखाउने प्रयत्न गरेको पाएँ । पीडाको अभिव्यक्ति दिन र समाजको यथार्थ झल्काउन रक्सीले राम्रो भूमिका खेल्छ भन्ने मान्यता उनीहरूभित्र रहेछ । “पिएर लेख्नुहोस् र होसमा सम्पादन गर्नुहोस्” भन्ने हेमिङ्वेले शुरु शुरुमा मानसिक अवरोध हटाउन रक्सी सेवन गरे पनि पछि यसले उदासी र एकाङ्कीपन बढाएको स्वीकार गरेका रहेछन् ।

यिनका अतिरिक्त, मैले रक्सीका अम्मली अन्य लेखकहरू पनि पढेँ । तिनका कृति पढेँ र जीवनको अन्त्य पनि पढेँ । उनीहरूले केही उच्चकोटिका कृतिहरू त दिए तर बाँकी कृतिहरू अपूर्ण छोडेर, शारीरिक, मानसिक पतन व्यहोरेर जवानीमै ज्यान गुमाएका वास्तविक पीडा छ्याप्छ्याप्ती भेटाएँ । त्यसपछि त “दुःखलाई कलामा बदल्ने शक्तिका लागि रक्सीलाई अम्मल बनाउनु पनि अक्षम्य प्रयास रहेछ” भन्ने निष्कर्ष निकाल्न बाध्य भएँ ।

तनाब त अब पो शुरु भयो । साहित्यकार बन्न कसै गरे नसकिने भइयो । पुर्पुरोमा हात राखेर घोरिइरहेको थिएँ झ्वाट्ट आँखामा आए आफ्नैबारीका देवकोटा बाजे । सिगरेट पिउँदै कविता कथ्याउँदै । “महाकवि बनाउन सक्ने चुरोट घरकै आडमा हुँदाहुँदै के त्यो कफी र रक्सीमा घोत्लिरहेको हुँला म ?” धत्, बित्थैँको लठ्ठुराम बनेर संसारभरिका पुस्तक पढी हिँडिएछ । झोँक पनि चल्यो आफैँसित । कति चाहिँ ठूलो हुनु हउ देवकोटाबाजे भन्दा ? त्यतिको भए त पुगिहाल्यो नि ।

भोलिपल्ट बिहानै उठेर चुरोटको पूरै डण्डा किनेर ल्याउने र छिनछिनमा फुस्स फुस्स धुवाँ उडाउँदै लेखिरहने सङ्कल्प गरी पल्टिएँ ओछ्यानमा ।

आँखा चिम्लेर झकाउन मात्र के लागेको थिएँ, पिताजीले ख्वाङ्ख्वाङ खोकेको सुनेँ । हतारहतार निस्केर आँगनमा हेरेँ । पिताजी आलसतालस हुनुहुन्थ्यो । गएर च्याप्प समाएँ । डोर्याउँदै ल्याएर सिकुवाको पलङमा सुताएँ र तुरुन्तै एम्बुलेन्स मगाएँ । अस्पताल पुर्याउने बित्तिकै डाक्टरसाबले पुराना रिपोर्ट हेर्दै बिरामीलाई सघन उपचारकक्षमा राखी सम्पूर्ण अङ्गजाँच गराउनुभयो । जाँचपछिको रिपोर्ट हेर्दै मलाई सोध्नुभयो–

“पिताजीले चुरोट पिउन थाल्नुभएको कति वर्ष भयो ?”

मैले भनेँ– “खै डाक्टरसाब पिताजीलाई नै थाहा छैन रे । उहाँले थाहा पाउँदा बिँडी खानुहुन्थ्यो रे हजुरबुबाको साथ लागेर । अहिले ८३ वर्ष पुग्नुभयो, खैनी र चुरोट दुवै बराबर सेवन गर्नुहुन्छ । ४ वर्षको हुँदादेखिका कुरा याद छन् रे उहाँलाई ।”

डा.साबले निधार खुम्च्याएर भन्नुभयो– “अब कुनै उपाय छैन भाइ । पिताजीलाई घर लानोस् । परिवारका सबै सदस्यहरू भेला हुनोस् । चण्डी, रुद्री के के हुन्छ पाठ गराउनोस् । पवित्र कुराहरू सुनाउनोस् । जति सक्नुहुन्छ खुशी दिलाउनुहोस् । किनभने, उहाँको फोक्सो पनि देखाउँदैन अस्पतालको मेसिनले । कलेजो पनि देखाउँदैन । किड्नी पनि हानिसकेको छ । काखीमुनि स-साना गाँठा देखिएका छन् । त्यो भनेको बाहिर निस्किसकेको हो असर । ब्रेनमा पनि पुगिसकेको छ त्यो । पिताजीको समय अब ३ घण्टादेखि बढीमा ३ दिन मात्रै हो । पिताजीलाई नसुनाउनोस् । उहाँले जे माग्नुहुन्छ त्यही दिनोस् । नआत्तिनोस् । यस्तै हो दैवको लीला । धैर्यतापूर्वक काम गर्नोस् म नर्सहरूलाई सहयोग गर्न भनिदिन्छु ।”

मैले, आफू धर्तीमा छु कि उडिरहेछु आकाशमा ? केही भेउ पाइनँ । म आत्तिएर एक्कासी चिच्याएँछु । आवाज बाहिर निस्कँदा श्रीमतीले घच्घच्याइछिन् मलाई, झल्याँस्स ब्युझेँ ।

शरीर थरथर काँप्दै थियो । जुरुक्क उठेँ । घडी हेरेँ । सुतेको आधाघण्टा पनि भएको रहेनछ । सम्झेँ– पिताजीको देहावसान भएको नौ वर्ष पुगेछ । आज त्यही घटना जस्ताको तस्तै देखेँ मैले जुन घटना नौ वर्षअघि घटेको थियो । डाक्टरसाबले बोलेका तिनै शब्द अक्षर नबिराई सुनेँ आज । म जसरी आत्तिएको थिएँ नोबेल अस्पताल विराटनगरमा, त्यसैगरी आत्तिएँछु आज । पिताजीलाई घर ल्याएको भोलिपल्ट बेलुका बोल्दाबोल्दै प्राण गएथ्यो उहाँको ।

साहित्यकार बन्ने लहडमा चुरोटलाई अम्मल बनाउने सङ्कल्प गर्दा पिताजीले आफ्नो दुर्गति झलक्क देखाइदिनुभएको हो क्यारे मलाई । सुत्नुअघिको मेरो सङ्कल्प सम्झँदा अझै थर्थरायो मुटु । लगलग कामे गोडा । अचानक बग्न थाले आँखा । श्रीमतीले थाहा पाउँछिन् कि भनेर म हतारहतार वासरुम छिरेँ । मुख धोएँ । शान्त बनाएँ आफूलाई र सरक्क माथि पूजाकोठामा छिरेर पिताजीको फोटो हेर्दै प्रतिज्ञा गरेँ कि “शरीरलाई नशामा डुबाएर, कुनै कुराको अम्मली बनाएर, साहित्यकार नामको पगरी गुथ्नु छैन मलाई । म जे छु, त्यसैमा खुशी छु । जस्तो छु, यसैमा सन्तुष्ट छु ।”

त्यसपछि न म अम्मली बनेँ, न बने साहित्यकार नै ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.