काठमाडौं । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा शुक्रबार र शनिबार साँझ आयोजित ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । दार्जिलिङका गायक तथा संगीतकार दुर्गा खरेलले प्रस्तुत गर्नुभएकाे यसपटकको शृङ्खला दार्जिलिङका विस्मृत गीत–सङ्गीतलाई पुनः अभिलेखीकरण गर्ने उद्देश्यमा केन्द्रित रहेको आयोजकले जनाएको छ ।
१७ वर्षअघि पहिलोपटक ‘पलेँटी’मा प्रस्तुति दिएका खरेलले यस वर्ष भने कण्ठ शिल्पी अभिज्ञा घिमिरेसँग सहगायन गर्दै मञ्च साझा गर्नुभएकाे थियाे । कार्यक्रममा खरेलले आफ्नै बाल्यकालीन स्मृतिमा रहेका पुराना दार्जिलिङे गीतहरूको चयन गरी प्रस्तुति दिनुभएकाे थियाे ।
कार्यक्रमको सुरवात बद्री–दुर्गाको चर्चित गीत ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’बाट गरिएको थियो । त्यसपछि अम्बर गुरुङका ‘पहाड सुक्यो जस्तो लाग्छ’ र ‘डाँडापारी हिउँ परेछ, डाँडावारी पानी’ जस्ता गीतहरू प्रस्तुत गरिए । साथै ईन्द्र थपलियाका शब्दमा रचना भएका गीतहरू पनि समेटिएका थिए ।
यसैगरी गोपाल योञ्जनका चर्चित गीतहरू ‘लिई गला नदीको बालुवाको ओठ लिएर’ र ‘प्रियसीको हत्केलामा कोरिएका रेखाहरू’ले दर्शकलाई पुरानो संगीतको स्मृतिमा डुबाएका थिए । संगीतकार शान्ति ठटालका सृजनासमेत कार्यक्रममा प्रस्तुत गरिएका थिए, जसमा अभिज्ञा घिमिरेले ‘कुन जुनीको पाप मलाई आज लागेछ’ गीत प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा एमबी सुन्दासका ‘स्वर्णिम सपनासाथ’ र ‘फूल फुल्यो पहेँली ए साइली’ जस्ता गीतहरू पनि समावेश थिए । वाद्यवादनतर्फ दिनेशराज रेग्मी, पारशमणि सुवेदी, मिलेश तण्डुकार, मिलन घिमिरे, कृपेश लोहनी र सुदीप खत्रीले साथ दिनुभएकाे थियाे ।
नेपालयद्वारा हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार आयोजना गरिने ‘पलेँटी’ शृङ्खलाअन्तर्गत आगामी महिना गायक पवन गोले र संगीतकार रमेश गुरुङको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

