ललितपुर । नेपाल स्रष्टा समाजले आफ्नो १९औँ स्थापना दिवस तथा चर्चित निबन्धकार स्व. कृष्णचन्द्र सिंह प्रधानको सत्वार्षिकीको अवसर पारेर बृहद् आत्मपरक निबन्ध गोष्ठी आयोजना गरेको छ । लिटिल एन्जल्स स्कूलको सह–आयोजनामा बिहीबार सम्पन्न गोष्ठीमा समकालीन निबन्धकारहरूले आफ्ना निबन्ध वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि निबन्धकार डा. माधव पोखरेलले निबन्धको एक अंश वाचन गर्दै निबन्ध गोष्ठीको महत्व औँल्याउनुभयाे । “नेपाली साहित्यमा हेलाँमा परेको विधा निबन्धमाथि यसरी गोष्ठी हुनु आफैंमा महत्वपूर्ण कुरा हो,” उहाँले भन्नुभयाे, “निबन्धकारलाई गुरु मानेर निबन्ध कार्यशाला गर्ने समय आइसकेको छ ।”
यसै अवसरमा ‘वर्तमान नेपाली निबन्धको परम्परा र प्रवृत्ति’ विषयमा समालोचक प्रमोद प्रधानले आफ्नो विचार प्रस्तुत गर्नुभयाे । उहाँले नेपाली निबन्ध लेखनको आधुनिक कालको प्रारम्भमा दुई धार देखिएको उल्लेख गर्दै २०७० सालपछिको दशकमा आत्मपरक निबन्ध लेखनमा केही वृद्धि भएको बताउनुभयाे । आत्मपरक निबन्धलाई निश्चित परिभाषाभित्र बाँध्न नसकिने धारणा पनि उहाँले राख्नुभयाे ।
गोष्ठीमा बोधराज पौडेल, विष्णुबहादुर जिसी, भागवत खनाल, रञ्जना निरौला, श्रीबाबु कार्की, ज्ञानु अधिकारी, डा. चेतनाथ कँडेल ‘हरित’, डा. मानसाग्नी, ज्ञानेन्द्र विवश, भिष्म उप्रेती, डा. खगराज बराल, डा. रजनी ढकाल, प्रा.डा. ज्ञानु पाण्डे, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, मञ्जुल, मुकुन्दराज शर्मालगायत आधा दर्जनभन्दा बढी निबन्धकारहरूले आफ्ना निबन्ध वाचन गर्नुभयाे ।
वाचन गरिएका निबन्धहरूमाथि समालोचक डा. जीवराज बस्यालले टिप्पणी गर्दै प्रस्तुत निबन्धहरू निजात्मक र अनुभूतिमय रहेको बताउनुभयाे । “कतिपय निबन्ध मौलिक कवितात्मक चेतनाले भरिएका छन्,” उहाँले भन्नुभयाे, “स्मृतिबिम्बको प्रयोग पनि उल्लेख्य रूपमा देखिन्छ ।”
कार्यक्रममा नेपाल स्रष्टा समाजकी सदस्य रञ्जना निरौलाले स्वागत मन्तव्य व्यक्त गर्नुभयाे भने सह–आयोजक लिटिल एन्जल्स स्कूलका प्रिन्सिपल तथा निबन्धकार मुकुन्दराज शर्माले पनि आफ्ना धारणा राख्नुभयाे ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण समाजका कार्यसमिति सदस्य प्रदीप सापकोटाले गर्नुभएकाे थियाे । कार्यक्रममा निबन्धकार तथा साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो ।
नेपाल स्रष्टा समाजको स्थापना दिवसको अवसरमा तीन दिनसम्म विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरिने क्रममै यो आत्मपरक निबन्ध गोष्ठी सम्पन्न गरिएको अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिनुभयाे ।

