स्याङ्जा । नेपाली लेखक सङ्घ स्याङ्जाको चौथो जिल्ला अधिवेशन तथा प्रथम स्याङ्जा पर्या/हरित काव्य उत्सव–२०८३ सम्पन्न भएको छ ।
वालिङमा आयोजित कार्यक्रममा शिवकुमार अधिकारीको कथाकृति ‘कोपिला’ लोकार्पण गरिएको थियो । कृतिको सम्पादन देवीप्रसाद वनवासी र मिलन समीरले गर्नुभएको हो ।
कार्यक्रममा वरिष्ठ स्रष्टा देवीप्रसाद वनवासी, विश्वप्रेम अधिकारी, ध्रुवप्रसाद शर्मा पङ्गेनी, दीपक लम्साल, नेत्रनारायण रेग्मी तथा कुमार रानालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पर्या/हरित काव्य उत्सवअन्तर्गत सहभागी स्रष्टाहरूले वातावरण, प्रकृति र पर्यावरणसँग सम्बन्धित कविता, गजल तथा मुक्तक वाचन गरेका थिए ।
अधिवेशनबाट पारिश्वर न्यौपानेको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा युवराज सुवेदी, महिला उपाध्यक्षमा शान्ता थापा, सचिवमा गुरुप्रसाद ढकाल, कोषाध्यक्षमा शोभाकान्त रेग्मी र सहसचिवमा मुनाल गोदार निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा राजु गैह्रे, जिबी राना, खगेन्द्रजङ्ग थापा, इन्द्रप्रसाद पाठक, पार्वती थापा पल्ली ‘पारु’ र सरस्वती अर्याल काफ्ले सदस्यमा निर्वाचित हुनुभएको छ ।
युवराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन नेपाली लेखक सङ्घका केन्द्रीय सचिव तथा स्याङ्जाका निवर्तमान अध्यक्ष मिलन समीरले गर्नुभएको थियो ।

