साहित्यपोस्ट डट कम

‘नेपाली रूट्स समिट २०२६’ जर्मनीमा सम्पन्न

‘नेपाली रूट्स समिट २०२६’ जर्मनीमा सम्पन्न

जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र समुदायका अगुवाबीच सञ्जाल विस्तार गर्ने उद्देश्यले दोस्रो ‘नेपाली रूट्स समिट २०२६’ जर्मनीको म्युनिखमा सम्पन्न भएको छ ।

नेपाली डायस्पोराको ज्ञान, सीप र अनुभवलाई नेपाल समाजको हितमा उपयोग गर्ने उद्देश्यसहित नेपाली रूट्स ई.भी.ले समिट आयोजना गरेको हो । कार्यक्रममा जर्मनीका विभिन्न शहरबाट आएका ९६ जना नेपालीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

नेपाली रूट्स ई.भी. जर्मनी तथा युरोपमा रहेका नेपालीमूलका विभिन्न क्षेत्रका विज्ञ, विद्यार्थी र व्यवसायीलाई जोड्ने उद्देश्यले स्थापित सामुदायिक संस्था हो । संस्थाले ज्ञान आदानप्रदान, व्यावसायिक सहकार्य तथा नेपालसँगको सम्बन्धलाई थप अर्थपूर्ण बनाउने उद्देश्यले नियमित रूपमा कार्यक्रम आयोजना गर्दै आएको छ ।

नेपाली रूट्सका अध्यक्ष डा. कृतन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले नेपाली रूट्सलाई नेपाली डायस्पोराको साझा मञ्चका रूपमा महत्त्वपूर्ण संस्था भएको बताउनुभयो । उहाँले परम्परागत कूटनीतिबाट आर्थिक कूटनीतितर्फ सरकारको प्राथमिकता बढ्दै गएको उल्लेख गर्दै पर्यटन, व्यापार, उद्योग, ऊर्जा, सूचना प्रविधि, वाणिज्य र नवप्रवर्तनका क्षेत्रमा डायस्पोराको ज्ञान, सीप र सञ्जाल उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष लोकमणि ढकालले नेपाली रूट्स र गैरआवासीय नेपाली संघबीच नजिकको सहकार्य आवश्यक रहेको बताउनुभयो । नयाँ पुस्ताको आवश्यकता बुझ्न नेपाली रूट्सजस्ता संस्थाबाट सिक्न चाहेको उहाँको भनाइ थियो ।

नेपाली रूट्सका सचिव जितेन्द्र कसौधनले स्वागत मन्तव्य राख्दै ‘नेपाली रूट्स जर्नल’को उद्घाटन गर्नुभयो । उहाँले विश्वभर फैलिएको नेपाली डायस्पोरा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगिरहेको सन्दर्भमा उनीहरूबीच बलियो सञ्जाल निर्माण गर्नु समयको आवश्यकता रहेको बताउनुभयो ।

समिटमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता, स्वच्छ ऊर्जा तथा डायस्पोरा नेतृत्वजस्ता विषयमा छलफल गरिएको थियो । विभिन्न क्षेत्रका विज्ञहरूले व्यक्तिगत सफलतालाई सामूहिक प्रभावमा रूपान्तरण गर्न व्यावसायिक सञ्जाल, मार्गदर्शन र सहकार्य आवश्यक रहेको धारणा राख्नुभएकाे थियाे ।

छलफलका क्रममा नेपाली डायस्पोराको भूमिका विप्रेषणमा मात्र सीमित नरहेको उल्लेख गर्दै ज्ञान, अनुसन्धान, प्रविधि, नवप्रवर्तन, उद्यमशीलता र विश्वव्यापी सञ्जालमार्फत नेपाल तथा विश्व समुदायमा प्रभावकारी योगदान दिन सकिने धारणा व्यक्त गरिएको थियो ।

कार्यक्रममा नेपाल र नेपाली डायस्पोराबीच सहकार्यका नयाँ सम्भावना पहिचान गर्दै भावी पुस्ताका लागि बलियो समुदाय निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो । सहभागीहरूले विदेशमा रहेका नेपालीलाई नेपालसँग थप जोड्न दूरस्थ मतदान, प्रवासी नेपाली नागरिकता तथा डायस्पोरा कोषको प्रभावकारी परिचालनजस्ता नीतिगत पहल आवश्यक रहेको पनि औँल्याउनुभएकाे थियाे ।

नेपालमा उद्यमशीलताको व्यापक सम्भावना रहेको उल्लेख गर्दै सहभागीहरूले डायस्पोरा सरकारसँग सहकार्य गरी नेपालको आर्थिक विकासमा योगदान गर्न तयार रहेको धारणा व्यक्त गर्नुभएकाे थियाे। आयोजकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विश्वभर रहेका नेपालीलाई जोड्ने तथा नेपालसँग अर्थपूर्ण सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.