साहित्यपोस्ट डट कम

नेपाली साहित्यको उन्नयनका लागि उपन्यास लेखन कार्यशाला हुँदै

नेपाली साहित्यको उन्नयनका लागि उपन्यास लेखन कार्यशाला हुँदै

नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा उन्नयनलाई लक्ष्य गर्दै उपन्यास लेखन कार्यशाला आयोजना गरिने भएको छ। साहित्यलाई समाजको ऐना तथा सभ्यताको दस्तावेजका रूपमा लिँदै, नवप्रतिभालाई लेखनमा उत्प्रेरणा र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले उक्त कार्यशालाको आयोजना गर्न लागिएको हो।

भाषा, साहित्य, संस्कृति र सम्पदा कुनै पनि समुदायको पहिचानका आधारस्तम्भ हुन्। मानव सभ्यताको इतिहास साहित्यमार्फत् सुरक्षित रहँदै आएको सन्दर्भ उल्लेख गर्दै आयोजक संस्थाले साहित्यले समाजका घटना–परिघटनालाई पठनयोग्य र श्रवणयोग्य बनाएर चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको जनाएको छ। साहित्यले तात्कालिक समाजका विकृति र विसङ्गतिहरूलाई उजागर गर्दै सुधार र परिवर्तनको दिशामा डोर्‍याउने कार्य गर्ने विश्वाससमेत आयोजकको छ।

यही सोचअनुसार वाङ्गमय विमर्श तथा साहित्य संवाद कार्यक्रमको थालनी गरिएको हो। प्रवासमा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा क्रियाशील साहित्यिक संस्थाका अग्रजहरूसँग विमर्श गर्दै उनीहरूको अनुभव, विचार र सपना नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य यस कार्यक्रमले राखेको छ। साथै, प्रशिक्षणको अभावमा लेखन यात्रालाई निरन्तरता दिन नसकेका नवसर्जकहरूलाई लेखनका आधारभूत तत्त्वहरूबारे मार्गदर्शन गर्ने लक्ष्यसमेत लिइएको छ।

उक्त अभियानअन्तर्गत आयोजना हुन लागेको उपन्यास लेखन कार्यशालामा नेपाली उपन्यास विधाकाे स्थापित सर्जक डा. नीलम कार्की निहारिकाको विशेष योगदान रहनेछ। कवि, कथाकार तथा उपन्यासकार निहारिका नेपाली साहित्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित व्यक्तित्व हुनुहुन्छ। उहाँको चर्चित उपन्यास ‘योगमाया’ ले मदन पुरस्कार प्राप्त गरिसकेको छ भने ‘चीरहरण’, ‘द्रौपदी अवशेष’ लगायतका कृतिहरू पाठकबीच लोकप्रिय रहेका छन्।

उपन्यास लेखनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण डा. निहारिकाबाट प्रदान गरिने आयोजकले जनाएको छ। कार्यशाला जूम (Zoom) माध्यमबाट सञ्चालन हुनेछ, जसमा अमेरिका, क्यानडा, नेपाल तथा युरोपका विभिन्न देशमा रहेका सर्जकहरूको सहभागिता रहनेछ।

उपन्यास लेखन कार्यशालाको मिति र समय भने छिट्टै सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.