विराटनगर। नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाले मुक्तक दिवसको अवसर पारेर २०८२ सालमा प्रदान गरिने विभिन्न साहित्यिक पुरस्कारहरूको घोषणा गरेको छ। प्रतिष्ठानका अध्यक्ष कवि तथा समालोचक बाबुराम पोखरेलका अनुसार आगामी माघ १७ गते विराटनगरमा आयोजना हुने विशेष समारोहका बीच ती पुरस्कारहरू समर्पण गरिनेछन्।
यस वर्ष नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवं साहित्यकार सीताराम पोखरेलबाट स्थापित नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार (रु. १५ हजार) नेपाली साहित्य, समालोचना, अनुवाद तथा प्राज्ञिक क्षेत्रमा अत्यन्त प्रभावशाली र बहुआयामिक योगदान पुर्याएका प्रा. डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ।
त्यस्तै, मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार (रु. १५ हजार) नेपाली कविता, समालोचना, बालसाहित्य र अनुसन्धानको क्षेत्रमा निरन्तर क्रियाशील रही साहित्यको श्रीवृद्धि तथा प्रवर्द्धनमा योगदान पुर्याएकी साहित्यकार डा. कौशिला रिसाललाई अर्पण गरिने निर्णय गरिएको छ।
साहित्यकार तारानाथ पोखरेलले आफ्ना मातापिताको स्मृतिमा स्थापना गर्नुभएको छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कार (रु. ११ हजार) पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन तथा संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्याएउनुभएकाे साहित्यकार मधु पोखरेललाई प्रदान गरिने भएको छ।
यसैगरी, दिवंगत माधव पोखरेलका सन्तानहरूद्वारा स्थापित माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार (रु. ११ हजार) नेपाली मुक्तक साहित्यका समर्पित र विशिष्ट साधक शिव अधिकारी (इलामे जेठो) लाई समर्पण गरिनेछ।
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाका सचिव मदन भण्डारीका अनुसार प्रतिष्ठानद्वारा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिले मूल्यांकन गरी यी व्यक्तित्वहरूको छनोट गरेको हो। प्रतिष्ठानले साहित्यिक योगदानको सम्मान गर्दै मुक्तक साहित्यको प्रवर्द्धनमा निरन्तर सक्रिय रहने जनाएको छ।

