साहित्यपोस्ट डट कम

नवराज पुडासैनी ‘ज्योत्स्ना’को ‘एकसय थोपा बालामृत’ लोकार्पित

नवराज पुडासैनी ‘ज्योत्स्ना’को ‘एकसय थोपा बालामृत’ लोकार्पित

काठमाडौं । साहित्यकार नवराज पुडासैनी ‘ज्योत्स्ना’द्वारा लिखित बाल तथा नवयुवा लक्षित मुक्तक सङ्ग्रह ‘एकसय थोपा बालामृत’ लोकार्पण गरिएको छ । गोकर्णेश्वर नगरपालिकास्थित भैरव स्मृति भवनमा आयोजित कार्यक्रममा वडा नं. ६ का अध्यक्ष नवराज लामाले कृति सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले साहित्य विकासका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कृतिमाथि टिप्पणी गर्दै कल्पतरु प्रज्ञा प्रतिष्ठानकाे उपाध्यक्ष तथा कार्यक्रमकी सभापति डा. विदुला घिमिरेले यो कृति नेपाली मुक्तक विधामा प्रकाशित पहिलो बालमुक्तक सङ्ग्रहका रूपमा महत्वपूर्ण र पठनीय रहेको बताउनुभयो ।

गजलकार सिद्धनारायण आचार्यले कृतिलाई बालसाहित्यको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गर्नुभयो भने अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द प्रसाद घिमिरे ‘वेदमणि’ले कृतिकारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा कृति प्रकाशक संस्था कल्पतरु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा कृतिकार पुडासैनीले सुसंस्कृत साहित्यले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालन संस्थाका सचिव राजन पुडासैनीले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु देवी पुडासैनीको समेत उपस्थिति रहेको थियो ।

बालसाहित्य क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षासहित कृति सार्वजनिक गरिएको हो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.