साहित्यपोस्ट डट कम

नेपथ्यको सिलिगुडी कन्सर्टले भाषा र संस्कृतिको सम्बन्ध जोड्यो

नेपथ्यको सिलिगुडी कन्सर्टले भाषा र संस्कृतिको सम्बन्ध जोड्यो

सिलिगुडी । नेपथ्यका मुख्य गायक अमृत गुरुङले भाषा र सांस्कृतिक सम्बन्धको महत्त्वबारे भावुक सन्देश दिँदै पश्चिम बङ्गालको सिलिगुडीमा आयोजित कन्सर्टमार्फत नेपालीभाषी समुदायलाई एकतामा जोड्ने आह्वान गर्नुभएकाे छ ।

‘पुर्खाका सङ्घर्ष र रोजाइले बेग्लाबेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ, भावी पुस्तालाई पनि यो भाषा दिएर हाम्रो सम्बन्ध युगौँसम्म अघि बढाऔँ,’ गायक गुरुङले मञ्चबाट व्यक्त गरेको भावनालाई दर्शकहरूले उत्साहपूर्वक समर्थन गर्नुभएकाे थियाे ।

शनिबार आयोजित कन्सर्टमा भारतका विभिन्न राज्य तथा नेपालबाट समेत दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मिजोरमको आइजोल र कोलासी क्षेत्रबाट करिब २० घण्टाको रेलयात्रा गरेर आएका नेपाली मूलका दर्शकहरूले आफ्नै भाषा र संस्कृतिप्रतिको आकर्षणका कारण कार्यक्रममा सहभागिता जनाएको बताउनुभयाे थियाे ।

मिजोरमकी पुष्पा क्षेत्रीले नेपालीभाषी समुदाय अल्पसङ्ख्यक भए पनि भाषा र सांस्कृतिक पहिचानले आफूहरूलाई जोडिरहेको बताउनुभयाे । कन्सर्टपछि आफूहरूले अपेक्षाभन्दा बढी रमाइलो अनुभव गरेको उहाँको प्रतिक्रिया थियो।

यसैगरी असमबाट आउनुभएकाे सञ्जीव लिनसिङले नेपालीभाषी समुदायसँगको सम्बन्ध र नेपाली भाषाप्रतिको निकटता साझा सांस्कृतिक पहिचानको आधार बनेको बताउनुभयाे। सिक्किमबाट आउनुभएकाे रुश्मा राईले सिलिगुडीले पूर्वोत्तर भारत र छिमेकी भुटानसम्म नेपाली सांस्कृतिक गतिविधि जोड्ने केन्द्रका रूपमा भूमिका खेलिरहेको उल्लेख गर्नुभयाे ।

कन्सर्टका क्रममा गायक गुरुङले नेपालको विभिन्न भेगको सांस्कृतिक झल्को दिने गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे । ‘कर्नालीका छाइला’देखि ‘कोशीको पानी यो जिन्दगानी’सम्मका गीतमार्फत दर्शकलाई नेपालको सांस्कृतिक यात्रामा सहभागी गराइएको थियो।

कार्यक्रममा भारतीय जनता पार्टीसँग आबद्ध विधायक नीरज जिम्बा तथा लोकसभा सदस्य राजु विष्टको पनि उपस्थिति रहेको थियो। उहाँहरूले नेपथ्यलाई नेपाली भाषा, संस्कृति र सामूहिक पहिचानको प्रतीकका रूपमा व्याख्या गर्नुभएकाे थियाे।

करिब दुई घण्टासम्म चलेको कन्सर्टमा ब्यान्डले १७ वटा गीत प्रस्तुत गर्दै अन्तिम प्रस्तुति ‘गाउँ–गाउँबाट उठ’सँगै कार्यक्रम समापन गरेको थियो। मञ्चमा गायक गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनुभएकाे थियाे ।

स्थानीय आयोजक ‘पोजिटिभ भाइब्स’का विकास कायस्थले सिलिगुडीमा पहिलो अर्थपूर्ण नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक कार्यक्रम गर्ने योजना रहेको जानकारी दिनुभयाे ।

सिलिगुडीको प्रस्तुति सम्पन्न भएसँगै ब्यान्डको साङ्गीतिक टोली स्वदेश फर्किएको छ। यही कन्सर्टमार्फत ब्यान्डले सन् २०२६ को पहिलो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको जनाएको छ भने आगामी महिनाहरूमा विदेश र स्वदेशका विभिन्न सहरमा प्रस्तुति दिने तयारी रहेको बताइएको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.