साहित्यपोस्ट डट कम

नेपाली शिक्षा परिषद्द्वारा विशिष्ट सर्जकहरूको सम्मान तथा अभिनन्दन

नेपाली शिक्षा परिषद्द्वारा विशिष्ट सर्जकहरूको सम्मान तथा अभिनन्दन

काठमाडौं । नेपाली शिक्षा परिषद्को आयोजनामा विभिन्न विशिष्ट व्यक्तित्वहरूको सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । परिषद्को अमृत महोत्सव वर्षका अवसरमा वैशाख २७ गते आयोजित कार्यक्रममा नौ दशक उमेर पार गर्नुभएका वाङ्मयसेवी तथा सर्जकहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा दिव्य शताब्दी पुरुष डा. गौरीशङ्कर लाल दास, महेश्वर शर्मा, साहित्यसेवी भद्रकुमारी घले, डा. मृगेन्द्रराज पाण्डे, प्रा. चेतोनाथ शर्मा आचार्य, वरिष्ठ सर्जक महेश्वर शर्मा पौडेल, वरिष्ठ कवि द्वारिका श्रेष्ठ तथा संस्कृतिविद् हरिराम जोशीलाई अभिनन्दन गरिएको थियो ।

त्यसैगरी वाङ्मयसेवी शङ्करराज पाठक, माधवकुमार ‘भावुक’ र तेजेश्वरबाबु ग्वंगलाई पनि अभिनन्दन गरिए तापनि उहाँहरू विभिन्न कारणवश कार्यक्रममा उपस्थित हुन सक्नुभएको थिएन ।

कार्यक्रममा प्रा.डा. इन्दिरा शर्माले दोसल्ला ओढाएर, बमबहादुर थापा ‘जिताली’ले माल्यार्पण गरी सभापति रमा शर्माले औपचारिक अभिनन्दन गर्नुभएको थियो । अभिनन्दित व्यक्तित्वहरूले संस्थापक स्व. गोपाल पाँडे ‘असीम’प्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाको योगदानको स्मरण गर्नुभएकाे थियाे ।

कार्यक्रमको अन्त्यमा परिषद्का अध्यक्ष रमा शर्माले ७५ वर्ष पुगेको संस्थाले नौ दशक उमेर पार गर्नुभएकाे वाङ्मयसेवीहरूलाई एउटै मञ्चमा सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउँदै सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

वि.सं. २००८ सालमा स्थापना भएको परिषद्ले भाषा, साहित्य र शिक्षाको क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । कार्यक्रमको सञ्चालन सदस्य दिव्यचन्द्र आचार्यले गर्नुभएको थियो ।

यस्तो सम्मानले नेपाली भाषा, साहित्य र शिक्षाको क्षेत्रमा योगदान पुर्‍याउने अग्रज सर्जकप्रति कदर र प्रेरणा दुवै प्रदान गर्ने विश्वास गरिएको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.