साहित्यपोस्ट डट कम

नेपाली साहित्यले ई–लिटरेचर र क्वान्टम साहित्यमा जोड दिनुपर्छ : पुरु सुवेदी

नेपाली साहित्यले ई–लिटरेचर र क्वान्टम साहित्यमा जोड दिनुपर्छ : पुरु सुवेदी

काठमाडौं । वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संस्थापक सदस्य तथा पूर्व अध्यक्ष पुरु सुवेदीसँग सुरेन उप्रेतीको सहकार्यमा वाङ्मय विमर्श सम्पन्न भएको हो।

कार्यक्रममा सुवेदीले नेपाली साहित्यलाई समयअनुसार रूपान्तरण गर्दै ई–लिटरेचर र क्वान्टम साहित्यतर्फ उन्मुख गरिनु आवश्यक रहेको धारणा राख्नुभयो। उहाँका अनुसार प्रविधि, कृत्रिम बौद्धिकता (AI) र डिजिटल माध्यमसँग साहित्यलाई मैत्री बनाउन नसके नेपाली साहित्य विश्व प्रतिस्पर्धामा पछि पर्नेछ।

म्याग्दी जिल्लामा जन्मिनुभएका सुवेदी समाजसेवी तथा पण्डित हजुरबुबाको सानिध्यमा हुर्कनु भएको थियो। बाल्यकालदेखि नै संस्कृत श्लोक, आमाले गाउने लोकगीत र नेपाली भाषा–साहित्यप्रति समर्पित बुबा होमनाथ सुवेदीको मार्गदर्शनले उहाँको साहित्यिक यात्रालाई आकार दिएको हो। सामाजिक सङ्घसंस्थासँग एकाकार हुँदै उहाँले साहित्य, संस्कृति र समाजसेवाको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।

नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि Association of Nepalese in North America र American Nepali Society जस्ता संस्थामा सहभागिता जनाउँदै साहित्यिक कार्यक्रम, पत्रिका, जर्नल र स्मारिकाहरूको प्रकाशनमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। अनेसास स्थापनाकालमा Bylaw (बाइल) लेखन जस्ता महत्वपूर्ण कार्यमा सक्रिय योगदान दिनुभएका सुवेदी अनेसासको मुखपत्र अन्तर्दृष्टि का प्रधान सम्पादक हुँदै केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष र अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो। हाल उहाँ अनेसासको Board of Trustees का उपाध्यक्षको रूपमा कार्यरत रहँदै मुख्यालय भवन खरिद प्रक्रियामा समेत सक्रिय रहनुभएको छ।

विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्न “Let’s Unite Every Community to Keep Nepali Identity Alive and Vibrant” तथा “Global Network of People of Nepali Origin” जस्ता अभियानमार्फत उहाँले नेपाली समुदायबीच सहकार्य र एकताको प्रयास गर्नुभएको छ। डायस्पोरामा नेपाली भाषा र साहित्यको समृद्धिका लागि वासिङ्टन डी.सी.मा अनेसासको पहिलो नेपाली भाषा पाठशाला स्थापना गर्नु उहाँको उल्लेखनीय योगदान हो। हाल अनेसासका साठीभन्दा बढी च्याप्टरहरू विश्वभर विस्तार भई नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने कार्य भइरहेको छ।

विमर्शका क्रममा सुवेदीले डायस्पोरामा नेपालीहरूको बढ्दो सङ्ख्यासँगै विभिन्न देशमा खुलेका नेपाली पाठशालाहरूलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। नेपाली भाषा र साहित्यलाई विश्व बजारमा पुर्‍याउन नेपाली, अङ्ग्रेजी र स्थानीय भाषामा लेखन आवश्यक रहेको बताउँदै विज्ञप्ति, कार्यक्रम तथा संवाद अन्य समुदायको भाषामै प्रस्तुत गर्न सके मात्र व्यापक पहुँच सम्भव हुने उहाँको भनाइ थियो।

उहाँले भावी पुस्तालाई नेपाली भाषामा बोल्न, पढ्न र लेख्न सिकाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “नेपाली भाषा, साहित्य र संस्कृति रहे मात्र हाम्रो पहिचान रहन्छ।” नेपाली भाषालाई हाईस्कुल तहमा क्रेडिट कोर्सको रूपमा पढाउने व्यवस्था गर्न सके पाठक र प्रयोगकर्ताको सङ्ख्या बढ्ने उहाँको धारणा थियो।

वाङ्मय विमर्शमा सुवेदीले वैदिक ज्ञान र आधुनिक विज्ञानबीचको सम्बन्ध पनि औंल्याउँदै भन्नुभयो, “हाम्रा पुर्खाले हजारौँ वर्षअघि लेखेका र प्रयोग गरेका ज्ञान आज क्वान्टम फिजिक्स र क्वान्टम साहित्यका रूपमा पुनः देखा परिरहेका छन्। ती ज्ञानलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्नु हाम्रो दायित्व हो।” समाज परिवर्तनका लागि व्यक्ति स्वयं परिवर्तन हुनुपर्ने उल्लेख गर्दै उहाँले प्राणायाम, योग र ध्यानको अभ्यास आवश्यक रहेको धारणा राख्नुभयो।

अन्त्यमा सुवेदीले अनेसासका प्रत्येक च्याप्टरले आ–आफ्नो क्षेत्रमा नेपाली भाषा पाठशाला सञ्चालन गर्नुपर्ने र अन्य नेपाली सङ्घसंस्थाद्वारा सञ्चालित पाठशालालाई सहयोग गर्नुपर्नेमा जोड दिँदै यसैबाट नेपाली पहिचान विश्वभर स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.