१
के होला र सजिलो त सबै गाह्रो अप्ठ्यारो छ
तिर्न थुप्रै बाँकी नै छ जिन्दगी नै उधारो छ ।
अचम्ममै पर्छु म त के जित्नलाई होला कुन्नी
जहिल्यै पनि दौडधुप छ फुर्सद छैन हतारो छ ।
२
कहिले होला टन्न मन्न भयो भन्ने कहिले होला
डाह गर्छन् दुई आँखा शान्त बन्ने कहिले होला ।
लफडा र झगडामा किन हामी अलमलिन्छौँ
पुग्नलाई सन्मार्गमा बाटो खन्ने कहिले होला ।
३
लागेको छ फरक आदत कहिले छुट्छ होला
एकतर्फी भो मेरो चाहत कहिले छुट्छ होला ।
बाँच्दिनँझैँ लाग्छ अचेल मलाई तिमी बिना
तिमीमाथि लागेको लत कहिले छुट्छ होला ?
४
बोकी सधैँ पिरको भारी कहिलेसम्म हिँडौँ अब
आफूसँग आफैँ हारी कहिलेसम्म हिँडौँ अब ।
इज्जत र इमानलाई सधैँभरि दाउमा राखी
जिउज्यानकै माया मारी कहिलेसम्म हिँडौँ अब ।


