मानिसहरू प्रेमलाई सम्झन्छन्, तर प्रेमका बीचमा घटेका साना परिवर्तनहरूलाई बिर्सन्छन् । परिवर्तन एकै दिनबाट शुरू हुँदैनन् । ती त पुरानो घरको भित्तामा देखापर्ने चिरा, हृदय हर्षित बनाउने हाँसोको फिक्कापन जस्तै बिस्तारै आउँछन् । ठीक त्यस्तै, वर्षौँपछि पनि स्वयमलाई सिराको हाँसो सम्झना थियो । तर त्यो हाँसो कुन दिनदेखि अलिकति फिक्का हुन थालेको थियो, त्यो उसले कहिल्यै सम्झन सकेन । आज, यस क्षण उसले अचानक महसूस गर्यो कि केही त फेरिइसकेको छ ।
उनीहरू पहिलो पटक नदी किनारमा भेटेका थिए । भदौको अन्तिम सातातिरको साँझ । झरीले उन्मत्त बनाएको नदीको रौद्र रूप घट्दै थियो । पानीले छोडेर गएका ढुङ्गाहरू घाममा चम्किरहेका थिए । सिरा नदीतिर एकटक हेरिरहेकी थिइन् ।
मौनता तोड्दै स्वयमले सोध्यो, “के हेरेकी ?”
तर उनले उत्तर दिइनन् । कतै हराइरहिन् । अलि बेरपछि गहिरो सास लिँदै बोलिन्, “पानीले के-के बगाएर लैजान्छ होला ?”
“जे भेट्यो, त्यही ।”
“होइन होला," सिराले टाउको हल्लाइन्, "केही कुरा त बगाउँदैन पनि ।"
त्यो बेला स्वयमले कुरा बुझेको थिएन । प्रेममा हुँदा मानिसहरू एकअर्काको वाक्यभन्दा अनुहार हेर्छन् । अर्थभन्दा उपस्थिति महत्त्वपूर्ण लाग्छ ।
पछि धेरै वर्षसम्म उनीहरूले जीवनलाई सँगै बुझे । या कम्तीमा त्यसो गर्न उपयुक्त ठाने । तर जीवन बुझ्न सकिने कुरा होइन भन्ने कुरा बुझ्न उनीहरूलाई धेरै समय लाग्यो ।
सिरा बिस्तारै थकित हुन थालेकी थिइन् । त्यो थकान शरीरको थियो कि आत्माको, छुट्याउन सकिने अवस्था थिएन । उनी पहिलेभन्दा धेरै मौन बस्थिन् । कतिपय साँझहरूमा उनी किताब खोलेर घण्टौँ एउटै पृष्ठ हेरिरहन्थिन् । मानौँ शब्दहरू आँखामा पुगेका छन्, तर चेतनासम्म पुग्न सकेका छैनन् ।
कहिलेकाहीँ स्वयमले उनलाई हेर्दा अनौठो अनुभूति गर्थ्यो । जस्तो कि उनी उही व्यक्ति हुन् तर उही छैनन् । त्यो परिवर्तन देख्न सकिन्थ्यो कि सकिँदैनथ्यो, उसलाई थाहा थिएन । तर प्रेममा सानातिना भिन्नताहरू पनि ठूलो आवाजजस्ता सुनिन्छन् ।
स्वयमले सोध्थ्यो,"के सोचिरहेकी ?"
सिरा मुस्कुराउँथिन्,"थाहा छैन ।"
स्वयमलाई लाग्थ्यो कि सिराले झुट बोलिरहेकी छिन् । उसले ढिपी गर्थ्यो मनको कुरा खोल्न । तर सिराको त्यो उत्तर झुटो थिएन । मानिस सधैं आफ्ना दुःखको नाम जान्दैन । सिरालाई पनि थाहा थिएन उसलाई के भैरहेको छ भनेर ।
एक दिन स्वयमलाई लाग्यो कि सिरा ऊबाट टाढिँदै छिन् । अर्को दिन लाग्यो कि शायद ऊ आफैं बदलिँदै छ । त्यसपछि केही समय उसले नियतिलाई दोष दियो । त्यसपछि प्रेमलाई । त्यसपछि समयलाई । मानिससँग कारण नभएपछि उसले आफैँ दर्शन बनाउँछ ।
जाडोको एउटा बिहान सिरा ऐनाअघि उभिएकी थिइन् । आफ्नै अनुहारलाई एकटक हेरिरहेकी ।
"के भयो ?" स्वयमले सोध्यो । सिराले ऐनाबाट आँखा नहटाइकन भनिन्,"कहिलेकाहीँ लाग्छ, म बिस्तारै हराइरहेकी छु ।"
"सबैलाई कहिलेकाहीँ त्यस्तै लाग्छ ।"
"होइन ।"
उनी रोकिइन् ।
"मलाई लाग्छ, मेरो शरीरलाई मभन्दा बढी अरु कसैले नै माया गर्छ ।"
"शरीरलाई ?" स्वयम् चुप रह्यो ।
केही दिनपछि सिरा अस्पताल पुगिन् । रिपोर्टको कागज टेबलमाथि उल्टो राखिएको थियो । डाक्टरले धेरै कुरा भनेका थिए । परीक्षणका नाम । औषधिका नाम । शरीरभित्र भइरहेका केही प्रक्रियाहरूका नाम । फर्कँदा सिराले तीमध्ये धेरैजसो कुरा बिर्सिसकेकी थिइन् । एउटै कुरा मात्र उनको चेतनामा अड्किरह्यो, आफ्नो शरीरमा उनी एक्ली रहेनछिन् ।
घर फर्कँदा गाडीको झ्यालबाट बाहिर हेरिरहिन् । खेतहरू पछाडि सरिरहेथे । रूखहरू पछाडि सरिरहेथे । संसार आफ्नो गतिमा थियो । तर उनलाई लागिरहेको थियो, उनको भित्र कतै एउटा अर्को संसार पनि छ, जसको बारेमा उनी यतिका वर्ष अनभिज्ञ रहिछिन् । उनलाई यो कुरा पहिलोपटक सुन्दा पनि घृणा लागेन । पहिलो अनुभूति त करुणा थियो । किनकि त्यो पनि धेरै वर्षदेखि त्यहीँ बाँचिरहेको रहेछ । उनको निद्रा खाइरहेको । उनको रगतबाट आफ्नो दिन बनाइरहेको । उनको थकानबाट आफ्नो जीवनको ऊर्जा संगालिरहेको ।
त्यसपछि मात्र उनलाई डर लाग्यो । त्यो डर लामो समय रहिरह्यो । आफूलाई ऐनामा हेर्न छोड्दै गइन् । अनुहार फेरिएको थियो कि उनको दृष्टि फेरिएको थियो, छुट्याउन गाह्रो थियो । कहिलेकाहीँ उनलाई लाग्थ्यो, रोगले शरीरभन्दा पहिले आत्माको आकार बदल्छ । र त्यसपछि शरीर पनि त्यसकै पछि लाग्छ । स्वयमले त्यो परिवर्तन देख्थ्यो । तर उसले त्यसलाई बुझ्न सक्दैनथ्यो । कहिलेकाहीँ उसलाई सिराप्रति अपराधबोध हुन्थ्यो किनभने प्रेम बाँकी हुँदा पनि आकर्षण उस्तै रहँदैन भन्ने कुरा उसले आफैँभित्र पहिलो पटक भेटिरहेको थियो ।
मानिसले शत्रुलाई देख्न सक्यो भने प्रतिकार गर्न सिक्छ । तर वर्षौँदेखि आफूभित्र बसिरहेको अपरिचितलाई के भन्ने ? हुन त त्यसको एउटा नाम थियो । डाक्टरले त्यो नाम उच्चारण गरेका थिए । तर घर फर्किँदासम्म सिराले नाम बिर्सिसकेकी थिइन् । उनलाई सम्झना थियो त केवल एउटा अनुभूति, उनको शरीरभित्र, यति धेरै समयदेखि, अर्को कुनै जीवन पनि बाँचिरहेको रहेछ । यस्तो चुपचाप कि आफ्नो उपस्थितिलाई अनुपस्थितिजस्तो देखाउन सिकिसकेको थियो । अदृश्य । धैर्यवान् । घरको पुरानो चिराजस्तै वा वर्षौँदेखि मनमा बसेको कुनै दुःखजस्तै ।
अस्पतालबाट त्यो खबर आएको दिन पनि नदी बगिरहेकै थियो । सिराले धेरैपटक स्वयमलाई ती वर्षहरूबारे भन्न खोजिन् । आफ्नो शरीरभित्र चुपचाप बाँचिरहेको त्यो अपरिचित जीवनबारे । रातभर निद्रा नलागेका रातहरूबारे । ऐनाअघि उभिएर आफूलाई नचिनेका बिहानहरूबारे । तर प्रत्येक दिन उनीहरूबीचको दूरी अलिकति बढिरह्यो । अन्ततः रोगभन्दा ठूलो मौनता भयो ।
स्वयमले धेरैपटक पुरानै सिरालाई खोज्यो । त्यो नदी किनारमा भेटिएकी युवती । सानातिना कुरामा हाँस्ने । अनायास भविष्यका कुरा गर्ने । उसलाई थाहा थिएन, उसले खोजिरहेको व्यक्ति सिरा आफैँले पनि गुमाइसकेकी थिइन् । कुनै समय थियो, जब उनीहरू दिनको अन्त्यमा एकअर्कालाई सुनाउँथे, आज के भयो भनेर । अहिले उनीहरू घण्टौँ सँगै भए पनि दिनभरिका कुराहरू नबोली छुट्टिन सक्थे ।
समयसँगै सिरा निको त भइन् । कम्तीमा रिपोर्टहरूले त्यही भन्थे । तर शरीरले सबै घाउ कागजको भाषामा निको पार्दैन । उनको अनुहार पहिलेभन्दा खिन्न देखिन्थ्यो । आँखा वरिपरि गहिरा छायाहरू बस्न थालेका थिए । हाँसो फर्किएको थियो, तर त्यसमा पहिलेको निश्चिन्तता थिएन । र सबैभन्दा धेरै बदलिएको कुरा शायद उनको शरीर थिएन, उनको विश्वास थियो । आफ्नै शरीरमाथिको विश्वास । आफ्नै जीवनमाथिको विश्वास । र, बिस्तारै प्रेममाथिको पनि । मानिसहरू प्रायः प्रेम समाप्त भएपछि छुट्टिँदैनन् । उनीहरू त्यतिबेला छुट्टिन्छन्, जब एउटाले भोगिरहेको दुःखको भाषा अर्कोले बुझ्न छोड्छ ।
बिछोडको दिन कुनै झगडा भएन । कुनै ठूलो आरोप लागेन । कुनै नाटकीय दृश्य पनि बनेन । केवल दुई जना मानिस थिए, जो एकअर्काको सामुन्ने बसेर चुपचाप स्वीकार गरिरहेका थिए कि अब उनीहरू एकअर्कासम्म पुग्न सकिरहेका छैनन् ।
स्वयम गयो । सिराले रोकिनन् । र, पहिलो पटक उनलाई नदी किनारको त्यो साँझ सम्झना आयो ।
"पानीले बगाएर के–के लैजान्छ होला ?"
त्यतिबेला उनले सोचेकी थिइन्, केही कुरा त बग्दैनन् । आज उनलाई थाहा भयो, पानीले प्रेम पनि बगाउँछ । त्यो प्रेम होइन, जसलाई मानिसहरूले कवितामा लेख्छन् । बरु प्रेम त्यो हो, जो दिनदिनै सानो–सानो रूपमा बाँचिरहेको हुन्छ । बुझाइमा । प्रतीक्षामा । स्पर्शमा । र नबोलिएका वाक्यहरूमा ।
लाल साँझ । नदी उही गरी बगिरहेको थियो । सिराले पानीतिर हेरिन् र धेरै वर्षपछि पहिलो पटक रुन चाहिन् । तर आँशु आएनन् । शायद शोक थाकिसकेको थियो । उनीभित्र बसिरहेको त्यो अदृश्य जीवसँगै उनका आँशु पनि शायद वर्षौँअघि मरिसकेको थियो । त्यसबखत उनले बुझिन् कि मानिसहरू सधैँ आफूले गुमाएका मानिसहरूका कारण एक्लिँदैनन् । कहिलेकाहीँ उनीहरू आफ्ना कथा अन्तिमसम्म नसुनिदिएका कारण एक्लिन्छन् ।


