उठाउनी
दुईवटा महाकाव्य लिएँ । कर्ण र कल्प । यी दुवैका बाउ हुन् नवराज लम्साल । होइन, होइन, डा. नवराज लम्साल । कर्ण महाकाव्य गद्य र पद्य मिसिएको काव्य हो । यसलाई संस्कृतका कविहरूले चम्पू भन्ने गरेका छन् । कल्प चाहिँ भाले गद्यमा छ । गद्य बुझ्न मलाई अलिक कठिन लाग्छ, त्यसैले पनि कर्ण पढिसक्ने मनसुबाले म कर्ण महाकाव्य सुम्सुम्याउँदैछु ।
कर्ण महाकाव्य महाभारतका एक पात्र “कर्ण”को चरित्रमा केन्द्रित छ । यो पच्चीस सर्गको भीमकाय कृति बनेको छ ।
यसमा स्वनामधन्य नेपाली बुद्धिजीवीहरूले प्रशंसाका शब्दहरू लेखेका छन् । एउटा अङ्ग्रेजी प्रशंसा पनि किताबमा सङ्गृहीत छ । समीक्षक बानियाँले लम्सालका तीन महाकाव्य कर्ण, धरा र अग्निलाई कालिदासकृत मालविकाग्निमित्र, अभिज्ञानशाकुन्तलम् र विक्रमोर्वशीयम् जस्तो भनेर लेखकलाई फुरुक्क पारेकै छन् ।
समीक्षक महेश पौड्यालले योभन्दा दुई कदम अघि बढेर प्रशंसाको रामसेतु बाँधेर अङ्ग्रेजीमा अहो रूपमहो ध्वनिः गरेकै छन् । कतिसम्म भने नि - कर्ण महाकाव्य ग्यालिलियोको आविष्कारजस्तै रे । धेरै के भन्नु ?
प्रशंसाका चनाका झालमा चढिसकेका लम्सालका किताबलाई थप प्रशंसाको गुलाबजामुनले सुगरको रोगी बनाउने डरले म केही नीमका लड्डुको पोको फुकाउँदैछु । नीमले केही बेर जिब्रो बटारे पनि दीर्घकालीन फाइदै गर्छ । ढिला नगरी कुरोको चुरोमा पुगौँ ।
महाभारतका पात्र: पात्रहरूको महाभारत
कर्ण महाकाव्य ऐतिहासिक महाकाव्य हो । पौराणिक भन्न अलिक नसुहाउला भनेर मैले ऐतिहासिक भनेँ । ऐतिहासिक यस मानेमा कि, पूर्वीय परम्परामा “इतिहास” शब्दको ठ्याक्कै वाच्य हो महाभारत । महाभारतका पात्रहरूका कार्यहरूको भग्नावशेष नभेटिएलान्, अवशेषहरू त हाम्रै जीवनमा पाइन्छन् । महाभारतका पात्रहरूका बारेमा बोल्नु/लेख्नु सजिलो छैन । यसका लागि सबैभन्दा पहिले त भीमकाय महाभारत साङ्गोपाङ्ग केलाउनुपर्छ । त्यहाँका पात्रहरूलाई चलाउनुअघि केही बेर सोच्नुपर्छ । कुनै एउटा पात्रलाई अघि सार्दा अरू पात्रलाई अन्याय हुन्छ कि भन्ने डर पनि उत्तिकै हुन्छ । कर्णजस्तो धीरोदात्त पात्रलाई नायक बनाएर महाकाव्य लेख्ने साहसका लागि महाकाव्यकार नवराज लम्साललाई बधाइ !
उनले प्रतिज्ञामै उल्लेख गरेका छन् -
कर्ण-गाथा पढेदेखि आन्दोलित भयो मन ।
कर्णकै नाउँमा गर्छु शब्दतर्पण-अर्पण ।
यसरी कर्णका पक्षबाट महाभारतलाई पुनर्दर्शन गर्ने मेसोमा यो महाकाव्य उद्यत छ । डरलाग्दो कुरा चाहिँ के छ भने कर्णलाई हिरो बनाउन उनले सबलाई भिलेन घोषणा गरेका छन् । चरित्र देखाउने हो कथाले, अनि पाठकले हो हिरो र भिलेन घोषणा गर्ने । लम्साललाई त्यति कुर्ने धैर्य छैन । उनी पहिलो सर्गमै पाण्डवलाई धर्मका नाउँमा छली घोषणा गर्छन् । पाँचै पाण्डव ढोँगी भएको करार गर्छन् । कृष्णलाई सामन्ती र पाण्डवलाई तिनको हली भन्छन् । अंश माग्नका निम्ति लडेका लालची, छुसी (औंलामा उम्रने रौँ) भन्न भ्याउँछन् । द्रौपदी, भीष्म, द्रोणाचार्य आदिलाई सत्ताको भरिया भनेका छन् । उनको अरू कुनै पात्रप्रति कोमल पदावली जिउँदो छैन । कथालाई कसरी पक्षपाती नबनी देखाउन सकिन्छ भन्ने बारेमा लम्साल शून्य अनुभवी देखिन्छन् ।
रामायणमा हामीले भिलेन देखिरहेको पात्र शूर्पणखालाई केन्द्र बनाएर गोविन्दराज विनोदीले “शूर्पणखा” खण्डकाव्य लेखेका छन् । शूर्पणखालाई न्याय दिने गरेर कथा बुन्न समेत लक्ष्मण या रामलाई भिलेन नबनाउन सकिन्छ भने कर्णलाई हिरो बनाउन ककसको चरित्रलाई हलाल गर्ने हो ?
प्रह्लादको कथा भागवतमा छ, त्यसको जगमा बालकृष्ण समले “प्रह्लाद” नाटक लेखे । कथा उही भए पनि देव-दानव पक्षलाई ज्ञान र विज्ञानको पक्षधर बनाएर जुन नयाँ दर्शन उनले दिएका छन्, त्यो अतुलनीय छ । त्यो पढिसकेपछि दैत्यहरूलाई पनि सिधै गाली गरिहाल्न मन लाग्दैन, प्रह्लादप्रति अझ आदर बढ्छ । तर, देवता र दैत्यका बारेमा रहेको जनमानसको सोच सरक्क बदलिन्छ । करोडौंको मनमा रहेका पात्रलाई अति संवेदनशील भएर चलाउनुपर्ने चुनौती रहन्छ ।
कर्णको कथा पढ्दा/सुन्दा पाठक व्यथित हुन्छ नै । कुन्तीको गर्भबाट जन्मेर अधिरथ सूत र राधाको घरमा पालिएका कर्णको जीवन विचित्र छ । त्यसो भन्दैमा कर्णको जीवनीमा के भएको थियो भन्ने कुरा कल्पेर अरूलाई “भिलेन” बनाउन पाइँदैन ।
कर्णलाई बुझ्न पढ्नुपर्छ महाभारत । रामानन्द सागर या मुकेश खन्नाको सिरियल हेरेर रामायण-महाभारतप्रति रुचिसम्म जगाउन सकिन्छ, सम्पूर्ण ज्ञान पाउन सकिँदैन । लम्साल टिभि सिरियल हेरेका भरमा महाकाव्य लेख्न तम्सेको भान हुन्छ । महाभारतको कथा पूर्वतिर लम्सालको कथा पश्चिमतिर लागेको छ । महाभारतका पात्रहरूका बारेमा लेख्न खोजेको हो कि पात्रहरूको महाभारत गर्न खोजेको हो, भन्न गाह्रो छ ।
कवि कर्णलाई ग्लोरिफाई गर्न/बडेमानको क्रान्तिकारी साबित गर्न यसरी लागेका छन् कि साँच्चै कर्णले यो किताब भेटे पनि “यो म होइन” भन्नेछन् ।
एउटा सानो उदाहरणबाट छिरौँ । महाभारतको प्रसङ्गले के भन्छ भने सूतपुत्र कर्णले द्रोणाचार्यबाट धनुर्वेदको शिक्षा लिएका हुन् । अर्जुन या युधिष्ठिरले जसरी नै । सूतपुत्र भएका कारण उनी गुरुकुलमा छिर्न नपाएको कुरा असत्य हो । यो प्रसङ्ग शान्तिपर्वको २ अध्यायको ५ श्लोकमा वर्णित छ । श्लोक यस्तो छ -
स बालस्तेजसा युक्त सूतपुत्रत्वमागत: ।
चकारराङ्गिरसां श्रेष्ठाद् धनुर्वेदं गुरोस्तदा ।।
यता महाकवि लम्सालका कुरा सुनौँ -
अधिरथ आफ्नो पुत्रमा योद्धा हुने क्षमता देख्छन् । पाँचौं सर्गमा कर्णलाई लिएर गुरु द्रोणाचार्यका अघि अधिरथ पुग्छन् । कर्णले पढ्ने इच्छा जाहेर गरेपछि “मेरो पुत्रलाई पढाइदिनुहोस्” भनेर अनुरोध गरेर गुरुको पाउ छुन थाल्दा द्रोणाचार्य सन्केर बोल्छन् -
कसरी आँट भो तेरो तँ सूतपुत्रको अहम् ।
राजपुत्रसँगै पढ्ने त्यो अहम् कसरी सहम् ?
यस्ता आठ श्लोकमा द्रोणाचार्यले अधिरथलाई छि:छि: दूरदूर गरेका छन् । ती श्लोकले द्रोणाचार्यको एउटा घिनलाग्दो चित्र बनाउँछन् । त्यसपछि अधिरथले “हामी दास हौँ, बडामालिकको पूजा गर्नु हाम्रो धर्म हो” भनेर ओइलाउँछन् । त्यसपछि “लम्सालका कर्ण” माइक समातेर भाषण गरिरहेको फतौरे कम्युनिस्ट नेताको पारामा फलाँक्न थाल्छ । बाह्र श्लोक अनुष्टुप् छन्दमा द्रोणाचार्यलाई गाली बक्छ, फेरि पाँच श्लोक भुजङ्गप्रयातमा, आठ श्लोक शार्दूलविक्रीडितमा गाली दिएर मात्रै चुप लाग्छ ।
लम्सालले कर्णलाई क्रान्तिकारी देखाउने धुनमा यति धेरै आक्रोशित, गालीगलौजमा उत्रने र असहिष्णु बनाएका छन् कि महाकाव्यको नायक 'धीरोदात्त' हुनुको साटो 'धीरोद्धत' (अहङ्कारी, उग्र र आत्मप्रशंसा गर्ने) पात्रमा परिणत भएको छ ।
एउटा कुरो नि, महाभारतमा हुँदै नभएको या घट्दै नघटेको प्रसङ्ग लम्सालले स्वप्नबाट पाए कि ? या स्वयं कर्ण आएर वेदव्यासले लेखेको झुट्टा भनेर भने ? या पूर्वजन्ममा लम्साल आफैं कर्ण थिए र उनको बारेमा नलेखिएको कथा लेखेका हुन् ? या मैले जे लेखे पनि हुन्छ भन्ने मनलाग्दी हो ?
उसो भए प्रश्न उठ्छ, द्रोणाचार्यकहाँबाट परशुरामकहाँ किन गए कर्ण ? यो प्रश्नले कहिले कुत्कुत्याउँछ लम्साललाई ? उनलाई महाभारतमा छिर्नु नै छैन । छिरेको भए त्यहाँ फेला पर्थ्यो । धनुर्वेदमा आफूभन्दा बढी सक्षम अर्जुनलाई देखेर कर्णलाई डाह भयो । एकान्तमा गएर कर्णले द्रोणलाई ब्रह्मास्त्र दिनुहोस् भनेका छन् । ब्रह्मास्त्र पाएपछि म अर्जुनसँगै लड्थेँ भन्ने इच्छा प्रकट गरेका छन् ।
प्रसङ्ग शान्तिपर्वको २ अध्यायको ९ र १० श्लोक हेरौं -
वीर्याधिकमथालक्ष्य धनुर्वेदे धनंजयम् ।
द्रोणं रहस्युपागम्य कर्णो वचनमब्रवीत् ।।
बह्मास्त्रं वेत्तुमिच्छामि सरहस्यानिवर्तनम् ।
अर्जुनेन समं चाहं युध्येयमिति मे मति: ।।
ब्रह्मास्त्र नपाएपछि असत्यको आश्रय लिएर उनी परशुरामकहाँ पुगेका हुन् ।
जङ्गलमा बाणले एउटा गाई मारेकाले कर्णलाई त्यही गाई पाल्ने ब्राह्मणले सराप दिएको प्रसङ्ग महाभारतको २ अध्यायकै २४ श्लोकमा आउँछ । उनको मृत्युको कारण उनको यो हेलचेक्र्याइँ पनि हो ।
कुरो उठ्न सक्छ । वेदव्यासले लेखेकै कुराको पुनरावृत्ति गर्ने भए लम्सालको कवित्व र सृजनशीलताले कहिले फक्रन पाउनु ? सयौंथरि रामायण लेखिएका छन् । वाल्मीकिको रामायण पढेका तुलसीले रामचरितमानसमा लेखेको घटना उस्तै छैन । उसो भए नवराजले चाहिँ के अपराध गरे ? उनको आफ्नो महाभारत हुन सक्दैन ?
किन हुन सक्दैन ? सक्छ । तर त्यो कुन रूपमा भन्ने विषयले अर्थ राख्छ । कर्णलाई या कृष्णलाई आदर्श मान्नेहरू पनि यस संसारमा हुन पाउँछन् । कथालाई कर्णको पक्षबाट लेख्न सकिन्छ । यो सुन्दर कुरा हो । सोह्र वर्षे अभिमन्युलाई निःशस्त्र भएको अवस्थामा घेरेर अन्यायपूर्वक मार्ने छ जना महारथीहरूमध्ये एक हुन् कर्ण । उनको बारेमा महाकाव्य लेख्न पनि पाइन्छ । उनले खेपेको अन्याय देखेर म न्याय दिन्छु भन्न पनि पाइन्छ । तर, अन्य पात्रहरूलाई गरेको अन्याय लेखकीय अपराध हो ।
महाभारतका द्रोणाचार्य जसले वर्षौँ कर्णलाई पढाए, उनको दोष बाहुन भएर जन्मनु हो ? यदि कर्ण महाकाव्य पढेर द्रोणाचार्यलाई भट्टे सराप गर्ने अर्को पुस्ता थपियो भने यसले न वेदव्यासलाई लाभ हुन्छ न लम्साललाई । एकलव्यका झुटा कथा गढेर लोक अझै पनि द्रोणाचार्यलाई सरापिरहेको छ । अब अर्को झुटो कथाले पात्रहरूको बिचल्ली गराउनु कत्तिको उचित हो ?
कुन्तीलाई मन्त्र दिने दुर्वासालाई नै बलात्कारी बनाउन उद्यत लम्सालको क्रान्ति “सबै पुरुषहरू बलात्कारी हुन्” भन्दै बीच बाटोमा नाच्ने सोकल्ड अधिकारवादीभन्दा उच्चस्तरीय छैन ।
महाभारतका पात्रलाई चलाउने नाममा उनले बारम्बार पात्रहरूको महाभारत गरेका छन् । द्रोणाचार्यको निर्हेतुक चरित्रहत्याको भरपाइँ कसरी हुन्छ ? कर्णलाई पनि ईर्ष्या हुने पाण्डवलाई चौधौं सर्गमा लम्साल “लुते पाण्डवको लाज कृष्णले छोप्दिनेभयो” भन्न लजाउँदैनन् । तेह्रौं सर्गमा कृष्णलाई शारीरिक टिप्पणी (Body Shaming) गर्दै लम्साल “कालो कृष्णको कालै मन” भन्न अप्ठ्यारो मान्दैनन् । भीमको मोटोपनलाई लिएर उनले गरेको टिप्पणी, भीष्मको वृद्धावस्थालाई लिएर गरेको शारीरिक तुच्छ टिप्पणीले उनको महाकाव्यमा आएका महाभारतका पात्रहरूलाई न्याय त के, चित्त बुझ्दो गरेर अन्याय पनि गर्न सकेका छैनन् ।
लम्सालले पाण्डवहरूलाई होच्याउन प्रयोग गरेको “कृष्णको हली” शब्दले हलो जोत्नेहरूलाई अन्याय गरेन ? द्रौपदीदेखि भीष्मसम्मलाई होच्याउने क्रममा “भरिया” भन्ने लम्साल कुन मुखले “सिमली छायामा बसी” भन्छन् होला ? कृष्णलाई होच्याउन “गोठालो” शब्द प्रयोग गर्ने लम्साल भूमिपुत्रहरूप्रति सहानुभूति राखेको अभिनय कसरी गर्न सक्छन् ? युधिष्ठिरलाई निरीह देखाउन “नपुंसक समयको एक पुरुष” भन्ने लम्साल अल्पसंख्यक तेस्रो लिङ्गीप्रति कति असहिष्णु छन् ? दोगला प्रगतिशीलताले कवि आफ्ना पात्रका अघि कसरी उभिने हुन् ?
ठ्याक्कै भन्दा लम्सालका पात्रहरूले आफ्नो चरित्र निभाउनु (निर्वहण गर्नु) को सट्टा निभाउने काम (दियो निभाउनुजस्तो) गरेका छन् ।
शब्दका जगल्टा
एक उर्दू शायर डा. सलमान अख्तर भनेको कुरा सम्झन्छु । खराब कवितामा हुने चार गुणहरूको चर्चा थियो । तीमध्ये एउटाको बारम्बार स्मरण मलाई कर्ण पढिरहँदा आयो । शब्दहरूको यस्तो समूह तयार होस्, जसलाई सुन्दा साधारण पाठक एक छिन अल्मिलियोस् । पक्कै पनि यस पङ्क्तिको पछाडि कुनै ठूलो रहस्य छ भन्ने लागोस् । तर, भित्र केही रहस्य नहोस् । उदाहरणका लागि -
जिसने सबकुछ देखलिया है ।
उसने सबकुछ देखलिया है ।
एउटा भयङ्कर शब्दजाल हेरौं है -
विराट विश्वासका कानीन कल्पनाहरू
घिस्रिँदो युगको - सर्प साम्राज्य
उकुसमुकुस अनुहार लिएर
स्वतन्त्र छन् मान्छेहरू,
निरपेक्ष छन् गतिविधिसँग । १९.४
यस्ता डरलाग्दा शब्दावली लम्सालले दशौँ ठाउँमा प्रयोग गरेका छन्, जसको अभिधात्मक अर्थ पनि छैन ।
अर्को उदाहरण,
यो समय
समयजस्तो छैन
समय आफैं प्रगतिको समय खोजिरहेछ
अभिशप्त पाषाणझैँ
समयका रासहरू
स्वस्थ समयदेखि त्रस्त । १९.३४
त्यहीसँग
त्यसैसँग
उसैसँग
कर्ण अर्थात् कर्णसँग १८.१७
छिः कति फरक छन्
फरकहरूका फरकहरू १८.१९
समयकै शिर काटेर
म समयकै बीउ रोप्न चाहन्छु
समय भनिरहेछ समयसँग १८.२०
समयलाई समयबाहेक
समयले मात्र चिन्न सक्छ । १६.१
विजयसँग पनि विजय छैन
पराजयसँग पनि पराजय छैन । २३.४
लम्सालका पद्यहरूमा यी समस्या यति बाक्लै छैनन् । उनका गद्यहरू यी र यस्तै समस्याले पीडित छन् । यस्ता भयंकर शब्दहरू सुन्दा साधारण पाठक सुरुमा डराउँछ, दिग्भ्रमित हुन्छ र आफ्नै चेतनालाई दोष दिन्छ, 'ओहो, म नै कमजोर रहेछु, कविले त कति ठूलो कुरा भनिसकेछन् !' तर जब खोतलेर हेरिन्छ, त्यहाँ केही हुँदैन । लक्षणा या व्यञ्जना होइन, अभिधाकै तहमा पनि खास माने यसबाट निस्कँदैन ।
पद्यमा लगभग यिनकै छेउछाउमा पुग्ने तरखरमा केही श्लोक छन् -
महासमयले अर्को महासमय पर्खियो ।
कर्णको चेतनाबाट चेतना ब्यूँझियो, उठ्यो ।
शब्दहरूका चुल्ठा सुन्दर हुन्छन् । तिनका फूल सिउरिन सकिन्छ । शब्दका जगल्टा भयङ्कर लाग्छन् ।
समयको ऐँठन
प्राचीन कालदेखि गद्यकविको एक जत्था छ देशमा, जो केही भयङ्कर शब्दहरूको सङ्कलन गर्छन् र दुई अनुच्छेद लेख्छन् । अनि इन्टर थिच्छन् र कवि बन्छन् ।
लम्सालसँग पनि केही शब्दावली छन् । ती सयौंपटक दोहोरिन पनि सक्छन् । तिनैलाई पाठक ट्वाँ पर्ने गरेर पुनः संयोजन गरेर इन्टर थिचिदिएको भान सचेत पाठकलाई हुन्छ ।
छन्दकविहरू वर्षौंदेखि कविता त लेखिरहेका छन् तर उनीहरूसँग भएका समयको पदचाप सुन्ने कानहरू अलिक कमजोर छन् । यो आरोप स्वयं नवराज लम्सालको पनि हो । यो आरोपबाट बच्न लगभग एक टनजति समय उनले जम्मा पारेका छन् । अनि युरिया मल छरेजसरी बरर बरर बारीभरि छरेका छन् । त्यसले उनको कवितालाई बेमौसममै हर्लक्कै बडेमानको बनाइदिएको छ । पत्यार लागेन ? ‘र्यान्डमली’ एउटा अध्याय लिन्छु, सर्ग - दश । अब हेरौं समयका गेडेमलहरू ।
१०.२ मा दुईवटा समय छन् -
देखिने अंश जे होला समय बलवान छ ।
बलवानहरू भन्दा समय बलवान छ ।
माथिल्लो र तल्लो लाइनमध्ये एउटाको औचित्य के हो ? थाहा छैन । समय आइहाल्यो, पुग्यो । समयको अझै धेरै आवाज सुनौँ न त -
रथमाथि बसेको छ महासमय सम्पदा । १०. ५
हरहिसाब तोकेर समय जनता बन । १०.७
उकालोको खच्चरझैँ - घिटिघिटी छ समय । १०.३१
विदुरको पीडा-प्रार्थना , समयको निरन्तर ध्वनि। १०.६१
ढुङ्गा पुछेर समय ढुङ्गाजस्तै छ - चट्टान मन । १०.४०
भत्कन्न समय चिरेर चेतना कतै । १०. ४०
व्यतीत समयको पहरेदार विलासका मालिकहरू १०.४०
कहिले कृष्ण र अर्जुन भएर कहिले समय भएर । १०.४२
कर्णहरू
राजाहरू
समय । १०.४३
समय परिवर्तनको युद्धचेतना । १०. ४३
समय लिप्ने हात होइन भत्काउने लात खोजिरहेछ । १०.४५
छयालीसौँ अनुच्छेदमा चारवटा समय छन् :
समय, अलिकति दरबार र सत्ताप्रतिको.. १०. ४६
समयकै विद्रोहविना
समयले निकास पाउँदैन अब
समय चुपचाप कहाँ बस्छ र … १०. ४६
यो एकोहोरो “समय” शब्दको आवृत्तिले नवराजको कवित्वलाई सास फेर्न दिएको छैन ।
पाठकलाई फुर्सद छ भने म एउटा गृहकार्य दिन्छु - यस महाकाव्यमा “सत्ता”, “युद्ध”, “विभत्स” (बीभत्स होइन नि), “दरबार”, “चेतना”, “युग” कतिपटक दोहोरिन पुगेका छन् ? गन्ने हो ?
राष्ट्रवादको भूत
कर्ण महाकाव्य पढिरहँदा पाठक धेरै पटक चकित पर्छ । त्यसका पात्र छन् हस्तिनापुरका सम्राट्, उनका छोरा-भाइ-भतिजहरू । धृतराष्ट्रका साथी सराथि छन् अधिरथ । उनी चाहिँ मत्स्यगन्धाको कथाबाट फुत्केर कर्णको कथामा हाम फालेजस्तो देखिन्छन् । मत्स्त्यगन्धाको कथा तनहुँको दमौलीमा घटित भएको भन्ने कुरामा धेरै विद्वान्हरू सहमत छन् । यसमा पनि महाकाव्य लेखिएका छन् । लम्सालका कर्ण (नाम त्यतिबेलासम्म छैन) त्रिशूली र काली बग्दै आएको ठाउँमा भेटिन्छन् । त्यो ठाउँ पक्कै पनि देवघाट हो । अब देवघाटको किनारमा बसेका अधिरथ आफ्नो ड्युटी गर्न हस्तिनापुर कसरी पुग्दा हुन् ? सामान्य गुगल गर्दा पनि पत्ता लाग्छ - हस्तिनापुर र देवघाट लगभग ९९७ किलोमिटरको दूरीमा छन् । बिहान यसो घर खाना खाएर हजार किलोमिटर आसपास यात्रा गरेर जागिर खान जाने र बेलुकी घर फर्कने विश्वकै नमुना जागिरेका रूपमा अधिरथ देखिन्छन् ।
देवघाटमा त्रिशूली र नदी मिसिन्छन् । तर यो त्रिवेणी होइन । त्रिवेणी हुनका लागि तीनवटा नदी मिसिनुपर्छ । वेणीसङ्गम र त्रिवेणीसङ्गम फरकफरक चीज हुन् । कर्णको प्रसङ्गमा लम्साल बारबार त्रिवेणी गाउँको जिक्र गर्छन् । त्रिवेणी फेरि त्रिशूली र काली बगेर नारायणीको वेगसँगै सुस्ता पुगेर फेला पर्छ । देवघाटबाट लगभग असी-नब्बे किलोमिटर पर । मर्निङ वाकका लागि दाउन्नेसमेत कटेर असी नब्बे किलोमिटर यात्रा गरेर अधिरथ त्रिवेणीबाट देवघाट पुग्दा हुनन् । हुन त लम्सालका आदर्शपात्रका जन्मदाता न परे ।
कर्णले पाएको देश अङ्ग चाहिँ कहाँ पर्छ ? यो पनि त्रिवेणीबाट लगभग चार सय किलोमिटर टाढा पर्छ ।
हामी जब भानुभक्तको रामायण पढ्छौँ, तब हामीलाई राम हाम्रै नेपाली स्वादका लाग्छन् । सीता लक्ष्मण हनुमान हाम्रै वरपरका पात्र लाग्छन् । यसको कारण पात्रहरूले बोलेको भाषा हो । सीता र रामलाई हिन्दी सिरियलमा देख्दा भारतीय लाग्छन् । भानुभक्तका रामायणमा नेपाली लाग्छन् । रामलाई हामीसँग अझै नजिक बनाउन भानुभक्तले रामलाई ठोरीमा जन्माउनुपर्छ ? केपी ओली स्टाईलमा रामलाई माडीवरपर नजन्माइकन पनि पाठकलाई “राम हाम्रै हुन्” भन्ने पार्न सक्नु भानुभक्तको क्षमता हो ।
हस्तिनापुर र अङ्ग देश लम्सालले आफ्नो मानेको वर्तमान गणतन्त्र नेपालबाट सयौं कोस पर छन् । पाठकहरू लम्सालले जबर्जस्ती महाभारतलाई नेपालमा घुसाउन खोजेको देख्दा छक्क पर्छन् । महाभारतका पात्र नेपाली सिद्ध गर्ने राष्ट्रवादको भूत ठाउँठाउँमा लम्साललाई घाँटी समात्न आइपुग्छ ।
महाकाव्यमा लम्सालको स्टाईल पुनर्जागृत हुन्छ । हिमाल पहाड तराई मधेसका कुरा गर्न थाल्छन् । माध्यमिक तहका कविताप्रतियोगितामा भाग लिन उत्सुक ठिटो बनेर हिमाल पहाड मधेसको गीत गाउन थाल्छन् । बक्खु र धोतीको सामञ्जस्य पेल्न थाल्छन् । यसले महाकाव्यको नेपालीकरण होइन, पात्र र चरित्रको क्षयीकरण गराउँछ । कर्णको कथा भनिरहेको मान्छेलाई मधेस कसरी फुर्छ ? मधेस भन्ने कुराको अस्तित्व यही रूपमा कर्णको कथामा सुहाउँछ ?
अङ्ग देशका राजा कर्ण आफ्नो “झुपडी”को उल्लेख गर्छन् - आश्चर्य । कर्ण जननिर्वाचित क्रान्तिकारी नेता होइनन्, दुर्योधनले कृपा गरेर दिएको एउटा देशका शासक हुन् । उनले “म अङ्गको राजा भएँ, हस्तिनापुरको राजा पनि अर्को हुन मिल्दैन ?” भनेको तब सुहाउँथ्यो जब उनी जनताको प्रतिनिधि हुन्थे । कर्णपछि अङ्गको राजा कर्णकै छोरो हुन्छ भने हस्तिनापुरका बारेमा सोध्ने उसको नैतिकता कसरी रहन्छ ? कर्ण राजा हुन्, जनप्रतिनिधि होइनन् । लम्साल बेला बेला महाभारत सम्झेर कर्णलाई राजा बनाउँछन्, राष्ट्रवादी प्रगतिशीलताले थिच्छ र झुपडीवासी बनाइदिन्छन् ।
अनौठो त के छ भने कर्णको जीवनीको टुङ्ग्याउनी खोज्दै जाँदा गणतन्त्र नेपालको जय लेखेको वाक्य फेला पर्छ । कथा छ कर्णको - जयकार छ गणतन्त्र नेपालको । यो के मजाक हो ?
राष्ट्रवाद र गणतन्त्रको भूतले महाकाव्यकार लम्साललाई महाकाव्यभरि छाडेको छैन । असामयिक राष्ट्रवादले महाकाव्यमा कतै पनि सौन्दर्य बढाएको छैन ।
अभिधाको अत्याचार
कविताको सुन्दरता त्यसको लुकामारीमा हुन्छ, कविको इसारा बुझेर पाठकले अर्थको नयाँ क्षितिज उघार्नुमा हुन्छ । बुर्काले ढाकिएर अथवा समुद्रछेउमा नाङ्गै घाम तापेर कविता बस्दिन । कविता साडीचोलोले ढाकिन्छे र पनि सबैले चिन्ने गरेर स्पष्ट मुख देखाउँछे । माधव घिमिरेको कविताले भनेको रहस्य पनि यही होला -
रहस्य खोलेर रहस्य बाँकी
यद्वा,
सधैं उज्यालो म भविष्य दिन्छु
रहस्य खोलेर रहस्य दिन्छु ।
लम्सालका थुप्रै अन्तर्वार्ताहरूमा उनले कर्णका बारेमा बोलेका छन् । उनीबाहेक पनि थुप्रैले कर्णमाथि कलम चलाएका छन् । ती पढे/सुनेको मान्छेले उनको किताबमा केही नयाँ भेट्दैन । कविले विचारको सम्प्रेषण त गरेका छन् तर कवितामा हुनुपर्ने कौतूहल र रहस्यको पहिल्यै हत्या भइसक्यो ।
शब्दका तीनवटा तहमध्ये अभिधामा लम्साल मुखर छन्, लक्षणामा अल्प, व्यञ्जनामा अत्यल्प । काव्यको आरम्भमा मन्दाक्रान्ता र शालिनीमा लम्साल लक्षणा-व्यञ्जनामा तरल छन् । अनुष्टुप् शुरु गरेदेखि दुई श्लोक छाडेर उनको अभिधा चर्को हुन थाल्छ । उनको अनुष्टुप्को दोस्रो पद्य तुलनात्मक रूपमा सुन्दर छ -
बिहानी उठ्न जान्दैन नउठी घामको फणा ।
झुल्के घाम तिमीलाई जिन्दगी यो समर्पण ।
यसपछि उनको कर्कशताले क्रमशः सीमा नाघ्छ ।
जस्तै :
म द्रोणाचार्य चाहन्नँ चाहन्नँ भीष्म, द्रौपदी ।
सत्ताका भरिया यस्ता अझै छन् कति छन् कति । श्लोक २४
धर्म होस् अथवा अन्य धर्मैका नामका छली
पाँचै पाण्डव हुन् ढोँगी सामन्त कृष्णका हली । श्लोक २५
लडेथे अंशका निम्ति मगन्ते लालची, छुसी ।
पाँचोटा गाउँ मागेर भोग्न खोज्थे त्यहीँ बसी । श्लोक २६
राजसूय अरे यज्ञ दान रे अभिमानको ।
यो दिएँ त्यो दिएँ भन्नु देखावटी प्रचार हो । श्लोक २७
आदि इत्यादि
दोस्रो सर्गमा देखिएकी महिला आकृतिले केही श्लोक शार्दूलमा भनेका कुरामा कताकती व्यञ्जना छ, बाँकी छैन ।
अनुष्टुप् छन्दमा अलिक मन पर्दो श्लोक भेट्न म सत्रौँ सर्गमा पुग्नुपर्यो । त्यसअघि भेटिनँ -
नभत्की घरका भित्ता नउप्की उग्लने रङ ।
कहाँ भर्नु नयाँ बुट्टा पुराना रूपका सँग ।
कथाले पाठकलाई त्यो मोडमा पुर्याउन सकोस् जहाँ स्वयं पाठक लेखकले चाहेको पदार्थलाई “छिः” भनोस् । त्यो कविताको सफलता हो । तर लम्साल सबलाई छिः भन्दै भट्टेसरापमा रमाएका छन् । उनको गद्य छिः छिः ले छिया छिया छ ।
एक झलक;
छिः सत्य पनि कति कठिन गर्तमा । २.६
छ्या, माटोले धोका दियो । ५. २५
छिः बौद्धिक भनिने भाटहरू
दरबारको पुरेत्याइँमा टपरी चाटेर विद्वान् हुनेहरू ९.२१
प्रभात बिउँझे पनि नबिउँझने चेतना, छिः ! ११.२
अधिरथपुत्र
राधेय
कर्ण
सूतपुत्र
छिः कति धेरै नाम ! १२.१४
छिः राजा पनि कुनै स्वतन्त्र मान्छे हो ! १२.२१
छिः यी अतीत कल्पेर , वर्तमानबाट भाग्नुहुन्न । १२.२९
छिः ! घाम तेरो घामत्व ! १५. ३१
कति गम्भीर रात ! छिः कस्तो सपना ! १७.७
छिः तिम्रो गाण्डीव धनु
छिः तिम्रो साहस १९. २२
छिः विजय नबुझेको युद्ध ! १९.३३
छिः
कति फोहोर छ सत्ता
छिः
कति घटिया, कति चोर
आदि इत्यादि । अन्यत्र पनि छिः छ्या हुनन् , कति छिः मात्र खोज्नु !
सारतः लम्साल कर्ण महाकाव्यका हरफहरू पढ्दै जाँदा लाग्छ, हामी कुनै विशाल मरुभूमिमा हिँडिरहेका छौँ, जहाँ जे देखिन्छ बालुवा मात्र देखिन्छ, भित्र कुनै शीतल पानीको मुहान लुकेको छैन । यो गूढार्थविहीन शब्दको पहाड मात्र बनेको छ, जहाँ पहिलो नजरमै जे देखियो, त्यही नै अन्तिम सत्य हो । दोहोर्याएर पढ्दा नयाँ अर्थ निस्कने कुनै चमत्कार यसमा छैन ।
छन्द न बन्द
लम्साल मूलतः छन्दकवि हुन् । उनको कविताको शक्ति पद्यमै छ । उनको गद्यभन्दा पद्य उच्च तहको छ । उनले अनेक छन्दको प्रयोग “कर्ण”मा गरेका छन् । प्रयोगका नाममा नयाँ नयाँ छन्दहरूको प्रयोग गर्ने तर छन्दबाहेक अरू फेला नपर्ने रोगबाट लम्साल मुक्त छन् । अस्ति मात्र डेढ सय छन्दको एउटा महाकाव्य हात पर्यो । महाकाव्यको मङ्गलाचरणको छन्द नजानेर कविलाई नै सोधेँ, उनले पनि भन्न सकेनन् । मैले चाल पाएँ । छन्दका सूत्र पल्टाएर महाकाव्य लेख्नु अथवा शब्दकोष पल्टाएर छन्दकविता लेख्नु पनि छन्देली कविहरूमा विद्यमान सानोतिनो रोग हो । यसले कवितालाई बग्न दिँदैन । यो भाइरसबाट लम्साल पीडित छैनन् । उनका कुनै पनि श्लोक छन्द मिलाउनका लागि जबर्जस्तीमा परेका छैनन् । सलल बगेका छन् । यसका निम्ति महाकाव्यकारलाई बधाइ ।
तर, तर,
लम्सालले छन्दका नियमहरूलाई गरेको अत्याचारको फेहरिस्त लामो छ । यस विषयमा एउटा अलग्गै शोधपत्र लेखिन सक्छ । सङ्क्षेपमा दुई चार कुरा भन्छु । महाकाव्यको तेस्रो श्लोकको चौथो लाइनमा पुग्दा दाँतमा ढुङ्गा लाग्छ -
मेरी आमा अब सुरु गरूँ टिप्न सृष्टि पराग ।
यो मन्दाक्रान्ता छन्दको लाइन हो । सृष्टिको “टि” दीर्घ हुन्थ्यो भने यो मन्दाक्रान्तामा जम्थ्यो । ह्रस्व भएकाले यो नाकमा कालो मसीको धब्बा लगाएकी नववधूजस्तै प्रतीत हुन्छ ।
मन्दाक्रान्तापछि शालिनी अनि अनुष्टुप् छन्दमा छिर्नासाथ छन्दको नाक खुम्चिन्छ । अनुष्टुप् छन्द सबैभन्दा सजिलो र सबैभन्दा गाह्रो छन्द हो । लम्सालले सबैभन्दा बढी (शायद) प्रयोग र वियोग (बिजोग) यही छन्दको गरेका छन् । अनुष्टुप् छन्दको नियममा छैटौं गुरु, पाँचौं लघु हुनु मात्रै पर्याप्त छैन । अनुष्टुप्का पाउहरूलाई भगणबाट र नगणबाट आरम्भ गर्न पाइँदैन । त्यसले वाचनमा पनि असहजता ल्याउँछ । उनको पहिलो अनुष्टुप् नै त्रुटिपूर्ण छ -
बन्दिनँ मूढ मान्छे म बन्दिनँ म पराजित ।
चन्द्रविन्दुले नलाई गुरु बनाउँदैन । यहाँ दुईवटा पाउ नै भगणबाट सुरु भएका छन् । वाचन गर्दा “बन्दिनँ ऽ ऽ मूढ” भनेर गर्नुपर्छ । यो त्रुटि हो । पन्ध्रौं श्लोक उस्तै छ । छन्दका किताब हेर्दै अक्षर गन्दै लेख्नु समस्या हो, छन्दका सामान्य नियम पनि अध्ययन नगरी आत्मबलले लेख्नु अर्को समस्या हो, जुन लम्साल लगायत थुप्रै नेपाली कविहरूले अनुष्टुप् लेख्दा बोक्छन् ।
सातौं सर्गको अन्त्यमा उनले पुष्पिताग्रा छन्दको भनेर एउटा श्लोक लेखेका छन् :
तनमनधनको विचार बाँकी ।
सरल हृदयको असार बाँकी
सुख र सयलको कसार बाँकी
जय जय गुरुको विचार फाँकी ।
यो वस्तुतः पुष्पिताग्रा छन्दको श्लोक होइन । पुष्पिताग्रा छन्दको पहिलो र तेस्रो पङ्क्तिको नियम एउटै हुन्छ । दोस्रो र चौथोमा अर्को । लम्सालले हतार हतार चारवटैमा एउटै लक्षणमा लाइन भरिदिए । यो उनले नयाँ छन्दको प्रयोग गर्दिऊँ न त, भनेर गरेको हुन सक्छ । तर गल्ती त गल्ती नै हो । त्यसमाथि छन्दको नामै तोकेपछि त सक्कियो !
अनुष्टुप् र पुष्पिताग्रामा उनको अज्ञान भएकाले त्यसलाई विवेकी जनले क्षमा दिन सक्छन् । तर, उनका प्रमादहरूको सूची लामो छ । जस्तै:
मङ्गलाचरणको तेस्रो श्लोकमा ह्रस्वको दीर्घोचित प्रयोग गर्ने उनी दोस्रोको तेह्रौं श्लोकमा “परिश्रमी” शब्दको रि गुरु नभएजसरी लेख्छन् । चौधौं भनिएको श्लोकसङ्ख्या दोहोरिएको छ । दोस्रो चौधौँमा “मातृभाव” लाई “मात्रीभाव” बनाइएको छ, छन्द मिलाउन । मातृ शब्दको अर्थ आमा हो । मात्री शब्दको अर्थ मापन गर्ने स्त्री हो । छन्दका नाउँमा शब्दार्थमा विचार नगरिएको प्रयोग । छन्द मिलाउनका लागि कुन्तिभोजको नामलाई कुन्तीभोज बनाइएको छ । गीता १.५ मा कुन्तिभोजको इकार लघु छ । कुन्तीलाई चाहिँ ह्रस्वान्तझैँ २.६१ जस्ता ठाउँमा प्रयोग गरिएको छ । ३.१४ मा अनुष्टुप् चिप्लेको छ । ३.१६ पनि उस्तै छ । ३.१९ ३.३४ आदिमा अनुष्टुप् पीडित छ । दुःख कहिले छन्द मिलाउन दुख बन्छ, कहिले दुक्ख बनेर यथास्थितिवादी बन्छ ।
“हस्तिनापुर” शब्द श्लोकमा राख्नु छ, त्यो पनि शार्दूलमा । अटेन । के गर्ने ? कोच्दिने ! आठौं सर्गका १३, १४, १९ आदि श्लोकको कथा यस्तै छ । यो सुरुको सर्गदेखि अन्तिम सर्गसम्मकै समस्या हो ।
पढ्दा सरर दाँतमा लागेका ढुङ्गाहरू मैले थुप्रै जम्मा पारेर राखेको छु, कविलाई चाहिए दिउँला ।
कविताजस्तो भाषण : भाषणजस्तो कविता
म नवराज लम्सालको उग्र तर मौन प्रशंसक हुँ । मैले राति १ बजेसम्म नसुती उनको भाषण सुनेको छु । देवघाटमा हुने काव्य-सभामा उनले दिएको प्रमुख अतिथिवाला भाषण अहिले मलाई स्मरण त छैन तर त्यसको अनुभूति जिउँदै छ । लगभग आधा घण्टा उनी बोले, म स्तब्ध भएर सुनिरहेँ । उनका प्रत्येक वाक्य मह घोलिएजस्ता थिए । अमृत चुहिएलाजस्तो भाषण । त्यो कुनै कोणबाट पनि भाषणजस्तो थिएन । विशुद्ध कविता थियो । म चकित थिएँ, भाषण कसरी कविताजस्तो हुन्छ ? कताकता लाग्थ्यो पनि, जसको भाषण पनि कविताजस्तो छ, उसको कविता चाहिँ कस्तो होला ?
त्यो भाषण सुनेको लगभग आठ-दश वर्षपछि मैले शब्द शब्दलाई अनुभूत गर्दै उनको कविता पढेँ । कविता होइन, महाकविता । काव्य होइन, महाकाव्य । मैले यतिबेला पढिरहँदा उनका चार महाकाव्य प्रकाशित छन् । उनले देशको सर्वचर्चित मदन पुरस्कार पाइसके । मेरो हातमा रहेको किताब कर्ण महाकाव्यको चौथो संस्करण हो ।
पोहोर यस किताबलाई भ्रमणका सिलसिलामा नुवाकोट गएका बेला कसैको घरमा सरसर्ती पढेको हुँ । उता गफगाफ चलिरहेको थियो, यता मैले हतारोमा किताब पढेँ । तृप्ति भएको थिएन । उनका कृतिहरूले बजारमा हल्ला मचाइसकेको वर्षौंपछि मैले “कर्ण” पढेँ । महाकाव्य पढिसकेपछि मेरो मनमा लाग्दैछ, कविताजस्तो भाषण गर्ने मान्छेले कविता चाहिँ किन भाषणजस्तो लेखेको ? उनलाई मञ्चमा ताली खाने र श्रोतालाई जुरुक्कै उचाल्ने जुन बानी परेको छ, कविता लेख्दा पनि उनी त्यही मञ्चको 'ह्याङओभर'बाट मुक्त हुन नसकेका हुन् कि ?
कविता मौनतामा पढिने विधा हो, तर उनको महाकाव्य पढ्दा पाना-पानाबाट माइकको कानै फुट्ने आवाज आएको जस्तो लाग्छ ।
कर्ण पढ्दै गर्दा लाग्छ, पुस्तकका पानाहरूमा अक्षर होइन, अदृश्य माइकहरू जोडिएका छन् । कवि पाठकको मनसँग कानेखुसी गर्न जान्दैनन्, उनी त केवल पाठकको कानै निर आएर गर्जन मात्र जान्छन् ।
यिनका रचनामा कविता कम, रेडियोको 'प्राइम टाइम' मा बज्ने सम्पादकीय बढ्ता फेला पर्छ । उनको काव्यिक कोमलतालाई उनले यसरी थिचेका छन् कि उनी संवाद लेख्दा पनि आफैँ प्रवक्ता बन्न खोजेको भान हुन्छ ।
जसको मुखबाट निस्कने सामान्य भाषण पनि महजस्तो गुलियो र काव्यिक हुन्थ्यो, उनैले महाकाव्य लेख्दा भने महको चाकामा नुनको छिट्टा हालेझैँ खस्रो, टर्रो र उपदेशात्मक+ गाल्यात्मक गद्यको चाङ लगाइदिए ।
यत्रो महाकाव्यका पच्चीस सर्गमा भनिसकेर पनि उनलाई आफ्नो भन्नुपर्ने कुरा भनेर तृप्ति भइसकेकै छैन । थप चार पाना उनका केही मीठा कुरा आइपुग्छन् कि भनेर पढ्दा महाकाव्यकै कुरा तानतुन पारेकै पढियो । बोनसमा महाकाव्यकै आठवटा अनुष्टुप् ।
टुङ्ग्याउनी
विगत एक वर्ष देखि मेरो मोबाइलमा वालपेपर बनेर एउटा महाकाव्यको पाना बसिरहेको छ । सौभाग्य/दुर्भाग्यवश त्यो पृष्ठ यसै महाकाव्यको हो । आम नेपाली बानीहरूमध्ये एक अनौठो बानी हो, रसीद/टिकट या चिर्कटाहरू किताबमा घुसारेर सुरक्षित राख्नु । कुनै च्यात्तिएको किताबबाट कुनै गुणी पाठकले माधवप्रसाद घिमिरेका चार श्लोक बचाएर यसै महाकाव्यको एक्काइसौं सर्गको आरम्भ भएको पृष्ठमा सिउरेर राखेछ । त्यो पृष्ठ मैले आदर्शका रूपमा मलाई झस्काउनका लागि राखेको छु । कालिदासले उन्नाइस सर्गमा लेखेको रघुवंशभन्दा ठूलो कर्ण पढेर एक्काइसौं सर्गसम्म पुग्दा नभेटेको अमृत मैले तिनै चार श्लोकमा भेटेँ । कुनै पाठ्यपुस्तकमा बालबालिकालाई पढाउनका लागि महेन्द्रमालाजस्तै कुनै पुस्तकको त्यो चिर्कटो यी पच्चीस सर्गभन्दा बढी गह्रुङ्गो छ । कर्ण महाकाव्यको त्यो पृष्ठ र त्यसमा संलग्न चिर्कटो मलाई कस्तो लेख्नु र कस्तो नलेख्नु भन्ने कुराका लागि आदर्श उदाहरण बनेर पाठ सिकाइरहन्छन् ।
कुमार नगरकोटीको एउटा पात्र छ, जो आफ्नो प्रिय लेखकलाई गाडीले किचेर मारिदिन्छ । कारण, प्रिय लेखक अप्रिय रचनाहरू गरेर दिनानुदिन मर्दै गरेको दृश्य । अब यहाँभन्दा पनि खराब लेख्छ कि भन्ने डर ।
लम्सालको 'कर्ण' दोस्रो फेर पढिसक्दा म जति आन्दोलित छु, उति नै दुःखी र भयभीत छु। मेरो प्रिय लेखकले यसरी कविताको भेषमा भाषणको लौरो चलाएको हेर्दाहेर्दै, मलाई अब उनको आगामी कृति 'कल्प' पल्टाउन पनि डर लागिरहेको छ । कतै 'कल्प' मा पुग्दा मेरो प्रिय लेखक अझ बढी अप्रिय त बन्ने होइन ? नगरकोटीको त्यो पात्रको ठाउँमा म उभिनुअघि लम्साललाई बिन्तीपूर्वक कविताप्रति कोमल र इमानदार भइदिन अनुरोध गर्दछु ।
यो तपाईँको निन्दा होइन, बरु तपाईँको कवित्व दिनानुदिन मरेको हेर्न नसक्ने एउटा इमानदार प्रशंसकको शोक र चिच्याहट हो ।
जाँदाजाँदै त्यही चिर्कटोको एक श्लोक -
गाली गर्दैन सारङ्गी, झूटो बोल्दैन बाँसुरी ।
छ सङ्गीत तिमीभित्र, मीठो बोल सधैंभरि ।
महाकाव्यभित्रको त्यो “चिर्कटो” ।


