हेटौंडा। लोक–रक ब्याण्ड नेपथ्यले यस वर्षको नेपाल यात्राको सुरुआत हेटौंडाबाट गरेको छ। बुधबार बेलुकी हेटौंडास्थित भुटनदेवी विद्यालयको मैदानमा सम्पन्न कन्सर्टमा हजारौँ दर्शक–श्रोताले उत्साहपूर्वक नाच्दै सहभागिता जनाउनुभएकाे थियाे ।
यसपटक नेपथ्यले आफ्ना नियमित गीतक्रममा परिवर्तन गर्दै कन्सर्टको थालनी ‘हो रामा रामा’ बाट गरेको थियो। अघिल्ला प्रस्तुतिहरूमा मध्यभागमा राखिँदै आएको उक्त गीतले सुरुदेखि नै दर्शकलाई ऊर्जाशील बनाएको देखिन्थ्यो। त्यसपछि ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’ हुँदै कार्यक्रम अघि बढेको थियो।
कन्सर्टमा सहभागी स्थानीय दर्शक मान्यता सापकोटाले नेपथ्यको प्रस्तुति कहिल्यै नछुटाउने बताउनुभयाे । चार वर्षअघि पनि बुवासँग कन्सर्ट हेर्न आएकाे उहाँ यसपटक भने सुरुदेखि अन्त्यसम्म अगाडिकै लहरमा रहेर नाचिरहेको देखिनुहुन्थ्याे।
कन्सर्टको उत्साह दर्शकमात्र सीमित रहेन। सुरक्षामा खटिएका प्रहरीहरू समेत संगीतको लयमा रमाइरहेकाे देखिन्थ्याे । महिला प्रहरी टोलीको कमाण्ड सम्हालिरहनुभएकाे लालुमाया गुरुङले पनि नेपथ्यका गायक अमृत गुरुङ आफूलाई मनपर्ने गायक रहेको बताउनुभयाे ।
कार्यक्रममा ‘लामपाते सुरती’, ‘चरी मर्यो’, ‘जोमसोमे बजारमा’ जस्ता चर्चित गीतहरू प्रस्तुत गरिए। यसै क्रममा अमृत गुरुङले दर्शकलाई स्वदेश घुम्न प्रेरित गर्दै धौलागिरि क्षेत्रको यात्राबाट सिर्जित गीत र कर्णाली भेगको जीवन झल्काउने नयाँ गीत ‘कर्नालीका छाइला’ पनि सुनाउनुभयाे ।
गीतबीच अमृत गुरुङले सामाजिक सन्देश दिँदै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गर्न आग्रह गर्नुभयाे । त्यसपछि ‘यो जिन्दगानी’ र ‘गाउँ गाउँबाट उठ’ जस्ता सर्वकालिक गीतमा दर्शकले सामूहिक रूपमा स्वर मिलाएकाे थियाे । ‘गाउँ गाउँबाट उठ’ गाइरहँदा उहाँले आगामी निर्वाचनमा सचेत रूपमा मतदान गर्न अपीलसमेत गर्नुभयाे, जसलाई दर्शकले ताली बजाएर समर्थन जनाए।
कार्यक्रमको अन्त्यतिर ‘रेशम’, ‘तालको पानी’ र अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरिएको थियो।
आयोजक रमाइलो इभेन्ट्सका शिवम् शर्माले हेटौंडाले फेरि एकपटक आफूलाई नेपथ्यप्रेमी सहरका रूपमा स्थापित गरेको उल्लेख गर्दै कार्यक्रम भव्य र व्यवस्थित रूपमा सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्नुभयाे ।
कन्सर्टमा नेपथ्यका साथमा ध्रुव लामा (ड्रम), सुविन शाक्य (बेस गितार), निरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल) र दिनेशराज रेग्मी (किबोर्ड) रहनुभएकाे थियाे ।
हेटौंडाको प्रस्तुति सम्पन्न भएपछि नेपथ्य टोली बुटवल प्रस्थान गरेको छ। माघ २४ गते शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, रामनगरमा ब्याण्डको अर्को कन्सर्ट हुनेछ। त्यसपछि टोली क्रमशः नारायणघाट र बन्दीपुर पुग्ने कार्यक्रम छ।
दर्शकको सुविधाका लागि सबै कन्सर्टका टिकटहरू अनलाइनमार्फत उपलब्ध छन्। टिकट बुकिङ नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत गर्न सकिनेछ।

