साहित्यपोस्ट डट कम

नेपाल–भारतका सर्जकबीच काव्य वर्षासँगै गीत र नृत्य प्रस्तुति

नेपाल–भारतका सर्जकबीच काव्य वर्षासँगै गीत र नृत्य प्रस्तुति

काठमाडौं । नेपाल र भारतका सर्जकहरूको सहभागितामा काव्य वर्षा, गीत र नृत्यले भरिएको एकदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक तथा सांगीतिक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

विश्व बंग साहित्य तथा संस्कृति सम्मेलनको स्वागत–सम्मानसँगै “Nepal India Cultural Harmony” शीर्षकमा आयोजित कार्यक्रममा भारतको कोलकाता र सिक्किमबाट आउनुभएकाे १६ जना साहित्यकारलाई सम्मान गरिएको थियो ।

जरा फाउन्डेसन नेपाल, साहित्यिक पत्रकार संघ र शान्ति साहित्य परिवार को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईको सभापतित्व तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान का निवर्तमान कुलपति निशा शर्मा को प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा राधेश्याम लेकाली ले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो । उहाँले बंगाली भाषाको मधुरता र नेपाल–भारत सांस्कृतिक सम्बन्धको सुदृढ पक्षबारे चर्चा गर्नुभयो ।

प्रमुख अतिथि निशा शर्मा ले भारतीय सर्जकलाई स्वागत गर्दै आफ्नो हिन्दी कविता ‘मै उम्र बताना नहीं चाहती हूँ’ वाचन गर्नुभयो भने भारतीय साहित्यकार डा. राधाकान्त सरकार ले ‘नारी’ शीर्षकसहितका कविता प्रस्तुत गर्दै दुई देशबीचको भावनात्मक एकताको चर्चा गर्नुभयो ।

कार्यक्रममा रजतकिशोर डे, रेखा यादव र नारायण मैनाली लगायतले नेपाली, हिन्दी, अंग्रेजी र बंगाली भाषामा शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

नक्सालस्थित FFWPU केन्द्रीय कार्यालय मा सम्पन्न कार्यक्रममा सांगीतिक र नृत्य प्रस्तुति पनि आकर्षणका रूपमा देखिएको थियो । कलाकार मेनुका लामा ले आर्यतारा चर्या नृत्य प्रस्तुत गर्नुभयाे भने असमकाे शिखा थापा ले नेपाली र असमी गीतमा नृत्य प्रस्तुत गर्नुभयाे ।

त्यसैगरी प्रदीप बमजन ले रवीन्द्रनाथ टेगोर को ‘एकला चलो’ कवितालाई गीतका रूपमा प्रस्तुत गर्नुभयाे । डा. शिवानी दास, टुना मजुमदार, नरहरि प्रेमी, सन्देश पौडेल, अनिल श्रेष्ठ, संगीता बरूवाल र सुभाष बन्धुपाध्यायलगायत कलाकारहरूले विभिन्न भाषामा गीत प्रस्तुत गर्नुभएकाे थियाे ।

काव्य वाचनतर्फ मणिमाला मल्लिक, शर्मिला सेन, गीतिकान्त मजुमदार, समरशंकर चट्टोपाध्याय, आशिषकुमार कौर, गौरी सरकार, शिवशंकर बक्सी तथा नेपालीतर्फ रीता खत्री लगायतले कविता वाचन गर्नुभएकाे थियाे ।

कार्यक्रमको सहजीकरण कवि प्रज्वल अधिकारी ले गर्नुभएको थियो भने अन्त्यमा सहभागी स्रष्टा, कलाकार तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.