साहित्यपोस्ट डट कम

नवशिलाको मुक्तकसङ्ग्रह ‘सिलसिला’ बेलबारीमा लोकार्पित

नवशिलाको मुक्तकसङ्ग्रह ‘सिलसिला’ बेलबारीमा लोकार्पित

मोरङ । मोरङका स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को मुक्तकसङ्ग्रह ‘सिलसिला’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारीमा आयोजित कार्यक्रममा कृतिको औपचारिक लोकार्पण गरिएको हो।

बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, परिषद्का अध्यक्ष केशु विरही, कवि तथा समालोचक डा. दीपकप्रसाद न्यौपाने, अग्रज स्रष्टा हर्कमान तामाङ, लेखक नवशिला तथा उहाँकाे अभिभावक लक्ष्मीप्रसाद पोखरेल र दुर्गादेवी पोखरेलको संयुक्त बाहुलीबाट कृति सार्वजनिक गरिएको थियो।

लोकार्पित कृतिमाथि समीक्षकीय मन्तव्य राख्दै डा. दीपकप्रसाद न्यौपानेले ‘सिलसिला’ भित्र समेटिएका मुक्तकहरूले विविध विषयलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्नुभयाे । महेन्द्र बहुमुखी क्याम्पस, धरानका नेपाली विभाग प्रमुखसमेत रहनुभएकाे न्यौपानेले कृतिमाथि विस्तृत चर्चा गर्दै स्रष्टालाई आगामी दिनमा अझ सशक्त सिर्जनामा अघि बढ्न सुझाव दिनुभएकाे थियाे । कार्यक्रममा युवा कवि सिजन श्रेष्ठले लेखकको जीवनी तथा व्यक्तित्वबारे सङ्क्षिप्त परिचय प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा प्रा.डा. भीम खतिवडा, असम नेपाली साहित्य सभा बीटीआर क्षेत्रीय समितिकी सचिव तथा सिक्किमेली लघुकथा समाजकी एडमिन इन्दिरा गौतम, विराट साहित्य सङ्गम विराटनगरका अध्यक्ष मधु पोखरेल, हाम्रो लघुकथा नेपालकी एडमिन इन्दिरा चापागाईँलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । वक्ताहरूले संस्था र कृतिलाई बधाई तथा शुभकामना दिनुभएकाे थियाे ।

कृतिकार नवशिलाले आफूलाई लेखक बन्न प्रेरित गर्न आफ्नी धर्मपत्नी शिलाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयाे । कार्यक्रममा बाबुराम पोखरेल, नीकिशारानी पोखरेल, एकराज भट्टराई, मन्दिरा चापागाईँ, सुन्दर भट्ट, भूपाल अधिकारी, शिव पराजुली र नानुमाया दाहाललगायत स्रष्टाले कृतिभित्रका रचना वाचन गर्नुभएकाे थियाे ।

मोरङ, झापा र सुनसरीका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा काठमाडौँ उपत्यका तथा भारतबाट आउनुभएकाे साहित्यकारहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमको सुरुआत साहित्य विभाग सहसंयोजक शारदा दाहालको स्वागत मन्तव्यबाट भएको थियो भने परिषद्का अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष चिरञ्जीवी काफ्लेले गर्नुभएकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.