साहित्यपोस्ट डट कम

नयाँ वर्ष २०८३: मनको उज्यालो आकाश

नयाँ वर्ष २०८३: मनको उज्यालो आकाश

नयाँ साल २०८२ को बिदाइसँगै २०८३ को आगमनलाई म हार्दिक मङ्गलमय शुभकामनाको फूलमाला अर्पण गर्छु । समयको यो सन्धि–क्षणमा उभिएर हेर्दा, बितेका दिनहरू अनुभवका अक्षर बनेर उभिएका छन् । अगाडि देखिएको बाटो आशाका उज्याला दीपहरूले सजिएको छ । यस्तो क्षणमा मनले आफैँसँग एउटा मीठो संकल्प गर्छ– अबको यात्रा अझ अर्थपूर्ण, अझ उज्यालो बनोस् ।

हेरौँ– तर केवल आँखाले मात्र होइन, मनले पनि देख्न सक्ने गरी हेरौँ । प्रकृतिका रङहरू, मानिसका भावहरू, जीवनका सूक्ष्म तरलताहरू ! यी सबै मन अघाउँन्ज्याल हेरौँ । हेर्ने कला आफैँमा एउटा साधना हो; जसले हेर्न सिक्यो, उसले जीवन बुझ्न थाल्यो । यसरी हेरेर सँगालेको अनुभवलाई अक्षरमा उतार्न सकौँ । ती अनुभूति सबैका उस्तै–उस्तै साझा बनुन् ।

पढौँ– तर अक्षरहरूमा मात्र नअड्किएर, तिनको भित्रैसम्म पुग्ने गरी पढौँ । यस्तो पढाइ होस् कि निद्रा नै नलागोस्, किनकि ज्ञानको उज्यालोले चेतनालाई सधैँ जागृत राखोस् । किताबका पानाहरू कागज नहून्, ती जीवनका खुला झ्याल बनून् । ज्ञानका खानी बनेर तिनले हाम्रो मस्तिष्कलाई बौद्धिक दर्पणमा रूपान्तरित गरिदिऊन् ।

खेलौँ– जितको अहङ्कार र हारको पीडाभन्दा माथि उठेर । खेल यस्तो होस् जहाँ ‘हार’ नै नहोस्, किनकि प्रत्येक प्रयास आफैँमा एउटा ‘विजय’ हो । प्रतिस्पर्धा ‘द्वन्द्व’ नबनोस्, ‘प्रेरणा’ बनोस् ।

लेखौँ– भावना फुरुन्ज्याल उन्मुक्त चराको वेगझैँ । मनभित्रका तरङ्गहरू शब्दमा बगून्, अनुभूतिहरू अक्षरमा रूपान्तरित होऊन् । लेखाइ अभिव्यक्ति नहोस्, हृदयसँगको संवाद बनोस् । जब भावना फुर्छ, त्यतिबेला शब्दहरू आफैँ उज्यालो बन्न थालुन् । मनगडन्ते, फोस्रो र खोक्रो लेखन भएकोमा पाठकीय गुनासो कदापि कहिल्यै सुन्न नपाइयोस् । शब्दमा कलाको शिल्प–कौशल भरेर ‘सुनमाथि सुगन्ध’ जस्तै शब्दका भाव–सौन्दर्यले मान्छेका मन छुन सक्ने क्षमता राखोस् ।

सफाइ गरौँ, घरआँगनको होइन, मनको पनि । फोहोर नहुन्ज्याल सफाइ गरौँ, किनकि बाहिरी धुलोभन्दा भित्री विकारहरू धेरै मैलाधैला हुन्छन् । स्वच्छ वातावरणको सुन्दरता भन्नु, मनभित्रको शुद्धता पनि हो ।

सकारात्मक सोचौँ– किनकि सोच नै जीवनको दिशा हो । नकारात्मकपनले बाटो अँध्यारो बनाउँछ, सकारात्मकले उज्यालो दीप झलमल्ल पारिदिन्छ । अतः सिर्जनशील बनौँ– किनकि सिर्जना नै जीवनको सार हो । जसले सिर्जना गर्छ, उसले जीवनलाई नयाँ अर्थ दिन्छ । ऊर्जावान बनौँ– किनकि ऊर्जा नै यात्राको बल हो, जसले थाकेका पाइलाहरूलाई पनि अघि बढ्न प्रेरित गरिरहन्छ ।

सबैको भलो चिताऔँ– किनकि मानवता त्यहीँबाट सुरु हुन्छ । आफ्नै सुखमा मात्र रमाउने होइन, अरूको सुखमा पनि हाँस्न सक्ने हृदय बनाऔँ । सबैको जय मनाऔँ । किनकि अरूको सफलता हाम्रो पराजय होइन, साझा विजयको उत्सव बन्न सक्छ । दुःख र तनावलाई किचिलिघान पारेर पाइलाले छलाङ मारौँ कि मानसम्मान, इज्जत, पदप्रतिष्ठा सबै हाम्रै पछि लागेर पछ्याउँदै आउन थालुन् ।

इसरी यो वर्ष पराजयको कथा होइन, विजयको उत्सव बनोस् । यस्तो विजय, जसले अरूलाई हराएर होइन, आफैँलाई जितेर प्राप्त हुन्छ । यस्तो उत्सव, जहाँ हर्ष व्यक्तिगत नहोस्, सामूहिक बनोस् । सबैको अनुहारमा एउटै उज्यालो मुस्कान फैलियोस् । साझा खुसी, साझा सन्तुष्टि, समग्र सन्तुलित समयको साक्षी बनोस् ।

त्यसैले मेरो कामना छ– नयाँ वर्ष २०८३ यस्तो होस्, जहाँ मनहरू आपसमा टकराउने होइन, टुक्रिएर छरपस्ट नभई मायाले स्पर्श गर्ने बनून् । आह्लादित भावनाले एकअर्कालाई चुम्न सकुन् । कठोर, कडा र निष्ठुरी मिजासको उपस्थिति होइन सरल, विनम्र बोली र व्यवहारको आदान–प्रदान गर्न सकियोस् ।

यो वर्ष यस्तो होस् कि कसैले कसैलाई घोचपेच गर्ने मन नै नहोस् । शब्दहरू काँडाजस्ता तीखो होइन, फूलजस्ता कोमल भएर फुलून् । दृष्टिहरूमा शंका होइन, विश्वासको उज्यालो झल्कियोस् । सबैले, सबैलाई माया र ममताको आँखाले हेर्ने सरल हृदय पाओस् । मान्छे–मान्छेसँग टाढा होइन, नजिक हुने बहाना खोजोस् । रिस, डाह र अहङ्कारका पर्खालहरू आफैँ ढलून् । त्यहाँ स्नेहको हरियो बगैँचा कोपिला जस्तै फक्रियोस् । त्यसले सुगन्ध सौरभ वातावरणभरि फैलाएर मनलाई आनन्द प्रदान गरिरहोस् ।

दिनहरू खुलेको सफा चिरिच्याँट्ट मौसमजस्ता बनून् । बादल, तुँवालो, हुस्सुले ढाकेको, आँधीले तहसनहस पारेर हल्लाएको नहोस् । अनुहारहरू मनको ऐना हुन् । त्यसैले मन हाँसेको अनुहार होस्, जहाँ हाँसो ओँठ र मनमा बसोस् । हिँड्दा ‘शुभ यात्रा’ ले साथ देओस् । यो शब्द होइन, एक आशीर्वाद बनोस्, जसले यात्रालाई सुरक्षित मात्र होइन, सार्थक पनि बनाओस् । फर्किँदा गन्तव्यले अनेकौँ नयाँ अनुभूतिहरूको उपहार दिएर पठाओस् । जसले जीवनलाई केही अझ गहिरो, अझ समृद्ध बनाओस् ।

रात पर्नु निद्राको निम्तो नबनोस् । आत्मावलोकनको अवसर पनि बनोस् । ‘शुभ रात्री’ भन्नुअघि दिनभरि गरेका कामहरूको लेखाजोखा गरियोस् । कति माया बाँडियो, कति गल्ती सच्याइयो, कति सपना अघि बढाइयो । अनि निद्राले शरीरलाई विश्राम नदिओस्, मनलाई पनि मिठो सपनाको अँगालोमा समेटोस् ।

भोलिपल्ट ‘शुभ बिहानी’ सँगै ‘शुभ दिन’ को यात्राले खुसी र सन्तुष्टिलाई अँगालो हाल्न पाइयोस् । बिहानको घाम उज्यालो मात्र होइन, ऊर्जा र आशाको प्रतीक बनोस् । हरेक दिन एउटा नयाँ सुरुवात होस्, जहाँ हिजोको थकाइ आजको प्रेरणामा रूपान्तरण होस् । कार्य सफलताले सधैँ साथ दिइरहोस् ।

मेरा लागि नयाँ वर्ष यस्तो होस्– चाहनाका चाङले मनलाई माकुराको जालोले जस्तो नअल्झाओस् । चाहनाहरू उडून्, तर तिनले स्वतन्त्रताको आकाश खोस्न नपाओस् । हिँडेको पाइलामा ठेस लाग्न सक्छ, तर त्यो ठेसले हिम्मत नतोडोस् । प्रत्येक ठेसले अझ दृढ भएर उठ्न सिकाओस् । गन्तव्य पुग्ने धोको र ध्येय कहिल्यै अधुरो नरहोस् ।

अन्ततः, यो जिन्दगी आफ्नै लयमा बगिरहने एउटा अनवरत यात्रा हो– जहाँ कतिपय बाटोहरूमा हामी आफैँलाई एक्लै उभिएको पाउँछौँ, आफ्नै छायाँसँग संवाद गर्दै । तर त्यही एकान्तभित्र पनि जीवनले नयाँ सम्बन्धहरूको ढोका खोलिरहेको होस् । कसैसँग आकस्मिक भेट हुन्छ, कोही अपरिचित आत्मीय बन्छ; अनि कहिलेकाहीँ, अत्यन्त नजिकका मान्छेहरू समयको भेलमा बिस्तारै टाढिँदै जान्छन् । भेटिने र छुटिनेको यही निरन्तरता नै जीवनको साँचो धड्कन हो । न यसलाई रोक्न सकिन्छ, न यसबाट भाग्न पाइन्छ ।

हो, ठीक यस्तै, पुरानो वर्षले आफ्ना स्मृतिहरू हामीलाई सुम्पेर बिदा लिन्छ र नयाँ वर्ष नयाँ सम्भावनाका उज्याला किरण बोकेर हाम्रो आँगनमा आइपुग्छ । त्यसैले, यी सबै भेट र बिछोडका बीचमा पनि हामीले हिँडिरहनु छ–आशाको हात समातेर, स्मृतिको माया बोकेर र भोलिको उज्यालोमा विश्वास गर्दै ।

आँखाले हेर्न सक्ने जति हेर्न पाइयोस् । प्रकृतिको सौन्दर्य, मान्छेको सद्भाव, जीवनको विविधता । मनले सोच्न सके जति सोच्न सकियोस् । नयाँ विचार, नयाँ कल्पना, नयाँ सृष्टिमा सधैँ मन बेफुर्सद भइरहोस् । पढ्ने ‘मुड’ र लेख्ने ‘मन’ ले कहिल्यै अल्छी निम्त्याएर ओछ्यानमा नलडाओस् । सधैँ सिर्जनशीलताको उज्यालोमा सक्रिय रहोस् । फुर्सदको समयलाई पनि बेफुर्सदकै मेलामा धामाधम, फटाफट कामतमाम फत्ते गर्न सकियोस् ।

स्वस्थ, तन्दुरुस्त, उल्लास र उत्साहले हरेक पललाई भरिदेओस् । जीवन बिताउने होइन, अनुभव गर्ने यात्रा बनोस् । चाहनाहरू, अधुरा सपनाहरू र बिर्सन चाहेका पीडाहरूलाई किनारमा राखेर नयाँ सम्भावनाको डुङ्गामा चढ्न खोजौँ ।

यसरी नयाँ वर्ष २०८३ समयको फेरबदलमै मात्र सीमित नबनोस् । यो चेतनाको रूपान्तरण बनोस् । जहाँ हरेक सोच सकारात्मक, हरेक कर्म सिर्जनशील र हरेक क्षण ऊर्जा र उत्साहले भरिएको होस् । मनको उज्यालो आकाशमा यो फेरिएको साल बिघ्नबाधाबाट अलग्ग हामीलाई शान्ति, सुख र समुन्नतिको बाटोमा अग्रसर गराइरहोस् । नयाँ वर्षको यही मङ्गल कामना सबै–सबै प्रिय मनहरूमा !

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.