हामीले “सानैदेखि पैसा जोगाउनु पर्छ, अनावश्यक खर्च गर्नु हुँदैन र पैसा रूखमा फल्दैन ।” भनेर सुनिआएका छौँ । तर पैसाले कसरी काम गर्छ भन्ने कुरा थाहा नपाई नै बालकहरू युवावस्थामा पुग्छन् ।
कक्षा १२ उत्तीर्ण गरिसकेका, गणितका जटिलभन्दा जटिल समस्या र समिकरणहरू हल गर्न सक्ने विद्यार्थीलाई बजेट, निक्षेप, ऋणपत्र, धितोपत्र, ब्याजदर, आर्थिक नीति, मुद्रास्फिति, मुद्रसंकुचन, पुँजी, कर प्रणाली, इत्यादि कुराहरू भनेकै थाहा हुँदैन ।
आखिर वित्तीय साक्षरता किन नेपालमा कम छ होला ?
वित्तीय साक्षरता भनेको आर्थिक र वित्तीय (पैसासँग सम्बन्धीत) यस्तो क्षमता हो जसले एउटा मानिसलाई कमाएको वा उपलब्ध पैसालाई उचित रूपमा जोगाउन, सापटी लिन/दिन, लगानी गर्न र बाँडफाँड गर्न सक्ने बनाउँछ । त्यसो भन्दै गर्दा, यो पैसा व्यवस्थापन गर्न मात्र चाहिने चिज भने होइन । यसले हामीलाई उचित आर्थिक निर्णय लिन र दीर्घकालीन आर्थिक समृद्धिको मार्गतर्फ बढाउँछ ।
नेपाल जस्तो आर्थिक रूपमा अस्थिर अर्थतन्त्रदेश, जहाँ डिजिटल भुक्तानी, अनलाइन बैंकिङ र अनौपचारिक रोजगारीको दर बढ्दो छ; वित्तीय साक्षरता अब कदापि वैकल्पिक विषय होइन । हाम्रा मागहरूका लागि यो अनिवार्य भइसकेको छ ।
जो विद्यार्थीले खल्ती खर्च व्यवस्थापन गर्न सक्छ, व्यक्तिगत खर्चहरूको अनुगमन गर्न सक्छ, अनि सौख र आवश्यकताबीचको भिन्नता समयमै बुझ्छ – ऊ पछि गएर पक्कै पनि पैसाको मामिलामा अनुशासित व्यक्ति बन्छ । यद्यपि, मैले भने जेन–जी र जेन–अल्फा उमेरवर्गका बालबालिकाहरूमा पैसा जोगाउने बानी एकदमै कम देखेको छु ।
युवा अवस्थामा पुगिसकेपछि, वास्तविक जीवनमा आइपर्ने आर्थिक चुनौतीहरू सामना गर्न सक्ने क्षमता तपाईंका छोराछोरीहरूमा छ त ?
वित्तीय साक्षरता नभएकाहरूका लागि स-साना आर्थिक चुनौती पनि ठूलो महसूस हुन सक्छ । बजेटिङ, कर र बैंकिङ प्रणाल, बीमा, बजार, पूँजी परिचालन, ऋण व्यवस्थापन, खाक नियन्त्रण इत्यादि विषयहरूको आधारभूत ज्ञान मात्र भएको खण्डमा त्यस्ता चुनौतीहरू पार गर्न ठूलो मद्दत पुग्न सक्छ ।
मोबाइल बैंकिङ र डिजिटल वालेट (Esewa, Khalti, Fonepay) जस्ता सेवाहरूले हाम्रो जीवन सहज बनाएकै हो । अब आफ्नो बैंक खाताबाट पैसा झिक्न एटिएम धाइराख्नु पर्दैन । तर यसका आफ्नै जोखिमहरू पनि छन् । एटिएमबाट तपाईंले निश्चित पैसा मात्र झिक्नुहुन्थ्यो । अब मोबाइल बैंकङ र डिजिटल वालेट तपाईंसँग हुनुको मतलब हो – तपाईंको जिन्दगी भरिको बचत/निक्षेप अब तपाईंको औँलाकैे टुप्पोमा छ । डिजिटल घोटाला, ठगी, र बैमानीहरू त छँदैछन् नै । यी सेवाहरूको सावधानीपूर्वक सदुपयोग गर्न वित्तीय साक्षरताले हामीलाई यहाँ पनि सहयोग गर्छ किनभने डिजिटल अर्थतन्त्रमा यी सेवाहरू चाहिन्छन् पनि ।
त्यति मात्रै नभएर, यसले हामीलाई पैसा/वित्तलाई हेर्ने नयाँ कोण दिन्छ । वित्त र पूँजी परिचालन गर्दा आत्मविश्वास दिन्छ । नयाँ व्यवसाय, अविष्कार र समग्र आर्थिक उन्नतिको मार्ग प्रदर्शन गर्दछ ।
यति हुँदाहुँदै पनि, पाठ्यक्रम र विद्यालयहरूमा वित्तीय शिक्षाको घनत्व निकै कम देखिन्छ । सैद्धान्तिक ज्ञानले मात्र पुग्दैन, शिक्षा त यथार्थ जीवनमा उपयोगी पनि हुनुपर्छ । ऐच्छिक प्रथम विषयहरूको श्रेणीमा अर्थशास्त्र विषय त छ तर यो विषयको पढाई केही मात्र विद्यालयहरूमा हुन्छ । मैले चिनेको एकजना हाल कक्षा –१२ मा व्यवस्थापन संकायमा अध्ययनरत छात्रा भन्छिन्, “अर्थशास्त्र विषय जहाँ पढाई हुन्छ, त्यहाँ पनि विद्यार्थीहरूले पाठ्यक्रम र वास्तविक जीवनका विषयहरूमा ठूलो अन्तर महसूस गर्छन् । पाठ्यक्रमको कुरा जीवनसँग मेल नखाए जस्तो हुँदा दिमागमा घुस्दैन र पढ्ने, सिक्ने, जान्ने, इच्छा पनि मर्दै जान्छ ।”
परिणामस्वरूप विद्यार्थीहरू ए प्लस र ए ग्रेडको नतिजा ल्याएर उत्तीर्ण त हुन्छन्, तर आफ्नै व्यक्तिगत वित्त (Personal Finance) लाई सुदृढ गराउने सीप र ज्ञान उनीहरूसँग हुँदैन ।
वित्तीय साक्षरता प्रवर्धन गर्न अर्को छुट्टै विषय ल्याउनु पर्छ भन्ने पनि छैन, अनिवार्य र अन्य ऐच्छिक विषयहरूमा यसका मूल कुराहरू समावेश गर्दा पनि ठूलो प्रभाव पर्न सक्छ । तर फेरि जानकारी र ज्ञान मात्र दिने शिक्षा पनि काम छैन, त्यसरी हामी हालकै भन्ने कि परम्परागत, त्यही तरिकामा पुनः जान्छौं । विद्यार्थीहरूले उक्त शिक्षाबाट आफ्नो व्यवहारमा पनि परिवर्तन ल्याउन सक्नुपर्छ ।
निष्कर्षमा, वित्तीय साक्षरता भनेको एउटा शैक्षिक विषय मात्र नभएर वास्तविक जीवनमा अत्यावश्यक सीप हो । यसले प्रत्यक्ष रूपमा आत्मनिर्भरता, स्थिरता र भावी समृद्धिलाई सुनिश्चित गर्न ठूलो टेवा पुर्याउँछ । पढाइको रणभूमिमा विजयी भएर, बिना तयारी सिधै कमाईको रणभूमिमा जाने विद्यार्थीहरूको सङ्ख्या नेपालमा ठूलो छ । आत्मविश्वास, साहस र स्पष्ट आर्थिक लक्ष्य देख्ने र देख्न सक्ने खालका विद्यार्थीहरू शून्यभन्दा केही मात्रै धेर छन् । त्यसैले वित्तीय साक्षरतालाई प्रवर्धन गर्न वित्तीय शिक्षा वर्तमान युवापिढीको आवश्यकता हो । यो सन्देश सबै सम्बन्धित निकायसम्म पुगोस् ।

