लन्डन (ओन्टारियो), क्यानडा । नेपाली लोकरक ब्यान्ड Nepathya ले यस वर्षको शृङ्खलाबद्ध क्यानडा यात्रा सम्पन्न गरेको छ । दुई साता लामो सांगीतिक यात्राको अन्तिम प्रस्तुति ओन्टारियो राज्यको लन्डनस्थित ‘लन्डन म्युजिक हल’मा शनिबार सम्पन्न भएको हो ।
बेलुकी ७ बजे ढोका खुला गरिएको हल दर्शकले खचाखच भरिएको थियो । कार्यक्रमको सुरुवात ‘सा कर्णाली’ गीतबाट भएपछि दर्शकको उत्साह निरन्तर बढ्दै गएको देखिएको थियो ।
कन्सर्ट हेर्न स्थानीय मात्र होइन, टाढाटाढाबाट पनि दर्शकहरू पुग्नुभएकाे थियाे । ओटावाबाट सात घण्टा यात्रा गरेर पुग्नुभएकाे सुदन गुरुङले परिवारसहित कार्यक्रममा सहभागी हुँदै नेपथ्यको प्रस्तुति जीवनकै विशेष अनुभव बनेको बताउनुभयाे ।
कन्सर्टभरि ब्यान्डका प्रमुख गायक Amrit Gurung ले विदेशमा रहेका नेपालीहरूलाई एकतामा रहन र स्वदेश नबिर्सन आग्रह गर्नुभएकाे थियाे ।
दर्शक मधुसूदन थापाले नेपथ्यलाई बाल्यकालदेखि मनमा बसिसकेको सांगीतिक स्वादको रूपमा वर्णन गर्दै क्यानडामा यस्तो प्रस्तुति अनुभव गर्न पाउनु विशेष भएको बताउनुभयाे ।
कन्सर्टमा नेपाली मात्र होइन, विदेशी दर्शकको पनि उल्लेख्य उपस्थिति थियो । स्ट्राटफोर्डबाट आउनुभएकाे एरिक प्राउडलभले फरक संस्कृतिको अनुभव गर्न कन्सर्टमा आएको र प्रस्तुति अत्यन्त स्तरीय लागेको बताउनुभयाे ।
यसपटकको कन्सर्टमा भुटानबाट पुनर्वास गरिएका नेपालीभाषी दर्शकहरूको पनि उल्लेख्य सहभागिता देखिएको थियो । ७७ वर्षीया धनमाया तामाङले जीवनमै पहिलोपटक रक कन्सर्ट हेर्दा अत्यन्त रमाइलो लागेको बताउनुभयाे ।
कार्यक्रममा गायक अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनुभएकाे थियाे ।
स्थानीय आयोजक दीक्षान्त खड्गीले सानो सहरमा नेपथ्यलाई प्रस्तुत गराउन पाउनु ठूलो उपलब्धि भएको बताउँदै दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको बताउनुभयाे ।
सुदबरीबाट सुरु भएको क्यानडा यात्रा टोरन्टो हुँदै लन्डनमा सम्पन्न भएको हो । अन्तिम प्रस्तुति सकिएसँगै १४ सदस्यीय टोली स्वदेश फर्किएको छ ।
क्यानडा यात्रापछि नेपथ्यले आगामी महिना न्युजिल्यान्डमा सांगीतिक प्रस्तुति दिने तयारी गरिरहेको जनाएको छ ।

